यार्सागुम्बाको संसार


     बाबु लाल तिरुवा     
     भाद्र ६ गते २०७८ मा प्रकाशित


यार्सागुम्बा उच्च हिमाली घांसेमैदानमा पाइने एक किसिमको बहु उपयोगी जडीबुटी हो । यो प्रकृतिको अद्भुत सृजना हो । आम जनमानसलाई सुन्दा अनि हेर्दा पनि अचम्म लाग्ने तर विश्वास गर्नुपर्ने । तपाइँले सायद यसको बारेमा औधी सुन्नु भएको होला र कतिले त  विभिन्न प्रयोजनका लागि प्रयोग पनि गर्नु भएको होला । संसारमा प्रकृतिको यस्तो पनि सृजना छ जुन आधा प्राणी, मोथ किरा (निशाचर पुतली) र आधा वनस्पति अर्थात् च्याउबाट मिलेर बनेको हुन्छ ।

संसारमा यसलाई विभिन्न नामले चिनिन्छ । अङ्ग्रेजीमा यसलाई क्याटरपिलर फंगस भनिन्छ भने नेपालीमा यसलाई थुप्रै नामले चिनिन्छ, यी मध्ये केही  प्रचलित नामहरू  यार्सागुम्बा, यार्चागुन्बा किरा, जीवनबुटी, किराझार, च्याउ आदि आदि ।

यो यार्सागुम्बा जैविक रूपले एक किसिमको मोथको लार्भा किरा र ढुसीको सम्मिश्रणबाट बन्ने भएकोले यसलाई माथिका नामबाट नामकरण गरेको बुझिन्छ । यार्सागुम्बाको नाम तिब्बती भाषाबाट आएको हो । तिब्बती भाषामा यसलाई यार्सागुन्बु भनिन्छ । ‘यार’को अर्थ वर्षा, ‘सा’को अर्थ घाँस, ‘गुन’को अर्थ हिउँद र ‘बू’को अर्थ किरा भन्ने हुन्छ अर्थात् वर्षाको घाँस, हिंउदको किरा । यही शाब्दिक अर्थबाटै नेपाली नाम रहन गएको पाइन्छ । यसको वैज्ञानिक नाम ओफियाकोर्डिसेपस् साइनेन्सि बर्क हो

उत्पत्ति, फैलावट र वासस्थान (Origin, Distribution & Habitat)

माइकोलोजिष्ट शिव देवकोटा  तथा एस. शर्माका अनुसार सर्वप्रथम यार्सागुम्बा चीनको तिब्बती पठारहरूमा  चौँरी गोठालोहरूले थाहा पाएको भन्ने तथ्यको अभिलेखिकरण गरेको पाइन्छ । आज भन्दा १ हजार ५ सयदेखी २ हजार  वर्षपहिला त्यहाँका गोठालाहरूले आफ्ना हिमाली घरपालुवा जनावरहरू उच्च हिमाली पठ्ठारहरूमा चराउँदै  गर्दा सबल, बलिया तथा पूर्ण रूपमा तन्दुरुष्ट देखिएपछि कसरी र के खाएर जनावरहरू यस्तो भएको भन्ने कुराको खोजी गर्दा उनीहरूले त्यहाँ पाउने एक प्रकारको च्याउ (यार्सागुम्बा) खाएर त्यस्तो भएको कुरा थाहा पाएका थिए । यो नै यार्सागुम्बाको पहिलो जानकारी भएको मानिन्छ ।

त्यसको करिब १ हजार वर्षपछि चीनका मिङ भन्ने शासकले यसको खोज तथा अध्ययन गरी यसलाई एउटा शक्तिवर्द्धक  तथा बहु उपयोगी औषधिजन्य सामग्रीको रूपमा प्रयोग गरेको पाइन्छ । तर पनि यार्सागुम्बाको चर्चा तथा प्रयोग यतिबाट भएको मानिँदैन । यार्सागुम्बाको एकाएक यो किसिमको चर्चा त्यति बेला भयो कि सन १९९३ तिरको विश्व ओलम्पिक दौडमा सहभागी हुने चीनका खेलाडीहरूले विश्व रेकर्ड बनाई जिते र त्यस बेला ती खेलाडीहरूमा अन्य औषधि प्रयोग गरेको आरोप लागेको थियो । अनुसन्धान गर्दा कुनै प्रमाण नपाउँदा यो घटना यत्ति कै रह्यो ।  जब ती खेलाडीहरूले आफूहरूले अन्य केही नखाई यार्सागुम्बा खाएर यो प्राप्ति गरेको कुरा सार्वजनिक गरे, त्यसपछि यार्सागुम्बाको चर्चा तथा प्रयोग बृहत रूपमा भएको मानिन्छ।

नेपालमा भने करिब ३ सय वर्ष पहिलादेखि यसको प्रयोग भएको विभिन्न अभिलेखबाट थाहा हुन्छ । यसरी यसको क्रमिक प्रयोग तथा अध्ययनले आजसम्मको अवस्थासम्म आएको कुरालाई नकार्न सकिन्न। यार्सागुम्बा उच्च हिमाली पठारको घांसेमैदानमा हुने भएकोले यसलाई उच्च हिमाली रैथान प्रजाति मानिन्छ । समुन्द्री सतह ३ हजार ५ सयदेखि ५ हजार ५ सय मिटरसम्मको पठारलाई यसको राम्रो वासस्थान मानिन्छ।  सामान्यतया जैविक मल धेरै भएको,  पानीको आन्द्रता करिब २७ – ३२ प्रतिशत बलौटे माटो, पि.एच. ६.८ – ७.२ र उच्च मध्य हिमाली क्षेत्र यार्सागुम्बाको लागि उचित हावापानी मानिन्छ ।

छिटो गतिमा उड्ने मोथ र सुनपाति (Rhododendron athopogon) बिरुवालाई यार्सागुम्बा पाइने सूचकको रूपमा मानिन्छ ।

नेपाल, चीन, भारत, पाकिस्तान, भुटान आदिलगायत विश्वका विभिन्न देशहरूमा यो पाइन्छ । नेपालमा भने उत्तरी उच्च हिमाली पठारहरूमा यार्सागुम्बा पाइन्छ । डोल्पा, बाजुरा, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङ आदि गरी २४ वटा जिल्लाहरूमा यार्सागुम्बा पाइएको पुष्टि भएको  छ ।

ढुसी विकास हुँदा, ढुसीलाई चाहिने आवश्यक खानाहरू लार्भाबाट प्राप्त हुन्छ। यसरी बनेको बनावटलाई हामी यार्सागुम्बा अथवा क्याट्रपिलर फङ्गस भन्छौ । तसर्थ यार्सागुम्बाको जीवनचक्र पूर्ण रूपले मोथको लार्भामा निर्भर  हुन्छ र यसको जीवनचक्र २ देखि ५ वर्षको हुने विभिन्न अध्ययनले देखाएको छ।

जैविक बनावट , आकार प्रकार तथा तौल (Biological Structure, Shape, Size & Weight)

यार्सागुम्बाको बनावट विशेष रहने गरेको पाइन्छ । आधा प्राणी, छिटो-छिटो गतिमा उड्ने मोथको लार्भा जुन हेपिलिडि परिवारअन्तर्गत पर्दछ र आधा ढुसी प्रजातिको  बिरुवा अर्थात् च्याउको सम्मिश्रणबाट बन्दछ । लार्भाको भागलाई क्याट्पिलर भनिन्छ र बिरुवाको भागलाई (ढुसी) फङ्गस भनिन्छ । यसैलाई नै यार्सागुम्बा अथवा क्याट्पिलर फङ्गस भनिन्छ ।

ढुसीको तल्लो भागलाई स्ट्रोमा र माथिल्लो फुकेको भागलाई स्ट्रोमाहेड भनिन्छ । स्ट्रोमाहेडमा बीजाणुहरू बन्दछन् र पछि यिनै बीजाणुहरू ढुसीको बिउको रूपमा प्रसारण हुन्छन । सामान्यतया  परिपक्व यार्सागुम्बामा किराको भाग सुनौला रङका हुन्छन भने ढुसीको भाग खैरो हुन्छ तर यसको स्ट्रोमाहेड चाहिँ कालो खैरो हुन्छ। विशेष गरी लार्भा अर्थात् किराको भागलाई प्रयोगको दृष्टिकोणले बढी महत्त्व मानिन्छ। औसत रूपमा यार्सागुम्बाको लम्बाई ८ देखि १० से.मि., गोलाई ०.८ देखि २ से.मि., ढुसीको लम्बाई १.२ देखि १.७ से.मि. र औसत तौल ०.७५ देखि २ ग्रामसम्मको हुन्छ । वातावरणअनुसार यसको आकार साना ठूलो हुने गर्दछ ।

यार्साको बनावट र विभिन्न भागहरू

जीवन चक्र (Life-cycle)

पोथी प्रजातिको मोथले वर्षा याममा (ज्येष्ठ, असार) फुल पारेपछि मर्दछ र यसै फुलबाट लार्भा विकसित हुन्छ। हिउँदमा लार्भाहरू माटो मुनि  सुषुप्त रूपमा ठाडो गरी स-सानो दुलो वा चिराभित्र बिरुवाको जराहरू खाएर बस्दछन् । पछि गर्मी यामको सुरुवातसँगै पुरानो तथा परिपक्व यार्सागुम्बाको बीजाणुहरू आएर लार्भाको टाउको मुनि टाँसिन्छ र यिनै बीजाणुहरू पानीको पर्याप्तता तथा उचित वातावरणसँगै अनुकरण हुन थाल्दछन्। यसरी यो अनुकरणको गतिसँगै ढुसीका माइसेलियमहरू लार्भाहरूको शरीर भित्र फैलिन्छन् र उक्त समयमा लार्भाहरू केही चलायमान हुन्छन । बिस्तारै ढुसीको विकास हुँदै जाँदा यिनीहरूको मृत्यु हुन्छ।

यसरी ढुसी विकास हुँदा, ढुसीलाई चाहिने आवश्यक खानाहरू लार्भाबाट प्राप्त हुन्छ । यसरी बनेको बनावटलाई हामी यार्सागुम्बा अथवा क्याट्रपिलर फङ्गस भन्छौ । तसर्थ यार्सागुम्बाको जीवनचक्र पूर्ण रूपले मोथको लार्भामा निर्भर  हुन्छ र यसको जीवनचक्र २ देखि ५ वर्षको हुने विभिन्न अध्ययनले देखाएको छ। अहिलेसम्म पनि वैज्ञानिकहरूले ओफियोकोर्डिसेपस् साइनेन्सिस, यार्सागुम्बा कृत्रिम रूपमा प्रयोगशालामा  विकसित  गर्न सकेका छैनन्  । यसको प्रयास भइरहेको पाइन्छ ।

यार्सागुम्बाका किसिम (Types of Caterpillar Fungus)

सर्वप्रथम यार्सागुम्बाको वैज्ञानिक नामकरण ब्रिटिस माइकोलोजिष्टले सन १८४३ मा Sphaeria sinensis Berk.  भनेर गरेका थिए। पछि फेरि सन १८७८ मा साकार्डो भन्ने वैज्ञानिकले यसलाई पुन Cordyceps sinensis (Berk) Sacc.  भनेर नामकरण गरे। हाल आएर यसलाई Ophiocordyceps sinensis (Berk.)  नामले चिनिन्छ ।

संसारभरि यसका करिब ५ सय भन्दा बढी प्रजातिहरू पाइन्छन् । नेपालमा भने यार्सागुम्बाका चार वर्ग (जिनस) तथा तिन परिवार सहित  २१ प्रजातिहरू अभिलेख गरिएका छन् । यी प्रजातिहरू मध्ये Ophiocordyceps sinensis (Berk.) परम्परागत औषधिजन्य वस्तुको रूपमा पुष्टि भएर संसारभरि यसको प्रयोग भएको पाइन्छ। यसका साथै थप अन्य प्रजाति पनि परम्परागत प्राकृतिक औषधिको रूपमा प्रयोग भएका छन् ।

यार्सागुम्बामा पाइने मुख्य सार तत्त्वहरू Ophiocordyceps sinensis (Berk.)

यार्सागुम्बामा विभिन्न किसिमका तत्त्वहरू पाइन्छन् जसको प्रयोग विभिन्न प्रकारको परम्परागत औषधिमा प्रचुर मात्रामा भएको पाइन्छ । कोर्डिसेपिक एसिड, कोर्डिसेपिन प्रोटिन, कोर्डिसेपिन अल्काल्वाइडस – ७ %, एडिनोसेन,  अन्य प्रोटिन – २५%, फाइबर – १९%,  फ्याट – ८%, कार्बोहाइड्रेट  – २९%,  क्याल्सियम – ४% तथा पानी – ११% आदि विभिन्न प्रकारका सार तत्त्वहरू यार्सागुम्बामा पाइन्छन् । यीमध्ये कोर्डिसेपिन प्रोटिन स्वास्थ्यलाभका दृष्टिकोणले धेरै प्रभावकारी रहेको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ ।

यसको उपयोगिताहरू (Uses )

१. परम्परागत आषैधिको रूपमाः यार्सागुम्बामा विभिन्न किसिमका महत्त्वपूर्ण सार तत्त्वहरू पाइने हुनाले यसको प्रयोग मुख्यतया  प्राकृतिक शक्ति वर्द्धक  परम्परागत औषधिको रूपमा, अन्य दीर्घ रोगहरू मुटु, फोक्सो, मिर्गौला तथा क्यान्सर आदिको परम्परागत उपचार तथा अन्य खाद्य तथा पेय पर्दाथको मिश्रणको रूपमा प्रयोग गरेको पाइन्छ ।

२. आर्थिक स्रोतको रुपमाः यार्सागुम्बाको विश्व बजार धेरै आकर्षक छ  । यसलाई हिमाली सुन भनेर पनि चिनिन्छ । अर्थात् विश्व बजारमा यसको माग दिनदिनै बढ्दो छ । जसको कारणले यसको मूल्य पनि आकासिएको छ । यसको  सङ्कलनबाट स्थानीय सङ्कलक तथा बाह्य सङ्कलकहरूले यथेष्ट आर्थिक लाभ  गरेको पाइन्छ । यसबाट स्थानीयले मात्र आर्थिक लाभ  नगरेर, राज्यले समेत उल्लेखनीय रूपमा राजश्व सङ्कलन गरेको पाइन्छ । यसैले यार्सागुम्बालाई हिमाली क्षेत्रको बहु आयामिक जडीबुटीको रूपमा लिएको पाइन्छ ।

मैले मनाङमा बसी कार्य गर्दाको अनुभव र त्यहाँ रहँदा स्थानीयहरूबाट प्राप्त गरेको जानकारीअनुसार यार्सागुम्बा सङ्कलनका सुरूवाती दिनहरूमा, मनाङका उच्च हिमाली पठारहरूमा यार्सागुम्बा प्रशस्त मात्रामा पाउँथ्यौँ । एकै घण्टामा सयौँ यार्सागुम्बाहरू पाउथ्यौँ । हाल आएर दिनभरिमा एउटा कुशल सङ्कलकले  मात्र १० देखि २५ यार्सागुम्बा सरदर रूपमा सङ्कलन गर्न सक्दछ । यो दृष्टान्तबाट प्रस्ट हुन्छ कि यार्सागुम्बाको अवस्था कस्तो छ ?

यसको फाइदाहरू (Advantages)

यार्सागुम्बाको सेवनले शरीरको प्रतिरोधात्मक शक्तिका साथै शारीरिक शक्तिको पनि पर्बद्धन गर्ने भएकोले यसलाई हिमाली शक्ति वर्द्धक औषधि ‘Himalayan Viagra’ को रूपमा प्रयोग गरिन्छ । बूढोपनको असरलाई कम गर्दछ ।  शरीरको विभिन्न प्रणालीहरू रक्त सञ्चार, श्वास प्रश्वास तथा स्नायु प्रणालीलाई मजबुत र सक्रिय बनाउँदछ ।  मिर्गौलालाई पोषण गर्दछ, रगतमा चिनी तथा क्लोस्टोरको मात्रालाई समेत नियमित गर्दछ । रातो रक्त कोष बन्न मदत गर्दछ ।  शरीरमा अनावश्यक रगत जम्न रोक्ने  फाइदाहरू गर्दछ ।

यसका सेवन गर्ने विभिन्न विधिहरू संसारभरि अवलम्बन गरेको पाइन्छ । यसलाई जसरी सेवन गरे पनि निरन्तर लामो समय, कम्तिमा तीन महिना भन्दा बढी सेवन गरेमा मात्र यसको प्रभावकारिता देखिन्छ । अन्यथा यसको प्रभावकारिता थाहा हुँदैन र शरीरमा देखिँदैन ।

सङ्कलन तथा निकासीको कानुनी प्रक्रिया (Legal Provision for Mass Collection and Permit Issue)

सुरूवाती चरणमा नेपाल सरकारले यार्सागुम्बाको सङ्कलन तथा निकासीमा कानुनी रुपमै रोक लगाएको थियो। पछि आएर सङ्कलन तथा निकासीलाई कानुनी रूपमा व्यवस्थापन गर्दै आएको छ ।

·         वन ऐन २०४९ र वन नियमावली २०५१ ले सन २००१ सम्म यार्सागुम्बा सङ्कलन तथा निकासीमा रोक लगाएको थियो ।

·         नेपाल सरकारले यार्सागुम्बा सङ्कलन तथा व्यवस्थापन कार्यविधि निर्देशिका, २०६४ लागु गरेको छ ।

·         सन् २००१ पछि सङ्कलनको लागि केही दस्तुर लिएर यार्सागुम्बा सङ्कलन तथा निकासीको लागि राजश्व लिएर सङ्कलन तथा निकासीको सुरूवात भएको हो । हाल आएर वन नियमावली संशोधन भएर निकासीको लागि प्रति किलोग्राम ३० हजार राजश्व तिरी निकासी अनुमति दिने कानुनी व्यवस्था छ ।

·         संरक्षण क्षेत्रभित्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा अन्य विद्यमान कानुनी प्रक्रिया पूरा गरी सङ्कलन तथा निकासी गरिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र  संरक्षण क्षेत्र व्यवस्थापन समितिले, संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ तथा निर्देशिका २०५६ अनुसार यार्सागुम्बा  सङ्कलन तथा निकासी गर्दछन् ।

·         वनको क्षेत्र अधिकारभित्र पर्ने स्थानमा सङ्कलन तथा निकासीको लागि जिल्ला वनअन्तर्गत सामुदायिक वन उपभोक्ता समितिले प्रचलित नियमअनुसार सङ्कलन तथा निकासी गर्दछन् ।

सङ्कलन तथा बजारीकरणको अवस्था (Status of Trade Market and Local Collection)

यार्सागुम्बाको सङ्कलन तथा व्यवस्थापन भने भने जति सहज देखिँदैन । प्रत्येक चरणमा चुनौतिहरू छन् । यद्यपि यार्सागुम्बाको बजार भने विश्वभरि फैलिएको छ र आकर्षक पनि छ । स्थानीय व्यापारीहरूले सङ्कलकबाट पाटनमा प्रतिगोटा यार्सागुम्बा करिब रु. ४ सय ५० देखि १ हजार ५ सयसम्ममा खरिद गर्दछन् । यार्साको आकार, प्रकार, रङ्ग, तौल तथा कडापनको आधारमा यसको मूल्य निर्धारण हुने गर्दछ । यार्साको मूल्य अति संवेदनशील हुन्छ, यसरी हेर्दा यार्सागुम्बाको बजार भने त्यति पारदर्शी छैन ।  विश्व बजारमा यसको मूल्य सरदर प्रति के.जि. १५ लाखदेखि ३० लाखसम्म वा यो भन्दा पनि बढी भएको विभिन्न अध्ययनले देखाएको छ ।

यार्सागुम्बा सङ्कलन तथा व्यवस्थापनमा देखा परेका त्रुटिहरू (Errors in Mass Collection and Management of Yarsagumba)

·         छिटो (ज्येष्ठ, असार भन्दा पहिला) सङ्कलन गर्दा अपरिपक्व यार्सागुम्बाको सङ्कलन हुनु ।

·         क्षमता भन्दा धेरै सङ्कलकको चाप हुँदा  यार्सागुम्बाको वासस्थानमा असर पर्नु ।

·         निरन्तर एकनासले सङ्कलन गर्दा बिउ तथा वासस्थानको नास भई यार्सागुम्बाको लोप हुने खतरा ।

·         वैज्ञानिक अनुसन्धान तथा सर्वेक्षण नहुँदा यार्सागुम्बाको वास्तविक स्थिति थाहा नहुनु ।

·         विश्वासनीय र उपयुक्त दीर्घकालीन यार्सागुम्बा सङ्कलन तथा व्यवस्थापनको कार्य योजना बनाएर सङ्कलन नगर्नु ।

·         प्रचलित नियम तथा कानुनअनुसार गैर काष्ठ वन पैदावार (Non-Timber Forest Product) को प्रारम्भिक वातावरणीय परीक्षण (IEE) तथा वातावरणीय प्रभाव मुल्याङकन (EIA) नगर्नु र यत्तिकै सङ्कलन गर्नु आदिलाई यस लेखमा यार्सागुम्बा सङ्कलनको त्रुटिका रूपमा प्रस्तुत गरिएको छ ।

यार्सागुम्बा सङ्कलनमा ध्यान दिनु पर्ने कुराहरू (Preventive Measures during Yarsagumba Collection)

यार्सागुम्बाको दिगो सङ्कलन तथा व्यवस्थापनमा ध्यान दिएको खण्डमा मात्र यसको उचित तथा मितव्ययी व्यवस्थापन हुने देखिन्छ । तसर्थ सम्बन्धित सबैले यसको व्यवस्थापनमा हातेमालो गर्न जरुरी छ । हामीले यसको व्यवस्थापन गर्दा निम्न कुराहरूमा ध्यान दिन पर्दछ।

·         उचित समयमा मात्र सङ्कलन गर्नु पर्ने (तल्लो घाँसे मैदानमा ज्येष्ठ १५ देखि ३० सम्म तथा माथिल्लो घाँसे मैदानमा असारमा गर्नु पर्ने)

·         सम्बन्धित व्यवस्थापक तथा समितिहरूले सङ्कलकहरूलाई सङ्कलन सर्तहरूसहितको सङ्कलन  पुर्जी तथा अनुमति पत्र दिनुपर्ने र सङ्कलकले सर्तनामहरू पूरा नगरेमा विद्यमान कानुनअनुसार दण्ड गर्नु पर्ने ।

·         सङ्कलकले परिपक्व यार्सागुम्बा मात्र सङ्कलन गर्नु पर्ने र १० वटा यार्सागुम्बा सङ्कलन गर्दा कम्तिमा १ छाड्नु पर्ने ।

·         जमिन भिजेको बेला यार्सागुम्बा सङ्कलनमा रोक लगाउनु पर्ने तथा खनेको ठाउँलाई पुर्नुपर्ने ।     

·         सङ्कलकले सङ्कलित यार्सागुम्बाको गुणस्तर नबिग्रियोस् भनेर राम्ररी व्यवस्थापन गर्नु पर्ने ।

·         सङ्कलन पुर्जीमा भएको बाहेक अन्य वनस्पति सङ्कलन गर्न नपाउने ।

·         संकलकले आफू बसेको ठाउँ वरिपरिको फोहर व्यवस्थापन गर्नु पर्ने ।

·         सङ्कलकले सङ्कलित यार्सागुम्बाको नाप तौल सम्बन्धित निकायमा  (संरक्षण क्षेत्र व्यवस्थापन समिति, गाउँपालिका तथा नेपाल सरकारबाट) दर्ता गराइ नियमअनुसार कर तिरी छोड तथा निकासी पुर्जी लिने।

·         व्यवस्थापक वा समितिको निर्णय विपरीत यार्सागुम्बा सङ्कलन क्षेत्रमा घोडा, खच्चर जस्ता जनावरहरू प्रवेश नगराउने, यदि प्रवेश गराएमा प्रचलित नियम तथा कानुनअनुसार दण्ड हुने व्यवस्था गर्ने।

मैले मनाङमा बसी कार्य गर्दाको अनुभव र त्यहाँ रहँदा स्थानीयहरूबाट प्राप्त गरेको जानकारीअनुसार यार्सागुम्बा सङ्कलनका सुरूवाती दिनहरूमा, मनाङका उच्च हिमाली पठारहरूमा यार्सागुम्बा प्रशस्त मात्रामा पाउँथ्यौँ । एकै घण्टामा सयौँ यार्सागुम्बाहरू पाउथ्यौँ । हाल आएर दिनभरिमा एउटा कुशल सङ्कलकले  मात्र १० देखि २५ यार्सागुम्बा सरदर रूपमा सङ्कलन गर्न सक्दछ । यो दृष्टान्तबाट प्रस्ट हुन्छ कि यार्सागुम्बाको अवस्था कस्तो छ ? यदि यही तरिकाले हामीले यार्साको सङ्कलन गर्दै जाने हो र उचित संरक्षण नगर्ने हो भने एक समय यस्तो आउने छ कि हाम्रा सन्ततिहरूले पढ्ने तथा भन्नेछन् कि हाम्रा उच्च हिमाली पठारहरूमा  बहु उपयोगी तथा बहु आयामिक जडिबूटी यार्सागुम्बा पाउँथ्यौँ भनेर । अन्त्यमा सबै सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछु । दीर्घकालीन सङ्कलन तथा व्यवस्थापन सहितको कार्य योजना बनाई यसको सङ्कलन तथा व्यवस्थापन गरौं । जय संरक्षण !

(बाबु लाल तिरुवा वनस्पतीशात्रमा स्नातकोत्तर हुन् l  उनी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय, पोखरामा संरक्षण अधिकृत हुन् )