बमबारी, मिसाइल आक्रमण सहितका युद्धले वातावरण र जैविक विविधतामा गम्भीर असर


     नेचर न्युज    
     असार ८ गते २०८२ मा प्रकाशित


यति बेला इजरायल र इरानबीच बढ्दो द्वन्द्वचलेकाे छ । जहाँसुकै हुने बमबारी, मिसाइल आक्रमण सहितका यस्ता युद्धले केवल मानव जीवनमा मात्र होइन वातावरणमा पनि गहिरो प्रभाव पार्ने विज्ञले बताएका छन् । युद्धका कारण प्राकृतिक स्रोत, वन्यजन्तु, जलस्रोत, वायु र माटोमा दीर्घकालीन असर पर्ने विज्ञहरू बताउँछन्। यस्ताे युद्धले कहाँ कस्ताे असर गर्छ त ?

प्राकृतिक प्रणालीमा विनाश
युद्धका क्रममा गरिने बमबारी, मिसाइल आक्रमण र सैन्य कारबाहीले वनजङ्गल, मरुभूमि तथा जैविक विविधतायुक्त क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउँने विज्ञ बताउँछन् । यसले वन्यजन्तुहरूको बासस्थान विनाश हुने र धेरै प्रजातिहरू संकटमा पर्ने जोखिम हुन्छ।

वायुप्रदूषण र जलवायु असर
आगो लाग्ने, विस्फोटक पदार्थ र तेल जलाउने कार्यबाट वायुमण्डलमा भारी प्रदूषण फैलिन्छ। यसले वायुप्रदूषण बढाउनुका साथै सास फेर्न समस्या हुन्छ। साथै, युद्धमा प्रयोग हुने गाडी, विमान, ट्याङ्करहरूबाट ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन हुन्छ, जसले जलवायु परिवर्तनलाई तीव्र बनाउँछ।

जल स्रोत र माटो प्रदूषण
जल प्रशोधन केन्द्र, पाइपलाइन र बाँधहरूमा क्षति पुग्दा पानीको स्रोत प्रदूषित हुन्छ। युद्धको कारण खोलानाला, जमिन र भूमिगत जल स्रोतमा तेल, रसायन तथा विषालु तत्व मिसिएर जल तथा माटो दुवै प्रदूषित हुने खतरा हुन्छ।

तेल पूर्वाधारमा आक्रमणको असर
इरान वा अन्य खाडी मुलुकका तेल प्रशोधन केन्द्रहरूमा आक्रमण भयो भने ठूलो मात्रामा तेल चुहावट हुन सक्छ। यसले समुद्री पारिस्थितिक तन्त्रमा विनाश ल्याउनेछ, जसको असर दीर्घकालीन हुनेछ।

फोहर र अवशेष व्यवस्थापनको अभाव
बमबारीबाट ध्वस्त भएका भवन, सवारीसाधन तथा संरचनाबाट उत्पन्न फोहर व्यवस्थापन नगर्दा विषालु पदार्थ माटो र पानीमा मिसिन सक्छ। लामो समयसम्म सो क्षेत्रमा सफाइको अभाव रहने हुँदा पर्यावरणीय संकट गहिरिन सक्छ।

कृषि प्रणालीमा ध्वंस
फराकिलो क्षेत्रमा गरिने युद्धले खेतीयोग्य जमिन बर्बाद पार्छ, जसले खाद्य सुरक्षामा असर गर्छ। विषालु ग्यास र बम प्रयोगले माटोको उर्बरता घट्छ, जसले उत्पादनमा गिरावट ल्याउँछ।

संकटमा जलवायु पहल
विकासशील र जलवायु प्रभावमा परेका राष्ट्रहरूले वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बेलामा युद्धका कारण बजेट सैन्य खर्चमा जान्छ। यसले वातावरणीय कार्यक्रमहरू पछाडि पार्ने खतरा रहन्छ।

विश्लेषकहरू भन्छन्, “मध्यपूर्वमा युद्धको दीर्घकालीन असर केवल भू–राजनीतिमा सीमित हुँदैन, यसले समग्र पारिस्थितिक सन्तुलनलाई बिगार्ने खतरा रहन्छ।”