पोखराकाे जमिनमा पर्ने भ्वाङ र वैज्ञानिक यथार्थ


     नारायण गुरुङ    
     भाद्र ८ गते २०७८ मा प्रकाशित


पोखरामा विशेषगरी बर्षातको समयमा ठाउँठाउँमा जमिनमा भ्वाङ पर्नु पोखरामा प्राय: हरेक साल भइरहने एउटा प्राकृतिक प्रकोप हो । जसको समयमै उचित व्यवस्थापन गरेन भने विपदमा परिणत धेरै समय लाग्दैन ।

पोखराको माटो चुनयुक्त छ, जुन पानीसँग मिसिएपछि घुलेर जान्छ । जसले गर्दा माटोभित्र खोक्रोपन उत्पन्न हुन्छ । त्यसपछि माटोको आफ्नो भार बहन शक्ति घटदछ र अन्तत: माथिको माटो तल भासिन्छ, जसलाई हामी भ्वाङ अर्थात् सिङ्क हाेल  भनेर जान्दछौ ।

भ्वाङ हुन नदिन सबैभन्दा उत्तम उपाय भनेकै पानी परेपछि बगेर आउने भलपानी सकेसम्म जमिनभित्र पस्नबाट रोक्नु नै हो । भलपानी उचित तरिकाले सुरक्षित ठाउँसम्म निकास दिनु नै हो । त्यस्ता ठाउँहरुमा सकेसम्म संरचनाहरु बनाउनु हुँदैन । बनाउनु परे वरिपरिबाट बगेर आउने पानीको उचित निकास गरेरमात्र बनाउनु पर्छ ।  भ्वाङ गैहाल्यो भने इन्जिनियरिङ तवरले टाल्नु नै भ्वाङलाई विपदमा परिणत हुनबाट रोक्नु हो ।  भ्वाङ गएपछि अहिले प्रचलनमा रहेको जस्तोसुकै माटो वा ढुंगाले पुरेर भ्वाङ टाल्ने गरिँदै अएको छ । यसो गरिनु कुनै पनि हिसाबले इन्जिनियरिङ विधि होइन । यसको छुट्टै प्रविधि छ । 

हरेक बर्षातको समयमा बगेर आउने भलपानी जमिनभित्र छिर्दा, भित्रभित्रै थुप्रै खोक्रोपनहरु बनिसकेका हुन सक्छन् । तथापि त्यसभन्दा माथि जमिनको सतह खस्नेसम्मको स्थिति अर्थात् भ्वाङ पर्ने स्थिती नआएको हुन सक्छ । पोखरामा त्यस्ता जमिनमाथि बनाईएका घरहरु ठूलो भूकम्प जाँदा सजिलै भासिने र त्यसले अन्तत: ठुलो विपद् निम्त्याउन सक्दछ I

२०७० सालमा पाेखराकाे अर्मला फाँटमा परेकाे भ्वाङ ।

लेखक गुरुङ पोखरामा प्राकृतिक प्रकोप र विपद् विषयमा फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गर्दै गरेका वरिष्ठ जियो टेक्निकल इन्जिनियर हुन् ।