तपाई मांसाहारी हो भने शाकाहारी भैहाल्नुस, नत्र यो बानीले तपाई र वातावरणलाई बिगार्छ


     कुमार दर्जी    
     जेठ १४ गते २०७८ मा प्रकाशित


मेरो घरमा आजकाल खानामा प्राय मासुको परिकार  भइरहन्छ। मलाई पुग्यो भन्दा पनि भान्सेले कर गरी गरी  हाली दिन्छे l पेट नै अटसमटस हुने गरी खानु पर्ने बाध्यताबाट छुटकारा पाउन गाह्रो हुन्छ । २५-३० वर्ष अगाडी यसै गरी कर लगाई लगाई खानु भन्दिने मान्छे पाएको भए कति खाइन्थ्यो होला।

म सानो छँदा पेटभरि मासु खान दसैँ तिहार वा कुनै ठुलो चाडपर्व नै कुर्नुपर्थ्यो। बेलाबेलामा आकलझुकल हुने भोज भतेरमा तपाई हामी कतिले त अनुभव गरेको हुनुपर्छ चोक्टा कति नै भागमा पर्ने होर? कहिले काहीँ बाले घरमा कता कताबाट मासु ल्याउनु हुन्थ्यो। अगेनाको वरिपरि खाना खान बस्दा आमाले मलाई अर्को चोक्टा थपी दिने हो कि होइन ? मलाई नथपीकनै कसौँडी रित्तिने पो हो कि? भन्ने चिन्ताले मन भतभत पोल्थ्यो।

अहिले ठ्याक्कै उल्टो । मन नलाग्दा पनि खा कि खा। मेरो घरमा मात्र कहाँ हो र ! एक दिन साथीले खाना खान बोलायो। अनुमान लगाउन गाह्रो थिएन त्यहाँ मासु पनि पाकेको छ भनेर। खाना खाने बेला मासु खान अलि कम गरेको छु मलाई थोरै राख्नुस् है भनेर साथीको श्रीमतीलाई के भनेको थिएँ ‘तपाईँको  घरमा आएर धेरै मासु खाइदिन्छौ भनेर हो कि क्या हो’भनेर पो मासु धेरै हालिदिइन्l  लौ मारो !

एक दिन अफिसमा काम सकेर साँझपख साथी र म खाजा खान  कोटेश्वर नजिकै एउटा  खाजा घर  छिरयौं। साथीले ‘सोध्यो के खाने हो केटा’? मैले कुनै भेजिटेरियन आइटम खाऊँ न मात्र के भनेको थिए, ‘पागल भइस् क्या हो’ अरे मलाई त । हैन मासु खान्न भन्दा पागल भइन्छ र भन्या?

घरमा , साथीभाइकोमा , मिटिङमा , गोष्ठीमा , भोजभतेर जताततै अत्यधिक मासुको खपत। कसरी यस्तो भैराछ ? मासु सस्तो भएर हो की , मान्छेले २/४ पैसा अलि बढी कमाउन थालेर हो कि, अलि ठुला ठालु  पल्टिनालाई हो कि , खेतीपातीमा लगाव कम भएर पो हो कि अथवा अन्य केही कारणहरू छन्।

यो सब अध्ययनको विषय बन्न सक्ला । तर मासु खानै पर्ने हो र ? शरीरलाई नभई नहुने हो ? नखाँदा वा कम खाँदा के हुन्छ ? कमजोर हुने हो र? यदि कमजोर नै हुने हो भने त्यो बेला जन्मेका हाम्रा हजुरबा हजुरआमाहरू किन अहिले सम्म पनि बलिया हुनुहुन्छ? जोस जाँगर पनि उतिकै छ, कहिले काहीँ त नाति नातिनाहरुको भन्दा पनि बढी पो देखिन्छ त उहाँहरूको जोस।

किन भनेर प्रश्न गर्दा दही, दूध र सुका मानु घ्यु खाको ज्यान हो भन्छन् l  त्यसमाथि  कोदो, फापर, गहुँ, मकै र आफ्नै बारीको सागसब्जी खाएको महिमा त कति सुन्नु । मासुको त कुरै गर्नु हुन्न। हैन खाने कुराको तालमेल मिलाएर मात्र यस्तो भएको हो त ? हो की क्या हो। नत्र हिजोआज देखिएका कतिपय रोगव्याधीमा किन विज्ञहरू खानपानको कारण देखाउँछन् ? तपाई हामीले बेलाबेलामा यस्तो सुनेकै हुनु पर्छ। कतै यस्तो हुनुमा खानामा अत्यधिक मासुको प्रयोग त हैन ?

म जलवायु परिवर्तनको बारेमा अध्ययन गर्दै गरेको विद्यार्थी भएको नाताले स्वास्थ्य सँगसँगै मासुको प्रयोगलाई जलवायु परिवर्तनसङ पनि जोडने प्रयास गर्छु। मासु विशेष गरी प्रोटिन प्राप्तिको लागि खाइन्छ। शरीरका तन्तुहरू मजबुत बनाई राख्न आवश्यक पर्छन्। अनि के प्रोटिन मासुबाट मात्र पाइने हो त? पक्कै पनि होइन । धेरै थरीका शाकाहारी भोजनबाट प्रशस्त मात्रामा प्रोटिन पाउन सकिन्छ। जस्तो भटमास , केराउ, दाल लगायतका धेरै शाहाकारीले खाने खानाबाट प्राप्त हुने एमिनो एसिडबाट शरीरलाई आवश्यक पर्ने प्रोटिनको उत्पादन हुन्छ l जुन हाम्रा अग्रज पुर्खाहरूले प्रशस्त खाने गरेको बताउनु हुन्छ।

मांसाहारी खाना र शाहकारी खाना बाट पाउने प्रोटिनले के फरक पार्छ त स्वास्थ्यमा ?

मान्छेको पाचन प्रणालीको बनावटले मानिस शाहकारी हो भन्ने कुरा प्रस्ट पार्छ। उत्पत्ति देखिनै जङ्गली कन्दमूल खाएर आफ्नो वृद्धि विकास गर्दै आएको मान्छेले आफ्नो अस्तित्व बचाउनका लागि मांसाहारी बनेको कुरा विभिन्न तथ्यहरूले देखाउँछ। मान्छे यस्तो प्राणी हो जसले अगाडी जे आउँछ त्यही खाइदिन्छ। त्यसैले जीव वैज्ञानिकहरूले मान्छेलाई सर्वहारा वर्गमा राखे।

तर महत्त्वपूर्ण कुरा चाही खाने कुरा हाम्रो लागि स्वस्थ र उत्तम हुनुपर्छ भन्ने हो। पौष्टिक आहारा विज्ञहरूले शाहकारी भोजन खान सल्लाह दिन्छन्। किनकि शाहकारी अन्नबालीको आनुवंशिक कोड (Genetic code) मासुको भन्दा  सरल हुन्छ,  र हाम्रो शरीरको पाचन प्रणालीले छिटो र छरितो सँग ( लगभग २ देखि साढे २ घण्टा भित्र ) पूर्ण रूपमा टुक्राई शरीरको कोषहरूमा मिलान गरी दिन्छ।

तर मासुको चाही जटिल खालको आनुवंशिक कोड हुने भएकाले हाम्रो पाचन प्रणालीको क्षमताले छिटो छिटो टुक्राई शरीरमा मिलान गर्न सक्दैन र लामो समय ( लगभग ४ देखि ६ घण्टा सम्म ) लरखराई रहन्छ। त्यति मात्र होइन पूर्ण रूपमा (१०० %) हाम्रो शरीरले पचाउन पनि सक्दैन, र केही अंशहरू पाचन प्रणालीमा रही रहन्छन्।

फलस्वरूप उत्तेजना , आलस्यता , रिस र सुगर लगायतका धेरै समस्याहरू देखिने गर्छन्। कतिपय अवस्थामा एउटै प्रजातिको मासु लामो समयसम्म खाईरहनाले कालान्तरमा त्यही जनावरको स्वभाव त्यो मानिसमा चित्रित हुँदै जाने कुरा पनि कतिपय विज्ञहरू बताउँछन्। जुन पूर्ण रूपमा मासु नपची अवशेष (Traces) रहीरहनाले भएको हो।

यसबाट के स्पष्ट हुन्छ भने हाम्रा पुर्खा साँच्चै नै बाठा , जाँगरिला , र फुर्तिला रहेछन् हामी भन्दा। किनकि, उहाँहरूको खानामा मासु कहिल्यै प्राथमिकतामा परेन। एक पटक साधारण प्रयोग आफै गर्ने कि? मैल त गरेको छु। ४/५ दिन मासु नखाएर हेर्नुस् त! तपाईँको जोस, जाँगर, निद्राको समयावधि तथा अल्छीपन जस्ता कुरामा तुरुन्तै केही परिवर्तन महसुस गर्न सकिन्छ। तर भोक चाही छिटो छिटो लाग्छ।

धेरै मासु खानु स्वच्छ वातावरणका लागि पनि हानिकारक

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओ अनुसार सरदर १ जना मान्छेले वर्ष भरीमा ४२.५ के. जी. मासु खान्छ। देश र मान्छेको आर्थिक क्षमताको कारणले यो औसतको न्यूनतम र अधिकतम मानमा धेरै फरक छ। जस्तो संयुक्त राज्य अमेरिकाका नागरिकले वर्षमा १००.८ के.जी. र नेपालीले ११.१५ केजी  मासु खाने विभिन्न तथ्याङ्कले देखाउँछ।

अगाडी भने जस्तै आर्थिक अवस्था मजबुत र साना-ठुला सहर बजारको पहुँचमा बस्ने नेपालीहरूको चुल्होमा मासु नपाक्ने दिन सायद नै होला। अस्ट्रेलियन एक प्रसिद्ध पशु अधिकारकर्मी फिलिप ओलनका अनुसार  संसारभरि मान्छेले एक हप्तामा २ अर्ब निर्दोष जनावरहरूको हत्या गर्दछ मासुको लागि। पृथ्वी मानिसको मात्रा हो कि जसरी। पानी तथा जमिनमा बस्ने  खरबौँ जीवहरूको वासस्थान हो। तर मानिस एउटा प्रजातिको क्रियाकलापले गर्दा वार्षिक १० हजार भन्दा बढी अन्य प्रजातिहरू पूर्ण रूपमा सखाप भइरहेका छन्। यसबाट प्रकृतिमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै असर परिरहेको छ। त्यस मध्ये २ वटा असर बारे अव चर्चा गरौँ।

पहिलो: कुनै पनि प्रजातिको वंश नै नष्ट हुने गरी काटमार गर्नु भनेको जैविक विविधता र पारीस्थिकीय प्रणालीमा ठुलो असर पुर्‍याउनु हो। जसबाट पृथ्वीमा भएका मान्छे लगायत सम्पूर्ण जीवको खाद्य  शृङ्खला (Food chain) मा नै असर पर्दछ।

काटमारका लागि गरिएका पशुपालन व्यवसायहरूले उल्लेख्य मात्रामा मिथेन तथा नाइट्राइड अक्साइड लगायतका विभिन्न हरित गृह ग्याँसहरूको उत्सर्जन बढाएको छ। मानवीय क्रियाकलापबाट उत्सर्जित हरित गृह ग्यासमा मासु खपत लगायतका विभिन्न प्रयोजनको लागि गरिने पशुपालनबाट लगभग १८ % भन्दा बढी हरित गृह ग्यास उत्सर्जन हुने गरेको विभिन्न तथ्याङ्कमा देख्न सकिन्छ।

यी ग्याँसहरूको अधिक उत्सर्जनको कारण पृथ्वीको सबै जसो भागको तापक्रममा फेरबदल आएको छ। जसले वर्षाको चक्रमा असर गरी कृषि उत्पादन प्रणालीमा नकारात्मक प्रभाव पार्नका साथै विभिन्न रोगव्याधीको प्रकोप बढाएको छ । अहिले हामीले भोगिरहेको महामारी कोभिड- १९ पनि मानिस र जनावर बिचको सम्पर्कबाट भएको हो भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

दोस्रो: अगाडी थोरै व्याख्या गरे जस्तै मासुबाट प्राप्त प्रोटिन उत्पादन गर्न भन्दा त्यति नै मात्राको प्रोटिन अन्नबालीबाट उत्पादन गर्दा अति कम जैविक इन्धनको (Fossil fuel) खपत हुने कुरा विभिन्न अनुसन्धानले देखाएको छ। जस्तो राइजन्डरस् र सोरेट ले सन २००३ मा गरेको अध्ययनमा मासुबाट उत्पादित प्रोटिन भन्दा त्यति नै मात्रामा भटमासबाट प्राप्त प्रोटिन उत्पादनमा ६-२० गुणा कम जैविक इन्धनको खपत हुने निष्कर्ष छ।

त्यसै गरी उत्पादनमा पानीको पनि अधिक खपत हुने तथ्यहरू सार्वजनिक भएका छन्। उदाहरणका लागि १ केजी बिफ (beef meat) उत्पादन गर्न ५० हजार लिटरसम्म पानीको खपत हुने कुरा विभिन्न तथ्याङ्कले देखाएको छ।

यसरी हेर्दा मासु उत्पादन पानीको खपतको हिसाबले अत्यन्त महँगो व्यवसाय भएको कुरा प्रस्ट हुन्छ। लाखौँ वर्ष लगाएर जम्मा भएको जमिन मुनीको पानी (underground aquifer) दिनानुदिन घट्दै गएको वैज्ञानिकहरूले औँल्याएका छन्। तपाई हामी प्राय सबैले पनि पानीका मुहान सुकेका तथा कम भएका अवलोकन गरेको र भोगेको हुनु पर्छ।

अन्तमा,

मासु कम खानाले वा नखानाले स्वास्थ्य मजबुत राख्न र जलवायु परिवर्तनको प्रभाव कम गर्न निक्कै मद्दत पुग्छ। सकिन्छ मासु नखाऔँ। सकिँदैन भने कम गरौँ। खानै पर्ने भएमा स्तनधारी जनावरको मासु भन्दा अरू सेतो खाले मासु (White meat) खाऊँ।

किनकि, स्तनधारी जनावरको आनुवंशिक कोड र मानिसको आनुवंशिक कोड लगभग उस्तै हुने हुँदा पाचन प्रक्रियामा देखिने जटिलताले धेरै समस्याहरू निम्त्याउन सक्छ। भान्सेको करकापमा नफसौँ। मासुको खपत घटाऔँ, स्वास्थ्य रहौँ र वातावरण सन्तुलनमा टेवा पुर्‍याऔँ। तपाईँले आफूलाई बदल्न सक्नुभयो भने मात्र अरूलाई बदल्न सक्नुहुन्छ। प्रकृति संरक्षणका लागि अर्ती मात्र दिने होइन, पहिले आफैँ अभ्यास गरौँ।

(कुमार दर्जी हेम्बर्ग विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन् l उनी जलवायु परिवर्तन अनुकूलन र समाज सम्बन्धमा शोध गर्दै छन्l)