पशुधनको क्षतिले बढायो मानव-वन्यजन्तु द्वन्द्व, हिउँ चितुवा बचाउनै सकस


     अशोक सुवेदी     
     असार ६ गते २०७८ मा प्रकाशित


बैशाख महिनाको दोस्रो साता हिउँ चितुवाको अध्ययनको सिलसिलामा नार गाउँ जाने कार्यक्रम थियो। यो मनाङ जिल्लाको दुर्गम नार्पा भूमि गाउँपालिका अन्तर्गत पर्दछ। म फिल्ड जाने तयारी गर्दा गर्दै बैशाख ८ गते बिहान करिव ९ बजेतिर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय मनाङका साथीहरूले फोन गर्नु भयो। त्यसको केही बेरमा फु गाउँका स्थानीयको पनि फोन आयो।

दुबै फोनको विषय थियो तेन्जिङ कुर्साङ लामाको गोठमा हिउँ चितुवा पसेर ४५ वटा च्याङ्ग्रा मारेको। उनको गोठमा रहेका जम्मा ४६ वटा च्याङ्ग्रामध्ये हिउँ चितुवाले एउटा सानो पाठा बाहेक सबै च्याङग्रा मारेको थियो। त्यसै दिनको पर्सिपल्ट अर्थात बैशाख १० गते बिहान अर्को खबर आयो। राति पुन: हिउँ चितुवा गोठमा पसेर त्यसै गाउँका फुर्पा छिरिङ लामाको गोठका ८ वटा च्याङग्रा मारेछ।

यो सिजनको फिल्डको काम सकेर पोखरा पुग्ने बित्तिकै उनै लामा दाइको दुबै घोडा हिउँ चितुवाले मारेको खबर फोनबाट थाहा पाएपश्चात निकै नरमाइलो लाग्यो। मेरो मन खिन्न भयो। म आफैले कैयौँ पटक चढेका घोडाहरू हिउँ चितुवाले मार्दा मेरै घोडा मारेको जस्तै लाग्यो।

बैशाख १९ गते मुस्ताङ जिल्लाको तेताङ गाउँका कृषक नसाक्या गुरूङको गोठमा हिउँ चितुवा पसेर १२ च्याङ्ग्रा मारेको खबर आयो। दश दिनभित्र अन्नपूर्ण संरक्षण क्षेत्रको उत्तरी भेगमा घटेका मानव-हिउँ चितुवा द्वन्द्वका यी केही प्रतिनिधि घटनाहरू मात्र हुन्।

फु गाउँमा हिउँ चितुवाले मारेका च्याङ्ग्राहरु

बैशाख १० गते नार्पा भूमि गाउँपालिकाका लागि प्रस्थान गरेँ। झण्डै एक महिना नार गाउँका होटल व्यवसायी फुन्जो वाङ्दी लामाको होटलमा बसेँ । यो सिजनको फिल्डको काम सकेर पोखरा पुग्ने बित्तिकै उनै लामा दाइको दुबै घोडा हिउँ चितुवाले मारेको खबर फोनबाट थाहा पाएपश्चात निकै नरमाइलो लाग्यो। मेरो मन खिन्न भयो । म आफैले कैयौँ पटक चढेका घोडाहरू हिउँ चितुवाले मार्दा मेरै घोडा मारेको जस्तै लाग्यो। राहतको लागि निवेदन लगायतका कागजातहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा पेश गर्नका लागि भनेँ । यतिमा सम्वाद टुङ्ग्याएर मैले फोन राखेँ।

यसका अलावा २०७७ को चैत्र महिनामा से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने माथिल्लो डोल्पाका कृषकको गोठमा पसेर ५० वटा च्याङ्ग्रा मारेको समाचार आएको थियो। त्यस्तै २०७२ सालको भाद्र महिनामा मुस्ताङ जिल्लाको लो घेघर दामोदरकुण्ड गाउँपालिकामा रहेको मराङ्ग गाउँका कृषक पेमा छेप्तेन गुरूङको गोठमा हिउँ चितुवा पसेर एकै रातमा १ सय ४ वटा च्याङ्ग्रा मारेको थियो।

मेरो जानकारीमा भएको यो हालसम्म हिउँ चितुवाबाट एकै पटकमा एकै कृषकको सबैभन्दा बढी क्षति हो। यसका अलावा खर्कहरूमा याक र चौँरीका बच्चाहरूसमेत मार्ने गरेका कारण ठूलो क्षति बेहोर्नु परेको कृषकहरूको भनाइ छ। यिनै दृष्टान्तबाट हिउँ चितुवाले गरेको पशुधनको क्षति कतिसम्म छ भन्ने प्रष्ठ हुन्छ। पशुधनको क्षतिका कारण स्थानीयहरू आक्रोशित हुन्छन् र प्रतिशोधका लागि पासो थाप्ने¸ हिउँ चितुवाको शिकारमा विषादी छरेर हिउँ चितुवालाई मार्नेसम्मका घटनाहरू घट्न जान्छन्। जसका कारण हिउँ चितुवा संरक्षणमा चुनौति थप बढ्न जान्छ।

वहाँले जवाफ दिनुभयो यहाँ त पाङ्जेले (बाघ के) धेरै दु:ख दिन्छ । अरूहरूको भेँडा¸च्याङ्ग्रा¸ घोडा¸ चौँरीका बच्चाहरु धेरै खायो। झण्डे म कराउने गरेकोले मेरो अहिलेसम्म खान सकेको छैन। वहाँको गोठमा करिब ५० वटा भेँडा च्याङ्ग्रा रहेछन्। वहाँले राम्रोसँग गोठालो गर्यो भने क्षति धेरैकम गर्न सकिने बताउनु भयो।

किन हुन्छ द्वन्द्व ?

नेपालको उत्तरी हिमाली क्षेत्रहरूमा भेँडा¸ च्याङ्ग्रा¸ चौँरीलगायतका पशुपालन मुख्य पेशाको रूपमा रही आएको छ । पछिल्ला दिनहरूमा पर्यटन र उच्च मूल्यका जडिबुटी व्यवसायले जीविकोपार्जनमा सहयोग पुर्याएको भए तापनि अधिकांश मानिसहरू पशुपालनमा निर्भर छन्।

उच्च हिमाली क्षेत्रमा वर्षमा एक सिजन मात्र अन्नबाली उत्पादन हुने हुनाले त्यहाँका स्थानीयहरू परापूर्व कालदेखि पशुपालन व्यवसायमा आश्रित रहेका छन्। हिमाली क्षेत्रका खर्कहरूमा उनीहरूले याक¸ घोडा¸ झोप्पाहरूलाई चरिचरणका लागि खुल्ला रूपमा छोड्ने प्रचलन छ भने भेडा¸ च्याङ्ग्रा¸ चौँरी र झोप्पाका बच्चाहरूलाई दिनभरी खर्कमा चराउने र रातिमा खर्कमा नै बनाएका खोर वा गोठमा राख्ने प्रचलन छ।

यी खर्कहरू हिउँ चितुवा र यसको मुख्य आहार नाउर¸ थार¸ कस्तुरीलगायतका आहारा प्रजातिका बासस्थानहरू हुन्। साझा बासस्थान नै द्वन्द्वको प्रमुख कारण छ भने अर्कोतर्फ यिनका बासस्थानमा आहारा प्रजातिको संख्या पर्याप्त मात्रामा नहुँदासमेत हिउँ चितुवा घरपालुवा जनावरतर्फ आकर्षित भई पशुधनको क्षति पुगेको हुन सक्छ। अझ घरपालुवा जनावरहरू वन्यजन्तु भन्दा समात्नका लागि सजिलो हुँदा एउटै बासस्थानमा रहेका अन्य आहारा भन्दा भेँडा च्याङ्ग्रातिर हिउँ चितुवा आकर्षित हुन्छन्।

यसका अलावा गोठ वा खोरहरूको निर्माणमासमेत पर्याप्त ध्यान दिएको देखिँदैन। हिउँ चितुवा छिर्न नसक्ने गोठ बनाउनु पर्नेमा सानो-तिनो लागत थप गरेर सुधार गर्न सकिने गोठहरूको समेत स्थानीयस्तरमा निर्माण भएको पाइँदैन। परम्परागत गोठहरू हिउँ चितुवा सजिलै छिर्न सक्ने खालका भएका कारण एकै रातमा धेरै पशुधनको क्षति भएको पाइन्छ। पशुहरूका ठूला-ठूला बथानमासमेत आवश्यक मात्रामा गोठालोहरूको व्यवस्था गर्न नसक्नु र भएका गोठालाहरू समेत चनाखो भएर रेखदेख नगरेकोले समेत यस्ता घटनाहरू घटेको पाइन्छ।

अध्ययनले के भन्छ ?  

हिउँ चितुवाबाट हुने पशुधनको क्षतिको सम्बन्धमा विभिन्न अध्ययनहरू भएका छन्। डा. पर बेगी र डा.रिन्जन श्रेष्ठलगायतले सन २०१२ मा प्रकाशित गरेको लेखमा फु उपत्यकाको १ सय २५ वर्ग किमि क्षेत्रमा जम्मा ६ वटा हिउँ चितुवा रहेको उल्लेख छ। त्यस समयमा जम्मा पशुधनको संख्या १ हजार ९ सय ७० रहेकोमा हिउँ चितुवाले सो को ४ प्रतिशत पशुधनको क्षति गरेको उल्लेख थियो।

सोही स्थानमा गरिएको पछिल्लो अध्ययनले पशुधनको वार्षिक क्षति लगभग ६ प्रतिशत भएको देखाउँछ। यसले उक्त स्थानमा हिउँ चितुवाबाट हुने पशुधनको क्षतिमा बृद्धि भएको देखिन्छ। यसका अलावा डा.मधु क्षेत्रीलगायतले अन्नपूर्ण¸मनास्लू क्षेत्रमा गरेको अध्ययनअनुसार यहाँ ३४ वटा हिउँ चितुवा रहेको र पशुधनको क्षति बढीमा ३ प्रतिशतसम्म रहेको देखाएको छ। क्षेतिको मात्रा ठाउँअनुसार फरक रहेको समेत उल्लेख छ। क्षतिको मात्रा फरक हुनुमा त्यस क्षेत्रमा रहेको हिउँ चितुवा¸ आहार प्रजाति¸ पशुधनको घनत्व र द्वन्द्व व्यवस्थापनमा भएका प्रयास मुख्य कारणहरू हुन्।  

गोपाल खनाललगायतले सन २०२० मा प्रकाशित गरेको लेखमा से-फोक्सुम्डो राष्ट्रिय निकुञ्जअन्तर्गतको तल्लो डोल्पामा हिउँ चितुवाको घनत्व १.२१ प्रति १ सय वर्ग किमि र पशुधनको क्षति ०.५८ प्रतिशत प्रति परिवार छ। त्यसै गरी माथिल्लो डोल्पामा हिउँ चितुवाको घनत्व २.५१ प्रति १ सय वर्ग किमि छ र पशुधनको क्षति दर प्रति घरधुरी ४.१३ प्रतिशत रहेको छ। यस अध्ययनमा हिउँ चितुवा¸ नाउर र पशुको घनत्व बढी भएका ठाउँमा नै पशुधनको क्षति बढी भएको पाइन्छ।

यस बाहेक हिउँ चितुवा पाइने मध्य र दक्षिण एसियाका अन्य मुलुकहरूमा समेत पशुधनको क्षति १.३ देखि १३ प्रतिशतसम्म रहेको अध्ययनहरूले देखाएका छन्।

द्वन्द्व समाधानमा भएका प्रयास र सिकाइहरू

पछिल्लो समयमा स्थानीय कृषकहरूसँग मिलि संरक्षित क्षेत्रहरूमा गोठ सुधारका लागि थुप्रै कार्यहरू भएका छन् तर पनि घुम्ति चरिचरनका लागि विभिन्न खर्कहरूमा गोठहरू निर्माण गर्नुपर्ने हुँदा हाल निर्माण भएका हिउँ चितुवा छिर्न नसक्ने गोठहरू पर्याप्त छैनन्।

गोठहरूमा सोलार लाइट¸ फक्स लाइटजस्ता सामानहरू वितरण गर्ने कार्यहरूसमेत गरिएका छन्। यस प्रकारका बत्तीहरू समेत सुरुका समयमा प्रभावकारी भए तापनि समय बित्दै जाँदा यो समेत हिउँ चितुवाको लागि नौलो नलाग्ने र यसको प्रभावकारितासमेत कम हुँदै गएको भन्ने गोठालाहरूको अनुभव छ।

विगत लामो समयदेखि संरक्षण शिक्षाका कार्यक्रमहरू नियमित रूपमा चलिरहेका छन्।

अर्को महत्त्वपूर्ण काम भनेको सम्बन्धित कृषकले गोठालोको आवश्यक संख्याको व्यवस्थापन गर्नु र उनीहरूलाई चनाखो राख्नु हो।

यसका लागि म नार गाउँको एउटा प्रसङ्ग उल्लेख गर्न चाहन्छु। नार गाउँ जानेक्रममा सतेक गुम्बाबाट उकालो लाग्दै गर्दा एकजना दिदी चर्को आवाजमा गीत गाउँदै हुनुहुन्थ्यो। उकालोमा बिश्राम गर्दा दिदी हाम्रो नजिकै आउनु भयो । वहाँले आफै भन्नुभयो¸ तपाइँहरूलाई मैले यति चर्को स्वरमा किन गीत गाएको भन्ने लाग्यो होला होइन ? मैले हो भनेँ।

वहाँले जवाफ दिनुभयो यहाँ त पाङ्जेले (बाघ के) धेरै दु:ख दिन्छ । अरूहरूको भेँडा¸च्याङ्ग्रा¸ घोडा¸ चौँरीका बच्चाहरु धेरै खायो। झण्डै म कराउने गरेकोले मेरो अहिलेसम्म खान सकेको छैन । वहाँको गोठमा करिब ५० वटा भेँडा च्याङ्ग्रा रहेछन्। वहाँले राम्रोसँग गोठालो गर्यो भने क्षति धेरैकम गर्न सकिने बताउनु भयो। स्थानीयहरू हिउँ चितुवालाई पाङ्जे भन्छन्l

नार गाउँमा अहिले गाउँलेहरूले साना-साना बथान मिलाएर एउटै बथान बनाउने र २/३ जना मिलेर गोठालो लाग्ने चलन गरेका छन् । यी कृषक आफैले विगतदेखि गर्दै आएका अभ्यासहरू हुन्। यसप्रकारका अभ्यासले खर्कहरूमा चराउन लाँदा भेडा च्याङ्ग्राको क्षति कम भएको स्थानीयहरूको अनुभव छ तर याक चौँरीहरू भने खर्कहरूमा छोड्नै पर्ने हुँदा खर्कहरूमा क्षति बढी हुने गरेको छ।

क्षतिको उचित राहत प्राप्त होस् र स्थानीयले सजिलै क्षति वापत केहीराहत प्राप्त गर्न सकुन् भनी विभिन्न संरक्षण क्षेत्रहरूमा समुदायमा आधारित बिमाका कार्यक्रमहरू संचालन गरिएको भए तापनि त्यो कार्यक्रम प्रभावकारी हुन सकेन।

अन्नपूर्ण संरक्षण क्षेत्रमा हिउँ चितुवाबाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी कृषक र बिमा कम्पनीहरूसँग सहकार्य गरी पशुधनको बिमा कार्यक्रमलाई गत वर्षदेखि मुस्ताङ जिल्लामा सुरू गरिएको थियो। यस कार्यक्रमअन्तर्गत नेपाल सरकारले बिमा गर्न लाग्ने रकमको ७५ प्रतिशत तिर्ने¸ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले १२.५ प्रतिशत र सम्बन्धित कृषकले १२.५ तिर्ने गरी बिमा कार्यक्रम अगाडि बढाइएको भए तापनि हिमाली क्षेत्रमा पशुधनको अधिक क्षति भएका कारण बिमा कम्पनीहरू घाटामा जाने कारण देखाइ अहिलेको मापदण्ड परिवर्तन गर्न आवश्यक रहेको भनेका कारण बिमाका कार्यक्रमहरू अगाडि बढ्न सकेका छैनन्।

हिमाली खर्कहरूमा आहारा प्रजातिको लागि खानेकुराको पर्याप्तता भए नभएको भन्ने सम्बन्धमा केही अध्ययनहरू समेत भएका पनि ती पर्याप्त हुन सकेका छैनन्। आहार प्रजातिको संख्या पर्याप्त हुँदैमा मात्रै पशुधनको क्षति पूर्ण रूपमा रोक्न सकिन्छ भन्ने होइन।

वासस्थान साझा हुनु र घरपालुवा जनावरहरू शिकार गर्न समेत सजिलो भएका कारण हिउँ चितुवाले पशुधनको क्षति गर्न सक्छ तर पर्याप्त मात्रामा वन्यजन्तुहरू पाएमा पक्कै पनि पशुधनको क्षति कम हुन्छ। यसका लागि आहार प्रजातिको अनुगमनका कार्यहरू छिटफुट रूपमा भए तापनि चरन क्षेत्रहरूको अध्ययन अनुसन्धान र व्यवस्थापनका कार्यहरू अत्यन्त न्यून मात्रामा भएका छन्।  

अहिलेका धेरै प्रयासहरू द्वन्द्व रोकथाममा केन्द्रित भए तापनि क्षति भई सकेपश्चात पीडितलाई राहतका कार्यक्रमहरूसमेत छन्। नेपाल सरकारले २०६९ सालमा वन्यजन्तुको क्षतिबाट हुने राहतसम्बन्धी निर्देशिका जारी गरेको छ र हालसम्म तेस्रो संशोधन समेत भएको छ। राहत निर्देशिकाले हिमाली क्षेत्रका याक¸ चौँरी¸झोपा र घोडालगायतका जनावरहरूको क्षतिमा कति राहत दिने भन्ने उल्लेख नभएका कारण राहत कति उपलब्ध गराउने भन्ने अन्योल छ।

भेँडा¸ च्याङ्ग्राको क्षतिमा बढीमा दश हजारसम्म राहत वितरण गर्न सक्ने व्यवस्था गरेको छ। जसका कारण पीडित कृषकहरूलाई निकै ठूलो राहत पुगेको छ। तर हिमाली भेगका गाउँहरू निकै दुर्गम क्षेत्रमा छन् जसका कारण राहत वितरणलाई उनीहरूको पहुँचसम्म पुग्न निकै कठिन भएको छ। संरक्षित क्षेत्रका कार्यालयहरू टाढा भएका कारण कतिपय अवस्थामा मानिसहरू राहतको माग गर्न समेत आउँदैनन्।

द्वन्द्व व्यवस्थापनमा अब के गर्ने ?

साना-साना पशुका बथानहरूलाई मिलाएर ठूला संयुक्त बथानहरू बनाउने र पर्याप्त मात्रामा गोठालाहरूको व्यवस्थापन गर्न सकिन्छ । यसो गर्न सकेमा पशुपालनको समग्र लागत घट्न जान्छ।

गोठालोहरूलाई बढी चनाखो गराउने¸ गोठालो जाने बेलामा गीत गाउने र हल्लाखल्ला गर्ने¸ भेडा¸ च्याङ्ग्रा¸ घोडा र चौँरीका बच्चाहरूलाई रातको समयमा हिउँ चितुवाहरू छिर्न नसक्ने खोरहरूमा थुन्ने व्यवस्था गर्ने।

हिमाली क्षेत्रमा पहाड र तराई क्षेत्रमा जस्तो बाँधेर पशुपालन गर्ने सम्भावना छैन। त्यहाँको पशुपालन पूर्ण रूपमा चरिचरनमा नै आधारित छ। तसर्थ खर्कहरूमासमेत एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने खालका हिउँ चितुवाहरू छिर्न नसक्ने गोठहरूको निर्माण गर्नु पर्दछ। गोठहरूमा सोलार र फक्सलाइट जडान गर्न कृषकहरूलाई सहयोग र अभिप्रेरित गर्नु पर्दछ। साथै अन्य उपयुक्त प्रविधिको विकासका लागि अध्ययन अनुसन्धानसमेत जरूरी छ।

हिउँ चितुवाको संरक्षण पनि गर्ने र हिमाली क्षेत्रको पशुपालन व्यवसायलाई समेत जोगाउने हो भने बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जरूरी छ। पशुधनको क्षतिमा बिमा गर्न सकेमा कृषकहरूले उचित राहत प्राप्त गर्ने हुँदा उनीहरूले प्रतिशोधका लागि हिउँ चितुवा मार्ने क्रममासमेत कमी आइ हिउँ चितुवाको संरक्षणमा समेत टेवा पुग्छ।

हिउँ चितुवालगायतका अन्य मांसाहारीहरूलाई समेत पर्याप्त मात्रामा आहारा होओस् भनेर वासस्थानको व्यवस्थापनमा उचित ध्यान दिन जरूरी छ। यसका लागि चरन क्षेत्रको उचित व्यवस्थापन¸ चोरी शिकार नियन्त्रण  नियमित अध्ययन अनुसन्धान गर्न आवश्यक छ। विशेष गरी चरन क्षेत्रहरूमा घाँसको पर्याप्तता¸ तिनको मात्रा र गुणस्तरको साथै पछिल्लो समयमा जलवायु परिवर्तनजस्ता समस्याहरूले पारेका प्रभावहरूको अध्ययन गरी वासस्थान सुधारमा ध्यान दिनु जरुरी छ।

हिउँ चितुवाले याक¸चौँरी¸ घोडा र खच्चरजस्ता महंगा जनावरहरू मारेमा उचित मात्राको रकम दिने गरी राहत निर्देशिका संशोधन गर्न जरूरी छ। साथै राहत माग दाबी गर्नका लागि पशुधनको क्षति सरकारी वन क्षेत्रमा नभै आफ्नै गोठमा मारेको अवस्थामा मात्र राहत पाउने मन्ने व्यवस्थालाई समेत संशोधन गरी हिमाली क्षेत्रको हकमा खर्कहरूमासमेत हिउँ चितुवाले मारेको भन्ने प्रमाणका आधारमा राहत उपलब्ध गराउन सकिने व्यवस्था गर्नु पर्दछ।

याक¸चौँरी¸ घोडा र खच्चरजस्ता महंगा जनावरहरू मारेमा उचित मात्राको रकम दिने गरी राहत निर्देशिका संशोधन गर्न जरूरी छ ।

साथै राहत वितरणलाई सम्भव भएसम्म स्थानीय तहबाट नै उपलब्ध गराउन सक्ने व्यवस्था गर्न सकेमा दूर खराजका पशुपालक कृषकहरू लाभान्वित हुन सक्थे । हिमाली क्षेत्रमा बस्तीहरू निकुञ्ज कार्यालय वा डिभिजनल वन कार्यालय भन्दा टाढा रहेका छन्। जसका कारण टाढाबाट राहतको लागि सम्बन्धित कार्यालयहरूसम्म जाने आउने खर्च रकम पाउने राहतभन्दा कढी हुने हुँदा कृषकहरू राहत माग गर्न नआउने अवस्था छ। तसर्थ राहत वितरणको कार्यक्रमलाई छरितो र प्रभावकारी बनाउन जरूरी छ। साथसाथै हिउँ चितुवा र यसको आहार प्रजातिको नियमित अध्ययन र अनुगमन गरी ठाउँअनुसारको रणनीति बनाउन सकेमा द्वन्द्व व्यवस्थापन प्रभावकारी बनाउन सकिन्छ।

हिउँ चितुवाको मुख्य आहार नाउर

अन्त्यमा

हिमाली पर्यावरणको खाद्य सृङ्खलामा सबैभन्दा माथि रहेको यस मांशाहारी प्रजातिको संरक्षण गर्न सकिएन भने हिमाली पर्यावरणको समग्र खाद्य सृङ्खलामा खलल पुग्न जान्छ। संसारका झण्डै एक तिहाइ मानिसको पिउने पानीको स्रोत रहेका नदीहरूको उद्गम स्थलसमेत रहेको मध्य र दक्षिण एसियाको उच्च हिमाली क्षेत्रको पर्यावरणलाई जोगाइराख्न हिउँ चितुवाको संरक्षण अनिवार्य छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले संवेदनशील प्रजातिको सूचीमा सूचीकृत गरेको र नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ द्वारा विशेष संरक्षित हिउँ चितुवा संरक्षणमा एकीकृत प्रयासको जरूरी छ । वार्षिक लगभग १० प्रतिशतको दरले यसको संख्या घट्दै गइरहेको अनुमान छ।

मध्य र दक्षिण एसियाका जम्मा १२ देशमा पाइने यो हिउँ चितुवाको संख्या ६ हजारको हाराहारीमा रहेको अनुमान छ भने नेपालमा यसको संख्या ३ देखि ५ सयसम्म रहेको अनुमान छ । हिउँ चितुवा संरक्षणमा मानवसँगको द्वन्द्वबाहेकका अन्य थुप्रै चुनौतिहरू छन्। यसको संरक्षणमा हालसम्म भएका राम्रा प्रयासहरूलाई अझ बृहत बनाउने र थप अध्ययन अनुसन्धानमा आधारित रणनीति तय गरी अगाडि बढ्न सकेमा हिमाली पर्यावरणको संरक्षण र स्थानीय समुदायमासमेत संरक्षणको लाभ पुर्याउन सकिन्थ्यो।

 (लेखक राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत हुन्। उनी नेदरल्याण्डस्थित वाखेनेगन विश्वविद्यालयमा हिउँ चितुवाको आहार विहार विषयमा विद्यावारिधि गर्दैछन्।)