के चितवनमा एक हजार गैँडा पुर्‍याउन सकिन्न ?


     बेदबहादुर खड्का    
     असाेज ६ गते २०७८ मा प्रकाशित


बूढापाकाहरूको उखानै छ ‘घोकन्ते विद्या–धावन्ती खेती’ अर्थात् जसले विद्या कण्ठस्थ गर्छ उसले जहिले पनि परीक्षामा सफलता हासिल गर्छ र जसले खेतमा ध्यान दिएर खेतीवाली लगाउँछ उसको अन्नबाली सप्रेर आउँछ । त्यसै गरी हामीले पनि गैँडाको वासस्थानका लागि ’धावन्ती खेती’ जस्तै गरेर ध्यान दिने गर्‍यौँ र चोरी सिकारलाई पूर्णरूपमा निस्तेज पार्‍यौँ भने चितवन राष्ट्रिय निकुञ्जमा हाल भएका ६ सय ९४ वटा गैंडाहरूको संख्या बढाएर न्यूनतम एक हजारको हाराहारीमा पुर्‍याउन सकिन्छ ।

आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जको क्षेत्रफल ४ सय ३० वर्ग किलोमिटर छ । त्यसको अधिकतम क्षेत्र ब्रह्मपुत्र नदीले बनाएको समथर नदीतटीय छ । यहाँ गैँडाको सङ्ख्या करिब २ हजार ५ सय छ । चितवन राष्ट्रिय निकुञ्जमा पनि गैँडाको उपयुक्त क्षेत्रफल आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जकै हाराहारीमा छ । कसैले भन्लान् ब्रम्हपुत्र नदीतटीय वासस्थानले गर्दा काजिरङ्गाको थोरै क्षेत्रमा पनि गैँडाको सङ्ख्या धेरै भएको होला । तर चितवनमा पनि रिऊ,राप्ती र नारायणीको नदीतटीय समथर वासस्थान कायमै रहेकोले करिब एक हजारको सङ्ख्यामा गैँडाहरू हुन नसक्ने कुरै छैन । तर, गैँडाको सङ्ख्या वृद्धि गर्नका लागि तन,मन, धन र इच्छाशक्ति सबै चाहिन्छ । गैँडाको सङ्ख्या बढाउनका लागि हेक्का राख्नुपर्ने विषयहरूको विवेचना तल गरिएको छ ।

आहाल बस्ने डुविल्काहरूको मर्मत सम्भार

प्रकृतिले पनि हरेक जीवलाई प्राकृतिक तवरले जिउने आधार दिएको हुन्छ ।जीवहरूको प्रकृतिमा हुर्कने शैलीलाई बुझेर स्थानीय ज्ञान,सिप र श्रोत साधनलाई अधिकतम प्रयोग गरी तिनीहरूको वासस्थान व्यवस्थापन गर्न सके सानो वासस्थान क्षेत्रमा पनि वन्यजन्तुको सङ्ख्या बढाउन सकिन्छ ।उदाहरणको लागि घाँसे मैदानहरूमा प्राकृतिक रूपमा वनेका स–साना हिलोसहितका आकाशे पानी जम्ने डुविल्काहरूमा गर्मी याममा गैँडाहरू आहाल बस्न रुचाउँछन् । डुविल्काको हिलो शरीरमा दलिएपछि एकातिर गैँडाहरूको शरीर शीतल रहने हुँदा चर्को घाममा पनि लामो समयसम्म चर्न सक्छन् भने अर्कोतर्फ डाँसहरूले टोक्न सक्दैन । 

जुधेर घाइते भएका गैँडाहरू आफ्नो शरीरमा परेका घाउहरू हिलोमा आहाल बसेरै निको पार्ने गरेको तथ्य छ । गर्मी महिनामा गैँडा तथा बँदेलले यस्ता पानी र हिलो जमेका खाल्टा–खुल्टीमा अधिकतम समय आहाल बसेको भेटिन्छ । प्राय: गरेर यस्ता खाल्टा–खुल्टीको पानी वर्षा यामपछि सुक्दै जान्छन् तर फेरि चैत्र–वैशाखतिर पर्ने पानीले यस्त डुविल्काहरूलाई  ब्युँताउँछ । गैँडाले आहाल बस्न प्रयोग गर्ने यस्ता स-साना डुवुल्का–डुबुल्कीहरू प्राकृतिक रूपमै पुरिने क्रम तीव्र गतिमा भै रहेको छ । त्यसैले यसलाई संरक्षण र व्यवस्थापन गर्नुपर्ने जरुरी देखिएको छ ।

यस्ता स–साना डुवुल्का–डुबुल्कीहरू जीवन्त राख्न सबैभन्दा सजिलो उपाय भनेको निकुञ्जका यस्ता स्थानहरूको पहिचान तथा जानकारी राख्ने पोस्टमा रहेका हात्तीसारका कर्मचारीहरूलाई प्रयोग गर्न सकिन्छ । किनकि उनीहरू पोस्ट नजिकको क्षेत्रमा हात्ती चराउन निरन्तर जाने हुँदा गैँडा आहाल बस्ने खाल्टा–खुल्टीको जानकारी हुन्छ । पुरिन लागेका यस्ता हजारौँ  खाल्टा खुल्टीलाई प्राकृतिक स्वरूप नबिगारीकन सामान्य रूपमा बेल्चा फोरूवाले खनी, कोतरेर दुरुस्त राख्न सकिन्छ । हात्ती चराउन जाँदा खेरी खाल्टाखुल्टीको पुनर्स्थापनका काम गर्न सजिलो हुन्छ किनकि हात्तीसङ्गै भएपछि बाघ, भालु जस्ता वन्यजन्तुको डर,भय हुँदैन । त्यस्तै निकुञ्ज क्षेत्रको भित्री कुनाकाप्चासम्म निर्भिक भएर काम गर्न सकिने हुन्छ। यो काम हात्तीसारका कर्मचारी बेगर अरूबाट प्राय:असम्भव नै छ । हौसलाका लागि हात्तीसारका कर्मचारीलाई केही थप पारिश्रमिक दिएर भए पनि हात्ती चराउन गएका बेलामा उनीहरूले हात्ती पनि चराउँछन् र उनीहरूको स्थानीय ज्ञान र सीप प्रयोग गरी सुकेका वा पुरिएका खाल्टा–खुल्टी पनि मर्मत सम्भार गरी जीवन्तता दिन सक्छन् ।

स्थानीय ज्ञान र सीपलाई प्राथमिकता 

वासस्थानको गुणस्तरले वन्यजन्तुको सङ्ख्या निर्भर गर्दछ । जस्तै: निकुञ्जको पूर्वी सिमानामा पर्ने सुनाचुरी क्षेत्र जहाँ पहिला निकुञ्जभित्र नै ‘मचान होटेल’ सञ्चालनमा थियो । होटेलले करिब ५ कि.मी. टाढाको चुरे घाँचमा रहेको मैना खोलाको पानी कुलो बनाइ ठाउँ–ठाउँमा पानी जमाउँदै ६–७ वटा पोखरी बनाइ कुलोलाई पुरानो पीपलतालवाट नरकट झाडीमा झारेर राप्तीको नदीतटीय वनमा छोड्ने कार्य गरेको थियो। होटेल वरपर पर्यटक घुमाउने क्षेत्रमा वन्यजन्तुको वासस्थान चुस्त दुरुस्त बनाएर जमिनमा चिस्यान कायम रहने हुँदा गैँडाहरू सधैँ त्यतै चर्न आउँथे र सुख्खा याममा पनि होटेलले आफ्ना पर्यटकहरूलाई गैँडा देखाउन सक्थे । तर पछि होटेल हटेपछि त्यस स्तरको व्यवस्थापनको कार्यमा कमी आएकाले त्यस क्षेत्रमा गैँडालगायत अन्य वन्यजन्तुको उपस्थिति घट्दै गएको छ ।

त्यसै गरी चितवन जङ्गल लजले व्यवस्थापन गरेका पानीका कुला र पोखरीहरू सबै भत्किएर गए । होटेल हुँदाको घाँसे फाँटहरू अहिले आएर जङ्गलमा परिणत भएका छन् । घाँसे फाँटाहरू वन जङ्गलमा परिणत हुनु भनेको वन्यजन्तुको चरन क्षेत्र साँघुरिनु हो तत्कालीन अवस्थामा निकुञ्जको भू–गोलअनुसार वन्यजन्तुका लागि चुस्त दुरूस्त वासस्थान निकुञ्जभित्रका सबै होटेलले बनाएका थिए । तर हामीले निकुञ्जभित्रबाट होटेल हटाउन बढी वकालत गर्‍यौँ र हटायौँ पनि ! तर हटाई सकेपछिका दिनहरूमा उनीहरूले गरेका वासस्थान व्यवस्थापनका पक्षलाई निरन्तरता दिन सकेनौँ । त्यसै कारणले गर्दा आज सौराहादेखि पूर्वी क्षेत्रमा गैँडाको सङ्ख्यामा कमी आएको छ भन्दा कुनै फरक नपर्ला । पङ्क्तिकारले यसो भनिरहँदा निकुञ्जभित्र होटेल हुँदा मात्र वासस्थान व्यवस्थापन थियो भन्न खोजेको होइन । वन्यजन्तुको वासस्थान व्यवस्थापन जोजसको पहलमा भए पनि निरन्तरता दिनुपर्छ । फाइदा त अन्ततोगत्वा वन्यजन्तुलाई नै हुने हो ।

तत्कालीन अवस्थामा निकुञ्जको भू–गोलअनुसार वन्यजन्तुका लागि चुस्त दुरूस्त वासस्थान निकुञ्जभित्रका सबै होटेलले बनाएका थिए । तर हामीले निकुञ्जभित्रबाट होटेल हटाउन बढी वकालत गर्‍यौँ र हटायौँ पनि ! तर हटाई सकेपछिका दिनहरूमा उनीहरूले गरेका वासस्थान व्यवस्थापनका पक्षलाई निरन्तरता दिन सकेनौँ । त्यसै कारणले गर्दा आज सौराहादेखि पूर्वी क्षेत्रमा गैँडाको सङ्ख्यामा कमी आएको छ भन्दा कुनै फरक नपर्ला ।

चुरे घाँचका कुलाहरू पुनः सक्रिय 

चितवनको पुरानो पदमपुरमा गाउँवस्ती रहँदासम्म चुरेको घाँचबाट कुलोमा पानी ल्याएर स्थानीयले चैत्रका दिनमा पनि धान रोप्ने गर्दथे। त्यहाँको जमिन त्यतिखेर हरिलो, भरिलो र रसिलो थियो प्रशस्त पानीको उपलब्धताले गर्दा पूरै पदमपुर क्षेत्रको माटोमा मनग्य चिस्यान थियो । त्यसवेला प्रशस्त गैँडालगायतका अन्य वन्यजन्तु पनि यसै सेरोफेरोमा रमाएका थिए । तत्कालिन अवस्थामा पदमपूर क्षेत्र पर्यटकहरूलाई घुमाउने थलो बनेको थियो । बस्ती स्थानान्तरण गरिसकेपछि चुरे क्षेत्रबाट बग्ने खोला पुरिएकाले जमिनमा उपयुक्त चिस्यान रहन सकेन । हामीले वासस्थान व्यवस्थापनका स्थानीय भाखाहरू पनि टिप्न सकेनौँ । आज आएर समग्र निकुञ्जमा गैँडाको सङ्ख्या बढे पनि निकुञ्जको पूर्वी क्षेत्रमा गैँडाको सङ्ख्या लक्ष्य अनुरूप बढ्न सकेको छैन । चर्चा परिचर्चा सुनिँदै छ कि निकुञ्ज पश्चिम भेगका गैँडालाई पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने भनेर ! तर निकुञ्जको पूर्वी क्षेत्रमा हाल भएको मौजुदा वासस्थानमा सुधार नगरी गैँडाहरूलाई कसरी बचाउन सकिन्छ र?

स्थानीय ज्ञान र सीपलाई सदुपयोग गर्दै स्थानीयले पहिला प्रयोग गरेका कुलाहरूलाई पुनः सक्रिय बनाइ सञ्चालनमा ल्याएर पदमपुर क्षेत्रलाई रसिलो, हरिलो र भरिलो क्षेत्रमा परिणत गरी गैँडालगायत अन्य वन्यजन्तुको सङ्ख्या बढाउन सकिन्छ । त्यसलाई निरन्तरता दिन पुरानो पदमपुरका बासिन्दालाई साथमा लिई ठाउँ पहिचान गरी कुलोहरूलाई पुन:स्थापन गरेर पानीको वहाव पुन: सञ्चालनमा ल्याउन सकिन्छ । तर यो काम  एक दिन गरेर हुँदैन, सुख्खा याममा झन् दिनहुँ गर्नुपर्ने हुन्छ । तर विद्यमान सरकारी झन्झटिला प्रक्रियाहरू छिचोलेर यो काम फत्ते गर्न गराउन र निरन्तरता दिई रहन प्राय: असम्भव जस्तै छ । त्यसैले बिग्रेभत्केको ठाउँमा मर्मत सम्भारसमेत गर्ने गरी स्थानीय अनुभवीलाई अस्थायी ज्यालादारीमा राखी कुलाहरूलाई सक्रियरूपमा सञ्चालन गर्न जरुरी छ । 

अग्ला ढिस्काहरू निर्माण

नारायणी, राप्ती र रिऊ नदीको बाढीले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सालिन्दा नयाँ–नयाँ घाँसे मैदान, बगरका टप्पुहरू र नदीको बहाव क्षेत्रबाहेक अन्य क्षेत्रमासमेत ताल, घोल र यस्तै पानीका श्रोतहरू सृजना गराउँछ । यसबाट सुख्खा याममा पनि जमिनमा चिसोपना कायम रहिरहने भई जनावरले मन पराउने पोषणयुक्त घाँस उत्पादन भइरहन्छ । उपयुक्त आहाराको प्रभावले यस्ता क्षेत्रमा हुर्कने गैँडाहरू अन्य क्षेत्रको तुलनामा मोटाघाटा र फुर्तिला देखिन्छन् । वासस्थान व्यवस्थापन गरेको क्षेत्रमा भन्दा नगरेको क्षेत्रमा गैँडालगायत अन्य वन्यजन्तुको उपस्थिति बाक्लो रहेको पाइएको छ । यसो भनिरहँदा वासस्थान सुधार गर्नु हुँदैन भनेको होइन । बाढीले प्रभाव नपार्ने स्थानमा मात्र वासस्थान व्यवस्थापनका कामहरूलाई प्रश्रय दिँदा गैँडालगायत अन्य वन्यजन्तुको सङ्ख्या बढाउन सकिन्छ । बाढीको प्रभाव पर्ने स्थानमा बगरका टप्पुहरूमा ठूलाठूला अग्ला ढिस्काहरू बनाउँदा बाढीको समयमा गैँडा र अन्य प्रजातिहरू सुरक्षित रहन सक्दछन् । यो नै सही वासस्थान व्यवस्थापन हो । यस्तो व्यवस्थापनबाट बाढीमा गैँडा बगेर भारत जाने घटनाहरू कम गर्न सहयोग पुग्ने छ । यस्तो खालको व्यवस्थापन काजिरङ्गा राष्ट्रिय निकुञ्जमा देख्न सकिन्छ । यहाँ अग्ला ढिस्काहरू बनाएर ब्रह्मपुत्रको बाढीबाट गैँडालगायत अन्य वन्यजन्तुलाई डुवानवाट बचाउने गरिएको छ । २०७४ को बाढीले चितवनबाट बगाएर भारत पुगेका १० गैँडा नेपाल ल्याइएको उदाहरण सवैमा जगजाहेर नै छ ।

पानीका श्रोतहरू पुनः स्थापना

विदेशतिर घाँस काटेर फाँटा बनाउन भन्दा पनि सुख्खा क्षेत्रमा पानीका श्रोतहरू व्युँझाउनतिर ध्यान दिइन्छ। त्यसैले घाँस काटेर मैदान बनाउन गरिने लगानी भन्दा पनि सिमसार क्षेत्र ब्युँझाउनमा गरिने लगानीमा जोड दिनु श्रेयस्कर हुन्छ । गैँडा जलमा रमाउने, चिस्यान जमिनमा चर्ने प्राणी हो ।सुख्खा क्षेत्रमा ताल, तलैया, घोलजस्ता पानीका श्रोतहरू सृजना गर्नाले त्यस क्षेत्र वरपर समेत जलसञ्चय भई जमिनमा चिस्यानको मात्रा बढ्नाले वन्यजन्तुले मन पराउने पोषणयुक्त घाँसको वृद्धि विकास हुन्छ । त्यसैले पानीका श्रोत नजिकका होचो घाँसे क्षेत्र,दुबोको चउर, काँसको झाम्टा र अग्लो नरकट, ढड्डी घाँसदेखि झाडी, वुट्यान भएको चिस्यान क्षेत्रमा उम्रने बढेर घाँसलाई समेत भोजनको रूपमा गैँडाले औधी मन पराएको देखिन्छ । अधिकांश गैँडाका माउ–बच्चाहरूसमेत चिस्यान क्षेत्रको सेरोफेरोमा रमाउने गरेको देखिएको छ।

गैँडालाई चाहिने भोजनको आँखाबाट हेर्दा घाँसे मैदान निर्माण गरिरहनु जरुरी पर्दैन । आसाममा घाँसे मैदान व्यवस्थापन प्राथमिकतामा पर्दैन तैपनि त्यहाँ अढाई हजार गैंडा छन् ।

घाँसे मैदान जङ्गलमा रूपान्तरण

गैँडालाई चाहिने भोजनको आँखाबाट हेर्दा घाँसे मैदान निर्माण गरिरहनु जरुरी पर्दैन । आसाममा घाँसे मैदान व्यवस्थापन प्राथमिकतामा पर्दैन तैपनि त्यहाँ अढाई हजार गैंडा छन् । चितवनमा घाँसै खान नपाएर र घाँसमा पोषणतत्व कम भएर गैँडालगायत अन्य वन्यजन्तु  दुब्लाएका र मरेका उदाहरण भेटिएका छैनन्। घाँसे मैदानको व्यवस्थापनको नाममा घाँस काट्नु भनेको मान्छेको कपाल खौरनु जस्तै हो, फेरि पलाएर उस्तै भइदिन्छ। 

तर घाँस मात्र काटेर घाँसे फाँटा बनाउनुको सट्टा त्यस्ता क्षेत्रमा देखा पर्ने पोथ्रा–पोथ्री रुखलाई भने जरैदेखि उखालेर हटाउनु उपयुक्त हुन्छ । नत्र वन्यजन्तुको चरन क्षेत्र खुम्चँदै जान्छ । जस्तै:किसानले बालीनाली लगाउन छोडेको बाँझो जग्गामा सर्वप्रथम घाँसका साथसाथै बिस्तारै झाडीवुट्यान पनि पलाउन सुरु गर्दछ ।बाँझो जमिनमा मानवीय खनजोत भएन भने घाँस,रुखविरुवा हुर्किँदै गर्छ र कालान्तरमा घाँस हराउँछ र सो क्षेत्र वन जङ्गलमा परिणत हुन्छ । हो, त्यस्तै हुन्छ निकुञ्जमा पनि ! त्यसैले घाँस काट्नु भन्दा पनि सो क्षेत्रमा रहेका रुखहरूलाई हटाउनु नै वन्यजन्तुका लागि स्वास्थ्यकर चरिचरन क्षेत्र तयार पार्ने आधार हो । 

तर घाँस मात्र काटेर व्यवस्थापन गर्नुपर्ने अवस्थामा भने घाँस खाएर बाँच्ने चित्तललगायतका अन्य वन्यजन्तुहरूको घनत्व/उपस्थितिलाई आँकलन गरेर विभिन्न स्थान जस्तै: पानीका श्रोतहरू, वन जङ्गल,  झाडिवुट्टर्‍यान र घाँसे मैदानसमेतको प्रतिनिधित्व हुने गरी हिउँदको सुरुवात मै (जाडो अगाडि नै) १–५ हेक्टरका टुक्रे घाँसे मैदानका ब्लकहरू चउरको रूपमा विकास गर्दा सबै खाले वन्यजन्तुको लागि फलदायी नै देखिएको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार १०–१२ रुख प्रति हेक्टर भएको क्षेत्र मात्र घाँसे मैदानको परिभाषा भित्र पर्दछ। तर त्यो भन्दा बढी घाँसे मैदानमा देखा पर्ने पोल साइजका रुखहरूलाई मेशिन लगाई जरैदेखि उखेल्ने,उखेली सकेपछि ढलेको रुखका चुँडिएका जराहरूलाई मानिस लगाई निमिट्यान्न पारी उखाल्ने । त्यसो गरिएन भने एउटा रुख उखालेको ठाँउवाट अर्को वर्ष जरैपिच्छे अनेकौँ मुनाहरू पलाउँछन् । 

फाँटामा रैथाने घाँसलाई बढावा

प्राकृतिक सम्पदा व्यवस्थापनमा विदेशमा गरिने असल प्रयासहरूको आफ्नो श्रोत साधनलाई ख्याल गरी स्थानीय भू–गोल र वातावरणअनुसार नक्कल गर्न सकिन्छ । तर भौतिक पूर्वाधारका राम्रा पक्ष जस्तै: पोस्टका भवन, मचान, पुल पुलेसा तथा वाटोघाटोको निर्माणमा भने वातावरणमैत्री स्वरूपको नक्कल गर्न सकिन्छ ।

चितवनका घाँसे मैदानलाई अफ्रिकी मुलुक र नेपालको अन्य क्षेत्रका पार्कहरूको घाँसे मैदानसङ्ग तुलना गर्न उपयुक्त देखिँदैन । यदि त्यस्तो तुलना गर्‍यौँ भने हामीले नजानिँदो ढङ्गबाट अन्य प्रजातिहरू पनि गुमाइ रहेका हुनेछौँ ।चितवनको घाँसे मैदानले विश्वसामु आफ्नै मौलिकता बोकेको छ। त्यसैले यहाँको घाँसे मैदानलाई रैथाने (चितवनीकरण) भएर रहन दिनुहोस् नकी अफ्रिकीकरण ।

चितवनका घाँसे मैदानलाई अफ्रिकी मुलुक र नेपालको अन्य क्षेत्रका पार्कहरूको घाँसे मैदानसङ्ग तुलना गर्न उपयुक्त देखिँदैन । यदि त्यस्तो तुलना गर्‍यौँ भने हामीले नजानिँदो ढङ्गबाट अन्य प्रजातिहरू पनि गुमाइ रहेका हुनेछौँ ।चितवनको घाँसे मैदानले विश्वसामु आफ्नै मौलिकता बोकेको छ। त्यसैले यहाँको घाँसे मैदानलाई रैथाने (चितवनीकरण) भएर रहन दिनुहोस् नकी अफ्रिकीकरण । प्राकृतिक रूपमा जनावरले चरेर नै घाँसलाई बढ्न नदिएर अफ्रिकी पार्कहरूमा घाँसे फाँटहरू आफै व्यवस्थापन भएका हुन्छन । तर चितवन उर्वरभूमी भएकाले घाँसहरू छिटो छिटो बढ्ने र अफ्रिकामा जस्तो जीवजन्तुको घनत्व चितवनमा नभएकाले पनि वन्यजन्तुले चरेर घाँसे मैदानलाई चउर जस्तो बनाउन सकेका छैनन्। जति जनावरले चरेर घाँसलाई ठुटै बनाउँछ, त्यति नै ठुटा पलाई नै रहन्छ र त्यति नै उसले नयाँ पिपिरा मुन्टा खान पाउँछ । निकुञ्जमा यस्तो चरन क्षेत्र बाह्रै महिना हुन आवश्यक छ तर चितवनमा यस्तो वासस्थान ज्यादै कम छ । फरक भू–गोल,भौगोलिक अवस्था, फरक परिस्थिति, फरक प्रजातिका कारण आ–आफ्नै क्षेत्रले आ–आफ्नै महत्त्व, पहिचान र विशेषता बोकेको हुन्छ । चितवनको माटो हावापानी उच्चस्तरको भएकोले सानै क्षेत्र भए पनि वन्यजन्तु र वनस्पतिमा विविधता छ र यसलाई खलबलाउने काम गर्न हुँदैन । विशेष गुणहरूको खानी भएको कारण चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचिमा परेको छ र विश्व समुदाय अगाडि आँखाको नानी भएको छ ।

वासस्थान व्यवस्थापन गर्ने समय

जब जाडो सकिएर गर्मी सुरू हुन थाल्दछ तब चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापनका कामहरू सुरु हुन्छन् । घाँसे मैदान तयार गर्ने नाममा बूढो, सुकेको घाँस काटेर फुटबल ग्राउन्ड जस्तो चउर बनाइँदा केही प्रजातिलाई फाइदा पुग्ने भए पनि कैयौँ प्रजातिलाई घाटा हुन्छ । गर्मी समयमा बूढो घाँसका जराबाट पिपिराहरू आफै पलाउन सुरु गर्छ त्यसैले वन्यजन्तुले यस समयमा मनग्यै घाँसका पिपिरा खान पाउने भएकाले नयाँ पिपराको लागि घाँस काटी वन्यजन्तुलाई उपयुक्त चरन क्षेत्र बनाउन जरूरी पर्दैन । 

गर्मीको सुरुवाती समय भनेको कमिलाले पनि फुल पार्ने समय हो, मयुर लुइँचेलगायतका अन्य चराहरूले घाँसे झाडीमा गुँड लगाउने समय हो, घस्रने जीवको प्रजनन समय हो र मृग प्रजातिले बच्चा जन्माउने समय पनि हो । तर हामी वन्यजन्तुलाई सुत्केरी व्यथा लागेको अवस्थामा वासस्थान व्यवस्थापनको नाममा घाँस काट्छौँ, झाडी फाँड्छौँ । हामीले यस समयमा घाँसे मैदानको व्यवस्थापन गर्दा के कस्तो असर पुर्‍याउँछ होला, आफै कल्पना गरौँ । व्यवस्थापनका कार्यहरू गर्दा यी जन्तुहरूलाई बचाउनुको अलावा विनाश त गरिरहेका छैनौँ ? । कति विनाश भइरहेको होला तर हामीलाई थाहा नहुन पनि सक्छ । दुर्लभ पुड्के खरायो (Hispid Hare) ले पौष–माघ महिनामा घाँसभित्र बच्चा जन्माउँछ । यो वन्यजन्तु ३२ वर्षपछि चितवनमा पुनः फेला परेको जीव हो । यस्ता कैयौँ प्रजाति होलान् तर हामीले थाहा नपाएको हुन सक्छ। त्यसैले पौष महिनाअगाडि नै वासस्थान व्यवस्थापनका कार्यहरू गर्दा समग्र वन्यजन्तुको हित हुने देखिन्छ। फाल्गुण–चैत्रमा रुख बिरुवाले पालुवा फेर्छ । बूढो सुकेको घाँसको फेदबाट पनि नयाँ घाँसका पिपिराहरू पलाउन सुरु हुन्छ र त्यसैमा जनावरहरू चर्न थाल्दछन् । यस समयमा वन्यजन्तुलाई चरनको अभाव पनि हुँदैन र पोषण तत्त्वको कमी पनि हुँदैन । यी विविध कारणले गर्दा गर्मी याममा घाँसे मैदान व्यवस्थापनका कार्यहरू गर्दा भन्दा नगर्दा नै बढी फलदायी हुन्छ। 

तर विड्म्वान नै भन्नुपर्छ ! विद्यमान विभिन्न झन्झटिला सरकारी सार्वजनिक खरिद प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै ढिला हुन गएकोले गर्मी याममा वासस्थान व्यवस्थापनका कार्यहरू गर्नु पर्ने वाध्यात्मक अवस्था निकुञ्जलाई आइपर्छ । संवेदनशील वन्यजन्तु संरक्षण गर्न संवेदनशील ढङ्गले तिनीहरूको वासस्थान व्यवस्थापन गरिनु पर्छ नकी ठेकदारी प्रथाबाट ।

गैँडाले कस्तो वासस्थान मन पराउँछ भन्ने ज्ञान गैँडा गोठालालाई बढी थाहा हुन्छ कि, नीति/कानुन निर्मातालाई ? । गोठालाको विश्वास गर्दैनन् यहाँ कसैले !गोठालाहरूलाई के कसरी गैँडालाई सुरक्षित वासस्थानमा हुर्काउने भन्ने चिन्ता हुन्छ ! के गरोस् बिचरा उसले ? गोठालालाई राज्यले पनि विश्वास गर्दैन, यो विड्म्वना मौलाएको छ ।

टेन्डर प्रक्रियाबाट वासस्थान व्यवस्थापन गर्न ठेकेदारलाई जिम्मा दिँदा ठेकेदारले असार मसान्तसम्म आफ्नो अनुकूल हेरी काम गर्छ। उसको काम भनेको हद म्यादभित्र काम सम्पन्न गर्ने हो । उसलाई न त भू–गोलको बारेमा ज्ञान हुन्छ न त वासस्थान र वन्यजन्तुको जीवन चक्रको ? अनि कसरी सुरक्षित र आवश्यकताअनुसारको वासस्थान बन्छ ? । 

ठेकदारी प्रथाबाट निर्माण भएका ताल घोलको प्राकृतिक स्वरूप हराउँदै गएको छ । त्यसैले वासस्थान व्यवस्थापनको लागि सार्वजनिक खरिद ऐन नियमावली नै संशोधन गर्नुपर्ने तर्फ नीतिनिर्माताहरूको ध्यान जाओस् ! । यस प्रथाले  निकुञ्जका छेउछाउ बस्ने गरिबहरूको रोजीरोटी खोसिएको छ (गरिबहरू मोटाउनु पर्नेमा व्यक्ति मोटाएको छ) ।

ठेकदारी प्रथाबाट निर्माण भएका ताल घोलको प्राकृतिक स्वरूप हराउँदै गएको छ । त्यसैले वासस्थान व्यवस्थापनको लागि सार्वजनिक खरिद ऐन नियमावली नै संशोधन गर्नुपर्ने तर्फ नीतिनिर्माताहरूको ध्यान जाओस् ! । यस प्रथाले  निकुञ्जका छेउछाउ बस्ने गरिबहरूको रोजीरोटी खोसिएको छ (गरिबहरू मोटाउनु पर्नेमा व्यक्ति मोटाएको छ) । जसले  गर्दा यिनीहरूले प्रतिशोध साँधेर बसेका हुन्छन, जब कुनै घटना वन्यजन्तुबाट घट्यो भने तिललाई पहाड बनाई पार्कप्रति आक्रोश पोख्छन् । त्यस समयमा धमिलो पानीमा माछा मार्नेहरू पनि सलबलाउने गर्ने गरेको उदाहरण गोठालाहरूले प्रत्यक्ष बुझेको र भोगेका पनि छन् ।

नदीजन्य पर्दाथहरुको सङ्कलन नियन्त्रण

चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रबाट नदीजन्य निर्माण सामग्रीहरू निकाल्न होडवाजी चलेको पाइन्छ । निकुञ्जभित्र नारायणी नदी मुख्यतया दुई वटा भँगालोमा विभाजित भएर बगेको छ । पहिलो भँगालो मेघौली भएर बग्छ भने दोस्रो लौखानी । विगत वर्षदेखि नै लौखानी खण्डको भँगालोमा नदीमा पानीको बहाव कम हुँदै गएको थियो । कारण वुझ्दै जाँदा सिख्रौली र सेतीदेवी वन क्षेत्रमा गिट्टी–बालुवाको चरम उत्खननले गर्दा नदीको पानी मेघौलीतर्फको भँगालोमा सोहोरिएको रहेछ, जुन निकुञ्जको अधिकार क्षेत्र भन्दा बाहिर पर्छ । यसले मेघौली गाउँलाई पार्न सक्ने बाढी प्रकोपका बारेमा त्यस क्षेत्रका प्रदेश सभासद् समेतको कानमा पुर्‍याइएको थियो । तर विकासका अगाडि संरक्षणका कदमहरू लुला हुने रहेछन् । नभन्दै २०७८ असार १ र २ गते आएको वाढीलेसमेत सो क्षेत्रमा खेतीयोग्य जमिन कटान हुन थालेको छ । सभासद्ले घटनाको बारेमा सरकारको ध्यानाकर्षण समेत गराएका छन् । वाग्मती प्रदेशका मुख्य मन्त्रीले बाढीले कटान गरेको क्षेत्रमा भ्रमण गरी बाढी पीडितहरूलाई आश्वासन दिएको भन्ने पनि अखबारहरूमा समाचार आएको छ । टाउकोमा रोग लागेको छ, खुट्टामा उपचार गरेर कहीँ निको हुन्छ ?

विगतमा नारायणी नदीको लौखानी भँगालो डुङ्गा लिएर तर्नु पर्ने अवस्था थियो भने यसपटकको गैँडा गणनामा प्रस्टै अनुभव गरियो कि भँगालो त सहजै हिँडेर तर्न सकिने पो भएछ । यस भँगालोले निकुञ्जमा अनेकौँ ताल, घोलहरूको सृजना गर्दथ्यो । नदी आसपासको जमिनमा चिस्यान संरक्षणले गर्दा पोषिलो घाँसहरू हरदम उत्पादन हुने गर्दथ्यो र यस भेगमा पाइने गैँडाहरू तन्दुरुस्त र फुर्तिला देखिन्थे । यस भन्दा अगाडि यसरी कहिल्यै यो भँगालो सुकेको थिएन भनेर भन्छन् त्यस क्षेत्रमा बसोबास गरी दैनिकी माछा मारी जीविकोपार्जन गर्ने भोज बहादुर माझी । यो घटनाक्रमले समाजमा पार्ने दूरगामी असर पछि देखाउँदै जाला तर गैँडाको वासस्थानमा भने तुरुन्तै प्रत्यक्ष असर पुर्‍याउँछ । नदी नै सुक्दा नदी छेउछाउका घोलघाल सुक्ने, जमिनमा चिस्यानको अभाव हुने र पोषणयुक्त चरन क्षेत्र नरहने र आहाल बस्ने घोल, ताल आदि स्थानको कमीसमेत हुँदै जाने पक्का छ । फलस्वरूप आगामी दिनहरूमा गैँडाहरू एकै क्षेत्रमा खुम्चिनु पर्ने बाध्यता र परिवर्तित वासस्थानमा एक आपसमा प्रतिस्पर्धा हुने र जुधेर मर्न सक्ने सम्भावना धेरै रहन्छ ।

गैँडाको घरमा फोहर 

नारायणगढ बजार नजिक रहेको नगर वन त्यसको केही तल पर्ने ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वनहरू पनि गैँडाको लागि राम्रो वासस्थान भएको हुँदा त्यहाँ प्रत्येक गणनामा गैँडा रेकर्ड भएका छन् । यस पटकको गणनामा पनि नगरवनमा ३ वटा गैँडा भेटिएका थिए । तर विड्म्वना, त्यस क्षेत्र नगरपालिकाको फोहर थुपार्ने थलो (डम्पिङ्ग साइट)को रूपमा विकास भएको रहेछ । नारायणी किनारमा रहेको उक्त डम्पिङ्ग साइटमा दैनिक १२ टन भन्दा बढी फोहर फाल्ने र अन्ततोगत्वा फोहरहरू नारायणी बढेको वेलामा नदीमै मिसिने अवस्थामा रहेछ । यसै कारणले होला नगर वनबाट फोहर बगेर आउँदा निकुञ्ज क्षेत्रको नारायणी बगरमा समेत सिसा, सिरिन्ज र प्लास्टिकजन्य फोहरहरू यत्रतत्र बग्रेल्ती छरिएर रहेको देखिन्छ । त्यसको अलावा नारायणी किनारमा स्थापित धेरै उद्योगहरूले अप्रशोधित फोहर सोझैँ नदीमा मिसाउने गरेकोले पनि नदीलाई नै प्रदूषित बनाउँदै लगेको छ । 

त्यस्तै निकुञ्जको पूर्वी क्षेत्रबाट बग्ने राप्ती नदीमा पनि हेटौडादेखि बगेर आएका फोहरले पनि नदी किनार क्षेत्रलाई ज्यादै प्रदूषित तुल्याएको छ ।मुहान सफा भए पो तलतिर नदी सफा हुन्छ ! त्यस्तै भएको छ चितवन राष्ट्रिय निकुञ्जलाई । गएको २०७७ चैत्र २६ गते गैँडा गणना गर्ने क्रममा नारायणी किनारमा रहेको ज्ञानेश्वर सामुदायिक वनमा म (पङ्क्तिकार) चढेको मेनुका कली हात्तीलाई माहुतेले आफ्नो सुरमा हिँडाई रहेको अवस्थामा हात्ती एक्कासी थचक्क गरेर रोकियो र पछि बिस्तारै खोच्याउँदै हिँड्न थाल्यो । हिँडाईको गति पहिलाको भन्दा कम थियो । हामी ज्ञानेश्वरको गाउँमा निस्की हात्तीको खुट्टा नियाल्यौँ, पैतालामा फुटेको सिसाको टुक्रा गडेको रहेछ । हात्ती गाउँमा निस्केपछि भिडभाड लाग्ने नै भयो यो दृश्य सबैले देखे र एक जना बूढी आमैले रुँदै आफ्नो घरबाट चिम्टा लिएर आउनु भयो । हात्तीको पैतालामा गडेको सिसा निकाल्यौँ । बेलाबेलामा हात्तीको पैतालामा सिसा गढी नै रहन्छ र निकालिन्छ । बेलैमा थाहा पाएर उपचार गरेमा चाँडो निको हुन्छ नत्रभने चिरफारसमेत गरेर उपचार गर्नुपर्ने हुन सक्ने वन्यजन्तु चिकित्सक डा. कमल प्रसाद गैह्रे  बताउँछन् ।

गैँडाको पैताला पनि हात्तीको जस्तै नरम हुन्छ । कति सिसा विझ्दो होला । एक छिन कल्पना गरौँ  त ! । प्रकृतिलाई किन घायल बनाइ रहेका छौँ ? के यस विषयमा कसैले चासो लिनु पर्दैन? ।सुनिँदै छ, नगर वनलाई अटोल्याण्ड बनाउने कुरा जसमा गाडीहरूको मर्मत सम्भार, प्रदर्शन, विक्री वितरण र प्रवर्धनको रूपमा विकास गर्ने । यदि यो सत्य हो भने गैँडाको वासस्थान गुमाउनु सिवाय अरू केही हुँदैन ।  हे मानव ! प्रकृतिमाथि कति अस्त्र प्रहार गर्छौ ? । प्रकृतिलाई बचाउन तिमीले केही दिनु पर्दैन ? केवल सुरक्षित तवरले रहन दियौ भने तिम्रो भविष्य पनि प्रकृतिले सुरक्षित पारिदिन्छ । प्रकृति अज्ञानी हुन्नन्,प्रकृतिले जोगाउँछिन्, यदि उनी जोगिइन भने।

अन्तमा,

मिचाहा प्रजातिहरूले (जस्तै: माईकेनिया, पार्थेनियम, अजेराटम, बनमारा आदि) ले गैँडाको वासस्थान बिगार्‍यो भनेर विभिन्न पत्रपत्रिका एवं जर्नलहरूमासमेत छापिएका छन् । गैँडालाई चरन क्षेत्रको अभाव भयो, गैँडाले घाँसै खान पाएन भनेर जीव वैज्ञानिकहरू समेतले कुरा गरेको सुन्नमा नआएको होइन । तर गोठाले जीव वैज्ञानिकहरू यो कुरामा विश्वास गर्दैनन् । चितवनमा घाँसका   अभावमा गैँडालगायत कुन जनावर दुब्ला छन् ? घाँसै खान नपाएर कुन जनावरको मृत्यु भएको छ ? उसो भए यसपालिको गणनामा गैँडाको सङ्ख्या घटेर आउनु पर्नेमा किन बढेर आयो ?

मिचाहा प्रजाति समय चिनेरै निकुञ्जमा आएको होला, यसको पनि इकोसिस्टममा आफ्नो भूमिका होला, हैन र ? त्यसलाई हामीले चिन्न नसक्नु हाम्रो कमजोरी होला जस्तो लाग्दछ । जहाँसम्म यस प्रजातिहरुको हकमा निकुञ्जभित्र वासस्थान बनाउने नाममा माटो खुकुलो गर्ने काम गरेनौँ भने अरू सबै कुरा प्रकृति आफैले मिलाउँछिन् । हाल आएर बिस्तारै गैँडाले पनि अलिअलि भए पनि माईकेनिया लहरालाई भोजनको रूपमा ग्रहण गर्ने गरेको पाइन्छ । तर मिचाहा प्रजातिमा पाइने पोषण तत्त्व र यसले गैँडाको स्वास्थ्यमा पार्ने असरको बारेमा भने अध्ययन हुनु जरुरी छ।

माथि उल्लेख गरिएका सबै विषयमा ध्यान दिनसके चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या एक हजार पुग्न समय लाग्ने छैन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक  वनहरू र नजिकका राष्ट्रिय वन क्षेत्रहरू पनि संवृद्ध हुँदै गएकाले गैँडाहरूको वासस्थानको क्षेत्र वृद्धि भएको छ र बढेका गैँडाहरूको सङ्ख्या  धारण गर्ने क्षमताको पक्कै पनि पूर्ति हुनेछ ।

जागिरे जीवनमा १८ वर्ष गैँडासँग लुकामारी खेलेर लेखिएको यो लेख नितान्त अनुभवमा आधारित छ। कतिले भन्लान् यस्तो सुक्ष्मरूपले वासस्थान बनाउन सकिँदैन भनेर ! ए बाबा ! संसारमा असम्भव भन्ने कहीँ छ ? गैंडा  बचाउनलाई मालिक बनेर होइन की नोकर, गोठालो बन्नु पर्दछ । जसो तसो वासस्थान व्यवस्थापन त हामीले गरी रहेकै छौँ । अझ त्यसलाई व्यवहारिक र नीतिगत कुराहरू मिलाएको खण्डमा सबै कुरा मिलेर आउँछ र त्यसमा सुक्ष्म जीवदेखि गैँडा, बाघ, हात्तीजस्ता ठूला खाले जनावरको खाद्यश्रृङखलामा सहज हुन्छ । यी सबैलाई बिचार गरेर गरेको व्यवस्थापन कार्य नै सफल संरक्षणको उदाहरण हो।

(लेखक बेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोहीको अध्ययन र संरक्षणमा चासो राख्छन्।)  

(आज विश्व गैँडा दिवस हो l अङ्ग्रेजी महिनाको २२ सेप्टेम्बरमा दिन विश्व गैँडा दिवस मनाउने गरिन्छ )