
राजेन्द्र सुवाल र हरिशरण नेपाली
हरीशरण नेपाली, जसको लवाइखवाइ र रहनसहन हेरेर मानिसहरू उनलाई प्रेमपूर्वक ‘काजी दाइ’ भन्थे। यिनै काजी दाइसँगको भेट मेरा लागि एउटा संयोग मात्र थिएन।
मेरा बुबा परासर नारायण सुवालले सन् १९५४ मा बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधिको अध्ययन पूरा गर्नु भयो। त्यसपश्चात दुई वर्ष वहाँ कुनै पूर्णकालिन जागिरमा हुनुहुन्नथ्यो।
त्यसै समयमा विद्यालयको अध्ययनलाई बिचैमा बिट मारेका तर प्रकृतिको खोज अनुसन्धानमा मेरो बुबा जस्तै रुची राख्ने वहाँका घनिष्ट मित्र काजी दाइसँग भेट भैरह्यो। दुबैजनाले काठमाडौदेखि तराईसम्मको प्रकृतिको खोज र अनुसन्धानमा समय व्यतित गर्नुभयो। पछि मेरो बुबा त्रिभुवन विश्वविद्यालयमा जागिर खान थाल्नु भयो भने काजी दाइले चराको अध्ययन र खोजलाई निरन्तरता दिनुभयो।
मेरा बुबा आनन्द कुटी विज्ञान क्याम्पसको प्रमुख हुँदाको बखत सन् १९७२ को जनवरी २६ तारिखका दिन काठमाडौदेखि पोखरासम्मको एक हप्ता लामो अध्ययन शिविर चलाउनु भएको थियो। त्यस कार्यक्रममा संलग्न भएर अध्ययन अनुसन्धानका विभिन्न आयामहरू सिक्ने अवसर मैले पनि प्राप्त गरेको थिएँ। मलाई यसबारे जानकारीहरू थिएन भने पनि हुन्छ।
त्यो शिविरमा विद्यार्थीहरूलाई फिल्ड कार्यहरू सिकाउन उनै काजी दाइलाई विज्ञको रुपमा आमन्त्रित गरिएको थियो। वहाँले फिल्डमा नै चराहरूको पहिचान, संकलन र संकलित प्रजातिहरू दीर्घकालिन रुपमा संग्रहालयमा कसरी सुरक्षित राख्ने भन्नेसम्बन्धी प्राविधिक कुराहरू सिकाउनुभयो । त्यस समयमा पृथ्वी राजमार्ग निर्माणाधीन अवस्थामा थियो।
फिल्ड ट्रिपको पहिलो रातको हाम्रो क्याम्प गल्छीस्थित बैरेनी भन्ने स्थानमा थियो। भोलिपल्ट बिहान सबेरै म मनोरम भू-दृश्यको आनन्द लिंदै उनै काजी दाइको पछि लागें चराहरूको अवलोकन गर्न। यसरी डुल्दै जाँदा कञ्चन र नीलो पृष्ठभूमिको त्रिशुली नदीको किनारमा भेटिएको सुन्दर सेतोकण्ठे माटीकोरे मलाई काजी दाइले चिनाउनु भएको त्यो क्षण अझै पनि मेरो मानसपटलमा ताजै छ। त्यस समयदेखि मेरो जीवनमा नयाँ मोड आयो। म चरा अवलोकनको सौखिन भएँ, उनै काजी दाइको प्रेरणाबाट।
पोखरा पुगेपश्चात हामीहरूले पृथ्वीनारायण क्याम्पसको विशाल परिसरमा क्याम्प खडा गर्यौं। पोखरा नियाल्यौं। यो नेवारी सहरका अलावा सडकका छेउ-छाउमा बसाइ सराइ गरेर आउनेहरूले निर्माण गरेका बाँस, टिन र खरका टहराको सहरका रुपमा रुपान्तरित भएर रहेको थियो।
पोखरा पुगेको भोलिपल्ट हामीले बगरदेखि हेम्जासम्म पदयात्रा गर्यौं। पदयात्राका दौरान सम्भवत: मैले आजसम्मकै ठूलो असिना पानीको अनुभव बटुलेँ। अर्को दिन बिहानै हामी बाटोमा पर्ने खोलाहरूमा पहिरोले थुपारेका ढुङ्गा छिचोल्दै खाना खान सुइखेत पुग्यौं।
खाना खाइसकेपश्चात काजी दाइ जङ्गल छिर्नुभो, केही बेरमा भृङ्गराज चिबे र हरियो लामपुच्छ्रे जस्ता आकर्षक चराका नमूनाहरू लिएर आउनुभयोl अनि विद्यार्थीहरूलाई चराको आकार, प्रकार, रुप, रङ्ग, आहार-विहार जस्ता विषयहरू बताउनुभयो। यसका साथै त्यसको छाला काडेर म्युजिमको लागि नमूना तयार गर्न सिकाउनुभयो। मैले नजिकै बसेर वहाँका सबै गतिविधिहरू ध्यानपूर्वक नियालेँ। यसै भ्रमणमानै वहाँले सेतो गिद्धको समेत नमूना संकलन गर्नुभयो र उक्त गिद्धले मानिसको दिसा खाएको बताउनु भयो।मैले गिद्धले मरेका जनावरको सिनो मात्र खान्छ भन्ने सोचेको थिएँ तर त्यसले त मानिसको दिसा खाने रहेछ भन्ने थाहा पाएँ।
एक हप्ताको पोखरा आसपासको बसाइपश्चात हामी फर्कने क्रममा भर्खरै खनिएका सडकका भित्तामा मुरारी पुतलीचरा पनि चिनाउनु भयो। साना-साना विरुवाहरू, सुन्दर लहराहरू काजी दाइले मलाई चिनाउँदै ल्याउनु भयो।
यो एक हप्ताको वहाँसँगको पोखरा बसाइ र सिकाइ म दशवर्षे बालकको लागि जिवनमा नै परिवर्तन ल्याउने खालको थियो। काजी दाइ असाध्यै नम्र स्वभावको हुनुहुन्थ्यो जसले मलाई आवश्यक सुझाव, जिज्ञासा र अनुभवको आदान-प्रदानका लागि आफ्ना ढोका सधैभरिका लागि खुल्ला राख्नुभयो।
कर्ण शाक्य दाइले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको स्वयमसेवी सदस्यको रुपमा काम गर्दाका बखतमा आयोजना गर्नुभएको चराहरूको पहिचानसम्बन्धी फिल्ड ट्रिपमा मैले समेत सहभागी हुने मौका पाएको थिएँ। त्यस बखत कर्ण शाक्य दाइले ‘नेपालमा काजी जस्ता सयौं चरा अवलोकनकर्ताहरू चाहिन्छ। हामी चराहरूको अध्ययनका लागि विदेशीहरूमा नै निर्भर हुनु हुँदैन’ भनेको मलाई अझै पनि सम्झना छ। शाक्यको उक्त भनाइबाट नै चरा अध्ययन र अनुसन्धानको क्षेत्रमा वहाँको महत्व कति छ भन्ने स्पष्ट हुन्थ्यो। वहाँ प्रकृति र चरा प्रेमीहरूका लागि आफूसँगको ज्ञान आदान-प्रदान गर्न सदैब खुला हुनुहुन्थ्यो।
त्यस बखत कर्ण शाक्य दाइले ‘नेपालमा काजी जस्ता सयौं चरा अवलोकनकर्ताहरू चाहिन्छ। हामी चराहरूको अध्ययनका लागि विदेशीहरूमा नै निर्भर हुनु हुँदैन’ भनेको मलाई अझै पनि सम्झना छ। शाक्यको उक्त भनाइबाट नै चरा अध्ययन र अनुसन्धानको क्षेत्रमा वहाँको महत्व कति छ भन्ने स्पष्ट हुन्थ्यो।
यस्तै चरा प्रेमीहरूको साझा थलोको रुपमा वहाँहरूले नै ‘नेपाल बर्ड वाचिङ क्लव’ गठन गर्नु भयो। सन १९८२ मा यही क्लवको नाम परिवर्तन गरी ‘नेपाल पंक्षी संरक्षण संघ’ राखियो। हाल पंक्षी संरक्षण संघ नेपालको एक स्थापित व्यवसायिक संस्थाको रुपमा विकास भएको छ। यसले हजार भन्दा बढी युवा युवतीहरूलाई दूरवीन, क्यामेरा, सेटलाइट, टेलिमेट्री जस्ता अध्ययन अनुसन्धानका सामग्रीहरूका साथसाथै विभिन्न तालिम र डिग्री समेत उपलब्ध गराएको छ।
सन १९८४ मा मैले नै नेपालमा पहिलो पटक पहेंला ठुँडे कलहाँसको फोटो सहितको रेकर्ड गर्न सफल भएको थिएँ। जसलाई अंग्रेजी पत्रिका ‘द राइजिङ नेपाल’मा छपाउनका लागि वहाँले सहयोग गर्नुभयो।
सन १९८५ मा वहाँका साथीहरू सहित हामी चितवनमा चराहरूको अवलोकनमा गयौं। हाम्रो टिम पैरे खोला र चुरेको उत्तरी भागका खोलानाला डुल्यौं जहाँ उष्णीय हावापानीमा पाइने चराहरू अवलोकनको प्रचुर सम्भावना थियो। हामीले स्वर्णचल राजचिचिल्कोटे, कालो जुरेबाज, ससिया, रक्तशिर जस्ता अन्यत्र कमै मात्रामा भेटिने विभिन्न प्रजातिका चराहरू अवलोकन गर्यौं।
अर्को दिन डुमरिया फाँटको घाँसे मैदानमा जिप सफारीको आनन्द लियौं। यो दिन हाम्रा लागि निकै उत्साहको दिन थियो। निकै रोमाञ्चक दिन थियो किनकि यसै दिन हामीले खरमजुर देख्यौं। सुनौला घाँसहरूको बिचमा अचानक राजसी ठाँटको पाटे बाघ देख्यौं। यसै समयमा मैले मनमनै सोचें कि यो अकल्पनीय दुर्लभ अवसर यिनै काजी दाइको कारण जुरेको थियो।

अत्यन्तै मिलनसार काजी दाइसँग धेरै काम गर्ने अवसर प्राप्त भयो। यिनीहरू मध्ये सन १९९५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभावको नेतृत्वमा नेपालको जैविक विविधताको प्रोफाइल तयार गर्ने कार्य सम्झनलायक काम थियो। ५० जना भन्दा बढी नेपाली अनुसन्धानकर्ताहरूको संलग्नतामा सम्पन्न भएको उक्त कार्यमा चराहरूको सूची तयार गर्ने कार्यमा वहाँको नेतृत्वदायी भूमिका थियो। वहाँको अनुभव, भएका तथ्याङ्क र वहाँको संलग्नताले नेपालको वनस्पति र वन्यजन्तुको डाटाबेस तयार गर्ने कार्य निकै सहज भएको थियो।
५० जना भन्दा बढी नेपाली अनुसन्धानकर्ताहरूको संलग्नतामा सम्पन्न भएको उक्त कार्यमा चराहरूको सूची तयार गर्ने कार्यमा वहाँको नेतृत्वदायी भूमिका थियो। वहाँको अनुभव, भएका तथ्याङ्क र वहाँको संलग्नताले नेपालको वनस्पति र वन्यजन्तुको डाटाबेस तयार गर्ने कार्य निकै सहज भएको थियो।
सन २००५ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनी र युनाइटेड स्टेट्स जियोलोजिकल सर्भिसको सहयोगमा नेपालमै पहिलो पटक टेलिमेट्री प्रविधिबाट चितवनको नारायणी नदीमा गरिएको खोयाहाँसको बसाइ-सराइको अध्ययन हामीले सँगसँगै गर्यौं। उक्त अध्ययनका लागि दुईवटा खोयाहाँसमा टेलिमेट्री जडान गर्न सफल भयौं। उक्त अध्ययनबाट दुबै चराहरू बच्चा कोरल्नका लागि सगरमाथाको उत्तरी भागमा रहेको तिब्बती भू-भागसम्म पुगेको र ५ सय किलोमिटर भन्दा बढीको यात्रा तय गरी पुन: दक्षिणी चितवनको नारायणी नदीमा फर्किएको पायौं।
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरसँगको चरा अवलोकनमा काजी दाइ र म सँगसँगै थियौं। यो अवसर मेरा लागि एक अविष्मरणीय अनुभव थियो। अघिल्लो दिन काजी दाइ र म चरा अवलोकनस्थल पुग्यौं। त्यस वरपर रहेका प्लाष्टिक, सिसाका बोतल लगायतका फोहोरहरू टिप्यौं। चरा अवलोकनका दिन म होटलबाट राष्ट्रपति कार्टरसँगै सवारीमा साथ लागें भने काजी दाइले वहाँलाई शिवपुरी राष्ट्रिय निकुञ्जको गेटमा स्वागत गर्नु भयो। यस्तो अवसर जुराइदिने काजी दाइका अलावा कर्ण शाक्य, अमेरिकी राजदूत पिटर बुर्लिग र डा· हेमन्तराज मिश्रलाई म धन्यवाद भन्न चाहन्छु।
यसका अलावा हामीले प्रकृतिमा आधारित उद्यमका लागि संयुक्त रुपमा प्रयास गर्यौं। ‘बायोडाइभर्सिटी कन्सल्टेन्सी एण्ड बर्ड वाचिङ’ गर्नको लागी नेपाल नेचर डट कम कम्पनी खोल्यौं। यसै कम्पनी मार्फत नेपाल बायोडाइभर्सिटी रिसोर्स बुक तयार गर्यौं। जसलाई इसिमोडले प्रकाशन गरेको छ। त्यसै गरी शिवपुरी राष्ट्रिय निकुञ्जका चराहरूको अनुसूची तयार गरी वन तथा वातावरण मन्त्रालयलाई बुझायौं।
लुम्बिनिका सिमसार क्षेत्रहरू सारसका चल्लाहरू हुर्काउनका लागि अत्यन्तै राम्रो वासस्थान हो। त्यसैले यहाँ सारस संरक्षित क्षेत्र स्थापनाका लागि डा. तिर्थ बहादुर श्रेष्ठ, डा. घनश्याम गुरुङ, रबिन्द्र मानन्धर र स्व· रविन्द्र श्रेष्ठ लगायतसँग काजी दाइ र मैले पटक-पटक यस क्षेत्रको भ्रमण गर्यौं।
यस क्षेत्रको संरक्षणमा डब्लुडब्लुएफ, इन्टरनेशनल क्रेन फाउण्डेसन र लुम्बिनी विकास कोषको सहयोग रहेको थियो। यसै स्थानलाई लुम्बिनी विकास कोषले सन २०२१ फेब्रुअरी २ तारिख (विश्व सिमसार दिवश) का दिन ‘हरीशरण नेपाली काजी ट्रेल’ नामकरण गरेको छ। यसरी चराको अध्ययन, अनुसन्धान र संरक्षणमा ख्याति कमाएका काजी दाइलाई उचित सम्मान गरेकोमा म लुम्बिनी विकास कोषका आदरणीय उपाध्यक्ष भेनेरेबल मेट्टीया प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
सम्भवत: वहाँको जीवनको राम्रो पक्ष भनेको विद्यालयको पढाइ बिचैमा छोड्नु थियो भन्ने मलाई लाग्छ। अन्यथा वहाँले नेपालको समग्र पंक्षी सर्वेक्षण र संरक्षण क्षेत्रको आफै नेतृत्व गर्न सक्नुहुन्नथ्यो कि भन्ने लाग्छ। वहाँको योगदान यतिमा मात्र सीमित छैन। वहाँको जोस, जाँगर, उत्साह र निरन्तरको अभिप्रेरणाबाट नै त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान संग्रहालय स्थापना भएको थियो। यसको मुख्य श्रेय वहाँलाई नै जान्छ।
स्वअध्ययन, निरन्तरको मेहनत र लगावबाट उनले निर्माण गरेको पंक्षी विज्ञान र संरक्षणको विरासतलाई पहिचान गरेर विभिन्न संघ संस्थाहरूले सम्मान प्रदान गरेका छन् । नेपाल पंक्षी संरक्षण संघको तर्फबाट सन २०१८ को सेप्टेम्बर २३ का दिन संरक्षण दिवसको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिबाट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको हातबाट गोदबा चौथो पाएका थिए। नेपाल सरकारले उनलाई २ पटक सम्म (१९९६ र १९९८) वातावरण संरक्षण परिषदमा सदस्यको रुपमा मनोनयन गरेको थियोl
मैले र उकेश राज भुजूले गएको फागुन ५ गते उनलाई भेट्न गएका थियौं। हामीले लुम्बिनी विश्व विद्यालयमा प्राकृतिक विज्ञान संग्रहालय स्थापना गर्ने बारेमा ९४ बर्षीय काजीसँग छलफल गरेका थियौं ।
जुन दिन काजीले हामीलाई छोडेर गए त्यस दिन बिहान कान्छा छोरा श्री शरणले चिया खाने भनेर सोधेका थिए । काजीले घाँटीतिर अलि अप्ठ्यारो भएको र पानी ल्याउन भनेका थिए। पानीको केही घुट्का निलेर छोराको काखमा अन्तिम सास लिएका थिए।
मैले बुझेसम्म नेपालमा अर्का काजी दाइ छैनन् । हामी तपाइँलाई सम्झिरहने छौं । तपाइँलाई सबैभन्दा मनपर्ने चरो ‘लामपुच्छ्रे बुङ्गेचरा’ देख्दा तपाइँको सम्झना ताजै हुनेछ । अलविदा काजी दाइ !


(प्राणीशास्त्रमा स्नातकोत्तर राजेन्द्र सुवाल हाल डब्लुडब्लुएफ नेपालमा कार्यरत हुनुहुन्छ । उहाँ वन्यजन्तुको अनुसन्धान, संरक्षण र पर्यटनमा रुची राख्नुहुन्छ।)






प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…