वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन


     नेचर न्युज    
     पौष ३ गते २०८२ मा प्रकाशित


वन कुकुरको वासस्थान सुधारकालागि कास्कीको पर्यटकीय गाउँ ताङ्तिङका स्थानीय समुदायले वन क्षेत्रबाट करिब २५० केजी प्लास्टिक संकलन गरेका छन्। संकलित प्लास्टिक पुनःप्रयोग गरी उपहार सामग्री बनाइने र छिट्टै बिक्री गरिने स्थानीयले बताएका छन् ।

गाउँदेखि परको वन क्षेत्रमा भएको यस सरसफाइ अभियानमा करिब ६८ जना आमा समूह, संरक्षण क्षेत्र व्यवस्थापन समिति, युवा क्लब, पर्यटन उपसमिति, टोल सुधार समिति, होमस्टे, होटल व्यवसायी लगायतको सक्रिय सहभागिता रहेको थियो। नौजु, सिक्लेस जाने बाटो तथा आसपासका क्षेत्रमा फोहोर संकलन गरिएको हो। संकलित फोहोर अन्नपूर्ण संरक्षण क्षेत्र अयोजनाको सहयोगमा स्थापना गरिएको संकलन केन्द्रमा राखिएको छ।

ताङ्तिङमा मादी गाउँपालिकाअन्तर्गत वन कुकुर संरक्षणसम्बन्धी परियोजना सञ्चालनमा रहेको छ। प्रकृतिका साथीहरू संस्थाले वडा तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिसँग समन्वय गरेर आगामी दुई वर्षभित्र वासस्थान सुधार, नेचर गाइड तालिम, सूचना केन्द्र स्थापना, वन क्षेत्रमा पोखरी निर्माण र संरक्षण चेतना शिविर सञ्चालन गर्ने लक्ष्य लिएको छ।

गाउँभित्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आमा समूहसँग मिलेर नियमित सरसफाइ गरिरहेको छ। हामी गाउँदेखि परको वन क्षेत्रमा रहेको फोहोर संकलन गरेर यसलाई जीविकोपार्जनसँग जोड्न चाहन्छौं कार्यक्रमको समन्वय गरिरहेका सुदर्शन पराजुलीले भने । यसले वन कुकुर लगायत अन्य वन्यजन्तु संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

स्थानीय समाजसेवी तथा लेखक प्रकाश गुरुङले वासस्थान सुधारमा सहयोग पुग्ने यस्ता गतिविधिमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । लामो समयदेखि लोपोन्मुख अवस्थामा रहेको वन कुकुर यस क्षेत्रमा हराइसकेको अनुमान गरिए पनि करिब ८ वर्षअघि ‘प्रकृतिका साथीहरू’ संस्थाले गरेको क्यामेरा ट्रयापमा देखिएपछि यस क्षेत्रमा संरक्षण प्रयासहरू नियमित रूपमा अघि बढिरहेको बताइएको छ।