पर्वतीय सङ्ग्रहालयमा सय वर्ष अघिको सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री


     नेचर न्युज    
     असार २० गते २०८१ मा प्रकाशित


पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा एक सय वर्ष अघि सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री प्रदर्शन गरिएको छ । सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए ।

 तिनै विषयलाई समेटेको डकुमेन्ट्री देखाउन सुरु गरेको सङ्ग्रहालयले त्यतिबेलाका तस्बिरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो । सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरको समेत प्रदर्शनी गरिएको छ । प्रदर्शनीको उच्च अदालत पोखराका न्यायधिश धनसिङ महराले उद्घाटन ।

सन् १९७५ मा स्लोभेनियाका नागरिकले मकालु हिमालको आरोहण गरि विश्वका १४ वटा हिमाल आरोहण गरेका छन् ।अल्पाइन क्लबले माउन्ट एभरेस्ट फाउन्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेस्ट बाइ दोज हु वेयर दिएर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । सङ्ग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् ।  जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ ।

सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ । सङ्ग्रहालय हिमाल र हिमाली जनजीवनबारे अध्ययन अनुसन्धान गर्न चाहने पर्यटकको रोजाई बनेको छ । पोखरा महानगरपालिका– १७ रातोपैह्रामा एक सय रोपनी क्षेत्रफलमा सङ्ग्रहालय छ । २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सङ्ग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको सङ्ग्रहालय नेपाल पर्वतारोहण सङ्घको मातहतमा सञ्चालनमा छ । सङ्ग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ ।अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा चालु वर्षमा १०५ देशका पर्यटकले भ्रमण गरेका गरेका छन् । सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको सङ्ग्रहालयको रेकर्डमा उल्लेख छ ।

सन् १९५३ मे २९ का दिन बिहान ११स्३० बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेक्न सफल भएका थिए । पहिलो र दोस्रो विश्वयुद्धको समयमा बेलायतले सञ्चालन गरेको ७ वटा अभियानहरू र दोस्रो विश्वयुद्धपछि नेपालतिरबाट गरेका ३ वटा अभियानपछि मात्र विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आरोहण सम्भव भएको थियो ।