अझै धेरै महामारीसँग जुध्न बाँकी छ


     कृष्णमणि बराल     
     जेठ १० गते २०७८ मा प्रकाशित


चराहरू स्वतन्त्र रूपमा आकाशमा कावा खाइरहेका छन् । जनावरहरु निस्फिक्री सडक, वन, गाउँमा हिँडिरहेका छन् । हामी सानो छँदा २०४२/०४३ सालतिर पोखराका गल्ली, खुला चौर र अहिले कङ्क्रिट जङ्गलमा परिणत भएका पहिलेका खेतमा जसरी चौपायाहरू रमाउँथे उसै गरी यतिबेला पोखराका चिल्ला सडकमा गाई, भैँसी निस्फिक्री हिँडिरहेका छन्। रमाइरहेका छन्।

तर यति बेला मान्छे भने काेराेनाबाट बच्न घरमै सिमीत भएका छन् । अदृश्य एउटा भाइरसलाई मान्छेले कोभिड–१९ नाम दिएको छ। यही भाइरसले मान्छेलाई लखेटिरहेको छ। यही भाइरसबाट बच्न मान्छे घरमै कैद भएका छन्। घरभित्र गुम्सिन बाध्य भएका छन्l कोरोना सङ्क्रमितहरू अस्पतालको बेडमा कोरोनासँगको लडाईमा छन्। कोरोनासँग हारेकाहरू पवित्र नदी, खोला किनारमा जलिरहेका छन्। गडीरहेका छन्। 

यति बेला सहर, बजार, गाउँ जताततै शान्त वातावरण छ।  बाहिर निस्केका मान्छे पनि बोल्दा, हिँड्दा कोरोनाले सुन्छ कि, पछ्याउँछ कि झैँ गरेर डरले नाकमुख छोपेर चुपचाप निस्कन्छन्। 

सामान्य अवस्थामा धुलो र धुवाँ उडाउँदै राजधानी काठमाडौका सडक जाम हुन्थे। देशका सबै सहरका चिल्ला र धुले सडकमा पनि ताँतीका ताँती सवारी साधन धुलो, धुवाँ उडाउँदै कोलाहल मचाउँदै गुड्थे।  यतिबेला न सवारी साधन त्यसरी गुडेको छन्। न त बाटोमा मेला लागे झै हिँड्ने बटुवा यति बेला हिँडेका छन्। यसैले  सहर शान्त छ।  गाउँ शान्त छ।

कोरोना भाइरस नियन्त्रण गर्न यतिबेला नेपाल दोस्रो लकडाउनमा छ। नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर पहिलो लहर भन्दा धेरै कहाली लाग्दो भएर देखापरेको छ। दैनिक १ सय ५० देखि २ सयभन्दा बढीसम्म मान्छेको मृत्यु भइरहेको छ। कोरोना संक्रमितको दर पनि दैनिक ८ देखि ९ हजारसम्म पुगेको छ। पछिल्लो समयमा लकडाउनपछि सङ्क्रमण दर केही घटे पनि त्रास उस्तै छ। नयाँ भेरियन्टको कोभिड देखिएपछि थप त्रास फैलिएको छ।

चीनको उहानमा सन् २०१९ को डिसेम्बर महिनामा पहिलो पटक कोभिड–१९ कोरोना सङ्क्रमण देखा परेर विश्वभर फैलिन थालेपछि नेपालमा २०७६ को चैत ११ गतेदेखि कोरोना सङ्क्रमण नियन्त्रण गर्न पहिलो लकडाउन लगाइयो। बिस्तारै कोरोना सङ्क्रमण दर घट्दै गयो । फेरि सडक उस्तै व्यस्त भयो। मान्छे सामान्य अवस्था झैँ विरोधमा, समर्थनमा जुलुस, सभा, बिहेभोज, जात्रा निकाल्ने मात्र होइन रमाउन घुमघाममा निस्कन थाले। 

कोरोना फेरि रूप बदलेर कडा रूपमा मान्छेको शरीरमा प्रवेश गरेको मान्छेलाई पत्तै भएन। यसैले कोरोनाको दोस्रो लहर नयाँ वर्ष २०७८ को मुखैमा फेरि देखा पर्यो। सरकारले बढी कोरोना सङ्क्रमण देखिएका सहर र जिल्लामा वैशाख १५ गतेदेखि दोस्रो लकडाउन लगाएको छ। यसरी दोस्रो लहर पहिलो लहर भन्दा पनि डरलाग्दो बनेर आएको छ।

कोरोना सङ्क्रमण विश्व भर फैलिएपछि वैज्ञानिक यसका कारक तत्वको खोजीमा लागेका छन्। अध्ययनको क्रममा वैज्ञानिकले वन्यजन्तुको वासस्थान विनास, वन्यजन्तुमाथि तीव्र हस्तक्षेप, कोरोना भाइरस उत्पत्ति र फैलनुको सम्बन्धमा पनि अध्ययन गरे। वैज्ञानिकको यस विषयमा भएको अध्ययनमा वन्यजन्तुमाथिको तीव्र मानव हस्तक्षेपले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको र कोरोना भाइरस जस्ता महामारी बढाएको पुष्टि भएको बताएका छन्।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धान टोलीले जनावरका विभिन्न प्रजाति र तिनमा मानव हस्तक्षेपमाथि अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको बताएका छन्। प्राकृतिक वासस्थानमा बढ्दो अतिक्रमणले धेरै प्रजातिका पशुपंक्षी लोप हुने अवस्थामा पुगेको वैज्ञानिक अध्ययनबाट पाइएको छ।

वन्यजन्तुको चोरी शिकार गरेर हुँदै आएको व्यापारकै कारण पशुपन्छीबाट भाइरस फैलिने सम्भावना दुई गुणा बढी हुने वैज्ञानिक अध्ययनले देखाएको बताएका छन्। वन्यजन्तुको वासस्थान अतिक्रमणले जति धेरै प्रजातिका वन्यजन्तु लोप हुन्छन् त्यति नै यस्ता रोग सार्ने क्रम बढिरहने अध्ययनमा संलग्न वैज्ञानिक क्रिस्टिन क्रिउडर जोन्सनको (लिंक अवश्यक हुन्छ) भनाई उद्धृत गर्दै समाचारहरू प्रकाशित भएका छन्। 

लोपोन्मुख प्राणी र यसको तथ्याङ्कमा केन्द्रित भएर भएको अध्ययनमा मानिसमा सरेका १ सय ४० थरी भाइरस परीक्षण गर्दा सबै भाइरसका जननी पशुपन्छी नै भएको पाइएको वैज्ञानिकले दाबी गरेका छन्। यसरी प्राकृतिक पर्यावरण चक्र तोडिँदै जानुको कारण मनिसहरूमा सङ्क्रमणको जोखिम बढेको वैज्ञानिक बताउँदै आएका छन्l

यस्ता संक्रामक धेरै रोगसँग मानिसहरूले लड्नु पर्ने वैज्ञानिक बताउँछन्। गएको वीस वर्षमा सार्स, मेर्स, इबोला, एभिअन इन्फ्लुएन्जा र स्वाइन फ्लु गरी पाँच खतरनाक रोगहरूलाई परास्त गरेको मान्छेले छैटौँ कोरोना भाइरससँगको लडाई निकै जटील बनेको वैज्ञानिक बताउँछन्।  तर यो मान्छेले भोग्ने र देख्ने अन्तिम महामारी भने होइन र यी भन्दा जटिल महामारीसँग मान्छे जुध्नु पर्ने अवस्था आउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।