चरा नरहे मानिस रहन्छ कसरी ?


     बेदबहादुर खड्का    
     कार्तिक ८ गते २०७८ मा प्रकाशित


पृष्ठभूभि

शुरु–शुरुमा अर्थात २०४४ देखि निकुञ्ज/आरक्षमा रेञ्जरको हैसियतमा काम गर्दा म शिकारू अवस्थामा थिएँ। त्यतिखेर पुराना कर्मचारीहरूबाट प्रशासनिक काम सिक्ने अवसर पाएको थिएँ तर वन, वन्यजन्तु र चराचुरुङ्गीको बारेमा जान्ने सिक्ने अवसर सोचेजस्तो पाउन सकिन। न त फिल्डमा यस बारेमा जानकार भएका र हौसला दिने नै कर्मचारी थिए।

अहिलेको जस्तो मनोरञ्जनका साधन त्यसबेला केही नभएको हुँदा  निकुञ्ज/आरक्षमा फुर्सदको समयमा तास खेलेर समय काट्ने चलन बढी थियो तर मैले तास कहिल्यै खेलिन । तास नखेलेर सधैं  एकलकाटे भएर कसरी वस्ने होला ? यसरी समय/जीवन वर्वाद गर्नु हुँदैन भन्ने मनमा खट्की रहन्थ्यो । त्यसैले एक्लै भए पनि जङ्गलमा भौँतारिन्थेँ र वन, वन्यजन्तु र चराचुरुङ्गीको बारेमा अध्ययनमा तल्लिन भइरहन्थेँ।

मेरो यस्तो बानी देखेर मेरा मित्र रामचन्द्र खतिवडाले फुर्सदको समयमा चराको बारेमा लाग्न अभिप्रेरित गर्नुभयो । झन मलाई यसले बल पुग्यो ।  म त्यसैअनुसार आफूलाई समाहित गर्दै गरेँ। चराहरूको बारेमा थप जान्न उत्सुक्ता  जाग्दै गर्दा बेला बखतमा नेपालका चरा विज्ञ राजेन्द्र शुवाल, स्व. हरीशरण नेपाली ‘काजी’, डा. हेम सागर बराल, टिका गिरी र हटन चौधरीसँगको सामीप्यताले झन उत्साह वढेर गयो ।

जब म दुरविन बोकेर चरा अध्ययन गर्न हिँड्थेँ, त्यतिखेर सर्वसाधारणले चरा किन संरक्षण गर्नुपर्छ भनेर सोध्ने गर्थे। बेलाबेलामा उच्च तहका राजनैतिक,प्रशासनिक व्यक्तित्वदेखि विदेशी कुटनीतिज्ञसमेतलाई उनीहरूको निकुञ्ज भ्रमणका समयमा चरा र वन्यजन्तुहरूको अवलोकन गराउने काम मैले गरिरहनु पर्दथ्यो। विदेशी राजदुतहरू चरा अवलोकनमा औधी सौखिन र पर्याप्त जानकारी रहेको मैले पाउँथेँ।

विदेशी पाहुनाहरूले त चरा संरक्षण गरेर के हुन्छ ? भनेर प्रश्न सोधेनन् तर नेपाली उच्च तहका व्यक्तित्व/पर्यटकहरूले भने त्यो प्रश्न बारम्बार सोधी रहन्थे।

विदेशी पाहुनाहरूले त चरा संरक्षण गरेर के हुन्छ ? भनेर प्रश्न सोधेनन् तर नेपाली उच्च तहका व्यक्तित्व/पर्यटकहरूले भने त्यो प्रश्न बारम्बार सोधी रहन्थे। मैले चराहरूको वातावरण संरक्षणमा भूमिका रहन्छ र हाम्रा सन्ततिहरूलाई देखाउन पनि चराहरूको संरक्षण गरिदिनु आवश्यक छ भनेर जवाफ दिने गर्दथेँ । चराले वातावरण संरक्षणमा के कसरी भूमिका खेल्छ भन्ने विषयमा बताउन नसक्दा मेरो उत्तर उनीहरूलाइ खासै चित्त बुझे जस्तो लाग्दैनथ्यो। वास्तवमा उनीहरू यसको छोटो मीठो तयारी उत्तर चाहन्थे। तर चराहरूको पर्यावरणीय महत्त्वको बारेमा प्रयाप्त ज्ञानको कमीले गर्दा कताबाट प्रश्नको उत्तर शुरु गर्ने र कहाँ पुर्‍याएर टुङ्गयाउने भनेर म अलमलिन्थेँ । प्रश्नकर्ताको चित्त बुझाउन त खोज्दथेँ तर सक्दैनथेँ । यसकारण चरा संरक्षणप्रति जिज्ञासुलाई के कसरी मोहित गर्न सकिन्छ भन्ने कौतुहलताले मलाई जहिले पनि सताई रहन्थ्यो ।

त्यसबखत प्रश्नकर्ताको घैँटोमा घाम लाग्ने गरी चित्त वुझाउनु जरुरी थियो नत्र घाँटीमा दुरविन भिरेर हिँड्नुको कुनै अर्थ नभएको जस्तो लाग्दथ्यो। मलाई लाग्थो कि जबसम्म चाराचुरुङ्गीको भूमिकालाई मानवको स्वस्थ्यसँग जोड्न सकिँदैन तबसम्म चरा संरक्षण हुन सक्दैन । आजको यो लेख यसैको सेरोफेरामा सीमित गर्न चाहन्छु। धेरै प्रकारका चराहरू विभिन्न ऋतु र भू–गोलमा स्थानीय परिवेशमै अवलोकन गर्न सकिन्छ। खास प्रजातिका चराहरू बहेक अन्य कैयौँ प्रकारका चराहरू आफ्नै घर वरिपरिको वातावरणमा पाईने भएकाले संरक्षण र अध्ययन कार्य पनि आफ्नै घर आँगनबाट सुरु गर्न सकिन्छ।

चराको आहारा/भोजन

चराहरू वोटविरुवाका फलफुल,घाँसपातका फल, विऊ खाएर वाँच्दछन । कतिपय चराहरू फूलको रस चुसेर जीवन निर्वाह गर्दछन । केही चराहरू मरेका सिनोमात्र खाने हुन्छन भने कैयौँ शिकारी चराहरूले त चरै मारेर खान्छन । अनेकौँले माछा, लेऊ र त्यस्मा आश्रित किराहरू खाएर हुर्किन्छन ।

जे जस्तो भए पनि वहुसंख्यक चराहरू किराफट्याँग्रामा आश्रित हुन्छन ।वन जङ्गलमा पाईने चराको मूख्य आहारा नै किराफट्याँग्रा हुन् । नेपालमा पाईने ८ सय ८७ चरा प्रजातिमध्ये करीव ७०–८०% चराले किरा खाएर बाँच्दछन् । कतिपय चराहरूले सानोमा लामखुट्टे समेत खान्छन। कैयौं चराचुरुङ्गीले माऊ किराको अलावा तिनका अण्डा, लार्भा, प्युपा, पनि खाई दिन्छन् । किराहरूका लार्भा र प्युपामा उच्चस्तरको प्रोटिन तत्व पाईन्छ । यी लार्भाहरू चराहरूले आफ्ना  बचेराहरूलाई खुवाउँछन र छोटो अवधिमा बचेराको शारीरिक बृद्धि हुन सहयोग मिल्दछ।

हामीले हाम्रा बच्चालाई प्रोटिनयुक्त प्राकृतिक आहार खुवाउन छोडेर हर्लिक्स खुवाउँदा के उनीहरूलाई न्याय दियौ त ? तर चराहरूले आफ्ना बचेराहरूलाई न्याए दिएकै छन्। प्रकृतिमा चराहरूको जैविक शारीरिक संरचना हरेक जीव प्राणीसँग जोडिएको हुन्छ। किराफट्याँग्रा खाने चराचुरुङ्गीको प्राकृतिक स्वभाव पनि प्रजातिअनुसार फरक–फरक हुन्छ। चराहरू एउटै रुखको पनि कोही पातमा, कोही बोक्रामा र कोही काठभित्र रहने किरामात्र खाने स्वभावका हुन्छन्। यिनीहरूले एक आपसमा आहारामा हस्तक्षेप गर्दैनन् । जस्तैः पातमा टाँसिएको किरा खानेले बोक्राको किरा खान जाँदैन । त्यसै गरी कैंयौँ  चराले हावामा उडीरहेका किरालाई चुच्चोले च्याप्प अट्ठ्याएर खाने र कतिले त ओसिलो जमीनभित्रको किरा खोस्रेर खाने गर्दछन । केहीले बालुवाका बगरमा हुने किराहरूमात्र खाएर बाँच्दछन्।

चराचुरुङ्गीको महत्त्व

मानिसहरू भन्न सक्छन्, चराचुरुङ्गीको के महत्त्व छ ? मानिसहरू यस पृथ्वीमा आउनु भन्दा लाखौँ वर्ष अघिदेखि नै किरा फट्याँग्रा, चराचुरुङ्गी र वोट विरुवाको आन्तरिक सम्वन्ध रहेको पाईन्छ। वन जङ्गलले चराहरूलाई आहारा र वासस्थान दिन्छ। वन–जङ्गल, वोट–विरुवाका रङ्गी–विरङ्गी फूल सबै किरा–फट्याँग्राका लागि हुन् र किरा–फट्याँग्रा चराका लागि हुन्। वन जङ्गलमा चराचुरुङ्गी उपस्थित हुनु नै स्वस्थ प्राकृतिक वातावरणको संकेत हो। चराचुरुङ्गीको अध्ययन गर्नाले वन जङ्गलबाट के कस्ता वनस्पति हराउँदै गए, के कस्ता चराचुरुङ्गी हराउँदै गए भन्ने तथ्य थाहा लाग्छ।

त्यसैगरी कहाँ-कहाँ मुल पँधेराहरू, खोलानाला, धारा,झर्ना छाङ्गा सुक्दै वा हराउँदै गए भन्ने समेत तथ्य पत्ता लाग्दछ। खाद्य श्रृङ्खलामा एक पात्रको अभाव वा नासले पर्यावरण प्रणाली असन्तुलन हुनासाथ यसको प्रभाव समग्र वातवरणमा पर्न जान्छ। त्यसैले चराचुरुङ्गीको अध्ययन अनुसन्धान गरेपछि यी सबै कुरा थाहा लाग्दछ।

मानवले आधुनिक युगमा प्रवेश गर्नुअघि खेतीवाली लगाएर खाएकै थिए । कृषीवाली लगाएको वरपरको क्षेत्रमा चराले किरा खाएर वातावरण सन्तुलित रूपमा राखेकोले त्यतिबेला कृषिवालीमा रोगव्याधी कमै लाग्दथ्यो । किरा लागीहाले पनि घरेलु औषधी प्रयोग गरिन्थ्यो । जसले पर्यावरणमा कुनै नकारात्मक असर पुर्‍याउँदैनथ्यो।

कृषिमा कुन-कुन किराले वालीनाली नोक्सान गर्छ भन्ने विषयमा थुप्रै अनुसन्धानहरू भएका छन । वनजङ्गलमा किराले पुर्‍याएको नोक्सानी विषयका अनुसन्धानहरू भने बाहिर आउन सकेको छैन। तर पर्यावरण सन्तुलन कायम राख्न राज्यले जैविक विवधता संरक्षणमार्फत चराचुरुङ्गीको संरक्षणमा ध्यान दिएको भए पनि व्यवहारमा उत्रिएको महशुस गर्न पाइएको छैन। आजभोलि वातावरण असन्तुलन भएर कृषि वाली उत्पादन वृद्धिको लागि कीटनासक औषधिको व्यापक प्रयोग भएको भए पनि ‘वन जङ्गलमा चराचुरुङ्गीको वास, कृषिमा किराको नास र किसानलाई सुखको सास’ भन्ने नारा किसानहरूकाबिच घन्किएको पाईन्छ। यस भनाईले पनि किसानहरूबिच चराको महत्त्व झल्किन्छ। यो वास्तविकता पनि हो। वन जङ्गलमा किराले पनि वोटविरुवा, वनस्पतिलाई नोक्सान पुर्‍याउँछ । चराले ति किरा खाएर नियन्त्रण र सन्तुलन कायम गर्छ।

वनजङ्गलको संरचना श्रृजना गर्न र स्वस्थ्य राख्नमा चराको भूमिका

फलफुल र घाँसपातका विऊ खाने चराले विष्टामार्फत  विऊ एक स्थानबाट अर्को स्थानमा पुर्‍याउँछ। घाम पानीको उचित प्रबन्ध मिलेपछि आफै अङ्कुरण भई कालान्तरमा वनजङ्गलमा परिणत भई नाङ्गो क्षेत्रमा पनि हरियाली कायम हुन्छ। त्यस्ता क्षेत्रहरूमा नयाँ घाँसहरूको श्रृजना भई घाँसमात्र खाएर बाँच्ने जनावरका लागि वरदान हुन्छ।

यहाँसम्मकी जलमा आश्रित पंक्षीले पनि पानीमा चर्ने विचरण गर्ने क्रममा उसको खुट्टा, चुच्चो र पखेंटामा माछाको अण्डा टाँसिनाले एक क्षेत्रको माछा अर्को क्षेत्रमा सजिलै पुर्‍याउँछन्। वनजङ्गलका वोटविरुवाको रङ्गी–विरङ्गी फूलको रस मात्र चुस्ने चराचुरुङ्गीको समुहले एक फूलबाट अर्को फूल गर्दै रस चुस्दै चुच्चो मार्फत  परागसेचनमा सहयोग पुर्‍याई स्वस्थ्य वनजङ्गल कायम राख्न मद्धत गर्दछन् । परागसेचन नभई कुनै पनि विरुवामा फल लाग्दैन। वनजङ्गलले पर्यावरण सन्तुलन कायम गर्दछ। चराचुरुङ्गीले विभिन्न प्रकारका जैविक प्राणीलाई वासस्थान श्रृजना गरिदिने भएकाले यसलाई प्रकृतिको इन्जिनियर पनि भनिन्छ।

चरा वातावरणको जैविक सूचक/कसी हो

अमेरिकाको डोडो भन्ने चराको घट्दो संख्याको कारणले एउटा रुखको प्रजाति नै लोप भएर गएको छ। डोडो नामको चराले फल खाएपछि सो फलका विउहरू विष्टाबाट बाहिर निस्कासन हुँदा अङ्कुरण हुन सहज वातावरण हुन्थ्यो। यो चरा नै लोप भएपछि उक्त वनस्पतिको विउ उम्रिने वातावरण नपाएपछि वनस्पति नै लोप भएर गयो। यस्ता चराले खाएर विष्टा नगरी अङ्कुरण हुन नसक्ने कैयौँ वनस्पति नेपालमा पनि होलान् तर यस सम्बन्धी अध्ययनको कमी छ।

चरा वातावरणको जैविक सूचक/कसी हो । अमेरिकामा खेतिवालीमा किरा नियन्त्रणको लागि सन १९७२ तिर डि.डि.टी. (DDT-dichloro-diphenyl-trichloroethane) को प्रयोग गरियो । जसले किरा खाएर बाँच्ने अमेरिकन रोविन भन्ने चरा प्रजाति भटाभट मर्न थाले। एशिया महादेशमा पनि डि.डि.टी प्रयोग भएका क्षेत्रहरूका अन्न खाएर भ्रमणशिल (Migratory)  चराहरूमा समेत कमी भएको थियो। त्यसैगरी डि.डि.टी.को अत्यधिक प्रयोगले खोलानालका माछा पनि प्रभावित हुन पुगे जसको कारणले माछा खाने चरा प्रजातिहरूको प्रजननमा नकारात्मक असर पर्‍यो। त्यसैले अमेरिकाले डि.डि.टी.उत्पादनमा रोक लगायो।

त्यसै गरी भारतमा गिद्धको संख्या घट्दै जाँदा भुस्याहा कुकुरको सङ्ख्या बढ्नाले समाजमा रेविजको सक्रमण पनि बढेको विभिन्न अध्ययनले देखाएको छ।

भारतमा गिद्धको संख्या घट्दै जाँदा भुस्याहा कुकुरको सङ्ख्या बढ्नाले समाजमा रेविजको सक्रमण पनि बढेको विभिन्न अध्ययनले देखाएको छ।

जहाँ किराफट्याँग्रा एवं चराचुरुङ्गी हुन्छन त्यहाँ स्वस्थ्य वनजङ्गल हुन्छ । जहाँ स्वस्थ्य वन जङ्गल हुन्छ त्यहाँ जलसम्पदाका श्रोतहरू स्वयम् श्रृजना भएका हुन्छन। वनस्पतिहरू शाकाहारी किरा फट्याङ्ग्राका लागि र किरा-फट्याँग्राहरू पंक्षी, छेपारा, भ्यागुता, सर्प र स–साना जनावरलगायत मांसाहारी वनस्पतिको लागि आहारा हुन्। त्यसैले किरा फट्यँग्राको संरक्षण भनेकै चराको संरक्षण हो । त्यो संरक्षण वोट-विरुवाको संरक्षण पनि हो र वोट-विरुवाको संरक्षण भनेकै वातावरण संरक्षण हो । वातावरण संरक्षण भनेकै समग्र प्राणीको संरक्षण गर्नु हो। खाद्य श्रृंखलामा एउटै मात्रै जीव र वनस्पति विनास हुने वित्तिकै त्यसमा आश्रित अरु थुप्रै जीव वनस्पति बिनासले समग्र वातावरणमा नकारात्मक असर पर्न जान्छ।

प्रकृतिबाट मानवले सित्तैमा हावा लिएको छ।  घामवाट प्रकाश लिएको छ।  रुख-विरुवाबाट फलफूल र अक्सिजन लिएको छ । तर दिएको केही छैन। केवल धुत्न मात्र जानेको छ। प्रकृतिले गरेको मनोरम श्रृजनालाई बलमिच्याईँ पाराले मानवले बिनास मात्र गरेको छ। विकास गर्ने लहरले प्राकृतिक सम्पदाहरूलाई ध्वस्त बनाएको छ। डोजरे विकासले समथरदेखि पाखापखेरासमेतका हरिला, भरिला, रसिला, लोभलाग्दा हुँदाखाँदाका वनजङ्गललाई भ्वाङ पारेको छ। प्रकृतिमाथि छुरा चलाउने काम गरेको छ। जसले वर्षातको समयमा बाढी प्रकोपका घट्नाहरू वृद्धि गराएको छ। यस्तो विकासले मुलुकमा समृद्धि र खुशीयाली ल्याउँदैन । मेलम्चीको जस्तो दुःख, पीडा र रोदन ल्याउँछ। अझै पनि नसुध्रने हो भने मेलम्ची जस्ता दर्जनौ रोदन सालिन्दा भोग्नु पर्ने अवस्था रहँदै गर्ला।

अन्त्यमा गएर सामान्य जीवन जीउन पनि अक्सिजन घाँटीमा भुण्ड्याएर हिड्नु पर्ने दिन मानवका लागि टाढा नरहला। किनभने हाम्रा पूर्खाले कहिल्यै सोचेका पनि थिएनन होला आफ्ना  सन्ततिले पानी किनेर खानुपर्छ होला भनेर । अहिले हामी मिनरल पानीका बोतल किनेर खाई रहेका छौँ।

अन्तमा, रुख तस्करले चोरेर सकिने आफ्नो ठाउँमा होला । चराचुरुङ्गी हराएर गए भने वनजङ्गल आफै हराउँछ । किनभने किराहरूको संख्या बढ्नाले रुख विरुवाका पातहरू खाएर ठूटै बनाउने र रुखहरू मर्ने अवस्था आई पर्दा स्वस्थ्य रुखहरूको अभाव एकातिर हुन्छ भने अर्कोतिर प्राकृतिक रूपमा श्रृजना हुने वन विकासको प्रक्रिया अवरुद्ध हुन पुग्दा प्रकृतिबाट निःशुल्क पाई रहेको अक्सिजनको हाहाकार हुन जान्छ।

अन्तमा मानवको अस्तित्व पनि मेटिन्छ। यसरी वन विनास हुँदै जाँदा वनमा आश्रित प्राणीहरू सकिन्छन्।  त्यससँगै खडेरी, आगलागी, वाढीपहिरो र रुख विरुवाको अभावमा त्यस क्षेत्रको जैविक विविधताको पनि विनास हुन्छ।  प्रकृतिमा अक्सिजनको श्रोत भनेकै रुख विरुवा हुन्। रुखविरुवा हराएपछि मानवले निःशुल्क पाई रहेको अक्सिजन कहाँबाट पाउने होला ? अक्सिजनको महत्त्वबारे बल्ल यसपालिको कोराना संक्रमणले मानवलाई चेतनशील बनायो की ? त्यसैले वन जङ्गलमा आश्रित चराचुरुङ्गी, किराफट्याँग्रालाई हेला नगरौं। बरु संरक्षणतर्फ हात फैलाऔँ। वन जङ्गलले वाढी, पैह्रो भू–क्षय र अन्य प्राकृतिक प्रकोप हुनबाट जोगाउँछ। जसले जनधनलाई क्षति हुनबाट बचाउँछ। चराचुरुङ्गी छन र वनजङ्गल छ, वनजङ्गल छ र समयमै वर्षा हुन्छ, वर्षा छ र पानी छ, पानी छ र मानिस छन्। प्रकृतिका यी सबै संरचनाहरू सन्तुलित रूपमा जीवन्त रहे भने मात्र मानव रहने हो। त्यसैले प्रकृति बचिन् भने तब हामीलाई बचाउँछिन।

(बेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)