
प्रवासमा रहेका पोखरेली युवाले फेवाताल संरक्षण र सफाइमा सक्रियता देखाएका छन् । अध्ययन र रोजगारीकाे अवसर खोज्दै विभिन्न देश पुगेका युवाहरूले पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको सरसफाइकालागि स्थानीय युवालाई परिचालन गरी सरसफाइ अभियान चलाएका हुन् ।
पोखरा बैदामका अघिल्लो पुस्ता तालको पानी खाएर हुर्किए । त्यसपछिको पुस्ता तालको पानी नखाए पनि तालमा निर्धक्क पौडी खेलेर हुर्किए । अहिलेका युवा तालमा बढ्दो प्रदूषणको कारण छालामा सङ्क्रमण हुने डरका बिच पनि पौडी खेल्ने गरेको स्थानीय युवा बताउँछन् । तालमा सोझिएका पोखराका ढल, खोला, नहरमा जथाभाबी फोहोर पानी, प्लास्टिकजन्य वस्तु, मरेका कुखुरा लगायतका सिनो समेत फ्याँक्दा ताल प्रदूषणको चपेटामा पर्दै गएको छ ।

पर्यटक आकर्षण गर्न ताल किनारमा फुटपाथ निर्माण गरिएको छ । त्यस क्षेत्रमा थप आकर्षण गर्न गण्डकी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुबो, विभिन्न प्रजातिका फूल र वृक्षरोपण गरेको छ । यससँगै ताल किनारमा सौन्दर्यता थपिएको छ । तर लेकसाइड घुम्न जाने पर्यटकले त्यस क्षेत्रमा जथाभाबी फोहोर फ्याँक्दा पनि ताल किनार थप प्रदूषणको चपेटामा पर्दै गएको छ ।
ताल किनार क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि मात्र आकर्षणको केन्द्र नभएर स्थानीय पोखरेली पनि धेरै जाने क्षेत्र हो । ताल किनारमा घुम्न, टहलिन गएका युवायुवतीले प्लास्टिकको प्याकेजलगायतमा लगेको ड्राइफुडका प्लास्टिकको खोल, पानीको बोतल, क्यान, सिसाका बोतल लगायत जथाभाबी फ्याँक्दा पनि प्रदूषण बढेको छ । यसरी ताल क्षेत्रमा प्रदूषण बढ्दै गएपछि प्रवासमा रहेका युवा ताल सरसफाइ र संरक्षणमा जुटेका हुन् ।
पोखरा बैदाम (लेकसाइड) का शंकर कोइरालाको संयोजकत्वमा प्रवासी नेपाली समूह स्थापना गरी ताल सरसफाइ र संरक्षणका लागि आफूले आम्दानी गरेको केही रकम ताल सरसफाइका लागि छुट्याएर पोखरेली युवाहरूले यो अभियान सुरु गरेका हुन् । अभियानमा पोखरा बैदामका किशोर बराल, ओमप्रकाश पराजुली, नारायण पहारी (जोनी), वसन्त न्यौपाने, अमृत न्यौपाने, दीपक पहारी लगायतका युवाहरूको सक्रियतामा ताल सरसफाइको काम भइरहेको छ । समूहले नेपालमै भएका युवालाई संरक्षणमा लाग्न प्रेरित गरी फेवाताल संरक्षण पहल दर्ता गरेर अघि बढेका हुन् ।

प्रवासी नेपाली समूहकाे पहलमा गत माघ महिनामा जिल्ला प्रशासन कार्यालय कास्कीमा फेवाताल संरक्षण पहल नामक संस्था दर्ता गरेर ताल सरसफाइको काम भइरहेको फेवाताल संरक्षण पहल पाेखराका अध्यक्ष धर्मराज पहारीले बताए । प्रवासमा रहेका पोखरेली युवाको पहल र आर्थिक सहयोगमा संरक्षण पहलले ताल सरसफाइका काम गर्दै आएको संरक्षण पहलका सचिव तेजनारायण पराजुलीले बताए ।
अष्ट्रेलिया, आयरल्यान्ड, बेलायत, अमेरिकालगायत ११ देशमा रहेका पोखरेली युवाकाे अभियानलाई विभिन्न देशमा रहेका कास्की बाहेकका अन्य जिल्ला र सहरका युवाले पनि साथ दिएका छन् । प्राकृतिक स्रोत संरक्षण गर्दै वातावरण स्वच्छ राख्नुको साथै अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा सूचीकृत फेवाताल जोगाउन अभियानमा जुटेको प्रवासी नेपाली समूहका संयोजक शंकर कोइरालाले बताए । पहिले हामी निर्धक्क तालमा पौडी खेल्दै आयौँ । बुवा–आमाले तालकै पानी खाना पकाउन, पिउन प्रयोग गर्नु भयो । पछिल्लो समयमा ताल प्रदूषणको चपेटामा पर्दै गएपछि ताल संरक्षण गर्न प्रवासमा रहेका पोखरेली युवा जुटेको उनले बताए ।
विभिन्न देशमा रहेका २६ जना प्रवासी युवाले ८ लाख ५० हजार रुपैयाँ बराबरको डस्टबिन सहयोग गरेका छन् । डस्टबिनहरु फेवाताल किनारमा राखिएको छ । पोखराको गैराको चौतारादेखि गौरीघाटसम्म पहिलो चरणमा यो अभियान सुरू भएको हो । डष्टबिन राखेर मात्र फोहोर व्यवस्थापन नहुने बुझेका प्रवासी युवाले प्रत्येक बिहान डष्टबिनमा राखिएको फोहोर व्यवस्थापन गर्न दुईजना सहयोगी पनि राखेका छन् । सहयोगीले बिहानै डष्टबिनमा रहेको फोहोर व्यवस्थापन गर्ने गरेको फेवाताल संरक्षण पहलका सचिव तेजनारायण पराजुलीले बताए ।
प्रवासी नेपाली समूहले ताल सरसफाइका लागि आवश्यक औजार खरिदका लागि खहरे आमा समूहलाई ६० हजार रुपैयाँ सहयोग गरेको छ । ताल सरसफाइमा जुटेका नेचर नेपाल समूहका युवालाई २५ हजार रुपैयाँ पनि सहयोग गरेको पराजुलीले जानकारी दिए । समूहले महावीर पुनको आविष्कार केन्द्रलाई २ लाख सहयोग गरेको समूहका संयोजक कोइरालाले बताए ।

ताल संरक्षणाका लागि जनचेतना जगाउने सन्देशमूलक वातावरणमैत्री बोर्ड ताल वरपर राखिने पनि उनले बताए । तालको महत्त्व बुझाउन ताल र सिमसार क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा, जैविक विविधता झल्कने सूचना पनि राखिने कोइरालाले बताए । फेवाताल संरक्षण पहल मार्फत स्थानीय जातका माछाहरु रेवा, भित्ते, रघु, सहरलगायतका माछा पुनर्स्थापनाको काम पनि गरिने विषयमा छलफल भइरहेको उनले सुनाए । जलकुम्भी झार झिक्ने नयाँ मेसिन पोखरामै बनाउन सम्भाव्यता अध्ययन पनि भइरहेको कोइराला बताउँछन् । ताल सरसफाइको साथै तालको इकोसिस्टम बचाउन जैविक विविधतालाई हानी नोक्सानी हुने विषयको पहिचान गरी नियन्त्रणका काम गर्ने गरी तालको पानीको शुद्धताको पनि अध्ययन हुने गरी काम अघि बढाइने उनले बताए ।