
केही पुतलीहरु कछुवाको आँखामा पालोपालै बसिरहेका थिए l रसिला आँखाबाट निस्किएको आँसु चुस्दै उडिरहेका थिए l केही बर्षअघि पेरुमा भएको यो घटनालाई ‘फिल टोरेस’ नाम गरेका घुमन्ते तथा किट विज्ञले खिच्न सफल भए l उनको युट्युब च्यानलमा राम्रा प्रतिकृयाहरु छन् l
केहि बर्षअघि पङ्क्तिकार नवलपरासी जिल्लाको अमलटारी घरबास क्षेत्रमा वन्यजन्तु अनुसन्धानको तालिमको सहजीकरणको लागि गएका थिए l सो बेला पसिनाले लतपत उनको हातमा करिब ५ मिनेटसम्म पुतली बस्यो l हिडिरहँदा पनि सो पुतली उडेको थिएन l
कछुवाको आँखा वा मेरो हात होस्, पुतलीहरू खनिज पदार्थ वा खानाको लागि त्यसो गरेका रहेछन l यिनीहरुले झोलिलो पदार्थहरू खाने गर्छन् l
चिसो माटो, गोठको छेउछाउ, गाईवस्तुले गोब्राएको स्थान, पानी भएको ठाउँ, रसिला पहराहरू र बगैचाहरूमा रमाउने पुतलीहरू देखेर नरमाउने को होला र ! वास्तवमा भन्ने हो भने उड्ने पुतलीले सबैको मन उडाउँछ l
राम्रा अनुहार भएका महिलाहरूलाई कस्तो पुतलीजस्तो राम्रो भनेर उपमा दिईने गरिन्छ l हामी साना हुँदा खेरि पुतलीको पखेटामा भएको रङ्गको टीका लगाईयो भने राजा हुन पाइन्छ समेत भनिन्थ्यो l

पुतली के हो ?
यिनीहरू किरा हुन् l ६ वटा खुट्टाहरू हुन्छन् l शरीर तिन भागमा बाँडिएको हुन्छ l यसका दुइवटा एन्टेना हुन्छन् l यिनको आयु असाध्यै कम हुन्छ l केही दिनदेखि केही महिनासम्म मात्र यिनीहरू प्रकृतिमा रहन्छन्l औसतमा एक महिनासम्म जीवित रहन्छन् l कुनै कुनै पुतली १ बर्ष वा सो वरिपरिसम्म बाँचेको अभिलेख छl
राति सक्रिय हुने पुतलीलाई निसाचर पुतली पनि भनिन्छ l संसारभर करिब २० हजार प्रजातिका पुतलीहरू भेटिएका छन् र नेपालमा करिब ६ सय ५५ प्रजातिका पाइएका छन् l
यिनीहरु २० करोड बर्षदेखी अस्तित्वमा रहेको अध्ययनले देखाएको छ l वासस्थान बिनास, वन बिनास, बिषादीको प्रयोग, हुरी बतास, तापक्रम बृद्धि, डढेलो, जन चेतनामा कमी आदि कारणले यिनको अवस्थामा असर पुग्दै आएको छl
यिनीहरू अरुबाट कसरी जोगिन्छन् ?
यिनीहरू उडेर आफ्नो सत्रुबाट जोगिन्छन् l यिनीहरू ढिलोमा ८ र छिटोमा ४८ किलोमिटर प्रतिघण्टा सम्म उड्न सक्छन् l
यिनीहरूले आफूलाई अन्य शिकारीहरूबाट प्रतिरक्षा गर्न सक्दैनन् l कुनै कुनै पुतलीहरू बिषालु हुन्छन् l यिनलाई खाएपछि जसले खान्छन् तिनीहरू बिरामी पर्ने , घुमाउने, वोमिट गर्ने वा खानु हुँदैन भन्ने ज्ञान प्राप्त गर्छन् l त्यसपछि उक्त जीवले कुनै पनि पुतली खाने आँट गर्दैनन् l
यिनीहरूले प्रकृतिमा रहेका फूल, पात, हाँगा वा आफूजस्तै रङ्गहरूमा मिसिएर जोगिन्छन् l
यिनलाई जोगाएर के हुन्छ ?
यिनको उपस्थितिले प्रकृति कत्तिको स्वस्थ छ भनेर जानकारी मिल्छ l
यिनको छोटो आयु र संबेदनशील शरीरको कारणले वरिपरिको वातावरणमा आउने सामान्य परिवर्तनले पनि यिनमा परिवर्तन देखिन्छ, जसले गर्दा पुतलीको अनुसन्धानबाट प्रकृतिका विभिन्न आयामहरूको बारेमा भन्न सक्छौं l
वन, खेतबारी, घर वरिपरि घुमिरहँदा पुतली देखियो भने मनै आनन्द हुन्छ l यसले मानसिक तनाव कम गर्न निकै सहायोग गर्दछ l
चरा , चमेरा, छेपारो तथा वन्य वन्यजन्तु यिनलाई खानाको रूपमा प्रयोग गर्छन l यसले गर्दा प्रकृतिलाई सन्तुलित बनाई राख्छन् l
बिरुवाहरूको परागसेचनमा समेत महत्वपूर्ण भूमिका रहेको छ l
पुतलीमा आधारित पर्यटनसमेत प्रवर्धन गर्न सक्छौं l
विभिन्न किराहरूको फुल, लार्भाको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्छन्ख l
पुतलीसम्बन्धी रमाइला तथ्यहरू तथा विश्वासहरू
- उत्तरी अमेरिकामा पाइने मोनार्क पुतली ४ हजार किलोमीटरसम्म बसाईसराई गर्दछन् l
- Giant Swallowtail पुतली ठूलो मध्ये पर्दछ l यिनीहरूले पखेटा फिजाउँदा १७ सेमी सम्म हुन्छन् l तर कुनै-कुनै पुतलीको पखेटा फिजाउँदा १ फिटसम्म हुने गर्छ l
- पोथी पुतलीले लार्भालाई प्रशस्त खान मिल्ने पातहरूको छनोट गरेर पारेको फुललाई लेसिलो पदार्थको माध्यमबाट टाँस्ने गर्दछ l यसपछि यिनीहरूले छोडिदिन्छन् l
- पुतलीको खुट्टामा स्वाद थाहा पाउने सेन्सर हुन्छन् l यसैले खाना पत्ता लगाएर खान हुने कि नहुने पत्ता लगाउँछन् l
- निसाचार पुतलीहरू चन्द्रमाको प्रकासको आधारमा एक ठाउँबाट अर्को ठाउँमा उड्न सक्छन । यही कारणले मानव सृजित प्रकाशले यिनलाई निकै असर गर्छ l
- पुतलीहरूले झोलमात्र खानाको रूपमा प्रयोग गर्छन् l
- किटबिज्ञहरूका अनुसार पुतलीहरूले दु:खको अनुभव गर्न सक्दैनन् l कसैले समाएको, छोएको थाहा त हुन्छ तर तिनको स्नायु प्रणालीमा (nervous system) दु:ख थाहा पाउने अङ्ग (receptors) नहुने भएकोले यसो भएको हो l
- तान्जेनियामा ७ प्रजातिका पुतलीहरूको प्रयोग गरेर सुत्केरी हुने समयमा महिलाहरूलाई दुखाई कम गर्न प्रयोग गरिन्थ्यो l
- ग्रिस परम्परामा मानिसको आत्मा र पुतलीको बिसेष सम्बन्ध हुने बताईन्छ l हाम्रा पुर्खाहरूको आत्मा पुतलीमा हुन्छ भनेर बिश्वास गरिन्छl
- युगान्डामा यसको पखेटामा भएको रंग /पाउडर छोइयो भने मानिसलाई कोढ हुने र बहुला समेत बनाउन सक्छ भन्ने बिश्वाश गरिन्छ l
- नाइजेरियामा दिउँसो घरमा पुतली छिरे राम्रो मानिन्छ भने राति छिरे नराम्रो मानिन्छ l
अन्तमा
कतिपय बैज्ञानिकहरू डाईनासोरसँगै पृथ्वीमा रहेका पुतलीहरू, डाईनासोर लोप हुँदा पनि बाँच्न सफल भएको बताउँछन् l पुतलीलाई कमजोर प्रकृतिका जीव मानिन्छ, त्यसैले यिनको जिवास्मा भेटिनु दुर्लभ घटना हुने गर्दछ l यिनको अनुवांशिक अध्ययनले यिनको विकासक्रमलाई खोतल्ने प्रयास गरिएको छ l यिनको थप अध्ययनले वासस्थान बिनास, जलवायु परिवर्तन जस्ता आधुनिक चुनौतिको बारेमा थप जानकारी प्राप्त हुन सक्छ l त्यसैले सानो भनेर हेलाँ नगरौं l यिनीहरू हेर्दा राम्रो मात्रै होइनन्, मानवको लागि सहयोगीसमेत छन्l




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…