
बि.सं. २०५२ साल, उपल्लो मुस्ताङ l मेरो साथी सुजित श्रेष्ठ र म, लोमान्थाङबाट ठिङ्गर भन्ने गाउँतिर जाँदै थियौँ l चैत्रको महिना थियोl खोल्साखोल्सी र घाम नपरेको ठाउँमा हिउँको थुप्रो नै थियोl अझै चिसो थियोl हामी दुईजना ज्येष्ठमा रोपिने भोटे पीपलका हाँगाहरूको बारेमा गाउँलेसँग छलफल गर्न जाँदै थियौँ l केही पर पुगेपछि सानो सुकेको खोलाको छेउमा पुगियो l घाम चर्को थियोl एक छिन ठूलो डुङ्गामा सुस्ताउने बिचार गर्यौँ l
‘आज रातभरि निद्रा लागेन यार’ मैले उनलाई भने l
‘म पनि सुत्न सकिन, ज्यान पूरै चिलाएर हैरान भो यार’ उनले निन्द्रा नलागेको कारणबारे खुलस्त पार्ने प्रयास गरेl
‘यो जुम्राले नि हैरान पार्यो, हिजो कान नजिक चिलाएको त नङमा जुम्रा अड्किएर आयो’ l
‘त्यही त, जुम्रा पर्यो भनेर कपडा फाल्न पनि भएन, नत्र भएको सबै फाल्नु पार्छ’l
मैले थपेँ ‘असोज महिनामा मुस्ताङका राजाकोमा चिया खाने बेलामा बसेको कार्पेटमै जुम्रा हिँड्दै थियो’ l
उनले भने ‘हैन यो उपल्लो मुस्ताङ त जुम्राको राजधानी हो कि क्या हो, सबैको घरमा हुन्छ त जुम्राl राजा देखि प्रजासम्म’ ।
हाम्रा कुराहरू जुम्राको बारेमा मात्र भई रहेको थियो l जिउ सकसक गर्न थाल्यो l घामले तातेर होला, जिउ पनि चिलाउन थाल्यो l
मैले ज्याकेट निकालेर घाममा सुकाएँ l कालो हाइनेक फुकालेँ l माथि नाङ्गो भइयो l हाइनेकलाई उल्टो पारेर हेरेँ l हाइनेकको जोडहरू जुम्राले भरिएका थिए l जुम्रा यति धेरै थियो कि, यदि मसँग अर्को टिसर्ट भएको भए त्यसलाई फालिदिन्थेँ l तर त्यो सम्भव थिएन l मैले खोलामा सानो गोलो ढुङ्गा खोजेँ l ठूलो डुङ्गामा टिसर्टलाई राखेँ र जुम्रालाई थिचेर मार्न थालेँ l हातले मार्न सम्भव पनि थिएन l केही बेरमा टिसर्ट रातो भैसकेको थियो l
मैले ज्याकेट निकालेर घाममा सुकाएँ l कालो हाइनेक फुकालेँ l माथि नाङ्गो भइयो l हाइनेकलाई उल्टो पारेर हेरेँ l हाइनेकको जोडहरू जुम्राले भरिएका थिए l जुम्रा यति धेरै थियो कि, यदि मसँग अर्को टिसर्ट भएको भए त्यसलाई फालिदिन्थेँ
सुजितले पनि टिसर्ट खोले । उनको पनि हालत उही थियो l ठूला मरे पनि भुसुनालाई मार्न सम्भव थिएन l त्यो रगताम्मे भएको टिसर्ट लगाएर हामी ठिङ्गरतिर लाग्यौँ l चिलाउन निकै कम भएको थियो l अब करिब १ हप्तालाई राहत हुने पक्का थियो l
हामी दुवैजना अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गतको कार्यालयमा रेन्जर थियौँ l सुजितले भन्यो ’ए राजु, यो जुम्रा वन्यजन्तु हो भने त हामीलाई निकै ठूलो सजाय पो हुन्छ त’l उनले थपे ‘तिम्रो टिसर्टमा त धेरै थियो, तिमीलाई धेरै सजाय हुन्छ है’l हामी हास्यौं l धेरै बेर हाँसिरह्यौं l
के जुम्रा वन्यजन्तु हो त ?
वन्यजन्तु संरक्षण गर्ने हामी दुबै जनालाई त्यो वन्यजन्तु हो कि होइन भन्ने थाहा थिएन l नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का अनुसार ‘वन्यजन्तु भन्नाले घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु (म्यामल्स), पंक्षी (एभ्स), घस्रिने जन्तु (रेप्टायल्स), माछा (पीसीज), भ्यागुता जाति (एम्फिवियन्स) र कीरा फट्याङ्ग्रा (इन्सेक्ट्स) लाई सम्झनु पर्छ र सो शब्दले फुल पार्ने जन्तुको फुल समेतलाई जनाउँछ’।
सरकारको यो परिभाषाले जुम्रालाई पनि वन्यजन्तुमा राख्न मिल्ने जस्तो देखियो l किनकि यसले फुल पार्छ र यो किरासमुहमा पर्छ l जुम्रा अरूमा आश्रित (प्यारासाइट) हुने किरा हो l यिनीहरू रगत मात्र वा रगत मिसिएको मात्र खाना खान्छन् l
मानिसले घरमा पालेको गाईवस्तुलाई वन्यजन्तु नभने जस्तो शरीरमा अप्रत्यक्ष रूपमा पालिएको यो परजीवी किरालाई पनि वन्यजन्तु भन्न मिल्ला त ? यो प्रश्न मैले वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करनबहादुर शाहलाई सोधेको थिएँ l उनी भन्छन् ‘ घरमा पालेको बाख्रा, कुखुरा, कुकुर वन्यजन्तु होइनन् तर यिनका जङ्गली स्वरूपहरू वनमा छन् जसलाई हामी वन्यजन्तु भन्छौँ l जुम्रा पनि त्यस्तै हो जस्तो लाग्छ l मानिसको शरीरमा भएका होइनन् तर प्रकृतिमा भएकाहरूलाई वन्यजन्तु भन्न मिल्छ l’
जुम्रा कस्तो किरा हो ?
‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने’ भन्ने नेपाली उखानले पनि यसको आकार निकै सानो हुन्छ भनेर स्पष्ट पारेको छ l
संसारभरि करिब ३२ सय प्रजातिका जुम्राहरूको अभिलेख गरिएको छ l यिनीहरूलाई दुई समूहमा राख्न सकिन्छ जस्तै, टोक्ने र चुस्ने l जुम्रालाई खाली आँखाले देख्न सकिन्छ भने यिनको फुललाई भने हेर्न निकै कठिन हुन्छl
यिनीहरू मानिसको शरीरमा बस्छन् l जुम्राहरू साना केटाकेटी मार्फत र नजिकको सम्पर्कमा आएका मानिसबाट सर्ने गर्छ l मानिसहरूले प्रयोग गर्ने साझा कपडा/सामग्री (जस्तै काईँयो, टावेल आदि)को कारणले पनि जुम्राहरू एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छन् l
यिनीहरू मानिस, चरा, गाईवस्तु तथा अन्य स्तनधारी जीवहरूमा आश्रित हुन्छन् l मानिसको टाउकोमा बढी र अन्य रौँ भएका भागहरूमा समेत बस्ने गर्छ l पुरुषभन्दा महिलामा बढी जुम्रा हुने गर्छ l यसको मुख्य कारण लामो कपाल नै हो l १ वर्षमा १- देखि १२ पुस्ता हुर्किन्छन् l करिब १० करोड वर्षदेखि पृथ्वीमा जुम्राको अस्तित्व रहेको अनुमान गरिन्छ l
मानिसको शरीरमा तिन किसिमका जुम्राहरू हुने गर्छन् l टाउकोमा बस्ने (Pediculus humanus capitis), शरीर/जिउमा बस्ने (Pediculus humanus corporis) र जाँघ/कापहरूमा (Pthirus Pubis) बस्ने l यिनीहरू बाह्य परिजीवी हुन् l शरीर र टाउकोमा बस्ने जुम्राहरू एक अर्काको वासस्थानमा जाने गर्दैनन् l यिनीहरू बिच शारीरिक सम्पर्क पनि हुँदैन l
खाना नियमित उपलब्ध भए वयस्क जुम्रा १ महिनासम्म बाँच्न सक्छ l
हाम्रा पुर्खाहरू अफ्रिकाबाट (इथियोपिया) आज भन्दा करिब ५० देखि ८० हजार वर्षअघि बसाइसराइ गर्दा आफूहरू मात्र हिँडेनन् , जुम्रा पनि सँगै लिएर हिँडे l यसरी जुम्राको यात्रा नेपालसम्म सम्भव भयो l
जुम्रा र लुगाको सम्बन्ध
मानिसको शरीरमा हुने जुम्राको उपस्थितिले मानव विकासका धेरै आयामहरूको बारेमा रहस्य खोतल्न मद्दत गर्दछ l ५० लाखदेखि ७० लाख बर्षअघि मानिस र चिम्पान्जी अलग हुँदा जुम्रा भने अलग भएनन् l मानिसको टाउकोमा जुम्राहरू पहिलादेखि नै थिए l मानिसको शरीरमा भएका जुम्रा प्रजाति टाउकोबाट छुट्टिएको अर्को प्रजाति भएको यिनको अध्ययनबाट पुष्टि भएको छ l
मार्क स्टोनकिङ्ग र उनका सहकर्मीले गरेको अध्ययनकाअनुसार मानिसले करिब ७० हजार बर्षअघि जब कपडा लगाउन सुरु गर्यो, त्यसपछि शरीरमा जुम्राको नयाँ प्रजाति विकास भएको आँकलन गरिएको छ l
हाम्रा पुर्खाहरू अफ्रिकाबाट (इथियोपिया) आज भन्दा करिब ५० देखि ८० हजार वर्षअघि बसाइसराइ गर्दा आफूहरू मात्र हिँडेनन् , जुम्रा पनि सँगै लिएर हिँडे l यसरी जुम्राको यात्रा नेपालसम्म सम्भव भयो l
कुनै बेला मानिसको पुर्खाहरूको पूरै शरीर रौँले ढाकिएको बेला जुम्राको लागि पूरै वासस्थान भएको थियो l तर जब करिब १२ लाख वर्षअघि मानिसका शरिरका रौँहरू हराउन थाले तब जुम्राहरू टाउकोमा मात्र सीमित भए l टाउकोमा मात्र सीमित भएका जुम्राहरू मानिसले लुगा लगाउन थालेपछि नयाँ प्रजातिको रूपमा विकसित भयो र शरीरमा पनि देखिन थाल्यो l
जुम्रा कति धेरैलाई पर्छ ?
मलाई त जुम्रा धेरैपटक परेको छ l सानोमा र जागिर खाँदा l सानोमा शायद तपाइँहरू धेरैलाई परेको हुनु पर्छ l ब्राजिलमा कम आम्दानी हुने समुदायका विद्यार्थीमा गरिएको सर्वेक्षणले २४ प्रतिशतसँग जुम्रा रहेको अभिलेख गरिएको थियो l साना बालबालिका र त्यसमा पनि बालिकाहरू बढी प्रभावित थिए l
सन् २००४ मा शोभा पौडेल र स्टेफन वारकरले काठमाडौँ र पोखरामागरेको एक अध्ययनले बालबालिका तथा युवाहरूमा १६ प्रतिशतसम्म र सडक बालबालिकामा ५९ प्रतिशतसम्ममा जुम्रा भेटिएको थियो l
सन् २००८ मा संसारभरि गरिएको अध्ययनहरूलाई फेलेगेस सहितको समूहले विश्लेषण गर्दा एसियामा ०.७ देखि ५९ प्रतिशत, युरोपमा ०.४८ देखि २२.४प्रतिशत, अफ्रिकामा ० देखि ५८.९ प्रतिशत र अस्ट्रेलियामा १३ प्रतिशतमा जुम्रा भेटिएको अभिलेख छ l यो औसत तथ्याङ्क १ देखि २९ वटासम्म अध्ययनबाट गरिएको हो l जसअनुसार एसियामा २९ वटा अध्ययनबाट र अस्ट्रेलियामा १ वटा अध्ययनको औसत तथ्याङ्क हो l यी सबैले महिला र बालबालिकामा बढी जुम्रा रहेको निर्क्योल गरेको छ l
के मरेको मानिससँग जुम्रा बस्छ ?
आज भन्दा २७ वर्षअघि उपल्लो मुस्ताङमा हामीले जागिर खाँदा एकजना मानसिक रोगी महिला थिइन l हिउँदको महिना उनको मृत्यु भएको खबर आयो l त्यतिखेर बाहिरका मानिसहरू मरे भने त्यहाँका स्थानीयले छुँदैनथे l सतगति कसरी गर्ने भनेर हामीहरू ६ जना पुग्यौँ l ५ मिनेटअघि मात्र मरेकी ती महिलाको टाउकोबाट जुम्राहरू निस्किएर अनुहारमा सलबलाई रहेका थिए l सायद शरीरलाई छोड्दै थिए l हामीमध्येको एकजनाले भने ‘ओहो मरेपछि त जुम्राले त साथ दिन्न भन्थे हो रहेछ’ l
मैले यो कुरा मेरो आमालाई भन्दा उहाँले भन्नुभयो ‘मान्छे मात्र होइन , गाई वस्तु मर्दा पनि त्यस्तै हुन्छ, जुम्राले साथ छोड्छन्’ उहाँले थप्नुभयो ‘मरेको छिटो थाहा हुन्छ यी जुम्रालाई’ l
यी जीवहरू मानिसबाहेक अन्य ठाउँमा बाँच्न सक्दैनन् l टाउकोमा बस्नेहरू त्यो ठाउँदेखि बाहेक बाहिर करिब १ घण्टा, शरीरमा हुने बाहिर करिब ५-६ दिनसम्म बाच्न सक्छन् l यही कारणले गर्दा मरेका मानिसमा आश्रित जुम्राहरूले त्यो ठाउँ छोडी हाल्छन् l
के यिनले हामीलाई नोक्सान गर्छन् ?
जुम्रा हुनु भनेको फोहर हुनु भन्ने अर्थ होइन l अनुसन्धानले सफा कपाल भएको ठाउँ जुम्रालाई मन पर्ने भनेर देखाएको छ l
यिनीहरूको उपस्थितिले मानिसलाई मारिहाल्दैन तर दु:ख भने दिई राख्छ l टाउको वा शरीर चिलाउन मन लागि रहन्छ l जुम्राको टोकाइले निद्रा बिग्रन सक्छ l यसले मानसिक रूपमा बच्चाहरू र अभिभावकलाई मानसिक तनाव दिन्छ l जुम्राको विष्ठाको कारणले कानको पछाडि घाँटीतिर घमौरा/घाउ हुन सक्छ l रगत खाएर बस्ने भएकोले शरीरमा आइरनको कमी पनि हुन् सक्छ l अनेमियाको कारणले मानिसलाई थकान र कमजोर महसुस गराउँछ l चिलाइ रहँदा घाउ भई अन्य ब्याक्टेरियाले आक्रमण गर्न सक्छन् l
जुम्राले कुनै रोग सारेको वा यसैको कारणले स्वास्थ्यमा ठूलो गडबडी भएको भेटिएको छैन l तर जुम्राको कारणले कहिलेकाहीँ विभिन्न रोगहरू देखिन सक्छ l
नेपाली समाजमा जुम्राको वर्गीकरण
पोखराकी घरेलु महिला भन्छिन् ‘टाउकोमा बस्ने साना जुम्रालाई लिखा (विशेष गरी अन्डा), अलि ठूलालाई भुसुना र वयस्कलाई ढाडे भन्ने गरिन्छl’ पश्चिमतिर जुम्रालाई जुणा भनिन्छ l
प्राध्यापक शाह भन्छन् ‘लुगामा सेतो जुम्रा हुन्छ, टाउकोमा कालो जुम्रा हुन्छ l यसका साथै आँखीभौँ र कापहरूमा पर्नेलाई चिम जुम्रा भनिन्छ’ l
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय सिक्लेसका कार्यक्रम सहायक शेरजङ्ग गुरुङ भन्छन् ‘गुरुङ भाषामा जुम्रालाई से भनिन्छ l सानो जुम्रा वा लिखालाई ‘नेरी’ भन्छौँ भने ठूलोलाई ‘से ढाडे’ l
उपल्लो मुस्ताङअन्तर्गत लोमान्थाङ निवासी रामबहादुर गुरुङ भन्छन् ‘हाम्रो तिर जुम्रालाई ‘सिक्’ भनिन्छ l यतातिर दुई किसिमका जुम्राहरू भेटिन्छन् , कालो र सेतो’ l
के जुम्रा खाने पनि गरिन्छ ?
आजभन्दा दुई दशकअघि एक हिमाली जिल्लामा अनौठो घट्नाहरु देखेँ l घाममा बसेर जुम्रा हेर्दै, हेर्ने मानिसले खाएको देखेको थिएँl यो घटना धेरैपटक देखेँ l एकपटक अलि कस्तो कस्तो लागे पछि मैले सोधेँ किन यस्तो गरेको भनेर l एकजना जुम्रा मरिरहेकी महिलाले भनिन्‘ यसले हाम्रो रगत खान हुने मासु खान हुने हाम्ले चाहिँ यसलाई खान नहुने ?’ यो जवाफ सुनेपछि छक्क परेको थिएँl
प्राध्यापक शाह भन्नुहुन्छ ‘पुरानो सुरुवालको इजारमा धेरै जुम्रा परेको खण्डमा एक-एक मार्न सम्भव नभएर दाँतले टोकेर मारेको कुरा सुनेको छुl नेपालकै केही हिमाली जिल्लामा यसलाई खाएको पनि सुनेको छु’l
के यिनको व्यापार हुन्छ ?
बिस २०५० सालतिरको कुरा हो यो l उपल्लो मुस्ताङमा हिउँद महिनामा दाँत भएका र आँत भएका सबै तलतिर झर्ने चलन थियो l बूढा-बुढीहरूमात्र गाउँमा बस्ने गर्छन् l यो चलन सायद अहिले पनि होला l
चीनका मानिसहरू उपल्लो मुस्ताङमा यो समयमा निस्फिक्री आउने जाने गर्दथे l यतिखेर प्रहरी कार्यालय पनि तीनदिनको पैदल दूरीमा रहेको सदरमुकाम जोमसोममा झर्ने गर्दथ्यो l एउटा समूह आएको देखेपछि मैले यिनीहरू यस्तो हिउँ परेको बेलामा किन आएका हुन् भनेर सोधेको थिएँ l स्थानीयले भने ‘यिनीहरू जुम्रा किन्न आएका हुन् रे ‘l यो सुनेर मलाई निकै अनौठो लाग्यो l त्यतिखेर मलाई अनुसन्धानमा कुनै रुची थिएन l न त लेखनमा नै l
स्थानीयले सेतो जुम्राको दश रुपैयाँ र कालो जुम्राको आठ रुपैयाँ प्रतिगोटामा मूल्य तय भएको बताएका थिए l मैले यतिसम्म सोध्न भ्याएको थिएँ l ‘के गर्ने हो जुम्रा’ l उनले भनेका थिए ‘ठूलो ओकती (औषधी) हो नि’ l तर मैले के को औषधी हो भनेर सोध्न बिर्सेँ l
२८ वर्षअघिको यो जानकारी आजभोलि पनि छ कि भनेर मैले फोन गरेर स्थानीय युवा रामबहादुर गुरुङलाई सोधेको थिएँ, उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए l उनले भने ‘अहिले त त्यो छँदै छैन, पहिला पनि थियो भन्ने मैले सुनेको पनि छैन l’
जुम्रामाथिको विश्वास
पश्चिम नेपालमा बर्खाको बेलामा हिलोले खाएका औँलाहरूका कापमा ठूलो जुम्रालाई रौँले बाँधेर राखिदियो वा दलिदियो भने त्यो घाउ छिटो सन्चो हुने विश्वास गरिन्छ l यस्तो विश्वास उपल्लो मुस्ताङका बूढापाकाहरू पनि गर्छन् l काम धेरै गर्दा खुट्टा चिरियो भने झुम्रोमा जुम्रालाई बाँधेर राखियो भने छिटो सन्चो हुन्छ भन्ने विश्वास गरिन्छ l
स्पेनमा जन्डिस भएका बिरामीको पेटमा नौं दिनमा नौं वटा जिउँदा जुम्रा पठाउन सकियो भने सन्चो हुन्छ भन्ने विश्वास गरिन्थ्यो l
कास्कीका शेरजङ्ग गुरुङ भन्छन् ‘ कहिले जुम्रा नपर्ने मानिसलाई जुम्रा पर्यो भने कि त त्यो मानिस सम्पन्न हुन्छ कि विपन्न हुन्छ भन्ने सुनेको छु’l
साना साना केटा केटीहरू हुँदा जुम्रा हेर्न दिएनन् भने ‘ छिटो आऊ है, जुम्रा बढ्यो भने यसले बाँसको झ्याङमा लगेर झुन्ड्याउँछ’ भन्ने गरिन्थ्यो l
हाम्रो समाजमा अलि फोहोरी र साना आकारका मानिसलाई ‘जुम्रे भनेर सम्बोधन गरिन्छ’l सिम-सिम पानीमा भिजेमा जुम्रा पर्छ भन्ने भनाइ नेपाली समाजमा प्रचलित छ l
मुस्ताङका राम गुरुङ भन्छन्’बुढापाकाहरूकाअनुसार आफ्नै शरीरमा उत्पत्ति भएको जुम्रा निक्कै पोटिलो हुन्छ तर अरूको शरीरबाट सरेको निकै कमजोर खालको हुन्छ’l
अब जुम्रा मार्ने कि जोगाउने ?
वास्तवमा जुम्रासङ्ग मानवको विकासक्रम जोडिएको छ l जुम्राको अध्ययनले थुप्रै आयामहरूको बारेमा जानकारी दिन सक्छ l ठूला-ठूला जीवहरूको अध्ययनमा त रुची नहुने सरकारले जुम्राको बारेमा के अध्ययन गर्ला l
समय हिजो जस्तो पटक्कै छैन l आजभोलि सरसफाइको कारणले मानिसको शरीरमा जुम्रा निकै कम भएको छ l तर पनि लोप भएको भने छैन l र होला जस्तो पनि लाग्दैन l जबसम्म हामीहरू छौँ, तबसम्म यो पृथ्वीमा जुम्राहरू पनि रहन्छन् नै l जुम्रा मार्ने कि जोगाउने भनेर मलाई कसैले सोध्यो भने, मसँग यसको जवाफ छैन l तपाइँसँग नि ?
Photo: www.healthline.com




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…