वन डढेलोका फाइदा पनि छन् !


     राजु आचार्य    
     वैशाख १३ गते २०७८ मा प्रकाशित


यतिखेर तराईदेखि हिमालसम्मका डढेलोका  तस्बिरहरूले विरक्त बनाएको छ l त्योभन्दा बढी सामाजिक सञ्जाल डढेको छ l आगो लाग्दै गरेका, धुवा निस्किरहेको, बस्तीमै आगो छिरेको तस्बिरहरू छ्यापछ्याप्ती छन् l

मानिस मरेका छन्, प्रदूषणले हायलकायल भएका छन्, गाईवस्तु मरेका छन्, वन मासिएको छ l वन्यजन्तु मरेको त अभिलेख नै छैन l कति घाइते भए होलान्, कतिका बचेरा मरे होलान्, ओथारो बस्दै गरेको फुल निक्कै नोक्सान भयो होला l

बर्सेनि जाने डढेलोको नियन्त्रणका  लागि कति सरोकारवालाहरू असर न्यून गर्न लागिरहेका पनि छन् l नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्दछl ८५ प्रतिशत वन डढेलोका घटनाहरू मानिसको कारणले हुने गर्दछ l

कति नोक्सान गर्छ यसले ?

गएको महिना नेपालको वनबाट डढेलोको माध्यमबाट १८ मेगा टन (१८ अर्ब किलो) कार्बन प्रकृतिमा मिसिएको थियो l यो तथ्यांक विगत ५ वर्षकै उच्च रहेको बिबिसीले  जनाएको छ l जबकि भारतमा मात्र सोही अवधिमा ०.२  मेगाटन (२० करोड केजी) कार्बन वन क्षेत्रबाट डढेलोको माध्यमबाट प्रकृतिमा मिसिएको थियो l भारत नेपाल गरी उक्त अवधिमा २० जना मानिसले ज्यान समेत गुमाए ।

सन् २००० मा विश्वभरि करिब ५७ हजार स्थानमा डढेलो लागेको चियो l विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९८ देखि २०१७ सम्म ६२ लाख मानिसहरू डढेलो र ज्वालामुखीको कारणले प्रत्यक्ष प्रभावित भएका थिएl

केही समयअघि मानिसको स्वास्थ्यलाई प्रतिकूल पर्ने गरी नेपालको वायुको गुणस्तर विश्व स्वास्थ्य सङ्गठनले भनेको भन्दा १० गुणासम्म बढ्यो l यसले अल्पकालीन र दीर्घकालीन रूपमा मानिसको स्वास्थलाई  असर गर्‍यो/गरिरहने छl

डढेलोले जैविक विविधतालाई समेत निक्कै नराम्ररी असर गरेको हुन्छ l सधैका लागि लोप गराउने, प्रजनन गर्न नसक्ने गर्ने, बसाइँसराइँलाइ असर गर्ने, पानीका मुहान सुकाउने आदि आदि l

डढेलोको कारणले वनमा बलिया र स्वस्थ रुखहरू बाँकी रहन्छन् l यसले ठूला ठूला घाँसे मैदानहरू वन्यजन्तुमैत्री बनाउन समेत सहयोग गर्छन् l

 वन डढेलोले नोक्सान मात्रै गर्छन्  त ?

नेपालमा अनुसन्धान नगरी डढेलोको नकारात्मक असर मात्रै प्रचारप्रसार गरिएको छ l विज्ञहरू भन्छन् वन डढेलो सामान्य प्रक्रिया हो l हुनु पनि पर्छ l कुनै कारणले हुन् पाएन र डढेलोको लागि आवश्यक सामाग्री वनमा जम्मा हुँदै गयो भने यसले ठूलो वन डढेलोलाई निम्तो दिन्छ l जुन अहिलेभन्दा बढी भयाभय हुन् सक्छl

डढेलोले कम गुणस्तरका  घाँस/दाउरालाई वनबाट हटाउन मद्दत गर्दछ l बाँकी रहेका बिरुवालाई पोषणयुक्त तत्त्वहरूको व्यवस्थापन गर्दछ l प्राकृतिक तरिकाले प्राप्त हुने पोषणयुक्त तत्त्वहरू भन्दा डढेलो लागेपछि प्राप्त हुने पोषणयुक्त तत्त्वहरू बिरुवाहरुले छिटो प्राप्त गर्न सक्छन् l

मसिना र नराम्रा रुख र हाँगाहरू हटाउँदा वनमा प्रकाश प्रशस्त पुग्दछ l डढेलोको कारणले वनमा बलिया र स्वस्थ रुखहरू बाँकी रहन्छन् l यसले ठूला ठूला घाँसे मैदानहरू वन्यजन्तुमैत्री बनाउन समेत सहयोग गर्छन् l

सल्लाका कतिपय बिउहरू डढेलो नगएसम्म उम्रन सक्दैनन् l ‘कार्नर ब्लु’ नामक पुतलीको लार्भा आश्रित हुने ‘वाइल्ड लुपिन’बिरुवालाई आगो नभई हुँदैन l

मिचाहा प्रजातिका बिरुवा र वन्यजन्तुहरूलाई हटाउनको लागि वन डढेलोले सहयोगी हुन्छ l

हजारौँ वर्ष देखी नयाँ पालुवाको  लोभमा लगाइने आगोको पछाडिको विज्ञानको कुनै विश्लेषण गरिएको छैनl हाम्रा पुर्खाले यसरी आगो लगाउनुको पछाडि पक्कै पनि फाइदा भएर त होला नि ? होइन र !