स्याङ्जाको खाँणदेवी मन्दिर : जहाँ अल्लाहालाई खुशी पार्न राँगो हलाल गरिन्छ । (भिडियो सहित)


     राजु आचार्य     
     कार्तिक २६ गते २०७८ मा प्रकाशित


करिब २ सयदेखी  २ सय ५० वर्षअघि स्याङ्जाको सदरमुकाम नजिकै रहेको भैंसेगौंडामा अनौठो घटनाहरू  घट्न थाले। पुरुषहरू ३०-३५ बर्ष पुग्दा नपुग्दै धमाधम मृत्यु हुन थाले। झारफुक गरियो, वैद्यले उपचार गरे। मर्ने क्रम  भने रोकिएन। बर्षौँसम्म मर्ने क्रम चलिरह्यो । मानिसहरू चिन्तित बने। ‘यस्तै हो भने गाउँमा पुरुष नै नहुने हो कि भनेर’।  

केही मानिसको हेराउने सहमति भयो ।धामी झाँक्री खोजियोl  सो बेलाका प्रख्यात धामी झाँक्रीले जे भने त्यो सुनेर स्थानीय चकित परे।  उनले भनेका थिए ‘गाउँमाथिको मन्दिरबाट अल्लाह दु:खी छन्।  उनको पूजा अर्चनाको तरिका मिलेको छैन’।

स्थानीय समाजसेवी बालकुमार गुरुङले सो विषयको बारेमा थप्दै बताए ‘हेराउनेका अनुसार धेरै वर्षअघि सो ठाउँमा  मुसलमान समुदायको बसोबास रहेको क्षेत्र रहेछ। कुनै कारणवश उनीहरू सो ठाउँ छोडेर बसाइसराइ गरेका थिए। छोडेर गएपछि आइपुगेका अन्य समुदायका मानिसहरूलाई सो ठाउँको इतिहास बारे थाहा थिएन। उनीहरू आफ्नै हिसाबले पूजा त गर्थे तर अल्लाहको हैन। 

हेराएपछि सोही समयदेखि स्थानीयहरूले पूजाको तरिका परिवर्तन गरे।  उनीहरू भन्छन् -सो दिनदेखि पुरुषहरू  गाउँमा पुरा बाँच्न थाले।

सो क्षेत्रका गुरुङ समुदायले चैत्र दसैँको बेलामा सो मन्दिरमा राँगोलाई हलाल गर्छन्। सो रगतलाई पातीको मुन्टाले घर घरमा छर्कने चलन छ। रगत छरिएको पातीलाई घरमा राखिन्छ।  यसो गर्दा घर र पुरुषको सुरक्षा हुन्छ भन्ने विश्वास गरिन्छ।  सबैले पैसा उठाएर हलाल गरेको मासु घर-घरमा प्रसादको रूपमा खाइन्छ। सोही बेलादेखि मन्दिरको नाम पनि राखियो ‘खाँणदेवी’ मन्दिर। ‘खाँण’मुस्लिम शब्दावली हो भने ‘देवी’ हिन्दू र यहाँ पूजा गर्नेहरू बुद्ध धर्मप्रति आस्था राख्नेहरू हुन्। यो ठाउँमा अहिले पनि कहिले काहीँ खन्दा चुराहरू भेटिने गरेको स्थानीयहरू बताउँछन्।  

पोखराबाट  स्याङ्जाको घुम्ती (३६ किमी) हुँदै भैसेगौंडा (११किमी) पुग्न सकिन्छ। मोटरसाइकल र ग्राउन्ड क्लियरेन्स भएका गाडीहरू सहजै गाउँसम्म पुग्छन्।  हाल बाटो बन्दै रहेकोले १ महिनाभित्र सबै खालका गाडीहरू जान सक्छन्। अहिले पनि गाउँदेखि ३ किलोमिटर नजिकसम्म सबै खालका गाडीहरू सहजै पुग्ने गर्छन्।  गाउँबाट ५ मिनेटको पैदल दूरीमा रहेको सो स्थानको हालै मर्मत गरिएको छ।

यो क्षेत्रमा  सामुदायिक घरबास रहेको छ। यो ठाउँबाट अन्नपूर्ण, धौलागिरी र मनास्लु हिम शृङ्खला राम्रो सँगै अवलोकन गर्न सकिन्छ। प्रकृति र संस्कृतिमा रूची हुनेहरूका लागि यो क्षेत्र नौलो र राम्रो गन्तव्यमा पर्दछ। सामुदायिक वन, अनौठो ठाडो गुफा, अलैँची बारी, १ सय २० भन्दा बढी प्रजातिका चराहरू आदिले यो ठाउँ घुम्न योग्य बनाएको छ।   १ रात  बिताउने वा दिनभरि घुमेर फर्कनेको लागि यो ठाउँ निकै मनमोहक छ।