
यो फोटोमा भएको वन्यजन्तुलाई हेर्नुहोस् त ! चिन्नु भो ?
झट्ट हेर्दा कुनै सरीसृप जस्तो लाग्ने यो जीव सरीसृप भने होइन। प्राय राति सक्रिय हुने यो लजालु प्राणी एक खपटायुक्त स्तनधारी वन्यजन्तु हो । स्तनधारी अर्थात मान्छेको जस्तै स्तन ग्रन्थी भएको। विश्वविद्यालयको प्रोजेक्टरमा पहिलो पटक पढेको ५ वर्षपछि हालसालै मैले यस जीवसँग पहिलो पटक साक्षात्कार गर्ने मौका पाएँ । त्यो पनि मेरो घर नजिकै।
कोरोनाको कहरले सुनसान गोरखामा डिभिजन वन कार्यालयले आरुघाट बजारबाट उद्दार गरी उक्त जीव ल्याएको थियो। इलाका प्रहरी कार्यालय आरुघाटले बजारको बिचमा अनौठो जीव भेटेपछि वन कार्यालयलाई खबर गरेछ। रेन्जर बद्रीनाथ देवकोटा नेतृत्वको टोली आरुघाट बजार पुगेर उक्त जनावरलाई सुरक्षित स्थानमा छोड्नका लागि एक सामुदायिक वनमा ल्याइएको रहेछ।

खपटायुक्त यो स्तनधारीलाई अंग्रेजीमा Pangolin भनेर चिनिन्छ। Pangolin मालायु भाषाको शब्द Penggulung बाट उदृत गरिएको शब्द हो । मालायु भाषामा Penggulung को अर्थ Rollers हुनेरहेछ। सो जीव आफूलाई खतरा महसुस भएको खण्डमा डल्लो परी भकुण्डोजस्तो गुडल्किने हुनाले यसलाई यो नाम दिइएको हो। उक्त जीवलाई हामी नेपालीमा सालक भनेर चिन्दछौँ। विश्वमा ८ प्रजातिका सालक पाइन्छन्। नेपालमा भने कालो सालक र तामे सालक गरी दुई प्रजातिका सालक भेटिन्छन्।
स्तनधारी प्राणीहरू माझ सालक यसको खपटाको कारणले अलि भिन्न छ। वास्तवमा यी खपटाहरूले सालकलाई अन्य शिकारी वन्यजन्तुहरूबाट सुरक्षित राख्दछ । यद्यपि खपटाहरूको बावजुद उनीहरू मानवबाट भने सुरक्षित छैनन्। सालकमा हुने खपटाकै कारण यिनिहरूको शिकार र तस्करी अन्य वन्यजन्तुको तुलनामा धेरै हुने गरेको छ। परम्परागत रूपमा सालकको खपटा र मासुमा औषधीजन्य गुण भएको मानिन्छ। तर यसको वैज्ञानिक कुनै अधार भने भेटिँदैन। यही अन्धविश्वासका कारण बढ्दो चोरी, शिकारी र तस्करीले हाम्रा वनबाट सालकहरू लोप भएर जाने स्थितिमा छ।

यो उद्धार गरिएको सालक चाहिँ कालो सालक हो। कालो सालकलाई IUCN ले सन २०१४ मा अति संकटापन्न (Critically Endangered) भनेर वर्गीकरण गरेको छ। कुनै वन्यजन्तु अति संकटापन्न भनेर बर्गीकरण गर्नु भनेको सो वन्यजन्तु निकट भविष्यमा लोप भएर जाने प्रवल सम्भावना रहेको र यसो हुन नदिन संरक्षण अपरिहार्य छ भन्न खोजिएको हो।
सालक प्रकृतिबाट लोप भए के होला त ? यो प्रश्न धेरैको मनमा आउने प्रश्न हो। एउटा सालकले प्रति बर्ष करिव ७ करोड किराहरू विशेषगरी कमिला र धमिराहरू खाएर मानवलाई र समग्र प्रकृतिलाई ठूलो योगदान दिएको छ। यदि सालक नहुँदो हो त करोडौं कमिला र धमिराले तपाइँ हाम्रो खेतिबाली , वनजंगल सारा सखाप पारिदिने थियो होला। तपाइँ हामीले बनाएको काठको संरचना सबै ध्वस्त हुन सक्ने थिए। अब आफै विचार गर्नुहोस् बैज्ञानिक आधार नभएको औषधीजन्य गुणको लागि सालकको चोरी, शिकारी र तस्करी गर्ने कि ? पारिस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न यिनको संरक्षण गर्ने ? पक्कै संरक्षण गर्नुपर्छ।

उक्त दिन गोरखामा भेटिएको कालो सालक आरुघाट क्षेत्रको वनमा भन्दा पहिले नै यसको वासस्थान पुष्टि भइसकेको गोरखा नगरपालिका क्षेत्रको सामुदायिक वनमा छाड्न लागिएको खबर पाएँ। वन्यजन्तु अध्ययन अनुसन्धानमा मेरो विशेष रूची भएकोले डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेलले मलाई सालकसँग साक्षात्कार गर्ने मौका प्रदान गर्नुभयो । खबर पाउनासाथ स्वास्थ्य सावधानी अपनाई क्यामरा लिएर सामुदायिक वनतर्फ लागि हालें। उपभोक्ता समूहसँगको छलफलपश्चात सालकलाई चाहिने पानीको श्रोत नजिक भएको र सालको वन भएको स्थान पहिचान गरी उपलब्ध सीमित स्रोतसाधन प्रयोग गरी छाड्ने तयारी गरियो।
सालक अति संवेदनशील हुने भएकोले हामीले यसको स्वास्थ्य अवस्था हेर्न र वनमा सजिलोसँग हिँडडुल गर्न सक्छ वा सक्दैन भनेर केहीबेर वन सडकमा छाडेर निगरानीमा राख्यौं । स्वस्थ रहेको एकीन गरेपश्चात मात्र हामीले साकलाई वनभित्र लगेर साँझ करिब पौने ६ बजे छाड्यौं । सालक दौडेको देखुन्जेल हेरेर बसिराख्यौं ।

कालो सालकसँगै नेपालमा पाइने अर्को प्रजाति तामे सालक भने अन्तर्राष्ट्रिय संरक्षण संघ (IUCN) को संकटापन्न (Endangered) वर्गमा र CITES को अनुसूची १ पर्छ। नेपाल सरकारले समेत दुबै सालकलाई संरक्षित सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा सालकको चोरी, शिकारी तथा अवैध व्यापार गर्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुबै सजायको प्रावधान राखिएको छ। संरक्षणको प्रयास हुँदाहुँदै पनि सालक अझै खतरामै रहेको छ । हामी सबैको सहयोगबाट मात्र सालक संरक्षण सम्भव छ।
(लेखक कृषि तथा वन विज्ञान विश्विद्यालय, वन विज्ञान संकायका विद्यार्थी हुन् र संरक्षण संस्था ग्रिनहुड नेपालमा आवद्ध छन् । उनी वन्यजन्तुको अध्ययन, संरक्षण र फोटोग्राफीमा रूची राख्छन्।)