विपद्को सामना एकजुट भएर गरौं


     नेचर न्युज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित


प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको बाढीले पनि यही भन्छ । विनासकारी बाढी शब्दमा व्यक्त गर्न नसकिने छ । बाढीले छिनभरमै मानव बस्ती, जलविधुत गृह, पुल पुलेसा लगायत मानव निमीत विकासका संरचना ध्वस्त पारेको छ । प्राकृतिक विनासले देशलाई यतिबेला अप्ठ्यारो अवस्थामा पारेको छ । धेरैेको ज्यान मात्र गएको छैन् अरवौको भौतिक क्षति पुगेको छ ।

बाढीले स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी भन्सार, त्रिशुली बजार र बेत्रावती जस्ता बस्तीहरु आँखै अगाडि छिनभरमै बगाएको छ । बस्ती संगै सयौं नागरिक बेपत्ता भएका छन् । बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन चार जिल्लामा भएको मानवीय र भौतिक क्षति अहिले तत्काल भन्न सक्ने अवस्थामा छैन । बाढीले बस्ती बग्यो, बस्तीहरुसँगे घर बगे र संगै मानिहरु भोटेकोशीमा विलीन भए । अत्यास लाग्दो बाढीले सिंगो देशलाई रुवाउने अवस्था बन्यो । विभिन्न देशका पर्यटक पनि बाढीमा परेर हराएका छन् ।

तिब्बतर्फको हिमनदीमाथि गएको हिउँसहितको पहिरो भोटेकोशीमा पसेर वितण्डा निम्त्याएको छ । विज्ञहरुले हिमालय क्षेत्रमा आएको यो बाढी जलवायु परिवर्तनको कारण बढेको तापक्रमले नै हिमतालसहितको पहिरोको कारण भएको बताएका छन् । एक वर्ष अघि पनि यसै क्षेत्रमा बाढी आएर चेतावनी दिएको थियो । तर त्यो चेतावनीलाई समयमै बुझन नसक्दा अर्को ठूलो विपत्ती आइलागेको छ । हिमाली क्षेत्रमा विपद्को स्वरुप बढ्दै गएको छ ।

हिमालय क्षेत्रमा हुने यस्ता घटनाको पूर्वजानकारी पाउने पूर्वसूचना प्रणाली हुनु पर्ने यस घट्नाले फेरी औल्याएको छ । गत वर्ष मात्र दुखाएको घाउनिको नै नहुने गरी पुन आइलागेको छ । विनासकारी बाढीको दोष प्रकृतिलाई मात्र थुपारेर उम्कन मिल्दैन । हिमताल फुट्न सक्ने जोखिम भनिएको क्षेत्रमा नियमित अनुमगन, पूर्वसूचना प्रणालीको विस्तार र सीमापारबाट आउने नदीको जोखिमबारे छिमेकी मुलुकसँग सहकार्य गरेर नियमन र अनुगमन हुनु पथ्यो । यो घटनाले यहाँ कम्जोरी भएको देखाउँछ ।

यस घटनाले नदी किनारमा बस्ती बसाल्नुपूर्व जोखिम मूल्यांकन गर्नु पर्नेमा पुन सचेत गराएको छ । जलविद्युत लगायतका पूर्वाधार निर्र्माणमा वातावरणीय पक्षलाई जसरी ध्यान दिनु पथ्यो त्यो नभएको देखिएको छ । विपद्संग जुध्न तयारी पनि अझै कमजोर रहेको यथार्थ पनि पुन : खाएको छ । यो दुःखद क्षणमा अहिलेको मुख्य दायित्व उद्धार र राहतमै केन्द्रित भएर लाग्नु पर्ने छ । बेपत्ता नागरिक, सुरक्षाकर्मी र पर्यटकको खोजी गर्नु छ । घाइतेको उपचार र विस्थापित परिवारको तत्काल व्यवस्थापनमा राज्यका सबै निकाय र नागरिक एकसाथ जुट्नुपर्छ ।

हिन्दुकुश हिमालय पर्वतका ८ हजार मिटर भन्दा उच्च ८ वटा भएको हिमाली देश नेपालको हिमालय संरक्षणको साथै यस्ता घट्ना अव नहुने गरी योजना बनाएर अघि बड्नु पर्ने छ । यो विपदमा राज्यका संयन्त्र मात्र होइन नागरिक संयम भएर राहत, उद्धार र पुनस्थापनामा जुट्नु पर्दछ ।