
वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । कोरोनाको जोखिम कायम रहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न तुलसीबाट बनेको चिया प्रभावकारी हुने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ ।
सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसीको चियाको माग अहिले बढेको छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिकरुपमा पुष्टि भएको छ ।
यति महत्वपूर्ण औषधिका तुलसीकाे हिन्दु धर्मालम्बीले प्राचीन काल देखि संरक्षण, स्वास्थ्य उपचारमा उपयाेगकाे साथै पूजा पनि गर्दै आएका छन् । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीअर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका बेला हवनसहित साङ्गे गर्ने परम्परा छ ।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा रोपिएको हो । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले २५ भन्दा बढीको भीडभाड नगर्न सरकारले सार्वजनिकरुपमा आह्वान गरेकाले कमै दर्शनार्थी पुगेको जनाइएको छ । उपत्यकाका मुख्य मुख्य मन्दिर बन्द गरिएको छ । केही खुलेका मन्दिरमा भने भक्तजनले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पूजा, आराधना एवं दर्शन गरेका छन् । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।
रासस



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…