रामघाटमा सेती थुनेर ताल बनाउनु जोखिमपूर्ण¸ सुन्दर पोखरामा प्राकृतिक प्रकोपका कारण हुनसक्ने जोखिम पनि उत्तिकै


     नेचर न्युज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित


पोखरा बजारको मध्ये भाग भएर गहिरिएर बग्ने सेती नदीको गल्छी र अर्को प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगो पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (सानिसा) कार्यक्रमअन्तर्गत निजी कम्पनीलाई साहसिक खेलका गतिविधि सञ्चालन गर्ने गरी दिन प्रारम्भिक सम्झौता गरिसकेको छ ।

यहाँको अर्को महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र दैनिक सयौँलाई रोजीरोटी दिने रामघाट क्षेत्र पनि पोखरा महानगरपालिकाले भाडामा दिने प्रक्रिया अघि बढाएपछि यति बेला पोखरामा यस विषयमा निकै बहस चलिरहेको छ। यस विषय अदालत र अख्तियारमा पनि अध्ययन र बहसको विषय बनिसकेको छ ।

प्राकृतिक स्रोत लामो समय निजी कम्पनीलाई दिने विषय केन्द्रमा राखेर एक थरी विरोध गरिरहेका छन् भने अर्काथरी अन्नपूर्ण हिमशृङ्खलाबाट करिब १२ हजार वर्षअघि र ८ सय वर्षअघि आएको भीषण बाढीले गेगर, ढुङ्गा, बालुवा र चुनयुक्त लेदो बलौटे माटो थुपारेर बनेको पोखराको भौगोलिक संवदेनसिलतालाई ध्यानमा राखेर विकास निर्माणको कामहरू गर्नु पर्नेमा जोड दिँदै आएका छन् । अर्काथरी भने पोखराको पर्यटन विकासकालागि प्राकृतिक श्रोतहरू संरक्षण गर्दै नयाँ नयाँ आकर्षक पर्यटकीय पूर्वाधार बनाउनुको विकल्प नरहेको भन्दै महानगरले निजी कम्पनीलाई प्राकृतिक स्रोत दिने विषयको बचाउ गरिरहेका छन् ।

यसै विषयमा केन्द्रित रहेर पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गर्दै गरेका वरिष्ठ जियो टेक्निकल इन्जिनियर नारायण गुरुङसँग ई नेचर न्युजले गरेको कुराकानी ।

पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा अध्ययन गरिरहनु भएको छ । पोखरा उपत्यका कसरी बनेको हो  र पोखराको अवस्था कहाँ कस्तो रहेको छ ?

पोखरा उपत्यका अन्नपूर्ण हिमशृङ्खलाबाट आएको लेदो र गेगरबाट पुरिएर बनेको हो । अन्नपूर्ण हिमालय क्षेत्रबाट करिब १२ हजार वर्षअघि र पछिल्लोपटक ८ सय वर्षअघि गरेर आएका भीषण बाढीहरू पछि चुनयुक्त लेदो सहितको बालुवा, गिटी, र ठुला ढुङ्गाहरूले पुरिएर  पोखरा उपत्यका बनेको वैज्ञानिक तथ्य रहेको छ । पोखरा भएर बग्ने सेती नदीमा आउन सक्ने ठूला बाढीको उच्च जोखिम, ठाउँ-ठाउँमा जमिन भासिने र भ्वाङ पर्ने जोखिम, सेतीको डिलहरू खस्ने र सेती थुनिन सक्ने जोखिम, पोखरा वरिपरि रहेका डाँडाको फेदमा भएका बस्तीहरूमा डाँडाबाट पहिरो आई क्षति हुन सक्ने जोखिम र नेपाल आफैमा उच्च भूकम्पीय जोखिम क्षेत्र भएकोले पोखरा पनि एउटा उच्च भूकम्पीय जोखिम भएको अवस्थामा छ । त्यसैले प्राकृतिक रूपमा पोखरा जत्ति सुन्दर छ, प्राकृतिक प्रकोपहरूले पनि पोखरा उत्तिकै जोखिम अवस्थामा छ।

वैज्ञानिकहरूले कसरी यो तथ्य फेला पारे र फेरि पनि हिमाली क्षेत्रमा यस्तो हुन सक्ने विषयमा के अध्ययन भइरहेको छ ?

वैज्ञानिकहरूले पोखरामा थुप्रिएको डिपोजिट र अन्नपूर्ण हिमालय क्षेत्रमा भएको डिपोजिटको अध्ययनबाट यो फेला पारेका हुन् । जस्तै पोखरा उपत्यकामा  र वरिपरिको डाँडाहरूमा जे जस्तो ढुङ्गा पाइन्छ, ती प्रायस् अन्नपूर्ण क्षेत्रमा पाइन्छन् – त्यसको मतलब ती ढुङ्गाहरू अन्नपूर्ण हिमालय क्षेत्रबाट बाढीले बगाएर ल्याएका हुन् ।  धेरै कोणबाट भएको अध्ययनबाट यो पत्ता लागेको हो ।  पोखरामा हुन सक्ने प्राकृतिक प्रकोपहरू र यी प्राकृतिक प्रकोपहरूलाई  विपद् हुनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष अध्ययन अनुसन्धान गरिरहेका छौँ।

आम मान्छेहरूको अहिले पनि बुझाइ के छ भने प्राकृतिक प्रकोपहरू (जस्तै बाढी, पहिरो, भूकम्प आदि) आफै प्राकृतिक विपद् हुन् । तर विपद् कहिल्यै पनि प्राकृतिक होइनन् र हुँदैनन् भन्ने छ । जब प्राकृतिक प्रकोपहरूले जनधनको क्षति गर्दछ, त्यसपछि मात्र त्यो विपदमा  परिणत हुन्छ। सारांशमा प्राकृतिक प्रकोपहरू भनेका यस धर्तीमा भइरहने प्रकृतिको नियमित प्रक्रियाहरू हुन् – यसलाई कहिल्यै पनि रोक्न सकिन्न तर विपद्लाई रोक्न र कम गर्न सकिन्छ । विपद् हुनुमा मानवजन्य क्रियाकलापहरू नै मुख्य कारण रहेको हालको हाम्रो अध्ययन अनुसन्धानहरूले देखाई रहेको छ।

पोखरा १५ स्थित सेती नदीको डिल

 पोखरामा फेरि पनि पहिलेको जस्तो विपद् दोहोरिन सक्ने कतिको सम्भावना छ ?

सेती नदीको मुहान अन्नपूर्ण हिमालय क्षेत्रमा अहिले हिमतालहरू छैनन् । तर पनि अन्नपूर्ण चौथो, माछापुच्छ्रे हिमाल र अन्नपूर्ण तेस्रो हिमालमा हिम पहिरो तथा चट्टाने पहिरोहरू खस्न सक्ने प्रबल सम्भावना छ । यिनीहरूबाट खस्ने हिम पहिरो तथा चट्टाने पहिरोहरू एकै ठाउँमा जम्मा हुन्छन् । किनभने अन्नपूर्ण चौथो, तेस्रो र माछापुच्छ्रे हिमालको बिच भू-भाग कचौरा आकारको छ, जसलाई हामी अन्नपूर्ण ग्रेटर डिप्रेसन भनेर चिन्दछौँ । अन्नपूर्ण ग्रेटर डिप्रेसनबाट सुरू हुने सेती नदीको घाँटी अति साँगुरो र गहिरो छ ।  पहिले ८ सय  वर्षअघि जत्तिकै ठूलो स्केलको बाढी नआए पनि जलवायु परिवर्तन अथवा अन्नपूर्ण हिमालय क्षेत्रमा आउन सक्ने भूकम्पीय हलचलले अन्नपूर्ण हिमशृङ्खलाबाट चट्टाने पहिरो र हिम पहिरो खस्न सक्छन् ।  जसले गर्दा सेती नदीमा ठूला बाढी ल्याउने सम्भावना धेरै छ।

जस्तो २०६९ वैशाख १२ मा सेतीमा आएको सुक्खा बाढी असार-साउन महिनामा आएको भए ठूलो अकल्पनीय क्षति हुन सक्थ्यो । त्यस्तै ठाउँ ठाउँमा सेती भिरालो पहाडको साँगुरो गल्छीहरू हुँदै बग्ने हुनाले कुनै पनि बेला पहिरो खसेर सेती थुनिन गई त्यसबाट सृजित ताल फुटेमा ठूलो बाढी आउन सक्छ । अघि नै भने झैँ यस्ता प्राकृतिक प्रकोपहरूको सम्भावना पोखरामा धेरै नै छ । जसलाई  हामी कसै गरी रोक्न सक्दैनौ  । अर्कोतिर पहिलेको तुलनामा आज सेती किनारमा बस्तीहरू, भौतिक संरचनाहरू र पोखरामा पनि घर र जनसङ्ख्या उल्लेख्य मात्रामा बढेको अवस्था छ ।  कुनै पनि बेला विपद् दोहोरिन सक्ने प्रबल सम्भावना छ।

पोखराको सेती नदी गहिरिएर बगेको छ । यसको कारण के होला  ?

पोखरा विशेष गरी दुई वटा भीषण बाढीहरूबाट बनेको उपत्यका हो । करिब १२ हजार वर्ष पहिलेको बाढीले थुपारेको भूभागलाई हामी घाचोक फर्मेशन भनेर चिन्दछौँ भने ८ सय वर्ष पहिलेको बाढीले थुपारेको भूभागलाई हामी पोखरा फर्मेशन भनेर चिन्दछौँ । हेर्दा उस्तै देखे पनि घाचोक फर्मेशन, पोखरा फर्मेशन भन्दा बलियो र कडा छ । पोखरा फर्मेशन कम खँदिलो, खुकुलो र कमजोर छ।

सेती जहाँ-जहाँ पोखरा फर्मेशन भएर बग्दछ, त्यहाँ-त्यहाँ सेती फराकिलो भएर बगिरहेको छ । जहाँ-जहाँ घाचोक फर्मेशन भएर बग्दछ, त्यहाँ-त्यहाँ सेती गहिरो र साँगुरो खोँच बनाएर बगिरहेको छ । सेती गहिरिँदै जानुमा नदीको आफ्नै प्राकृतिक नियमित प्रक्रिया एउटा मुख्य कारण हो । अर्कोतिर मानवजन्य क्रियाकलापहरू जस्तै नदी दोहन, उत्खनन पनि मुख्य कारणमा पर्दछन्।

पोखरा महानगरपालिकाले सानिसा कार्यक्रमअन्तर्गत सेती खोँचमा साहसिक  गतिविधि गर्न, पाताले छाँगोमा सिसाको पुल बनाउन र रामघाट क्षेत्रमा नदी थुनेर बाँध बनाएर ताल समेत बनाउने गरी निजी क्षेत्रलाई दिँदै छ¸ यसबाट के कस्ता फाइदा र नोक्सान हुन सक्छन् ?

रामघाट क्षेत्रमा बगिरहेको सेती थुनेर बाँध बनाउनु भनेको भोलिका दिनमा ठूलो विपद् निम्त्याउनु हो । यसो गर्नु मेरो अध्ययनले जोखिम नै मानेको छ । सेती नदी जस्तो उच्च बहाव र ठूला बाढी आउने खोलालाई चेक ड्याम बनाएर थुन्नु इन्जिनियरिङ हिसाबले पनि चुनौती छ । त्यसमा पनि निकै साँगुरो घाँटी भएको रामघाट क्षेत्रमा यसो गर्नु भनेको झनै जोखिम हुन्छ।

रामघाटमा अहिले पनि वर्षा याममा ठूलो पानी पर्दा, प्राकृतिक तवरमै अर्को फेवाताल बन्दछ । बाँध नै बाँधेर नदीको प्राकृतिक बहावलाई रोक्दा अहिलेको रामघाट जलमग्न तालको सतह बढेर माथि आउँदछ ।  त्यहीबेला अचानक ठूलो बाढी आइदियो भने वा रामघाट भन्दा तलतिर सेतीको डिलहरू खसेर (जहाँ जमिन चिरेर धाँजा परेर बसिरहेको अवस्था छ) सेती थुनिन गयो भने रामघाटमा ताल बनेर बसेको पानी अवश्य पनि बस्ती तर्फ सोझिन्छ । यसले ठूलो विपद् निम्त्याउँदछ।

पोखरा रामघाट स्थित सेती नदी, बर्खामा अस्थाई रुपमा यस्तो ताल बन्ने गरेको छ

सेती थुन्दा हुन सक्ने जोखिम न्यूनीकरण गरेर रामघाटमा ताल बनाउने महानगरपालिका र निजी कम्पनीको भनाई रहेको छ के यो सम्भव छ ?

सेती नदी जस्तो ठूलो नदी जुन् पोखरा बजारको बिच भागबाट बगिरहेको छ, त्यसलाई  छेक्नु र अवरोध गर्नु जुनै प्रकारले गरे पनि जोखिमयुक्त हुन्छ । भलै अहिले कस्तो खालको ड्याम बनाउने, कत्ति गहिराई र अग्लो बनाउने कुरा प्रस्ट भई नसकेको अवस्था भएता पनि संसारभरिको प्रयोगले के प्रमाणित गरिसकेको छ भने खोलाको प्राकृतिक बाटो छेकेर जस्तोसुकै संरचनाहरू बनाए तापनि ढिलो चाँडो यी फेल भएर गएका छन् । त्यस्तो काम नगर्नु नै बुद्धिमानी हुनेछ।

कस्तो खालको ड्याम बनाउने, कत्ति गहिराई र अग्लो बनाउने कुरा प्रस्ट भई नसकेको अवस्था भएता पनि संसारभरिको प्रयोगले के प्रमाणित गरिसकेको छ भने खोलाको प्राकृतिक बाटो छेकेर जस्तोसुकै संरचनाहरू बनाए तापनि ढिलो चाँडो यी फेल भएर गएका छन् । त्यस्तो काम नगर्नु नै बुद्धिमानी हुनेछ।

सेती खोँचमा साहसिक पर्यटकीय पूर्वाधार बनाइने महानरपालिका र निजी कम्पनीबिच भएको प्रारम्भिक सम्झौतामा उल्लेख छ¸ यसबाट हुने फाइदा र हुन सक्ने जोखिम के कस्तो हुन सक्छ ? 

सेती खोँच पनि ठाउँअनुसार फरक छ ।  कुनै ठाउँमा बलियो छ । जस्तै घाचोक फर्मेशन भएको ठाउँहरूमा भने कुनै ठाउँ खुकुलो बाध्येढुंगा र कमजोर माटोले बनेको छ । पोखरा फर्मेशन भएको ठाउँहरूमा उदाहरणको लागि महेन्द्रपुलदेखि तुलसीघाटसम्मको भाग बलियो बाध्येढुंगाले बनेको छ जो घाचोक फर्मेशनको बाढीले बनेको हो भने रामघाट खाल्डो अनि वैरागी वनदेखि ढुंगेसाँघुसम्मको भाग कमजोर छ।  जो पोखरा फर्मेशनको बाढीले बनेको हो । यी ठाउँहरूमा जमिन चिरा पनि परेको छ । चाइना पुल तल-माथि , रङ्गशालाको नदी किनारदेखि रातो पैह्रोसम्म नै जोखिम क्षेत्र रहेको छ । यसैले कहाँ नेर कस्तो संरचना बनाउने हो, सोहीबमोजिम जोखिमहरू पनि धेरैथोरै हुने कुरा हो।

पृथ्वी चोक नजिक सेती नदीमा खस्न लागेको ढिस्को

पोखराको पाताले छाँगोमा सिसाको पुल बनाउनेलगायतका साहसिक खेलका गतिविधि सञ्चालन गरिने पनि उल्लेख छ¸ यसबाट के कस्ता फाइदा र जोखिम निम्तिन सक्छ ?

पक्का पनि साहसिक खेलका गतिविधि सञ्चालन हुनु पर्यटन विकासकालागि महत्त्वपूर्ण काम हुन्। यसले पोखराको पर्यटन विकास र प्रवर्द्धनमा  महत्त्वपूर्ण भूमिका खेल्छ । तर पर्यटकीय पूर्वाधार बनाउँदा भोलि हुन सक्ने जोखिमलाई पनि ध्यानमा राखेर विपद् हुन नदिने गरी हुनु पर्छ। यदि पोखराको पातले छाँगोमा पनि खोला नै थुनेर संरचनाहरू बनाउने, कमजोर ठाउँमा संरचनाहरू बनाउने  भयो भने यसले एकदिन विपद् निम्त्याउँदछ।

यहाँलाई स्मरण गराउन चाहन्छु कि गुप्तेश्वर गुफामाथि बनेका घरहरू भूकम्पीय हिसाबले साह्रै जोखिममा छन् । यसैगरी राजमार्ग पनि गुफामाथि नै हुनु अर्को जोखिम छ । ठूलो भूकम्प आएको बेला गुफा भासिन सक्दछ । जहाँसम्म पाताले छाँगोमा सिसाको पुल राख्ने विषय छ¸ यसले पर्यटन विकासमा सकारात्मक प्रभाव परे पनि जोखिमलाई ध्यान दिनु पर्छ । गुफाभित्र नै विभिन्न साहसिक गतिविधि गर्नु पनि जोखिम हुन सक्छ।

बाढीको जोखिममा शान्ती बजार
रातो पहिरोमा खस्न लागेको ढिस्को

Facebook Notice for EU! You need to login to view and post FB Comments!