
१६ वटा बाँदर डुबेर मरेको खबर केही बर्ष अघि भाइरल भयो। हो बाँदरहरूको सामूहिक आत्महत्या भनिएको खबर। यो भएको थियो सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका -१३ स्थित अर्चलेमा।
यो खबर नियोजित रूपमा गरिएको तर ढाकछोप गर्न ‘आत्महत्या’ को खोल ओढाइएको भनेर संरक्षणकर्मीहरूले आरोप लगाएका थिए । स्थानीयहरू भने सिमेन्टको ट्याङ्कीमा पानीको लागि गएका बाँदर बाहिर निस्कन नसकी मरेको बताइरहेका थिए । तर के त्यसो भए बाँदरलगायत वन्यजन्तुहरूले आत्महत्या गर्दैनन् त? मानिसको जस्तै अन्य के के बानी ब्यहोरा मिल्छन् वन्यजन्तुसँग? आउनुहोस् केही बानीहरूको बारेमा चर्चा गरौँ!
मानिसले जसरी सुसाइड नोट लेख्ने भएको भए यत्रो विचार विमर्श हुने नै थिएनl वन्यजन्तु मर्दा आत्महत्या गरेका हुन् वा शोकले मरेका हुन् भन्ने विषय आफैंमा विरोधाभाषपूर्ण छ।
आत्महत्या
मानिसले जसरी सुसाइड नोट लेख्ने भएको भए यत्रो विचार विमर्श हुने नै थिएनl वन्यजन्तु मर्दा आत्महत्या गरेका हुन् वा शोकले मरेका हुन् भन्ने विषय आफैंमा विरोधाभाषपूर्ण छ। सन् १९६० को दशकमा स्कटल्याण्डमा रहेको मिलटोन गाउँको पुल कुकुरहरूलाई आत्महत्या गर्न उक्साउने पुलको रूपमा चित्रित गरिन्थ्यो। आजभन्दा करिब १० वर्षअघि स्विजरल्याण्डको लाउटेरब्रुनेन गाउँमा २८ वटा गाई/गोरुले तीन दिनको अवधिमा भीरबाट हाम फरालेको अभिलेख छ।
प्राकृतिक अवस्थामा पनि हात्ती, डल्फिन, बाँदर, चखेवा चरा आफन्त मर्दा शोकमा डुबेर केही नखाएर मरेको समेत अभिलेख छ।
घरमा पालिएको कुकुर, बिरालो आफ्नो मालिकको मृत्युपछि झोक्राएर, नखाइकन मरेको थुप्रै उदाहरण छन्। साथै कहिलेकाहीँ आत्तिएर, हिँड्दा, भाग्दा वा भीर पाखा, रूख आदि स्थानबाट खसेर वन्यजन्तु मर्ने गरेको विज्ञहरू बताउँछन्। आफ्नो समूह र सन्तानको सुरक्षा गर्ने क्रममा समेत वन्यजन्तुको मृत्यु हुने गर्दछ।
अत्यधिक तनावले आफ्नो टाउको तथा चुच्चो भित्ता तथा पिँजडामा ठोकेर रक्तश्राव भएर मरेका उदाहरण पनि थुप्रै छन्। तर जानी जानी मरेका उदाहरण विरलै अभिलेख गरिएका छन् l मानिसले जसरी आत्महत्या नै गर्छु भनेर मरेको जानकारीमा छैन।
छोटो प्रेम र यौवन लम्पटहरूलाई भँगेरासँग तुलना गरिन्छ। वरपर कसैको वास्ता नगरी प्रेमी प्रेमिका लामो समय एकै ठाउँमा बसिरहे ‘ढुकुरको जोडी जस्तो’ भनेर संकेत गरिन्छ। राम्रा प्रेमीहरूलाई चखेवाको जस्तै जोडीको उपमा दिने गरिन्छ।
मायाप्रेम
छोटो प्रेम र यौवन लम्पटहरूलाई भँगेरासँग तुलना गरिन्छ। वरपर कसैको वास्ता नगरी प्रेमी प्रेमिका लामो समय एकै ठाउँमा बसिरहे ‘ढुकुरको जोडी जस्तो’ भनेर संकेत गरिन्छ। राम्रा प्रेमीहरूलाई चखेवाको जस्तै जोडीको उपमा दिने गरिन्छ। चखेवाले आफ्ना प्रिय र प्रियतमाहरूसँग पुरै जीवन बिताउँछन्। त्यसै गरी च्याखुरालाई भारत तथा पाकिस्तानमा निःस्वार्थ प्रेमको प्रतीक मानिन्छ।
केही प्रजातिका बिरुवा, कीराफट्यांग्रा, साल्मोन माछा, छेपाराहरू आफ्ना सन्तान उत्पादन वा आफ्नो पुस्ता उत्पादन पछि मर्छन्। एक अर्कालाई फकाउन गुड बनाउने, आहारा खोजिदिने, गीत गाउने, सुरक्षा दिने आदि गर्दछन्।
प्रेमीले लामो समयसम्म पिछा गरे कस्तुरी वा गैँडासँग तुलना गरिन्छ।
शारीरिक सम्पर्क
बर्सेनि नयाँ जीवन साथी खोज्नु चराहरूका लागि नौलो होइन। सामूहिक रूपमा पोथीलाई यौवन शोषण पनि गर्दछन्। हाँसहरू (जस्तै मलार्ड) सो समूहमा पर्दछन्।
गाइने किराहरूको भालेले शारीरिक सम्पर्कको बेला हैरान पार्छन्। पोथीको घाँटीमा समाएर जबरजस्ती सम्पर्क नै गर्छन्। यस्तो हैरानीबाट बच्न पोथीले कहिलेकाहीँ मरेझैँ नाटक समेत गर्दछन्। सो क्रममा पोथीहरू आकाशबाट खसेझैँ गर्ने र भुइँमा नचली बस्ने गर्दछन्।
सहवासको बेला कतिपय पोथी सर्पले शरीरबाट फेरोमोन नामक हर्मोन निकाल्ने गर्दछन्। यसको आधारमा भाले सर्पहरूले सहवासको लागि तयार भए नभएको तथा पोथीको आकारबारे समेत जानकारी पाउँदछन्।
झगडा तथा मार्ने /मर्ने
छिमेकीसँग साँध मिचिए, छिमेकीले केही चोरेर खाए वा विभिन्न कारणले मानिसहरू बीच झगडा र मारामार समेत हुने गर्छ।
वन्यजन्तुहरू पनि खाना प्राप्त गर्न, सुरक्षित वासस्थान बनाउन, आफ्नो उपस्थिति प्रदर्शन गर्न, पोथीलाई प्राप्त गर्न, बच्चाहरूको सुरक्षा गर्न आवेशमा आउने, झगडा गर्ने र कहिलेकाहीँ मर्ने र मार्ने सम्म हुन्छ।
सिंहले आफ्नो भाले सन्तानलाई सम्भावित प्रतिस्पर्धालाई कम गर्न मारिदिने समेत गर्छन्। खाना तथा भिटामिन नपुगेको अवस्थामा चराहरूले आफ्नै फूल खाएको अभिलेख समेत छ।
अभिभावकले यसरी आफ्नो सन्तानलाई मार्दा कमजोर, रोगी हेरेर मार्ने गर्दछ जसले गर्दा स्वस्थहरू राम्रोसँग बाच्न सकुन्।
कहिलेकाहीँ भने माउले आफ्ना सन्तानको जीवनको लागि आफ्नो शरीर नै त्याग गरेर सहयोग गर्छन्। जस्तै माकुरा।
कुकुर प्रजाति समूहमा आफूभन्दा निकै बलियो बाघ, चितुवाको सजिलै प्रतिरक्षा समेत गर्छन्।
बाँच्नका लागि उही प्रजाति बीच पनि प्रतिस्पर्धा हुन्छन्। यस क्रममा प्रजातिहरू मारिन्छन् र एक अर्काले खान्छन् पनि। संसारभर भएकामध्ये करिब १५०० प्रजतिहरुमा सो अभिलेख गरिएको छ।
सामूहिक बसाईँ
गुरुङ समुदाय समूहमा बस्छन् तर ब्राह्मण क्षेत्री भने बेग्लाबेग्लै। कोही हिमाली क्षेत्रमा रमाउने गर्छन् भने कोही तराईतिरl वन्यजन्तुको पनि त्यस्तै हुन्छ।
कतिपय चराहरू समूहमा बस्छन्, आफ्नो समूहका सदस्यहरूलाई खानाको उपलब्धता र शत्रुको उपस्थितिको पटक-पटक जानकारी गराउँछन्। एक्लै पनि खाँदैनन्। चराहरू आफ्नो क्षेत्रको रक्षा गर्न कटिबद्ध भएर लाग्छन्।
चिसा रातहरूमा जाडो धपाउन समूहमा बस्छन्। सामूहिक सल्लाह गर्छन्। खानाको कमी हुने बित्तिकै बसाइँसराइँ गर्छन्। प्रत्येक काम योजनाअनुसार गर्दछन्। चाहे त्यो सहवास नै किन नहोस्। एकै समयमा उठ्ने पनि गर्दछन्। एकै किसिमका खाने कुरा खान्छन्। एकै समयमा गुँडमा फर्कने समेत गर्दछन्। तर केही प्रजाति भने एक्लाएक्लै बस्न रुचाउने गर्छन्।
सहवासको बेला सँगै बस्ने थार प्रजातिको स्तनधारी पछि गएर एक्लाएक्लै बस्न थाल्छन्। यसले खानामा प्रतिस्पर्धा कम हुने गर्छ।
हुँडारहरू समूहमा सिकार गर्छन्, कर्यांगकुरुंग समूहमा बसाइँसराइँ गर्छन्, बउँडाई चराको भाले पोथी मिलेर बच्चा हुर्काउने गर्छन्। नाउरले खतरा देख्यो भने खुट्टा बजारेर समूहलाई पूर्व जानकारी गराउँछन्।
बसाइँसराइँ
चिसो भए पछि हिमाली भेगका मानिसहरू मात्रै तल झर्दैनन्। सबै खालका जीवहरू केही तल न्यानो ठाउँमा वा अलि परसम्म बसाइँसराइँ गर्दछन्। मौसम मात्र नभई खानाको अभावले पनि यिनीहरू बसाइँसराइँ गर्छन्l अनुभवीले बाटो पहिल्याँउदै यात्रा तय गर्दछन्। मङ्गोलियादेखि नेपालको बाटो हुँदै नेपालकै तराई तथा बढी मात्रामा भारतमा जाने कर्यांगकुरुंगलाई उदाहरण मान्न सकिन्छ। मौसम अनुकूल भए पछि पुरानै स्थानमा फर्कन्छन्।
केही जीवहरू भने चिसोबाट बच्न तथा खानाको अभावसँग लड्न सुषुप्त अवस्थामा महिनौँ बस्छन्। यस्तो बेलामा केही नखाई प्राण मात्रै धान्ने गरी गुफाहरूमा बस्छन्। भालुहरू पनि त्यसो गर्छन्।
अन्त्यमा
वन्यजन्तु पनि हामी जस्तै हुन्। यिनको पनि परिवार र समाज हुन्छ। यिनको पनि हाम्रो जस्तै चरित्र हुन्छ। तर बर्सौँदेखि बस्दै आएका यिनको अवस्था नाजुक बन्दै आएको छ। बाँदर, चितुवा, दुम्सीलाई पासो थापेर वा अन्य तरिकाले मार्ने क्रम रोकिएको छैन। मानिस र यिनको बीचको द्वन्द्व कम नभएसम्म यिनको संरक्षण सम्भव छैन। संरक्षणको लागि यिनको वानीव्योहरा पनि थाहा हुनु आवश्यक हुन्छ।
(यो लेख पहिलोपोष्टबाट साभार गरिएको हो l१५ अगस्ट २०१९)