
‘ओहो जुनकिरी घरभित्र छिर्यो त, ठुलो हावाहुरी र पानी पर्ने भयो’ उनले फेरि थपिन्’ तिमीहरू बाहिर नजाऊ है’ सानो हुँदा चितवनका संरक्षणकर्मी डीबी चौधरीले आमाले भनेको यो कुरा सुनेका थिए l आज भोलि जुनकिरी पहिलाजस्तो देखिन छाडेको छ l तर जहिले जुनकिरी देख्छन् आमालाई पनि सम्झी हाल्छन् l थारू भाषामा उनी जुनकिरीलाई भतजोगिनी भनेर बुझ्छन् l
के जुनकिरी घटेका छन् त ?
हामीले सानो हुँदा देख्ने गरेको यो किरा आजभोलि निकै कम देखिन थालेको छ l नेपालका सहरी क्षेत्रमा त हिजोआज जुनकिरी हराए भने पनि हुन्छ l रातमा धिपधिप बत्ती बाल्दै उड्ने जुनकिरी हेर्दा र समाउँदा रमाइलो पनि लाग्छ l
संरक्षणविद् तथा वर्ल्डलाइफ इन्टरनेसनल वन सुशासन कार्यालय एसिया तथा प्रशान्त क्षेत्र मलेसियाका क्षेत्रीय परियोजना प्रमुख डा. हुमबहादुर गुरुङ भन्छन् ‘प्रकाश प्रदूषण, किटनाशक औषधिको प्रयोग र वासस्थान विनाशका कारण रातमा प्रकाश छर्दै उड्ने सुन्दर जुनकिरी विश्वभरकै सहरी क्षेत्रबाट हराउँदै गएको छ’।
’जुनकिरीको अण्डा, लार्भा हुँदै किरा बनेर जीवनचक्र पूरा गर्न करिब एक वर्ष लाग्छ। यसको लार्भाले चिप्ले किरा, शङ्खे किरालगायत कृषिमा नोक्सान पुर्याउने किराहरूको सङ्ख्यालाई नियन्त्रण गरेर किसानलाई ठूलो सहयोग गर्छन्’l
त्रिभुवन विश्व विद्यालयअन्तर्गत प्राणीशास्त्र विभागका किट विज्ञ ,सह प्राध्यापक प्रेम बुढा पनि जुनकिरी घटेको कुरामा भन्छन् ‘नेपालमा यो किराको बारेमा निकै कम अनुसन्धान भएको मेरो जानकारीमा छ l सबै जीवहरू घटेको हुनाले, घट्यो भन्ने मात्र हो l तर अनुसन्धान नगरी यसै हो भन्न सकिन्न’l
सह प्राध्यापक बुढा भन्छन् ‘जुनकिरीले जीवनचक्र पूरा गर्न निश्चित वातावरण र समय आवश्यक पर्ने भएकोले पनि विकासको नाममा हुँदै गएका वासस्थान विनाशका कारण जुनकिरीलगायतका जीव समस्यामा पर्दै गएका छन् l यो किराको लार्भा बस्नको लागि आवश्यक पर्ने कृषि, वन र चौरहरू घटेका छन् l विषादीसहित अन्य कारणले माटो प्रदूषण भएर पनि यिनको सङ्ख्या र प्रजाति घटेको हुन् सक्छ’l
वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाह भन्छन् ‘हामीसँग तथ्याङ्कको अभाव भएकोले घटी हालेको भन्न मिल्दैन l मानिसले यसलाई कमै मार्छन् l’
पोखराको फेवाताल किनारमा अझै पनि केही मात्रामा जुनकिरी देख्न सकिन्छ। पर्यटकीय पूर्वाधार विकाससँगै मानिसको आँखाकालागि सुन्दर देख्न बनाइँदै गरेको फुट ट्रेल वरपर र ताल किनारका जुनकिरीका वासस्थान झाडी काटिँदै जानु र ताल किनारमै झिलिमिली बत्ती राख्ने क्रम बढ्दा जुनकिरी सङ्कटमा पर्दै गएको विज्ञहरू बताउँछन्।
यिनीहरू वासस्थान परिवर्तन हुँदा पनि बसाइसराइ गर्दैनन् l यही कारणले गर्दा यिनीहरू पाइने ठाउँबाट एक्कासी हराएको बताइन्छl यस सम्बन्धमा थप अनुसन्धान आवश्यक छl

यसको फाइदा के छ ?
प्राध्यापक करनबहादुर शाह यो सानो किराको ठूलो महत्त्व रहेको बताउँछन् l उनी भन्छन् ’जुनकिरीको अण्डा, लार्भा हुँदै किरा बनेर जीवनचक्र पूरा गर्न करिब एक वर्ष लाग्छ। यसको लार्भाले चिप्ले किरा, शङ्खे किरालगायत कृषिमा नोक्सान पुर्याउने किराहरूको सङ्ख्यालाई नियन्त्रण गरेर किसानलाई ठूलो सहयोग गर्छन्’l
शाह भन्छन् ‘ नेपाली समाजमा यो कीरालाई देवी भगवतीको रूपमा चित्रित गरिएको छ l स्वर्गबाट पृथ्वी लोकमा मानिसहरूको अवस्थाको बारेमा जान्नको लागि श्रावणदेखि भदौसम्म बत्ती बालेर निरीक्षण गर्न आएको भन्ने भनाइ छ’ l उनी थप्छन् ‘हाम्रो समाजले यसलाई भगवान नै मान्दछ l एक जुनकिरी मार्नु भनेको एक गाई मारे बराबरको पाप लाग्छ भन्ने त हाम्रो संस्कार नै छ l’
मलेसिया, जापान, ताइवानलगायतका देशमा जुनकिरी देखाएर पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। नेपालमा पनि यसलाई पर्यटनसँग जोड्ने बारेमा डा. हुमबहादुर गुरुङले पैरवी गरिरहेका छन् l
यो किराको उपस्थिति हाम्रो वरिपरिको वातावरणको सूचक पनि हो l अन्य जीवहरू जस्तै यसको पनि परिस्थिकीय महत्त्व त छँदै छl
यो कस्तो किरा हो ?
अग्नीकिरा नामले पनि परिचित जुनकिरी स्वच्छ हावा, शुद्ध पानी र शान्त अँध्यारो वातावरण मन पराउँछन्।
अन्टार्टिकाबाहेक सबै महादेशमा जुनकिरी पाइन्छन् । यिनीहरू एक प्रकारका गोब्रे किराहरू हुन् l
यिनीहरू जमिनमा बस्ने गर्छन् l पृथ्वीको जमिनको भूभागको करिब २३ प्रतिशत कुनै न कुनै कारणले उज्यालो बनेको छ, जसले जुनकिरीलाई असर गरिरहेको बताइन्छ l
यिनका भालेहरू प्राय उडिरहने र पछिल्लो भागमा बत्ती बाल्ने गर्छन् l यिनै बत्तीको चहकिलोपन, बत्ती बलिरहने अवधिको आधारमा जमिनमा झाडी/पातहरूमा बसेको पोथीले मन पर्ने भाले देखेपछि बत्ती बालेर प्रेम प्रस्तुत गर्छन् l यसैको आधारमा यिनको संसर्ग हुने गर्छ l
यिनीहरू श्रावणदेखि असोजसम्म बत्ती बालेर सक्रिय हुन्छन् l तर संसारका सबै प्रजातिले बत्ती बाल्न सक्दैनन् l यिनीहरूको बत्तीबाट ताप निस्कन्न l यिनीहरूको बत्ती पहेँलो, हरियो र सुन्तला रङ्गको हुने गर्छन् l यिनै बत्तीहरूको माध्यमबाट यिनीहरू एक अर्कासँग सञ्चार समेत गर्छन् l
यिनका भालेहरू प्राय उडिरहने र पछिल्लो भागमा बत्ती बाल्ने गर्छन् l यिनै बत्तीको चहकिलोपन, बत्ती बलिरहने अवधिको आधारमा जमिनमा झाडी/पातहरूमा बसेको पोथीले मन पर्ने भाले देखेपछि बत्ती बालेर प्रेम प्रस्तुत गर्छन्l यसैको आधारमा यिनको संसर्ग हुने गर्छ l
कतिपय प्रजातिको लार्भा र फूलले पनि बत्ती बाल्ने गर्छन् l
यिनीहरूले बत्तीसँगै गन्ध आउने रसायन छोड्छन्, जसले शत्रुलाई टाढै राख्न सहयोग गर्छ l यिनीहरूको लार्भा सफा पानी मुनि पनि बस्ने गर्छन् l
जुनकिरीको आहारा खोज्ने माध्यम पनि यही बत्ति नै हो। बत्ती देखेर अरू किराहरू झुम्मिन आइपुग्छन् । यही मौकामा जुनकिरी त्यसलाई आहारा बनाउँछ।
यिनको सङ्ख्या कति छ ?
विश्वमा कम्तिमा करिब २ हजार प्रजातिका जुनकिरी पाइन्छन् । सह प्राध्यापक प्रेम बुढा भन्छन् ‘ नेपालमा यो किराको बारेमा निकै कम अनुसन्धान भएको मेरो जानकारीमा छ l केही औँलामा गन्न सकिने अध्ययनले हालसम्म नेपालमा करिब ९ प्रजातिका जुनकिरीको अभिलेख छ l जसमध्ये ४ प्रजाति विश्वमा पहिलोपटक पत्ता लागेको थियो भने, ३ प्रजाति कुन भनेर निर्क्योल पनि भएको छैन’ l उनले थपे ‘अरू अध्ययन भएको पनि हुन् सक्छ तर मेरो जानकारीमा आएको छैन’l
‘विश्वका अन्य मुलुकमा यिनले बाल्ने बत्ती, बल्ने अवधि, एकपटक बलेपछि कति समयपछि फेरि बल्छ भन्ने आधारमा प्रजातिको पहिचान भए पनि हामीका यसको बारेमा अध्ययन भएको छैन भन्दा पनि हुन्छ’ सह प्राध्यापक बुढाले बताए l
के नेपालमा यिनको संरक्षणको लागि कुनै पहल भएको छ ?
यो प्रजातिलाई समेटेर यिनको संरक्षणको लागि अहिलेसम्म कुनै पहल भएको जानकारीमा छैन l
यसको अध्ययन र संरक्षणकालागि नागरिक वैज्ञानिकहरूमार्फत काम गर्ने सोच बनाएको गुरुङले बताए।गत हप्तादेखि नेपालमा केही नागरिक वैज्ञानिकहरूले कामको सुरुवात पनि गरेका छन् l पहिलो चरणमा फोटोहरू खिच्ने र पहिचानको लागि पहल गर्ने प्रयासको सुरुवात भएको छ l
हालै मलेसियन नेचर सोसाइटी र फायरफ्लाई इन्टरनेशनल नेटवर्कको संयुक्त आयोजनामा जुनकिरीको अवस्था र संरक्षणका चुनौतीलगायतका विषयमा ‘विश्व जुनकिरी दिवस’ (३ जुलाई) मनाइयो । विज्ञहरूको सहभागितामा भर्चुअल अन्तरक्रिया समेत भयो।
यतिले मात्रै केही हुने वाला छैन l यसको संरक्षणको लागि यिनको वैज्ञानिक अध्ययन अपरिहार्य छ l
नेपालमा संरक्षणका काम नभए पनि चीनको वुहान सहरमा यिनको लार्भा छोडेर यिनलाई हुर्कने वातावरण तयार गरिन्छ l अमेरिकाको केही स्थानमा रातको समयमा बगैँचा र वन क्षेत्रमा बत्ती बाल्न प्रतिबन्ध गरिएको छl
नेपालमा जुनकिरी पर्यटन सम्भावना
नेपालको फेवाताल किनार र डाँडापाखामा जुनकिरी देख्न सकिने ठाउँलाई पनि संरक्षण गर्दै जुनकिरी पर्यटनको रूपमा विकास गर्न सकिन्छ।
पोखराको फेवाताल मुहान पामेबजारबाट ४५ मिनेट हिँडेर पुग्न सकिने ब्याक टु नेचर रिर्सोटले पर्यटकलाई जुनकिरी देखाएर जुनकिरी पर्यटनको रूपमा विकास गर्ने अभ्यास गरेको छ । साँझमा रिर्सोट नजिकै देखिने जुनकिरीले पर्यटकलाई आकर्षण गर्ने गरेको रिर्सोटका सञ्चालक डम्बर पुन बताउँछन्। जुनकिरी हेर्नकालागि पनि पर्यटकले बसाई लम्ब्याउने गरेको उनले सुनाए।
तपाइले यिनको संरक्षणको लागि के गर्न सक्नुहुन्छ ?
- रातिको समयमा बाहिरका बत्तीहरू निभाउनुहोस् l वन र कृषि क्षेत्रमा सकेसम्म उज्यालो नपार्नुहोस् l
- ताल तलैयाको संरक्षणमा सहभागी हुनुहोस् l घर वरपर साना-साना पोखरी निर्माण गर्नुहोस् l
- घर वरपर रहेका काठका टुक्रा, दाउरा एक ठाउँमा थुपार्नुहोस् र नचलाउनुहोस् l
- विषादीको प्रयोग कम गर्नुहोस् l
- स्थानीय प्रजातिका बिरुवाहरू मात्र लगाउनुहोस् l
- जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्नुहोस् l
- घर वरिपरिको कुनै एक खाली भूभागलाई पूर्णरूपमा संरक्षित घोषणा गर्नुहोस् र त्यस्तो ठाउँमा नजानुहोस् l
- यिनका बारेमा अरूसँग कुरा गर्नुहोस् l
अन्तमा,
जुनकिरीलाई पुस्तकमा हेर्ने कि प्रकृतिमा, यो जिम्मा तपाइँलाई l



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…