वायु प्रदूषणकाे सकस


     नेचर न्युज    
     चैत्र २४ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण, माछापुच्छ्रे, धाैलागिरी लगायतका हिमाल मुस्कुराएको देखिने पोखरा एक साता भयाे बिहानै देखि दिनभर धुम्म देखिएको छ । वायु प्रदूषणको कारण आँखा पोल्ने, धुवाको गन्ध सहितको हावा चल्ने समस्या पनि देखिएको छ । 

यता राजधानी सहरमा पनि उस्तै समस्या छ । गत २२ गते शुक्रबार र शनिबार विश्वकै प्रदूषित सहरहरुको शीर्ष स्थानमा राजधानी सहर काठमाडौं देखिएको थियो । यो साता भारतको दिल्ली र पाकिस्तान जस्ता विश्वकै प्रदूषित सहरलाई उछिन्दै काठमाडौं, पोखरा लगायत नेपाली सहर दूषित हावाले भरिएको अधिकारीले बताएका छन् । 

देशकै राजधानी सहर काठमाडौं र पर्यटकीय राजधानी पोखरा कुनै औद्योगिक सहर पनि होइनन् । हिमाल हाँस्ने पोखरा पनि प्रदूषणको चपेटामा परेपछि पोखरेली चिन्तित छन् । यसरी वायु प्रदूषण हुनुको मुख्य कारण भारतका विभिन्न सहर र नेपालकै विभिन्न गाउँ, सहरमा लागेको डढेलो रहेको विज्ञ बताउँछन् । 

डढेलो नियन्त्रणको सकस

यति बेला सुख्खा मौसम हो । हिउँदका महिना चैत, वैशाख र जेठ सुख्खा महिना हुन् । सुख्खा महिनामा नेपालका थुप्रै ठाउँमा असावधानीका कारण र घाँस राम्रो पलाउँछ भनेर पनि खरबारी, वनमा डढेलो लगाउने चलन छ । नेपालमा वन डढेलोको मुख्य कारण मानवीय नै देखिन्छ । 

हिउँदको डढेलोलाई विपद्को रुपमा लिएर सरकारले डढेलो लगाउने प्रचलन हटाउन जनचेतना मूलक कार्यक्रम गर्नु पर्ने देखिन्छ । डिभिजन वन कार्यालयले यस्ता कार्यक्रम केही रुपमा गर्दै आएका पनि छन् । तर यो पर्याप्त भएको छैन् । 

डढेलो लाग्न नदिन जुन किसिमले दण्ड सजाय  र सचेतना  कार्यक्रम फैलाउनु पथ्यो त्यो रुपमा भएकाे पाइएको देखिदैन । विभिन्न प्रजातिका रुख काट्दा सजाय छ तर वन डढेलो लगाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले ध्यान दिएको पाइँदैन । 

चरा र वन्यजन्तुलाई सकस 

यति बेला विभिन्न चराका प्रजातिले गुँड लगाउने समय हो । कति प्रजातिका चरा वनमा गुँड बनाएर ओथारो बसेका छन् । केहीले चल्ला हुकाउँदै छन् । विभिन्न जीवहरूको पनि आआफ्नो अस्थित्व रक्षाकालागि वन क्षेत्रमा विचरण गरिरहेका छन् । तर मानवीय गतिविधिका कारण वनमा आगो लाग्दा हजारौँ रुख, वनस्पति र जीवजन्तुको नाश हुँदै आएको छ । यसरी आगो लगाउनेलाई कारबाही भएको पनि पाइँदैन । 

डढेलोले जान्छ ज्यान 

यसरी लाग्ने वन डढेलोको कारण नागरिकको ज्यान पनि जाने गरेको छ । डढेलाेकाे कारण मानव स्वास्थ्यमा असर परेकाे छ । गत ५ वर्षमा वन डढेलोमा परी सयौँ नागरिकले ज्यान गुमाएका छन् । धेरैको घर गोठ, गाई, भैसी समेत गुमाएका छन् । ५ वर्षयता आगलागीबाट १२ अर्बभन्दा बढीको क्षति पुगेको प्रहरीको तथ्याङ्क छ । ५ वर्षमा आगलागीमा मात्रै ४ सय ७६ जनाको ज्यान गएको छ । 

जोखिम व्यवस्थापनको पूर्व तयारीमा ध्यान दिउँ

आगलागीबाट जोगाउन मात्र होइन उत्पादन बढाउन, कहाँ व्यवस्थित सहर बसाल्ने, कहाँ कृषि क्षेत्र र कहाँ औद्योगिक क्षेत्र बनाउने भन्ने योजना हुनु पर्ने हो । यसो नहुँदा पनि कृर्षि उत्पादन, उद्योग सञ्चालनका विषय व्यावसायिक हुन सकेकाे छंन् । कृषि उत्पादन घट्दा देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने क्रम बढेको छ । डढेलो नियन्त्रण कालागि जोखिम व्यवस्थापनको पूर्वतयारीमा विशेष ध्यान दिनु पर्छ । प्राविधिक सहित अग्नि नियन्त्रणमा पर्याप्त जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सक्नु पर्छ । नागरिक लापरवाह हुने जुन अहिलेको अवस्था छ यसलाई नियन्त्रण गर्नुपर्छ ।