
हाम्रो समाजमा डाक्टरको लेखाई बारेको धारणा
कसैको लेखाई राम्रो भएन भने हाम्रो समाजले एउटा उपमा दिने गर्छ ‘कस्तो गिद्धले छेरेजस्तो लेखेको भनेर’ l प्रकृतिको कुचीकार भए पनि गिद्धलाई हाम्रो समाजले फोहरी चराको रूपमा चित्रित गर्छ l त्यस्तो चराको बिस्टालाई झन् नराम्रो रूपमा हेरिन्छ l हाम्रो समाजमा चिकित्सकहरूले लेख्ने कुरालाई लिएर तिनै गिद्धको बिस्टासँग तुलना गरिन्छl सम्भवतः गिद्धले ठोस र खास आकृतिमा बिस्टा नगरी छरपस्ट गर्ने भएको हुँदा यसो भनिएको होला।
सन् २००६मा अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स इन्स्टिच्युट अफ मेडिसिनको प्रतिवेदनले अमेरिकामा मात्रै वार्षिक ७ हजार मानिसहरू डाक्टरको लेखाइ नबुझेर मर्ने गरेको उल्लेख गरेको थियो l
बिरामीहरू डाक्टरलाई भगवान् मान्दछन् l समाजमा यिनको इज्जत उच्चस्तरीय छl तर जब लेखाइको कुरा आउँछ तब सबैले भन्ने साझा कुरा एउटा हुन्छ ‘कस्तो नबुझिएको हो डाक्टरले लेखे जस्तो’l
सानोमा डाक्टरको त्यो लेखाइ अङ्ग्रेजीमा हो भन्ने नै बुझिन मैले l मलाई लाग्थ्यो त्यो अर्कै डाक्टरी भाषा होला l जब म अलि ठूलो हुँदै गएँ, मलाई लाग्थ्यो ‘यो विद्या अरूले नजानोस् भनेर त्यस्तो लेख्न तालिमै लिएका होलान् भनेर’l तर त्यो पनि होइन रहेछ l धेरै पछि थाहा भयो, उनीहरूले अंग्रेजी नै लेखेका रहेछन् तर बिगारेरl
अधिकांश डाक्टरहरूको अक्षर तथा लेखाई बुझ्नै गाह्रो l यस्तो नराम्रो अक्षर वा भनौँ नबुझिने अक्षर, पोखराको गण्डकी अस्पताल वा काठमाडौँको ओम अस्पताल होस् वा भारतको दिल्ली स्थित मेदान्त अस्पताल होस्, तिनीहरूको ओपिडी कार्ड हेर्न लायक हुँदैन l केही डाक्टरहरूबाहेक अधिकांश डाक्टरको उस्तै हुन्छ लेखाइ l बिरामी भर्ना भएपछि निस्कने बेलामा भने आज भोलि कम्प्युटरमा प्रिन्ट गरेर सहजै बुझ्ने गरी दिन थालेका छन् l

भारतको मेदान्त अस्पतालको लेखाई 
काठमाडौँ स्थित नर्विक अस्पतालको लेखाई
डाक्टरको लेखाई किन नराम्रो हुन्छ ?
डाक्टरको अक्षर किन नराम्रो हुन्छ भनेर मैले कस्तुरी फर्मासुटिकलका मुख्य प्रबन्धक तथा औषधि विज्ञ सरोजकुमार बराललाई सोधेको थिएँ l उनी भन्छन् ‘वास्तवमा चिकित्सकहरूको नराम्रो लेखाइले सबै भन्दा बढी पीडित हुने भनेको औषधी बेच्नेहरू नै हुन् l वास्तवमा प्रेसक्रिप्सनमा बिरामीको तौल, ब्लड प्रेसर, बिरामीलाई के भएको हो, रोगको वा बिरामीको विगत, के गर्न खोजेको हो, ल्याब परीक्षण, औषधिको विवरण, औषधी खाने तरिका, अब कहिले आउने, के खाने के नखाने आदि प्रस्ट लेख्नु पर्ने हो तर चिकित्सकले प्रति बिरामीलाई दिने समय न्यून हुन्छ l धेरै बिरामी वा धेरै अस्पतालमा जानु पर्ने कारणले गर्दा लतरपतर हुन्छ l फलस्वरूप तिनको अक्षर हेर्न लायक हुँदैन’l
बरालको ‘डाक्टरलाई हतार हुने’ कुरासँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका एमडी रेसिडेन्ट डा. ईश्वरी खनाल पनि सहमत छन् l उनी भन्छन् ‘ओपिडीमा हुने भिड र सो समयमा हेर्नु पर्ने बिरामीको ठूलो सङ्ख्याको कारणले अक्षर नराम्रो हुन्छ’l
बराललाई ‘त्यति मात्र हो र ?’ भनेर मैले फेरि सोधेँ l जति हतार भए पनि बहुसङ्ख्यकको अक्षर नराम्रो हुने कुरामा म आश्वस्त हुन् सकी रहेको थिइनl
बरालले अर्को तर्क दिँदै भन्छन् ‘हामी परिवारमा ज्वाइँलाई आदर गरेर ‘ज्वाइँ साहेब’ भन्छौँ l त्यस्तै समाजमा आदर गरेर ‘डाक्टर साहेब भन्छौँ’l यस्ता सम्मानहरूले डाक्टरलाई यति धेरै अत्मविश्वाशी बनायो कि, उनले गरेका र लेखेका कुराहरू जस्तो हुँदा पनि अरूले सहजै बुझ्छन् भन्ने भ्रम पनि परेको हुन् सक्छl’
पढाईदेखि व्यवसायिक काममा आइपुग्दा त्यो लेखाइको रफ्तार घटेको हुन्न l यिनको अक्षर बिस्तारै बिग्रँदै जान्छ l जुन कुरा डाक्टरले पनि चाल पाउँदैनन् l’ उनी थप्छन् ‘पहिला अक्षर राम्रा भएका मेरा साथीहरूको अहिलेको अक्षर मैले बुझ्दिन l तिनीहरू अहिले डाक्टर छन्’l
यसबारेमा फरक क्षेत्रका इन्जिनियर पवन आचार्यलाई मैले सोही प्रश्न सोधेँ l उनको तर्क अलि फरक छ l उनी भन्छन् ’वास्तवमा डाक्टरहरूले निक्कै पढ्नु पर्ने हुन्छ l प्राविधिक शब्दहरू सम्झनको लागि धेरै लेख्नु पर्ने हुन्छl छिटो छिटो लेख्दै सम्झँदै गर्नु पर्ने हुन्छl पढाईदेखि व्यवसायिक काममा आइपुग्दा त्यो लेखाइको रफ्तार घटेको हुन्न l यिनको अक्षर बिस्तारै बिग्रँदै जान्छ l जुन कुरा डाक्टरले पनि चाल पाउँदैनन् l’ उनी थप्छन् ‘पहिला अक्षर राम्रा भएका मेरा साथीहरूको अहिलेको अक्षर मैले बुझ्दिन l तिनीहरू अहिले डाक्टर छन्’l
ललितपुरस्थित नेपाल मेडिसिटीका सर्जन डा. प्रनिल राई भन्छन् ‘ मेरो बिचारमा ९० प्रतिशत डाक्टरको अक्षर नराम्रो हुन्छ होला l मेरो पनि अक्षर पहिला ठिकै थियो l तर जब मैले अध्ययन गर्न थालेँ, सरले पढाएका कुराहरू सबै टिप्नु पर्थ्यो l जाँचमा निकै लेख्नु पर्थ्यो l बिस्तारै लेखेर सम्भव थिएन l अहिले मेरो अक्षर झन् नराम्रो भएको छ’l उनले थपे ‘जब बिरामी हेर्न थालियो l बिरामीको भिडले गर्दा झन् छिटो-छिटो लेख्नु पर्ने भयो l पढ्दा खेरि बिग्रन थालेको अक्षर त्यसपछि कहिले राम्रो भएन’।
अमेरिकी डा. येसेर गोल्डस्टिंन, आचार्य र राईको तर्कसँग सहमत छन् l उनी भन्छन् ‘जसले धेरै र लामो समय लेखिरहनु पर्छ, उनीहरूको अक्षर राम्रो हुने कुरै हुँदैन’l
नाम नखुलाउने सर्तमा एक जना औषधी विज्ञले भने ‘प्राविधिक शब्दहरू सबैको हिज्जे सम्झनु भनेको फलामको चिउरा चबाउनु सरह हो, त्यसैले डाक्टरले अघिल्लो हिज्जे मिलाए पनि पछिका हिज्जेहरू मिलाए जस्तो मात्र गरेका हुन् l’ यससम्बन्धमा अमेरिकाको याले स्कुल अफ मेडिसिनको वेबसाइटका अनुसार मानिसको शरीरमा भएका २ सय ८ वटा हाडहरू, ७ सय मांसपेशीहरू, ७८ वटा अङ्गहरू, ४४ जोडी नसाहरूसँग सम्बन्धित हजारौँ रोगहरूको बारेमा सम्झनु सम्भव छैन l यसका साथै औषधी पनि l
यही कारणले लेखाई बिग्रँदा हिज्जे बिग्रिएको थाहा नहुने भएकोले जानी जानी लटरपटर पारिएको पनि हुन सक्छ l तर यससम्बन्धमा थप अनुसन्धान आवश्यक छ l
यसो भन्दैमा सबै डाक्टरले नराम्रो लेख्छन् भन्ने छैन l कसै कसैको लेखाई डाक्टर जस्तै स्मार्ट पनि हुने गरेको छl पोखराका छाला सम्बन्धी स्व.डाक्टर सञ्जीव गुप्ताको लेखाई भने सुन्दर र स्पष्ट थियो l

सामाजिक सन्जालमा भाइरल भएको डाक्टरको भनिएको लेखाई 
स्व.डाक्टर सञ्जीव गुप्ताको लेखाई
नराम्रो अक्षरले बिरामीको ज्यानै जान सक्छ
सन् २००६मा अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स इन्स्टिच्युट अफ मेडिसिनको प्रतिवेदनले अमेरिकामा मात्रै वार्षिक ७ हजार मानिसहरू डाक्टरको लेखाइ नबुझेर मर्ने गरेको उल्लेख गरेको थियो l लेखाइ नबुझेर वा फरक बुझेर वा गलत हिज्जेका कारणले बिरामीको औषधी फरक परेर बिरामीहरूले ज्यान गुमाएका थिए l सोही कारणले करिब १५ लाख मानिसहरू सामान्य घाइते हुने गरेको समेत उल्लेख छl
यो मात्रै कारण नभएर अन्य कारणले पनि बिरामी मर्ने गर्छन् l अमेरिकामा मुटु/नसा र क्यान्सरपछि ‘चिकित्सकीय त्रुटि’ लाई बिरामी मृत्युको कारणमध्येमा तेस्रो नम्बरमा राखिएको छ l अमेरिकामा ‘चिकित्सकीय त्रुटि’को कारणले वार्षिक करिब १ लाख र बेलायतमा ३० हजार मर्ने उल्लेख गरिएको छ l
अमेरिका र बेलायत जस्तो मुलुकमा त त्यस्तो हुन्छ भने नेपाल जस्तो अङ्ग्रेजी भाषा पहिलो नभएको मुलुकमा पनि यस्ता घट्नाहरु थुप्रै घटिरहेका होलान् l तर यसबारेमा नेपालमा अनुसन्धान भएको छैन l यस्तो हुन् सक्नेबारे केही चिकित्सक अनुमान मात्र गर्छन्l
भारतमा पनि गोहाटी नसा रोग अनुसन्धान केन्द्रका डाक्टर नोबल चन्द्र बोराहले सन् २०१५ मा औषधिको गलत बुझाइले गर्दा बिरामी मरेको बारेमा लेख नै लेखेका छन् l त्यतिखेर DUODIL (नसा र मांसपेशीको दुखाई कम गर्न प्रयोग गरिने) खानु पर्नेमा फर्मिसिस्टले DAONIL (सुगर नियन्त्रणको लागि प्रयोग) दिएका थिए l
डा. खनाल भन्छन् ‘आफ्नो विषयसँग सम्बन्धित बिरामीहरू जताबाट आए पनि फरक पर्दैन l अक्षरले पनि खासै असर गर्दैन तर अन्य रोगसँग सम्बन्धित भए अरू डाक्टरले लेखेको हामीलाई पनि बुझ्न गार्हो हुन्छl यसले गर्दा बिरामीको उपचारमा असर त पर्छ नै’l
डा. राई भन्छन् ‘मैले धेरै अस्पतालहरूमा काम गरी सकेको छु l नेपालमा चिकित्सकले मात्रै औषधी लेख्दैनन् l अहेब तथा स्वास्थ्य क्षेत्रका अरूले पनि लेख्ने चलन हुन्छ l यसरी लेखिएका औषधिहरू फार्मेसीमा नबुझेर, फरक औषधी खाएर बिरामी भएर अस्पतालका इमर्जेन्सीमा आएका थुप्रै उदाहरणहरू छन् l’ उनले थपे ‘तर कति आए, कति मरे वा कति थप पीडित भए भन्ने मेरो जानकारीमा छैन’l
ठूला भन्दा साना अक्षर लेख्ने, भिड भएको ओपिडी र आई सी युमा अक्षर बिग्रने गरेको अनुसन्धानले देखाएको छ l त्यसै गरी ठूला वार्डहरूमा डाक्टरले औषधी कति खाने भनेर लेख्न बिर्सने र साना वार्डहरूमा औषधिको गलत मात्रा लेखिएको विदेशमा गरिएको अनुसन्धानमा भेटिएको छ l
रिजाल सहितको समूहले सन् २०११ मा नेपालमा गरेको अनुसन्धानले डाक्टरले लेखेको प्रेसक्रिप्सनमा करिब ४९ प्रतिशत नर्सहरूलाई बुझ्नमा समस्या आएको/नबुझेको भनेर पत्ता लागेको थियो l
दक्षिण अफ्रिकामा गरिएको एक अनुसन्धानले डाक्टरले लेखेको प्रेसक्रिप्सन पनि अन्य ८७ % डाक्टरले मात्र बुझ्ने गरेको भेटिएको छ l सोही अध्ययनले ८२ % नर्सले, ७५% औषधी विज्ञलेमात्र सही बुझ्ने गरेको निर्क्योल गरेको छ l सोही अध्ययनमा lorazepam injection ४ मिलिग्राम लेखिएकोमा २०% स्वास्थ्यकर्मीले ४० मिलिग्राम भनेर बुझेका थिए, जुन बिरामीको मृत्युको लागि काफी हुन्छ l
अक्षर राम्रो र प्रस्ट लेख भनेर अदालतले नै भन्नुपर्यो
हातले लेख्ने प्रक्रियालाई विश्वका धेरै मुलुकमा विद्युतीय बनाइएको छ l बङ्गलादेशमा सन् २०१७ मा त्यहाँको अदालतले यस सम्बन्धमा निकै कुरा उठेपछि डाक्टरको लेखाइको सम्बन्धमा निर्णय नै गर्नु परेको थियो l डाक्टरले औषधिबारे लेख्दा कि त टाइप गर्नुपर्ने कि क्यापिटल लेटरमा लेख्नु पर्ने भनेर आदेश दिएको थियो l
सन् २०१५ मा ‘मेडिकल काउन्सिल अफ इन्डिया’ले भारतमा पनि फिजिसियनले औषधी लेख्दा प्रस्ट र क्यापिटल लेटरमा लेख्ने भनेर प्रतिज्ञा पत्रनै जारी गरेको थियो l अदालतले पनि निर्णय गरेको छ l तर पछि सुपरिवेक्षण गर्दा तामिलनाडुमा ५ जना डाक्टर मध्ये एकजनाले मात्र सो निर्णय मानेको देखिएको थियोl
नेपालमा पनि सन् २०१७ मा नेपाल मेडिकल काउन्सिलले जारी गरेको प्रतिज्ञा पत्र ‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट’ ले पनि चिकित्सकहरूले औषधिको बारेमा लेख्दा बुझ्ने गरी क्यापिटलमा लेख्नु पर्ने वा नभए प्रिन्ट गर्नुपर्ने भनेर उल्लेख गरेको छ l तर नेपालमा त्यसको अक्षरशः पालना हुन् सकेको छैन l नेपालमा मात्र होइन कडा कानून नहुँदा अन्य मुलुकमा पनि यसको पालना भएको छैन् l
डा. राई भन्छन्’ आजभोलि इलेकट्रोनिक गर्नु (electronic medical/health record) पर्ने भएकोले पहिला जस्तो त्रुटि हुने सम्भावना कम छ l तर पनि ओपिडीमा हातले लेख्ने चलन अझै कायम नै छ’ l
२५ वर्षअघि नै विश्व स्वास्थ संगठनले यससम्बन्धमा डाक्टरले प्रेसक्रिप्सन लेख्दा कसरी लेख्ने भनेर गाइडलाइन बनाए पनि धेरैले पालना गरेका थिएनन् र गरेका छैनन्l
हुनत् डाक्टरले मात्र नभई अल्छी, राम्ररी कलम समाउन नसक्ने, राम्रो बनाउन नचाहने, छिटो लेख्ने तथा वंशाणुगत गुणले गर्दा अन्य मानिसहरूको पनि लेखाई नराम्रो/अस्पष्ट हुने गर्दछl
अन्त्यमा
हाम्रोमा पनि दाहिने खुट्टा चिर्नु पर्नेमा देब्रे चिरेको, आवश्यक नभएको एन्टीबायोटिक दिएको, नचाहिने ल्याब परीक्षण गरिएको, आवश्यक नहुँदा पनि लामो समय अस्पतालमा राखिएको जस्ता कुराहरू बेलाबखत उठ्ने गरे पनि नेपालमा डाक्टरको नराम्रो अक्षरको कारणले कोही थप बिरामी भएको वा मरेको बारेमा जानकारी छैन भन्दा पनि हुन्छ l हुनत् डाक्टरले मात्र नभई अल्छी, राम्ररी कलम समाउन नसक्ने, राम्रो बनाउन नचाहने, छिटो लेख्ने तथा वंशाणुगत गुणले गर्दा अन्य मानिसहरूको पनि लेखाई नराम्रो/अस्पष्ट हुने गर्दछl
६७ वटा देशमा गरिएको अनुसन्धानले एकजना चिकित्सकले (फिजिसियन) ओपिडीमा बिरामीसँग बङ्गलादेशमा औसत ४८ सेकेन्ड र स्विडेनमा २२.५ मिनेट बिताएको अभिलेख छ l अधिकांश देशमा औसत ५ मिनेट भन्दा कम समय दिएको उल्लेख छ l नेपालको तथ्याङ्क उपलब्ध हुन् सकेनl
मैले मेरो जीवनमा आफ्नो र आफन्तको उपचारमा धेरै डाक्टरलाई भेटेको छु, जुनले मलाई औसतमा ५ मिनेट नै समय दिए होलान् l निदान अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. नीरज जोशीजस्तो बिरामीलाई कम्तीमा १५ मिनेट र बढीमा ४५ मिनेटसम्म समय दिने डाक्टरहरू नेपालमा कमै छन् होलाl
यही समयलाई बढाउन सकियो र चिकित्सकहरू/स्वास्थ्यकर्मी/औषधी विज्ञहरू सचेत भए भने लेखाइको कारणले सृजना हुने समस्याहरू कम गर्न सक्छौँ l यसका लागि चिकित्सकलाई नै भेट्नु आवश्यक हुन्छl आजभोलि धेरै ठाउँमा विद्युतीय अक्षर लेख्नु पर्ने भएकोले पहिलाको तुलनामा समस्या देखिएको छैनl
तर पनि हाम्रो समाजमा छुँदा पनि मैल लाग्ला जस्तो चिटिक्क परेर हिँड्ने स्मार्ट डाक्टरको लेखाइ र अक्षरबारेको यो भनाइ परिवर्तन हुन् अझै कयौँ वर्ष लाग्ने निश्चित छ l त्यो बेलामा भन्न पाइएला कि ‘आहा कस्तो राम्रो लेखेको डाक्टरले जस्तो’ भनेर l




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…