
पोखरा : अमेरिकाको मिनेसाेटा प्रदेश स्थित ह्ुस्टन सहरमा २३ औं संस्करणको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव भएको छ ।
२८ वर्ष अघि पखेटा भाँचिएर प्रकृतिमा फर्कन नसक्ने अवस्थामा रहेको एलिक नाम दिइएको लाटोकोसेराले अण्डा कोरलेको दिनको अवसर पारेर सन् २००३ देखि अमेरिकाको मिनेसोटा स्थित ह्युस्टन सहरमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव आयोजना हुँर्दै आएको आयोजकले बताएका छन् ।
३ हप्ताको बच्चा अवस्थामा एलिक गुडबाट खसेर घाइते भएको अवस्थामा फेला परेको थियो । पखेटामा गहिरो चोट लागेर घाइते भएकी एलिक प्रकृतिमा फर्कन नसकेपछि २८ वर्ष देखि संरक्षण गरेर राखिएको छ ।
महोत्सवमा यसरी नै बिभिन्न समयमा घाइते अवस्थामा फेला परेर उद्धार गरि उपचार गर्दा प्रकृतिमा फर्कन नसकेका ग्रेट हर्न प्रजाति, स्नो आवल, वान आवल प्रजाति लगायतका ७ प्रजातिका लाटोकोसेरो प्रत्यक्ष रुपमा प्रदर्शन गरेर संरक्षण शिक्षा दिने गरिएको इन्टरनेशनल आवल सेन्टरकी निर्देशक कार्ला ब्लुमले जानकारी दिइन् ।
सम्बन्धित सरकारी निकाय सँग अनुमति लिएर यसरी लाटोकोसेरो संरक्षण उत्सवमा शैक्षिक प्रदर्शनी हुँदै आएको आयोजकले बताएका छन् । महोत्सवमा विभिन्न देशका अनुसन्धान कर्मी, वैज्ञानिक, संरक्षण कर्मीहरूले लाटोकोसेरोको महत्वका बारेमा प्रस्तुति दिएका छन् ।
महोत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्यले गरे नेपालमा हुँदै आएको लाटोकोसेरो संरक्षणको चर्चा

अमेरिकामा भएको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा नेपालमा भएको लाटोकोसेरो संरक्षणका प्रयासका बारेमा चर्चा भएको छ ।
नेपालमा विगत १२ वर्ष अघि देखि लाटोकोसेरो संरक्षण उत्सव हुँदै आएको छ । प्रकृतिका साथीहरू नामक संस्थाले प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो संरक्षण महोत्सव गर्दै आएको छ । लाटोकोसेरो संरक्षण लगायत वन्यजन्तु, जैविक विविधता संरक्षणमा तीन दर्शक देखि लाग्दै आएका प्रकृतिका साथीहरू नामक संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक राजु आचार्यले नेपालमा भएका लाटोकोसेरो संरक्षणका प्रयासका बारेमा अमेरिकामा भएको महोत्सवमा चर्चा गरेका हुन् ।
आचार्यले नेपालमा १२ औं संस्करण सम्म भएका लाटोकोसेरो संरक्षण उत्सवको अनुभव, चोरिसीकार, अवैध व्यापार, अन्धविश्वास लगायतका कारण पनि लाटोकोसेरो संरक्षणमा चुनौती रहेको बताएका थिए ।
फागुन २४ देखि २६ गते सम्म अमेरिकामा भएको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा विशेष वक्ताको रुपमा नेपालका संरक्षणकर्मी राजु आचार्यले प्रस्तुति दिएका हुन् । आचार्य सन् २०११ अमेरिकामा भएको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा वल्र्ड आवल हल अफ फेम विशेष पुरस्कार विजेता पनि हुन् ।
आचार्यले सरकारले लागू गरेको दश वर्षे लाटोकोसेरो कार्ययोजना निर्माण र कार्यान्वयनमा प्रभावकारी काम गरेका थिए । आचार्यले लाटोकोसेरोको अवैध सिकार तथा व्यापार र वासस्थान जोगाउन मार्ग निर्देश गरेका छन् । आचार्यले बेलायतको प्रसिद्ध ह्वीटली पुरस्कार पाएका छन् । आचार्यले गत वैशाखमा ५० हजार पाउन्डको ह्वीटली फन्ड फर नेचर पुरस्कारबाट पुरस्कृत भएका थिए ।
पुरस्कार राशिबाट उनले लाटोकोसेरोकालागि १ सय वटा कृत्रिम गुँड निर्माण गरेर कास्की, स्याङ्जा लगायतका जिल्लामा राखेका छन् । यसरी राखिएको कृत्रिम गुँडमा लाटोकोसेरोले गुँड बनाएर बचेरा हुँकाइकसकेका पनि छन् । यसको साथै विद्यालय, समुदाय, सामुदायिक वन उपभोक्ता समिति, सुरक्षाकर्मी लगायतलाई संरक्षण अभियानमा जोड्न विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् । यसको साथे प्रकृतिका साथीहरूले लाटोकोसेरो अवैध सिकार तथा व्यापार र वासस्थान जोगाउन पनि अभियान चलाइरहेको छ ।
अमेरिकामा भएको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा कोलोराडो एभियन रिसर्च एन्ड रिह्याबिलिटेसन इन्स्टिच्युटका संस्थापक र निर्देशक स्कट रसिदले साना पहाडी उल्लुहरूको बारेमा चर्चा गरेका थिए । उनी सन् २०२५ को च्याम्पियन अफ लाटोकोसेरो पुरस्कार विजेता पनि हुन् । अमेरिकामा भएको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा नेपालमा अर्को वर्ष हुने लाटोकोसेरो उत्सवको लागि आर्थिक स्रोत जुटाउनकोलागि संरक्षण सामग्रीहरूको बिक्री समेत गरिएको थियो ।

विश्वमा नेपाल, अमेरिका, भारत र इटाली चार देशमा लाटोकोसेरो संरक्षण महोत्सव हुँदै आएको छ । नेपालमा गत माघ महिनाको २५ र २६ गते धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा १२ औं संस्करणको लाटोकोसेरो संरक्षण उत्सव भएको थियो । नेपालमा लाटोकोसेरो संरक्षण उत्सव सम्पन्न भएपछि आयोजक प्रकृतिका साथीहरू संस्थाका निर्देशक अमेरिकामा भएको लाटोकोसेरो महोत्सवमा सहभागी भएर नेपालमा लाटोकोसेरो संरक्षणकालागि भएका गतिविधि लगायत वन्यजन्तु संरक्षणका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् । अमेरिकामा १९ प्रजातिका लाटोकोसेरो पाइने महोत्सवमा बताइएको छ ।