म्याग्दीको तोरीपानी होमस्टेको कोशेली टिम्बुर, भागो, भटमास, घिउ, तरकारी


     नेचर न्युज    
     मंसिर २३ गते २०८२ मा प्रकाशित


तोरीपानी म्याग्दी : बेनी नगरपालिका ९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालनको आएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सयपत्री होमस्टे सञ्चालनमा आएको हो ।

इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ ज्ना बस्न र खान सकिने गरी घरबास सञ्चालनमा आएको हो । पर्यटकको चापसँगै गाउँमा थप विस्तार हुने सयपत्री सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताइन् । घरबासमा आउने पाहुनालाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रदर्शनका साथै स्थानीय उत्पादन उपहार तथा बिक्री समेत गरिने अध्यक्ष खत्रीले बताइन् ।


घरबास सञ्चालन अघि गाउँका स्थानीयलाई इको हिमालय काठमाडौले उत्कृष्ट घरबास कार्यक्रम भएका स्थानहरुको भ्रमण गराई पाहुनाकालागि खानाको परिकार बनाउने तालिम दिइएको थियो । घरबास समूहलाई दुई लाख र पाँच घरलाई ७० हजारका दरले आर्थिक सहयोग उपलब्ध गरिएको थियो । घरबास कार्यक्रमको मापदण्ड अनुसारको संरचना तयार गरिएको इको हिमालयका निर्देशक नारायण ढकालले बताए ।

बेनी नगरपालिका भित्रका पर्यटकीय स्थलमा सेवा सुविधा पुग्ने गरी घरबास सञ्चालनमा आउदा पर्यटन विकासमा सहयोगी हुने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए । पर्यटकीय स्थलमा पर्यटकलाई आकर्षण गर्न सबैभन्दा पहिले उनिहरुको बस्ने र खाने पूर्वाधार तयार हुनु पर्ने उनले बताए । होमस्टे सञ्चालनले तारीपानी गाउँको पर्यटन विकासमा योगदान पुग्ने उनले विश्वास गरे । घरबास संञ्चालनकालागि नगरपालिकाले आवश्यक सहयोग गर्ने पनि उनले बताए । नेपालको दिगो विकासकालागि पर्यटन विकास महत्वपूर्ण रहने इको हिमाल अष्ट्रियाका अध्यक्ष प्रोफेसर डा कुर्ट लुगरले बताए । कृषि उत्पादन नेपालको विकासकालागि मुख्य पेशा रहेको र पर्यटन दोस्रो महत्वपूर्ण व्यवसाय रहेकोले प्रकृति संरक्षण संगै पर्यटन विकास हुनुपर्ने उनले बताए ।

कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाल आचार्यले ग्रामिण पर्यटन विकासकालागि घरबास कार्यक्रम प्रभावकारी हुने बताए । प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधताको साथै स्थानीय उत्पादन पाहुनालाई पस्कन सक्नु दिगो पर्यटन विकासकालागि महत्वपूर्ण रहने आचार्यले बताए । होमस्टेमा पर्यटन प्रवद्धनकालागि टान गण्डकीले सहयो गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, वडा अध्यक्ष चक्र केसी लगायतले ग्रामिण पर्यटन विकासकालागि होमस्टे सञ्चालन महत्वपूर्ण रहने बताएका थिए । बेनी बजार देखि ९ किलोमिटर उत्तर तर्फ रहेको तोरीपानी गाउँ सवारीसाधनमा ३० मिनेटमा पुगन सकिन्छ । समुन्द्री सतह देखि १ हजार ७ सय ५० मिटर उचाईमा रहेको तोरीपानी गाउँबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरी लगायतका हिमालको सुन्दरताको अवलोकन गर्न सकिन्छ ।

यहाँका सांस्कृतिक विविधता, तोरीपानी गाउँको शिरानमा बाइसे चौबीसे कालिन राज्यको संरचना पर्यटकको आकर्षण हुन् । तत्कालीन एतिहासिक पर्वत राव्यको राजधानी ढोल्ठानले इतिहस बुझन सकिन्छ । विश्वकै सातौ अग्लो धौलागिरी हिमालको आधारशिविर, धौलागिरी सेञ्चुरी पदमार्ग पर्यटककालागि आकर्षणका पदयात्रा मार्ग हुन् ।

होमस्टेको कोशेली कृषि उत्पादन

गाउँमा पर्यटक बनेर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्थानीय अर्गानिक उत्पादन पस्कन तरकारी खेती, कुखुरापालन, बाख्रापालन, गाई, भैसी पालन भइरहेको छ ।

तोरीपानी गाउँ टिम्बुर उत्पादनकालागि प्रख्यात गाउँ हो । यहाँ वर्षेनी लाखौ रुपैयाँका टिम्बु बिक्री गरिन्छ । पहिले ३ सय रुपैयाँ किलोमा बिक्री हुँदै आएको टिम्बुर अहिले ३ हजारमा बिक्री हुदै आएको छ । यसबाट स्थानीयले राम्रो आम्दानी लिइरहेका छन् । स्वदेशी पर्यटक होमस्टेमा बसेर फर्कदा कोशेलीको रुपमा टिम्बुरको साथै भागो, भटमास, घिउ, तरकारी लिएर आउन सक्ने गरी गाउँमा उत्पादन भइरहेको स्थानीय होमस्टे सञ्चालक रश्मि चोखालले बताइन् । बेनी नगरपालिका ९ तोरीपानी गाउँ टिम्बुर उत्पादनकालागि प्रख्यात छ ।

अर्गानिक तरकारी, मासु, अन्न उत्पादन हुँदै आएकोले पर्यटक आउँदा तरकारी, मासु, अण्डा लगायतका उत्पादन किन्न बजार धाउनु पर्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । यस गाउँको तरकारी, टिम्बुर, लगायतको उत्पादन बेनी बजार पुग्ने गर्दछ ।