
यसरी अत्यायो जुकाले हामीलाई
‘हामी त यसलाई डाक्टर पो मान्छौं, जसरी डाक्टरले रोगीको जिउ हेरेर रोग पत्ता लगाउँछन् । जुकाले पनि हाम्रो शरीरमाथि हिँडेर रोग पत्ता लगाउँछ अनि जहाँनेर रोग हुन्छ त्यहीँनिर रगत चुस्न थाल्छl यसो नहुँदो हो त हाम्रो शरीरमा जहाँनिर पनि टोक्नुपर्ने हो, किन खोजी खोजिकन निश्चित ठाउँमा मात्र टोक्छ’l यो कुरा मैले आजभन्दा झन्डै ४० बर्षअघि हेलम्बु, तार्केघ्याँङको एउटा स्थानीय बासिन्दाको मुखबाट सुनेको थिएँ l त्यसबेला हेलम्बु जान लागेकोमा मलाई बाटोमा पर्ने ककनी गाउँदेखि तार्केघ्याँङ पुगुन्जेल जुकाले धेरै टोकेको थियो l सडकमा मात्र नभएर माथि रुख र बुट्यानबाट समेत जुकाले हामीमाथि हामफालेर आक्रमण गरेको थियोl
हामीलाई मात्र नभएर स्थानीय बासिन्दा, याक चौँरी, घोडालाई जुकाले टोक्दै गरेको देखेका थियौँ l हाम्रो ४-५ दिनको बसाईमा एउटा नयाँ कुरा के थाहा भयो भने त्यहाँका मानिसहरूले जुकाले टोक्यो भने त्यसै समातेर फाल्दा रहेनछन्, उसले जति रगत पिउँछ पिउन दिदाँ रहेछन l जुकाले शरीरमा भएको खराब रगतलाई चुस्ने अनि छाला वा मांसपेशीमा लागेको रोग वा दुखाई निको हुने बिश्वास गर्दा रहेछन l
यस्तै २०३७ साल असार महिनाको अन्ततिर दुईजना विदेशीहरुसँग अध्ययन/अनुसन्धानको सिलसिलामा ढोरपाटनमा गएको बेला जुकाको कारण चारदिनको कार्यक्रम छोट्याएर फर्कनु परेको थियो l बस्तीबाट दुईदिन हिडेर पुग्नु पर्ने ठाउँको बाटोमा यतिका जुका थिए कि खुट्टाको जुत्ताले कुल्चियर हिँड्नु पर्थ्यो l अनि त्यहाँ पनि रुख र बुट्यानबाट पनि हामीमाथि हाम फालिरहेका थिए l एक घन्टाको उकालो घना जङ्गलको बाटो हिँडेपछि झन् झन् जुकाहरु बढ्दै गएको देखेर हामी फर्किएका थियौँ l
मैले आफ्नो अध्ययन/अनुसन्धानको दौरानमा सबैभन्दा बढी जुका भएको ठाउँहरूमा कास्की जिल्लाको नौडाँडा क्षेत्र, म्याग्दी जिल्लाको ढोरपाटन क्षेत्र र हेलम्बुको ककनी गाउँ क्षेत्र हुन् l कास्कीको नौडाँडामा २०४८ को वर्षायाममा गएको थिएँ, एउटा भालेमुग्रो बाटो काटेर तलतिर लाग्यो l नयाँ प्रजातिजस्तो लागेर हतार गर्दै उसको पछि हाम फालेर गएँl जंगलमा ४ सय मिटर जति उसलाई खोज्दै तल गएपछि बल्ल उस्तै प्रजातिको अर्को फेला परेपछि नयाँ भन्ने लागेन l वनबाट मूलबाटोमा फर्किएँ l मूलबाटोमा पुगेपछि साथीहरूको मद्दतबाट मेरो पूरा शरीरबाट १ सय ५० भन्दा साना ठूला जुकाहरू फाल्नु परेको थियो l तिनीहरूमध्ये कतिपयले टोक्न पनि भ्याएका थिए l
अक्सर ठूलो जुकाको टोकाई थाहा हुँदैन । सानोले टोक्दा त सुरुमै दुखाउँछन् l केटाकेटी छँदादेखि अहिलेसम्म मेरो जुकासँगको सङ्गत टुङ्गिएको छैन l केटाकेटी हुँदा घरबाट स्कुल जादाँ जुका लाग्ने छोटो बाटोको सट्टा लामो बाटो हिँड्नु पर्थ्यो l
बैशाख महिनामा संखुवासभा जिल्लाको थुदाम गाउँमा जाँदा बाटोमा भैँसीको आहाल नजिकै पाल लगाएर सुतेको थिएँ, राति २ बजेतिर गर्दन अलिकति दुखेको र चिलाएको जस्तो लाग्यो l यसो हातले छामेको गोलो नरम वस्तुजस्तो लाग्यो l एक दुईपटक हातले जोरसँग चलाउँदा रबरजस्तो यताउति हुन्छ तर खस्दैन l टर्च बालेर सँगै अर्को पालमा सुत्ने साथीलाई जगाएर हेर्न लगाएँ, त्यहाँनिर त मेरो रगत चुसेर बेलुनजस्तो भएको जुका भेटियो l मुस्किल साथ साथीले त्यसलाई हटाउनु परेको थियो l
एउटा स्थानीय अर्धवैसे व्यक्तिले भन्यो ‘लौ सर पनि गल्लाको फेला पर्नु भएछ’l मेरो अनुहारमा आएको आश्चर्यभावलाई देखेर उनले फेरि थपे ‘हामी यतातिर जुकालाई गल्ला भन्छौँ l जसरी गल्ला हाम्रो गाउँघरतिर आएर इण्डियन र ब्रिटिश आर्मीमा जागिर खान खोज्ने तन्नेरीको जिउ नाप्छ, त्यसरी नै जुकाले पनि हाम्रो खुट्टा देखिन् टाउकोसम्म नाप्छ नि’l
मानिसहरु के भन्छन् जुकालाई
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने टाढापानीको एउटा होटेलमा बेलुकी भान्सामा बसेर खुट्टामा जुकाले टोकेर रगत आइरहेको ठाउँमा औषधि लगाउँदै थिएँ l एउटा स्थानीय अर्धवैसे व्यक्तिले भन्यो ‘लौ सर पनि गल्लाको फेला पर्नु भएछ’l मेरो अनुहारमा आएको आश्चर्यभावलाई देखेर उनले फेरि थपे ‘हामी यतातिर जुकालाई गल्ला भन्छौँ l जसरी गल्ला हाम्रो गाउँघरतिर आएर इण्डियन र ब्रिटिश आर्मीमा जागिर खान खोज्ने तन्नेरीको जिउ नाप्छ, त्यसरी नै जुकाले पनि हाम्रो खुट्टा देखिन् टाउकोसम्म नाप्छ नि’l
नेपालको उच्च हिमाली भेगबाहेक जुकाहरू सर्वत्र पाइने भएता पनि तराई भन्दा ओषिलो पहाडी भेगतिर बढी पाइन्छन् l अध्ययन/अनुसन्धानको कमीले गर्दा हामीकहाँ कति प्रजातिका जुका पाइन्छन् भन्ने कुरो थाहा छैन l मानिसमा लाग्ने जुकाहरू पशुमा पनि लाग्छन् तर पशु चौपायाहरूको नाकभित्र बस्ने जुका भने ठूला हुन्छन र तिनले मानिसलाई कमै टोक्छन् l जुकाहरू जमिन र पानी दुबैमा बस्छन् तर पानीभन्दा जमिनमा बढी भेटिन्छन् l
गाईवस्तुको नाकभित्र जुका पस्यो भने त्यो सितिमिति बाहिर निस्किँदैन, रगत खाँदै गर्छ मोटाउँदै जान्छ l पहाडमा मेरो घरतिर (डडेल्धुरा जिल्ला) यदि कुनै गाई गोरुको नाकभित्र जुका छन् भने त्यसलाई बाँधेर घाम भएको ठाउँमा लगेर १-२ घन्टाको लागि राखिन्छl त्यसपछि उसको अगाडि कुनै भाँडोमा पानी राखेर खान दिइन्छ l उसले पानी खाँदा उसको नाकभित्र भएको जुका अफ्नो टाउको बाहिर निकालेर पानी खान खोज्छन र यही मौकामा चिम्टाको सहायताले वा हातमा पातलो कपडा बेरेर जुकालाई समातेर बाहिर निकाल्ने काम गरिन्छ l
यसरी निकालेको जुकालाई त्यत्तिकै फालिँदैन बल्कि एउटा मसिनो डोरीले बाँधेर झुन्ड्याईन्छ l र केही समयपछि घामले सुकेर मर्छl तर हाम्रो देशमै केही बिशेष ठाउँका मानिसहरू गाईवस्तु, याक-चौँरीको नाकबाट निकालेको वा ढाडिएर आफै खसेको जुकालाई फ्राई गरेर वा आगोमा पोलेर खान्छन् भन्ने सुनेको छु l
सुदूरपश्चिममा के पनि विश्वास गरिन्छ भने गाईवस्तुको नाकभित्र बसेर मोटाएको जुकालाई बाहिर निकालेर घाममा सुकाएर ढुङ्गामा पिसेर सानो सानो टुक्रा बनाएर पानीमा फाल्यो भने प्रत्येक टुक्राबाट एउटा जुका जन्मिन्छ l
यो कुरा पूरा गलत पनि छैन किनभने एउटा जुकाको शरीरमा दुवै भाले र पोथी प्रजनन अङ्गहरु हुन्छन l पोथी प्रजनन अंगले थुप्रो अण्डाहरु पैदा गरेको हुन्छ र भाले प्रजनन अंगले शरीर भित्र नै तिनलाई गर्भाधान गराएको हुन्छ l यसरी भ्रुणसहित विकसित भइरहेका अण्डाहरूलाई घामले त्यतिको असर गर्न सक्दैन l जुका सुकेर मरेको अवस्थामा पनि ती अण्डाभित्रको भ्रुणहरु जीवितै हुन्छन् र पानीको सम्पर्कमा आएपछि पूर्ण विकसित भएर जुकामा परिणत हुन्छ l
के जुकाले मानिसलाई रोग सार्न सक्छन् ?
आफू बिधार्थी छँदा मैले के पढेको थिएँ भने एसिया महादीपमा पाइने जुकाको टोकाइबाट कुनै पनि रोग सर्दैन तर यिनको टोकाइबाट बनेको घाउ बल्झिएर खतरनाक अवस्थामा भने पुग्न सक्छl तर हालका दिनहरूमा जुकासम्बन्धी अध्ययन अनुसन्धानले के देखाएको छ भने तिनको पेटमा ब्याक्टेरिया र भाइरसको बास हुन्छ l
यिनले मानिसको रगत चुसेर लिँदा त्यी सुक्ष्म जीवाणु मानिसको शरीरभित्र प्रवेश गरेर रोग पैदा गर्न सक्छ l अतः एउटा दुईवटा जुकाले टोक्दा यिनको पेटमा पाइने जिवाणुले खासै रोग पैदा नगर्न सक्छ l तर बढी जुकाहरूले टोकेको खण्डमा बढी ब्याक्टेरिया र भाइरस मानव शरीरभित्र प्रवेश गर्ने हुँदा रोग पैदा हुने सम्भावना बढी हुन्छ l
औषधिको रूपमा टोकाउन प्रयोग गरिने जुकाले पनि रोगहरू सार्न सक्ने सम्भावना हुन्छ भनिएको छ l अफ्रिकामा पाइने जुकहरूमा एचआइभी र हेपाटाईटिसको किटाणु भेटिएका छन् l अफ्रिकामा पाइने जुकाले पनि एउटा मानिसलाई टोक्नुअघि कुनै अर्को मानिस वा जनावरलाई टोकेको हुन् सक्छ l तिनको शरीरमा भएको ब्याक्टेरिया, भाइरस र अन्य परजिवीहरू सर्न सक्छन् ।
नेपालको पहाडी क्षेत्रमा विशेष गरिकन कृषिसम्बन्धी काम गर्नेहरूलाई वर्षा याममा जुकाले टोक्नु भनेको सामान्य कुरा हो । मैले आफू केटाकेटी छँदा सुनेको बाहेक हालसम्म नेपालमा जुकाले टोकेर कसैको मृत्यु भएको सुनेको छैन । मैले केटाकेटी छँदा सुनेको थिए कि मेरो गाउँ भन्दा अलि टाढाकै गाउँमा एकजना वृद्धाको जुकाको टोकाइबाट मृत्यु भएको हो ।
उनलाई खुट्टामा ३/४ वटा जुकाले टोकेको रहेछ । त्यही घाउ पाकेर विभिन्न थप शारीरिक जटिलताहरू पैदा भएर तिनको मृत्यु भएको थियो । तर तत्पश्चात गाउँलेहरूले उखान टुक्का नै बनाएको थियो, ती भन्ने गर्थे ‘काल आए जुकोले टोक्दा पनि मानिस मर्दो’ ! त्यसवेला जुकोको टोकाइभन्दा पनि काललाई बढी जिम्मेवार बनाइएको थियो ।
इजिप्टमा सन् १७९९ मा नेपोलियनको सैनिकहरूले धेरै जुकाहरू भएको कुवाको पानी खाँदा जुकाहरू मुखभित्र गएर घाटीमा टाँस्सिएर रगत चुस्दा ती जुकाहरू मोटो भएर श्वास नली नै बन्द भएर केही सिपाहीहरूको मृत्यु भएको कुरो पढ्न पाइन्छ ।
इजिप्टमा सन् १७९९ मा नेपोलियनको सैनिकहरूले धेरै जुकाहरू भएको कुवाको पानी खाँदा जुकाहरू मुखभित्र गएर घाटीमा टाँस्सिएर रगत चुस्दा ती जुकाहरू मोटो भएर श्वास नली नै बन्द भएर केही सिपाहीहरूको मृत्यु भएको कुरो पढ्न पाइन्छ । टर्कीमा एउटा व्यक्तिलाई १ सय ३० वटा जुकाहरूले एकैसाथ टोक्दा उसलाई रक्तअल्पता (अनेमिया ) भएर उसलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्नु परेको थियो ।
जुकाले मानिसलाई कसरी टोक्छ ?
जमिनमा बस्ने जुकाले मानिसका शरीरको गन्ध , ताप, श्वास फेर्दा फालेको कार्बनडाइअक्साइडको माध्यमबाट आफू नजिक कुनै मानिस भएको थाहा पाउँछन् । यसको अलावा जुकाको पाँचजोडी आँखा हुने भएकोले देखेर पनि आफ्नो शिकार पत्ता लगाउने गर्छन्। पानीमा बस्ने जुकाले मानिसको छायाँ पानीमा परेको देखेर पानीमा हलचल भएबाट मानिसको उपस्थिति थाहा पाउँछन् । बुढापाकाहरूले भन्ने गर्छन ‘जुका लाग्ने ठाउँमा बोल्दै हिँड्नु हुँदैन र समूहमा हिँड्दा जो सबैभन्दा अगाडि हुन्छ उसलाई कम टोक्छ र सबैभन्दा पछिकोलाई सबैभन्दा बढी जुकाले टोक्ने गरेको हुन्छ’ ।
सर्वप्रथम जुकाले जहाँनेर टोकेर रगत चुस्नुपर्ने हो सानो टोकेर आफ्नो र्यालमा भएको छाला लठ्याउने रासायनिक पदार्थ भित्र छोडछ, फलस्वरूप त्यहाँनिरको छाला लाटो हुन्छ र हामीले जुकाले झन ठूलो घाउ बनाएर रगत चुसेको थाहा पाउँदैनौँ । स्थानीय छाला लठ्याउने इन्जेक्सन दिएर डाक्टरहरूले सानो तिनो चिरफार गर्छन, यस मानेमा जुकालाई पनि प्राकृतिक डाक्टरभन्दा अनुपयुक्त नहोला ।
रगत चुस्न थालेपछि यसले त्यस स्थानमा ‘हिरुडिन’ भनिने इन्जाइम फाल्छ, जसले रगतलाई जम्न दिँदैन, फलस्वरूप जुकाले टोकेको घाउबाट धेरै लामो समयसम्म, कहिलेकाहीँ त १० घण्टासम्म रक्तश्राव भइरहेकै हुन्छ । एउटा जुकाले सामान्यतया २०–३० मिनटसम्म रगत चुस्छ । अध्ययनले के देखाएको छ भने त्यस अवस्थामा उसको वजन १० गुणा बढीसम्म हुन जान्छ । एकपटक राम्रोसँग रगत चुस्न पायो भने उसलाई वर्ष दिनसम्म वा त्यसभन्दा बढी पनि पुग्छ ।
प्राचिनकालदेखि अहिलेसम्म संसारभरि नै विशेष गरिकन दाँत, छाला, मुटु तथा स्नायु प्रणालीसम्बन्धी मानिसको रोगहरू निको पार्न जुकाको प्रयोग गरिँदै आएको छ । रगत जम्न नदिने भएकोले जुकालाई मुख्यत : रगतको नशाहरूमा रक्तसंचार सुचारू रूपले संचालन गराउनमा गरिन्छ ।
रोगको उपचारमा जुकाको प्रयोग
प्राचिनकालदेखि अहिलेसम्म संसारभरि नै विशेष गरिकन दाँत, छाला, मुटु तथा स्नायु प्रणालीसम्बन्धी मानिसको रोगहरू निको पार्न जुकाको प्रयोग गरिँदै आएको छ । रगत जम्न नदिने भएकोले जुकालाई मुख्यत : रगतको नशाहरूमा रक्तसंचार सुचारू रूपले संचालन गराउनमा गरिन्छ । विदेशमा यस्तो उपचार पद्धतिलाई “लीच थेरापी” भन्छन् र हिरुडो मेडिसिनालिस नामक एउटा विशेष प्रजातिको जुको यस कामको लागि प्रयोग गरिन्छ ।
यो जुकोलाई “मेडिसिनल लीच” पनि भन्ने गरेको हुन्छ । आज भोलि प्लाष्टिक सर्जरी र अन्य सुक्ष्म किसिमको शल्यक्रियापछि त्यस ठाउँमा जुकाको प्रयोग गरिन्छ । जसले गर्दा रगत जम्दैन, रगतको संचार सुचारू रूपले चल्छ र घाउ छिटो निको हुन्छ ।
जुकाको र्यालबाट निकालिएको औषधि उच्च रक्तचाप, बवासिर, पाइल्स, खुट्टामा बढेको भेरिकोज भेन तथा छालाको विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।
स्वच्छ वातावरणको प्रतीक जुका
जुकाहरू स्वच्छ र राम्रो वातावरणको प्रतीक पनि हुन् । बढी प्रदूषण भएको वातावरणमा यिनीहरू बस्दैनन्। जुकाहरू जंगलमा मात्र पाइने तर सहरतिर विरलै देखिने कारण यही हो ।
तीन वर्षअघिसम्म काठमाडौ बुढानीलकण्ठ क्षेत्रमा भएको मेरो घरको बारीमा जुका लाग्थे तर अहिले ती त्यतिकै हराएको दुई वर्षजति भयो । मैले यसलाई हाम्रो भेगमा प्रदूषण बढेको संकेतका रूपमा लिएको छु।
जुकाको टोकाइबाट कसरी बच्ने ?
विदेशतिर त जुकाको टोकाइबाट बच्न “एण्टीलीच सक्स” अर्थात जुका अमैत्री मोजा, टोबाको सक्स, इन्सेक्टीसाइड सक्स पाइन्छन्। जुकाबाट बच्न यिनको प्रयोग गरिन्छ । हामीकहाँ जुकाबाट बच्न निम्नलिखित कुरा गर्न सकिन्छ ।
१ : लामखुट्टेहरूले नटोकुन् भनेर प्रयोग गरिने ओडोमस वा यो जस्तै अन्य कीरा प्रतिकारक औषधीको प्रयोग ।
२ : डेटोल वा सेवलोन हातखुट्टाको छालामा लगाउने ।
३ : तितेपातीको पात पिसेर लगाउने, टिमुरको दाना वा पातको लेप लगाउने, गाढा नुनपानी लगाउने, तम्बाकुको झोल वा पाउडर लगाउने¸ सिंगै फिटकिरी पानीमा हातखुट्टा भिजाएर दल्ने वा फिटकिरीको झोल बनाएर लगाउने ।
४ : हात खुट्टा, टाउको छोप्ने लामो र बाक्लो किसिमको लुगा लगाउने ।
५ : जुका भएको स्थानहरूमा हिँड्दा सकभर छिटो हिँड्ने, बोल्दै नबोल्ने वा अति कम बोल्ने ।
जुकाले टोकीहाले के गर्ने ?
जुका शरीरमा टाँस्सिएर रगत चुस्दै छ भने त्यसलाई जबरजस्त हातले या चिम्टाले समातेर, तानेर निकाल्नु हुँदैन । आगोले डाम्नु हुँदैन वा आगोको ज्वाला उसको नजिक ल्याउनु हुँदैन । त्यस्तै हामीकहाँ प्रचलित नुन छर्कने, तम्बाकु लगाउनेजस्तो कार्य गर्नु हुँदैन।
यसो गर्दा उसले निलेको रगत फेरि टोकेकै ठाउँभित्र जाने सम्भावना हुन्छ र त्योसँगै जुकाको पेटमा भएको ब्याक्टेरिया, भाइरस र अन्य परजीवी किटाणु अरु पनि भित्र पर्न सक्छन र तिनले रोग पैदा गर्न सक्छन।
जुकालाई रगत चुसिरहेको ठाउँबाट छुट्याउने सही तरिका यस्तो छ । जुकाको टाउको र मानिसको छाला जहाँनेर जुकाले दाँतहरू गाढेर रगत चुसिरहेको छ को बिचमा औँलाको नङ वा चक्कु/छुरीको धार वा क्रेडिट कार्डजस्तो प्लाष्टिक वा मोटो कागजको टुक्राले एक झट्कामा हिर्काएर जुकाको टाउकोलाई छालाबाट अलग्याउने।
जुकालाई अलग गरिसकेपछि सो ठाउँमा साबुनले धोएर बैक्टेरिया नाशक क्रिम लगाउने । त्यो ठाउँमा रक्तश्राव बन्द गर्न प्रेसर ब्याण्डेज वा गाज राखेर बाँध्नु उचित हुन्छ । पहाडतिर घाउमा खरानी राख्छन् । यसले पनि केही मात्रामा रक्तस्राव रोकेको देखिएको छ । लामो समयसम्म सो ठाउँलाई औँलाले थिचेर राख्दा पनि रक्तस्राव बन्द हुन्छ । यदि मुखभित्र जुका टाँसिएको छ भने गाढा नुनपानीले कुल्ला गर्दा पानीसँगै जुका पनि बाहिर खस्छ।
जुकाले टोक्दा तत्कालै खासै दुख्दैन तर त्यही दिन राति सुतेको बेला वा अर्को दिन त्यो घाउ अत्यन्तै चिलाउँछ । राति सुतेको बेलामा त्यो घाउ अन्धाधुन्ध कन्याइन्छ । फलस्वरूप घाउ झन ठूलो हुन्छ र पाक्ने सम्भावना बढेर जान्छ । यसो नहोस् भन्नका लागि जुकाले टोकेको ताजा घाउमा डाक्टरहरूले ‘टोपिकल स्टेरोइड’ क्रिम लगाउने सल्लाह दिएको पाइन्छ।
तर यसको घरयासी अचूक औषधि पनि छ जुन मैले धेरै पटक आफैमाथि प्रयोग गरेर शतप्रतिशत सफलता पाएको छु । त्यो के हो भने जुकाले टोकेको ठाउँमा अलिकति गिलो चुना लगाइ दिने । यसले केही हदसम्म रक्तस्राव पनि बन्द गर्छ र चिलाउने कार्य त पटक्कै हुँदैन। घाउ छिटो पलाउँछ।
(बरिष्ठ वन्यजन्तु बिज्ञ प्रा. करनबहादुर शाह हिमाली प्रकृति र नेपाल पन्छी संरक्षण संघ संग आबद्ध हुनुहुन्छl उहाँ स्तनधारी,सरीसृप, उभयचरको अनुसन्धान, संरक्षणमा तथा लेखनमा रुची राख्नु हुन्छ)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…