नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि


     नेचर न्युज    
     माघ १९ गते २०८२ मा प्रकाशित


नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को अनुवंशिक पहिचान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। बरालले जापानको होक्काइडो विश्वविद्यालय, पशु चिकित्सा संकाय अन्तर्गतको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट पीएचडी सफलतापूर्वक पूरा गरेका हुन्।

तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि गर्दै पीएचडी भएको यो पहिलो रहेको बताइएको छ । बरालको अनुसन्धान नेपालका लागि विशेष महत्वको मानिएको छ । उनले नेपालमा पहिलोपटक आनुवंशिक (genetic) प्रमाणका आधारमा तिब्बती खैरो भालु (Ursus arctos pruinosus) को उपस्थिति पुष्टि गरेका छन्।

यसअघि IUCN का विवरणहरूमा नेपालमा पाइने खैरो भालुलाई उपप्रजाति स्तरमा स्पष्ट नगरी उल्लेख गरिएकाले, हिमाली र तिब्बती खैरो भालु मध्ये कुन उपप्रजाति नेपालमा रहेको हो भन्ने विषय लामो समयसम्म वैज्ञानिक विवादमा रहेको थियो। बरालको अनुसन्धानले यो लामो समयदेखिको वैज्ञानिक अन्योललाई स्पष्ट दिशातर्फ डो¥याएको छ। खैरो भालु नेपालमा संरक्षित तथा अति संकटापन्न अवस्थामा रहेको दुर्लभ मांसाहारी जनावर हो।

नेपालमा पहिलो आनुवंशिक पुष्टि

उनको पीएचडी अनुसन्धान नेपालका ट्रान्स–हिमालय क्षेत्र, विशेषतः उपल्लो मुस्ताङ र डोल्पा केन्द्रित छ। सन् २०२२ देखि २०२४ सम्म गैर–आक्रामक (non-invasive) नमुनाहरू (रौँ, दिसा आदि) संकलन गरी गरिएको डीएनए विश्लेषणबाट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज (डोल्पा) र अन्नपूर्ण संरक्षण क्षेत्र (उपल्लो मुस्ताङ) मा पाइने कम्तीमा दुई फरक खैरो भालु तिब्बती खैरो भालुसँग आनुवंशिक रूपमा नजिक रहेको पुष्टि भएको हो। यो नेपालमा खैरो भालुको पहिलो genetic confirmation हो।

यसअघि नेपालमा खैरो भालुको उपस्थिति क्यामेरा ट्र्याप, प्रत्यक्ष अवलोकन (sighting) तथा field sign का आधारमा मात्र पुष्टि हुँदै आएको थियो। ‘Status of Mammals of Nepal’ अनुसार नेपालमा खैरो भालुको जनसंख्या करिब २० वयस्क मात्र रहेको अनुमान गरिएको छ, जसले यसको संरक्षण अवस्थालाई अत्यन्त संवेदनशील बनाउँछ।

उपप्रजाति पुष्टि गर्न थप अनुसन्धान आवश्यक

बरालका अनुसार डोल्पा र मुस्ताङका खैरो भालु तिब्बती उपप्रजातिसँग आनुवंशिक रूपमा नजिक देखिए पनि नेपालका सबै खैरो भालु एउटै उपप्रजातिका हुन् भन्ने निष्कर्ष निकाल्न अझै पर्याप्त तथ्य उपलब्ध छैन। उनले पश्चिम नेपाल (लिमी उपत्यका) र पूर्व नेपाल (कञ्चनजंघा क्षेत्र) बाट genetic नमुना संकलन र परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यस्ता अध्ययनले नेपालमा खैरो भालुको उपप्रजातिगत स्थिति पूर्ण रूपमा स्पष्ट गर्न मद्दत पुग्ने उनको निष्कर्ष छ।

चार अध्यायमा विस्तृत वैज्ञानिक अनुसन्धान

बरालको पीएचडी अनुसन्धान “Genetics, habitat, diet, and predator–prey relationships of brown bears and other carnivores in the Himalayas, Nepal” शीर्षकमा आधारित छ र चार महत्वपूर्ण अध्याय समेटिएको छ।

पहिलो अध्यायमा नेपालमा तिब्बती खैरो भालुको पहिलो molecular पुष्टि गरिएको छ। अत्यन्त कम आनुवंशिक विविधता भेटिनुले खैरो भालुको जनसंख्या सानो, पृथक र ऐतिहासिक रूपमा अलग रहेको संकेत गर्दछ। यसले तिब्बती पठारसँग सम्भावित जैविक करिडोरको महत्व पनि उजागर गरेको छ।

दोस्रो अध्यायमा नेपालमा पाइने तीनवटै भालु प्रजाति — स्लोथ भालु, एसियाली कालो भालु र खैरो भालु — को वर्तमान तथा भविष्यको वासस्थान जलवायु परिवर्तनको सन्दर्भमा विश्लेषण गरिएको छ। अध्ययनले भविष्यमा खैरो भालुको उपयुक्त वासस्थानमा ठूलो गिरावट आउने चेतावनी दिएको छ र संरक्षित क्षेत्र मात्र पर्याप्त नहुने निष्कर्ष निकालेको छ।

तेस्रो अध्यायमा उपल्लो मुस्ताङमा पाइने रातो स्याल, हिमाली ब्वाँसो र हिउँ चितुवा को आहार, शिकार चयन र संसाधन उपयोग विश्लेषण गरिएको छ। हिमाली ब्वाँसो र हिउँ चितुवा बीच उच्च आहारिक ओभरल्याप देखिनुले शिकार अभाव, मानव–वन्यजन्तु द्वन्द्व र संरक्षण चुनौती बढ्दै गएको संकेत गरेको छ।

चौथो अध्यायमा क्यामेरा ट्र्याप अध्ययनमार्फत नेपालमा १६ प्रजातिका स्तनधारी जनावरहरू (८ शिकारी र ८ शिकार प्रजाति) अभिलेख गरिएको छ। यस अध्ययनले उपल्लो मुस्ताङलाई बहु–मांसाहारी (multi-carnivore) पारिस्थितिक प्रणाली भएको क्षेत्रका रूपमा वैज्ञानिक रूपमा पुष्टि गरेको छ।

संरक्षण क्षेत्रमा दीर्घ अनुभव

ऋषि बरालले पीएचडी अध्ययन अघि ६.५ वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) मा संरक्षण अधिकृतका रूपमा कार्य गरेका थिए। सोही क्रममा उनी जोमसोम र लो–मान्थाङस्थित Unit Conservation Office का इन्चार्ज समेत रहेका थिए। उनले वन्यजन्तु अनुसन्धान, संरक्षण अभियान, समुदाय स्तरका जनचेतनामूलक कार्यक्रम तथा जैविक विविधता अभिलेखीकरणमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। साथै, अन्नपूर्ण क्षेत्रका चराहरू, स्तनधारी र सरीसृपहरू सम्बन्धी पुस्तकहरू पनि लेखिसकेका छन्।

नेपालको संरक्षणका लागि ऐतिहासिक योगदान

वन्यजन्तु विज्ञहरूका अनुसार ऋषि बरालको अनुसन्धानले नेपालमा खैरो भालु तथा हिमाली ठूला मांसाहारी जनावरहरूको संरक्षण रणनीति निर्माणमा नयाँ वैज्ञानिक आधार प्रदान गरेको छ। विशेषतः genetic प्रमाणमा आधारित यो अध्ययनले भविष्यमा सीमा–पार (transboundary) संरक्षण, नीति निर्माण र दीर्घकालीन अनुगमन का लागि महत्वपूर्ण मार्गचित्र प्रस्तुत गरेको विज्ञहरूको भनाइ छ।