पोखरामा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ”


     नेचर न्युज    
     मंसिर २३ गते २०८२ मा प्रकाशित


पोखरामा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” भएको छ । रेडियो अन्नपूर्ण ९३‍‍.४ मेगाहर्ज पोखराको रजत वर्षको अवसरमा आयोजित रेडियोले झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ सँग मिलेर संयुक्त रुपमा आयोजना गरेको हो ।

रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत मंसिर महिनाको कार्यक्रम अन्तरगत नेपाली साँगीतिक क्षेत्रका दुईजना स्रष्टा नारायण गोपालको मंसिर १९ र झलकमान गन्धर्वको मंसिर ६ गते परेको स्मृति दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए ।

झलकमान गन्धर्व सारङ्गी पाठशालाले सारङ्गी संरक्षणमा गरिरहेको योगदानलाई ध्यान दिदैँ कार्यक्रममा जोडिएको बताए । पाठशालाका प्रतिभालाई यस्ता कार्यक्रमको अवसर आवश्यकता परेको महसुस आफूहरूले गरेको उनले उल्लेख गरे । पोखराको महेन्द्रपुलमा रहेको फल्चामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । सारङ्गी पाठशालाका प्रतिभालाई बाहिर ल्याउने र थप अवसर सिर्जना गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको बताए ।

गीतकार समेत रहेका विशिष्ट अतिथि तीर्थ श्रेष्ठले झलकमान गन्धर्व र नारायण गोपालको बारेमा चर्चा गरेका थिए । उनले दुवै स्रष्टाले साँगीतिक क्षेत्रमा गरेको योगदानबारे फेहरिस्त सुनाएका थिए । कन्दरा व्याण्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठले सन्देशमूलक कार्यक्रम आयोजना भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा प्रशिक्षण गर्ने अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले प्रस्तुती राखेको पाठशालाका प्रशिक्षक समिर गायकले जानकारी दिए ।

कार्यक्रममा उनीहरूले स्वर सम्राट नारायण गोपाल र झलकमान गन्धर्वका गीत एक पछि अर्को गरेर सुनाउँदा उपस्थित दर्शकले साथ दिएका थिए । कार्यक्रममा आमाले सोध्लिन् नी खोइ छोरा भन्लिन्… गीतबाट प्रस्तुतीबाट सुरु गरे । एक पछि अर्को गीत सुनाउदै दर्शकको ध्यान खिच्न उनीहरु सफल भए । अन्तिममा बोनस गीतको रुपमा पोखरेली अर्का स्रष्टा बुद्धि परियारको रेशम फिरिरि… गीत सुनाएर प्रस्तुतीको बिट मारेका थिए ।

रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आइरहेको थियो। रजत वर्षको अवसरमा यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, सम्झनामा आदीकवि विशेष कविता वाचन, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका काम गरिसकेको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो ।