
वातावरण अध्ययन तथा संरक्षण केन्द्रको अगुवाइमा देशभरका भ्यागुता र तिनको पारिस्थितिक अवस्थाको बारेमा अध्ययन गर्नका लागि क्रोकिगं मनसुन २०२१ अभियान सुरु भएको छ। कम्प्यानियन फर एम्फिबियन एण्ड रेप्टाइल्स अफ नेपाल (क्यारोन), गोल्डेनगेट इन्टरनेसनल कलेज र प्रकृति संरक्षण नेपाल (डब्ल्यु .सी. एन ) को सहयोगमा सञ्चालित यो अभियान नागरिक वैज्ञानिक अवधारणामा आधारित रहेर अगाडि बढाइने छ।
यस अभियानमा स्वयंसेवकहरूले आफूले देखेका भ्यागुता तथा तिनीहरूको वासस्थानका फोटा र अन्य विवरण पठाई सहभागी हुन सक्नेछन्।
नेपालका भ्यागुताहरूको बारेमा पर्याप्त अध्ययन हुन नसकेको अवस्थामा यस अभियानले भ्यागुताहरूको अध्ययन/अनुसन्धानमा सरोकारवालाहरूमा अभिरुचि विस्तार गर्ने तथा भ्यागुताहरूको पारिस्थितिक अवस्थाका बारेमा जानकारी हासिल गर्ने लक्ष्य लिएको छ।
के हो क्रोकिगं मनसुन अभियान ?
हिउँद याममा सुषुप्त (Hibernation) जाने भ्यागुताहरू तापक्रम वृद्धि भएपछि र पानी पर्न थालेपछि बाहिर निस्कन्छन् l तिनको प्रजनन प्रक्रिया मनसुनसँगै अघि बढ्दछ।
प्रजननका लागि पोथीलाई आकर्षित गर्न भाले भ्यागुतोले निकाल्ने आवाजलाई क्रोक भनिने भएकाले यो अभियानलाई क्रोकिगं मनसुन भनिएको हो । तर यसको अर्थ यतिमा मात्रै सीमित नभएको अभियानका संयोजक तथा वातावरणविद् प्रकाशचन्द्र अर्यालको तर्क छ । उहाँका अनुसार भ्यागुताहरूको अध्ययन तथा संरक्षणका लागि सबैलाई आव्हान गर्ने अर्थमा पनि क्रोकिगं मनसुन नामकरण गरिएको छ।
क्यारोनको अगुवाइमा सन् २०१३ मा क्रोकिगं मनसुन अभियान सुरु गरिएको थियो । जसअनुसार उपत्यकाका भ्यागुताहरूको अध्ययन गरिएको थियो । त्यस क्रममा विभिन्न क्याम्पसका विद्यार्थीलाई तालिम पश्चात् तथ्याङ्क सङ्कलनका लागि खटाइएको थियो।
सन् २०१८ मा सोही अनुसन्धानलाई दोहोर्याइएको थियो, जसमा उपत्यकाभित्र दस प्रजातिका भ्यागुताहरू अभिलेख गरिएको थियो । सोही अध्ययनले उपत्यकामा सडकका कारण भ्यागुताहरु प्रभावित भएको देखाएको थियो। सन् २०१९ मा उपत्यकाका पोखरी आश्रित भ्यागुताको अध्ययन गरी स्वंयसेवकहरुलाई परिचालन गरिएको थियो।
सन् २०२० मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण मानिसहरू आ-आफ्नो क्षेत्रमा पुगेको अवसर पारी देशव्यापी रूपमा नागरिक वैज्ञानिक अभियानको रूपमा सञ्चालन गरिएको थियो । सो क्रममा देशका विभिन्न ५२ जिल्लाबाट करिब २ सय जना व्यक्तिले १ हजार ३ सय ६९ भ्यागुताको फोटाहरू प्राप्त भएका थिए।

अभियानको प्रारूप
यो वर्ष पनि अभियानमा सबैको सहभागिताका लागि खुल्ला राखिएको छ । अभियानमा सहभागी हुन आफ्नो वरपर देखिएका भ्यागुता र तिनका वासस्थानका फोटो खिची ‘कोबोकलेक्ट’ एप मार्फत पठाउन सकिने छ । ‘कोबोकलेक्ट’ एप प्ले स्टोरमा उपलब्ध रहेको छ । कोबो कलेक्ट (KoboCollect) एपको प्रयोग बारेको विवरण यो लिंकमा उपलव्ध गराइएको छ ।
नेपालमा मनसुन सामान्यतया जून १० को आसपास सुरु हुन्छ र सेप्टेम्बर अन्तसम्म रहन्छ । भ्यागुताहरू मुख्यतः मनसुनको अवधिमा सक्रिय हुने गर्दछन् । त्यसैले अभियानका धेरै गतिविधिहरू मनसुन लक्षित गरी सञ्चालन गरिनेछ। तर प्रि मनसुनका बेला पनि भ्यागुताहरूका गतिविधि देखिने भएकाले कार्यक्रमको अनौपचारिक थालनी गरिसकिएको अभियानका संयोजक प्रकाशचन्द्र अर्यालले जानकारी दिनुभएको छ । मनसुन सुरु हुने समय आसपास स्वंयसेवकहरुका लागि अभिमुखीकरण तालिमसँगै औपचारिक कार्यक्रमको थालनी गरिने छ।
‘अभियानलाई थप प्रभावकारी गर्न समन्वयात्मक भूमिका खेल्नका लागि प्रत्येक जिल्लामा एक-एक जिल्ला प्रतिनिधि र प्रत्येक प्रदेशमा एक-एक प्रदेश प्रतिनिधि खटाइने छ’l अभियानका स्वयंसेवक समन्वय संयोजक विशाल शर्माले जानकारी दिनुभयो।
शर्माका अनुसार ‘अनौपचारिक रूपमा गरिएको कार्यक्रममा सहभागी भएका व्यक्तिहरूको योगदानका आधारमा जिल्ला र प्रदेश संयोजक छनोट गरिने छ l अभियान भ्यागुता र तिनका वासस्थानका बारेमा जानकारी जम्मा गर्नेमा सीमित हुने छैन।’
अभियानका अर्का सदस्य सन्देश न्यौपानेले भने ‘प्रदेश स्तरमा मूलतः त्यहाँको शैक्षिक प्रतिष्ठानसँगको समन्वयमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम समेत गरिने छ’l
अन्तमा,
भागुताहरू परिस्थिकीय प्रणालीको मुख्य सदस्यहरू हुन्, यिनले किराफट्यांग्राको सङ्ख्या नियन्त्रण गर्छन्, विज्ञानका विभिन्न अनुसन्धानमा यिनको प्रयोग हुन्छ, गाउँघरतिर पाहालाई औषधिको रूपमा प्रयोग गरिन्छ तर पनि यिनको संरक्षणमा चासो कम दिइएको छ l सबै सरोकारवालाहरूको सहयोगमा गरिने यिनको अध्ययनले दीर्घकालीन रूपमा यिनको संरक्षणमा टेवा पुग्दछl
गत वर्षको अनुभव हेर्दा करिब ९० प्रतिशत सहभागी देशका विभिन्न विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू थिए। यस वर्ष पनि सबैभन्दा बढी सहभागिता सोही समूहको हुने अपेक्षा गर्न सकिन्छ । यस अभियानले कोभिडको महामारीको बेला घर बसेका विद्यार्थीलाई आफ्नो घर वरपर वा क्षेत्रको जैविक विविधताका बारे थप बुझ्ने अवसर दिनेछ । भ्यागुताका बारेमा नवीन ज्ञान हासिल गर्ने र सरोकारवाला पक्षलाई सु -सूचित गर्ने लक्ष्य राखेको यस अभियानमा सबैले सहयोग गर्नु वाञ्छनीय छ।
(चन्द्रमणि अर्याल पद्मकन्या क्याम्पसमा वातावरण विज्ञानका उप प्राध्यापकका रूपमा कार्यरत छन् र २०१८ देखि क्रोकिगं मनसुनमा आबद्ध छन् ।)