मानिसको स्वासप्रश्वासले निम्त्याएको जलवायु परिवर्तन


     कुमार दर्जी     
     जेठ २६ गते २०७८ मा प्रकाशित


एउटा सामान्य मानिसले जलवायु परिवर्तनको बारेमा गरेको अनुभव 

 ‘नमस्ते हजुर, मैले त दाइलाई पहिलोपल्ट देखे जस्तो लाग्यो’, व्यायमशालामा सधै नदेखिने अर्धबैसेलाई मैले सोधी हालेँ l

उनी म जस्तै ट्रेडमिलमा दगुरी रहेका थिए l  म बिहान र बेलुकी घुम्नुका साथै यो व्यायमशालामा नियमित नै आउने गर्थेँ l तर उनलाई देखेको थिईन l मेरो प्रश्न भुँइमा खस्न नपाउँदै ठूला-ठूला आँखा पल्टाए l उनको बोलीले म छक्क परेँ l

‘दाइ ? को दाइ ? कति वर्ष  भयौ तिमी ? उनले फेरि थपे  ‘म ७१ वर्ष भएँ, तिमी त मेरो नातिजस्तो देख्छु म’।

पछि थाहा पाएँ, उमेरअनुसारको साइनो लगाको मन पर्दो रहेछ उहाँलाई। ७० बर्ष पुगे पनि उनको शरीर देखेर म झुक्किएको थिएँ l सायद नियमित व्यायामले पनि होला। व्यायमशाला दैनिक जसो नै आउनु हुने रहेछ । तर म भन्दा फरक समयमा। त्यसदिन कतै के काम परेर हो, सधैंको समयमा नभ्याउने भएकोले चाँडो आउनु भएको रहेछ।

एकैछिन् माहोल अप्ठ्यारो जस्तो बनेको थियो l उनी व्यायाम गर्दै गफिन थाले l व्यायाम पनि सकियो l

यी हेर्नस न यस्तै पसिना र वाफ सबैको शरीरबाट निस्कन्छ र तातो बनाउँछ वरिपरिको हावालाई’। यसरी प्रस्ट्याउनु भो वहाँले। म यही विषयमा अध्ययन गरिरहेको विद्यार्थीको नाताले मानिसको स्वासप्रश्वास तथा पसिनाले तापक्रम वढाउन सहयोग गर्न सक्छ भन्ने कुरा स्वीकार्न गार्हो भएन।

उनले भने  ‘काठमाडौमा धुवाँधुलो एकदम वढेको छ बाबु , आजकाल व्यायामशाला आएर एकडेढ  घण्टा पसिना ननिकाले ज्यान नै चनाखो हुन्न भनेको, फेरि कति धेरै मान्छे वढेका यो शहरमा बाटो खाली हुन्न। त्यसैले तातो वढेर खपी सक्नु छैन भनेको’l

उनले मान्छे बढेको कारणले तापक्रम बढेको कुरा गर्दा म चनाखो हुनु स्वाभाविक नै थियो l मैले जिज्ञासा राखेँ ‘कसरी बा’?

‘यी हेर्नस न यस्तै पसिना र वाफ सबैको शरीरबाट निस्कन्छ र तातो बनाउँछ वरिपरिको हावालाई’। यसरी प्रस्ट्याउनु भो वहाँले। म यही विषयमा अध्ययन गरिरहेको विद्यार्थीको नाताले मानिसको स्वासप्रश्वास तथा पसिनाले तापक्रम वढाउन सहयोग गर्न सक्छ भन्ने कुरा स्वीकार्न गार्हो भएन। कसरी र कुन हदसम्म यसको योगदान होला त भन्ने जिज्ञासा झन बढेर आयो।

जनसंख्या बढेको बढ्यै

साँच्चै ७१ बर्षीय बाले काठमाडौमा मान्छे बढे भने जस्तै पृथ्वीमा मानिसको जनसंख्या ह्वात्तै बढेको छ। ‘सन्तानले  डाँडाकाँडा ढाकुन्’ भनेर हाम्रा पुर्खाले दिने आशीर्वाद पूरा हुन केहीले रोकेको छैन। डाँडाकाँडा मात्र होइन खोलाखोल्सी पाखापखेरा केही बाँकी रहला जस्तो छैन। यहाँ हेर्नुस् त, १० हजार विसीमा ४ मिलियन भएको संसारको जनसंख्या सन १८ सयमा १ विलियन हुँदै हाल यो संख्या ७.८ विलियन पुगिसकेको छ। अझ यो सताब्दीको अन्त्यसम्ममा ११ विलियन पुग्ने बताउँछन् विज्ञहरू। यही बढ्दो जनसंख्याले पृथ्वीमा चाहिने नचाहिने काम गरेर पृथ्वीको तापक्रम बढाउन प्रमुख भूमिका खेलिरहेको छ।

मानिसको स्वासप्रश्वास र पसिनाबाट पनि तातो बढेको होला त ? अलिकति थोरै विज्ञानको दृष्टिकोणबाट सुरू गरौं।

तातो चिसो अनुभव कसरी हुन्छ  ?

मान्छेलगायत सम्पूर्ण जीवमा तातो चिसोको अनुभव गर्नलाई साधारणतया सूर्यबाट पृथ्वीसम्म आइपुग्ने तापक्रमको अंशसँगै सापेक्षिक आर्द्रता (Relative humidity) को ठूलो भूमिका हुन्छ। सापेक्षिक आर्द्रताले हाम्रो वरिपरिको हावामा पानीको अंश वा हावामा कति मात्रामा पानीको वाफ ( Water vapor ) छ भन्ने जनाउँछ। यसलाई प्रतिशतमा नापिन्छ। उदाहरणका लागि ५० प्रतिशत सापेक्षिक आर्द्रता भनेको हावामा जम्मा पानीको कणहरु अट्न सक्ने परिमाणमध्ये आधी कणहरू छ भनेको हो।

हावाले कतिसम्म पानीको कण समाएर राख्न सक्छ भन्ने कुरा मुख्यतया तापक्रम र अन्य ग्यासहरूको  कणको मात्रामा भर पर्छ। जति धेरै यो प्रतिशत देखिन्छ त्यति नै बढी  हावामा पानीको वाफ छ भने बुझिन्छ। त्यसैले सापेक्षिक आर्द्रता बढेसँगै गर्मी पनि बढेको महशुस हुन्छ। हावाको तापक्रम स्थिर वा वढेको वेला सापेक्षिक आर्द्रता वढेसँगै गर्मी पनि बढ्दै जान्छ।

हावामा यो पानीको वाफ कहाँबाट आउँछ ?

समुन्द्र, खोला, ताल, आकाशे पानी,  पृथ्वीको सतह तातेपछि वाफको रूपमा हावामा जम्मा हुन्छ l पृथ्वीमा भएका सम्पूर्ण जीव र वनस्पतीले गर्ने श्वासप्रश्वासलगायतका अन्य विभिन्न प्राकृतिक प्रक्रियाहरुबाट पनि जम्मा हुन्छ। त्यसका साथै मानिसले गरेका विभिन्न क्रियाकलापबाट  त पानीको  वाफलगायत झन धेरै अन्य हरितगृह ग्याँस जम्मा हुने बिभिन्न अध्ययनले देखाएका छन्।

यी विभिन्न कारणमध्ये मानिसको रीरबाट कसरी हावामा पानीको कण जम्मा हुन्छ ? छोटो चर्चा गरौं

मानिसको पाचन प्रक्रियाका साथै पसिनाबाट पानी बाहिर गइरहेको हुन्छ । मानिसको शरीरमा तापक्रम सन्तुलित बनाई राख्न पसिना आउने गर्छ। जसबाट पानी र नुन वाष्पीकरण भएर जाने हुदाँ यसले शरीरलाई चिसो बनाई दिन्छ।

सन् २०१० मा जेकवयर र कन्स्ट्यान्टले गरेको अनुसन्धानले सामान्य अवस्थामा एउटा वयस्क मान्छेले प्रतिदिन  २ हजार ५ सय ५० मिलिलिटर पानी फाल्दछ । जसमा पिसाव (Urine ) बाट १६ सय, छाला / पसिना ( skin) बाट ४ सय ५०, श्वासप्रश्वास ( Respiration ) बाट ३ सय  र  दिसा ( Faeces) बाट २ सय  मिलिलिटर पर्दछ। हो उल्लेखित तथ्याङ्कबाट मानिसको जनसंख्या बढेसँगै मान्छेको आफ्नै शारीरिक क्रियाकलाप तथा पाचन प्रक्रियाबाट निष्कशित पानीले वायुमण्डलमा हरितगृह ग्याँसमध्येको एउटा महत्वपूर्ण अंश पानीको वाफ (Water vapor) बढ्न सहयोग पुगेको कुरा प्रस्ट हुन्छ। पानीको वाफको मात्रा बढेसँगै सापेक्षिक आर्द्रता पनि बढ्ने भएकाले गर्मी महसुस हुन्छ।

मानिसको आपनो शरीरबाट निस्कने पानी तथा ग्यास र त्यसबाट वातावरणमा पार्ने असरको बारेमा अध्ययन अनुसन्धान विरलै देखिन्छ। तर अगाडि छोटकरीमा औँल्याएअनुसार एकजना मान्छेले प्रतिदिन २ हजार ५ सय ५० मिलिलिटर पानी फाल्ने अनि जनसंख्या पनि ४ मिलियनबाट बढेर ७.८ विलियन पुग्दा वातावरणमा असर नपर्ने  कुरै हुन्न

त्यसैगरी मानिसको आफ्नो शरीरको लागि पनि उचित किसिमको वायुमण्डलमा पानीको वाफ तथा सापेक्षिक आर्द्रताको जरुरी हुन्छ। साधारणतया ४० देखि ६० प्रतिशत सापेक्षिक आर्द्रता उचित हुने कुरा सन् २०१८ मा ओल्क अफको  नेतृत्वमा गरिएको  अध्ययनले उल्लेख गरेको छ l यो किन  महत्वको विषय हो भने अगाडि अलिकति प्रसङ्ग कोट्याएअनुसार शरीरको तापक्रम सन्तुलनमा राख्न छालाबाट पानी वास्पीकरण भएर बाहिर जान आवश्यक हुन्छ।

हावामा सापेक्षिक आर्द्रता कम भएको बेला हाम्रो शरीरको पानी वाष्पीकरण भएर हावामा जाने हुदाँ हामीलाई शीतलता महसुस हुन्छ र धेरै वाष्पीकरण भएमा  फेरि जाडो महसुस हुन्छ। त्यस्तै सापेक्षिक आर्द्रता बढी भएमा शरीरको पानी आवश्यकताअनुसार वाष्पीकरण भएर बाहिर जान नपाउँदा शरीर तातो हुन्छ । यो हावाको तापक्रमलगायत सापेक्षिक आर्द्रतामा भर पर्छ ।

सापेक्षिक आर्द्रता बढी तथा कम भएमा धेरै किसिमका रोगव्याधीको प्रकोप बढ्ने विभिन्न अध्ययनमा देख्न सकिन्छ । जस्तो सन् २०१४ मा टाइरोमोलस सहितका समुहले गरेको  अध्ययनमा ७० प्रतिशत भन्दा बढीको सापेक्षिक आर्द्रतामा डायविटिजको समस्या बढी भएको देखाएको छ। त्यसैगरी खेतीपातीमा पनि यसको ठूलो महत्त्व हुन्छ।

सन् २०१८ मा सामसिरी सहितको समूहले गरेको  अध्ययनले ५० देखि ७० प्रतिशत सापेक्षिक आर्द्रतामा गोलभेँडा एकदम राम्रो फल्ने निष्कर्ष छl अर्को एक अध्ययनले ६० प्रतिशत सापेक्षिक आर्द्रतामा गोलभेँडाको परागसेचन एकदम राम्रो हुने र  ९० प्रतिशतमा गोलभेँडा नस्ट हुने निष्कर्ष छ। यसरी हेर्दा सापेक्षिक आर्द्रतामा हुने फेरबदलले मानिसको स्वास्थ्य तथा खेतीपातीमा ठूलो असर गर्ने कुरा छर्लङ्ग हुन्छ।  

अरू पनि जलवायु परिवर्तन कारणहरू छन्

हावामा पानीको वाफ मात्र कहाँ हो र, कार्बनडाई अक्साइड (CO2) लगायतका अरू हरितगृह ग्याँसको मात्रा बढाउन पनि मानिसको भूमिका त्यत्तिकै छ। प्रत्येक मान्छेले खाना उत्पादनदेखि पाचन प्रक्रिया पूरा गरी अनावश्यक वस्तुको निष्काशनसम्म पुग्दा प्रतिवर्ष सरदर  दुई टन कार्बनडाई अक्साइडको उत्सर्जन गर्ने विभिन्न तथ्याङ्कले देखाउँछ।

त्यति मात्र होइन,  जनसंख्याको वृद्धिसँगै मान्छेको क्रियाकलापसँग प्रत्यक्ष रूपमा जोडिएर विकास भएका उद्योग धन्दा तथा प्रविधिले उल्लेख्य मात्रामा कार्वनडाई अक्साइड उत्सर्जन गरेको छ।

संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी प्यानल, २०१९  (IPCC) को प्रतिवेदनअनुसार सन २००७ देखि २०१६ सम्मको औसतले ५२.०±४.५ गिगाटन कार्वनडाई अक्साइड इक्विभ्यालेन्ट ( GtCO2yr-1) प्रतिवर्ष उत्सर्जन गरेको देखाउँछ। फलस्वरूप सन १८८० देखि प्रति दशक o. o ८ ⁰C का दरले पृथ्वी तातिरहेको विभिन्न अभिलेखले देखाउँछ।

नेपालको पनि जल तथा मौसम विभागको अभिलेखअनुसार प्रतिवर्ष ०.००२ ⁰C देखि ०.०६ ⁰C सम्म तापक्रम वढेको छ।

अन्त्यमा,

मानिसको आपनो शरीरबाट निस्कने पानी तथा ग्यास र त्यसबाट वातावरणमा पार्ने असरको बारेमा अध्ययन अनुसन्धान विरलै देखिन्छ। तर अगाडि छोटकरीमा औँल्याएअनुसार एकजना मान्छेले प्रतिदिन २ हजार ५ सय ५० मिलिलिटर पानी फाल्ने अनि जनसंख्या पनि ४ मिलियनबाट बढेर ७.८ विलियन पुग्दा वातावरणमा असर नपर्ने  कुरै हुन्न

शारीरिक वृद्धि विकासको लागि मान्छेले निष्कासन गर्ने पानी र ग्याँस प्राकृतिक रूपमा नितान्त आवश्यक छ। तर बढ्दो जनसंख्या चाहिँ ठूलो समस्याको रूपमा देखा परेको हो। पृथ्वीको आकार बढ्ने कुरै भएन।  मानिसको जनसंख्या वृद्धिले गर्दा उपलब्ध श्रोतसाधन दिनानुदिन घटाएको कुरा जो कोहीलाई पनि बुझ्न कठिन छैन। ‘खाना’ घट्दो तर ‘खाने’ बढ्दो । यो त अति नै अप्राकृतिक बिचलन भयो। त्यसैले वैज्ञानिकहरूले अबको लडाई भनेको खाना र पानीकोलागि हुने बताईसकेका छन् ।

त्यति मात्र होइन, जलवायु परिवर्तन गराउन मानिसको ठूलो भूमिका छ। जनसंख्या वृद्धिसँगै मान्छेको ईच्छा  चाहना र सौखिन्ता बढेको बढ्यै छ। मान्छेको उच्चतम आराम र सुविधा (Highest comfort and convenience) मा बाँच्ने चाहनामा कमी नआएसम्म पृथ्वीको तापक्रम सन्तुलनमा फर्केर आउने संभावना पटक्कै देखिँदैन।

जनसंख्या वृद्धिले वातावरणमा मात्र असर पारेको हैन अब पृथ्वीमा बस्ने ठाउँको पनि अभाव हुन थालेको छ। हुन त वैज्ञानिकहरूले  बस्ती बसाल्नका लागि वैकल्पिक ग्रहको पनि खोजी गर्न थालेका छन् । तर त्यहाँ पनि त हाम्रा पुर्खाको सन्तानले डाँडाकाँडा ढाक्ने आशीर्वाद लाग्ला फेरि। त्यसैले, अब आशीर्वादमा समेत परिवर्तनको खाँचो छ।

अबको आशीर्वाद ‘पृथ्वीले धान्ने जति मात्र सन्तान उत्पादन गर्नु, भावी सन्ततिको लागि पृथ्वी बचाई राख्ने सद्वुद्धि आओस, प्राकृतिक श्रोत साधनको दोहन रोक्ने बुद्धि पलाओस् र स्वास्थ्यमा ध्यान जाओस’ लाई बनाऔँ।

(कुमार दर्जी जर्मनीको हेम्बर्ग  विश्वविद्यालयमा  विद्यावारिधि गर्दैछन्उनी जलवायु परिवर्तन अनुकूलन समाज सबन्धमा शोध गर्दै  छन् l)