मेरो परिवारलाई खुसि दिने त्यो ‘पात सिउने फिस्टो’!


     जय भण्डारी    
     असाेज १ गते २०७८ मा प्रकाशित


ठूला पात खोज्दै फिस्टो, उड्छ फुत्त फुत्त
कला निकै भएको त्यो, गुँड सिउँछ पातभित्र
राखिदिए नाम दमाई चरा, पातसिउने फिस्टोको
कोरली सक्छ दुइहप्तामै , सृष्टि अर्को जीवनचक्रको l

माथि कवितामा उल्लेख गरिएको चरालाई नजिकबाट नियाल्ने मौका मिल्यो l  भदौ महिनाको शुरुवाततिर एउटा पात सिउने फिस्टोको जोडी  गुँड बनाउने सामग्री मुखमा च्यापेर ठूलो हलेदोको दोब्रिएको  पातभित्र फुत्त–फुत्त  पसेको झ्यालबाट देखियो । त्यो बेला पातमा उनीहरूको गुँड बनाउने काम धमाधम चल्दै थियो।

त्यसपछि मुखमा खाना बोकेर त्यो पात सिलाएर बनाएको गुँडभित्र छिर्न थाले । यो कुरा मैले घर परिवारलाई पनि भनेँ  , उनीहरू पनि खुशी भए। हामी उनीहरूको क्रियाकलापप्रति निकै चासो र खुशीपूर्वक झ्यालबाट  नियालेर रमाउन थाल्यौं । केही दिन त्यो क्रम चलिरह्यो ।

तर एक दिन झ्यालबाट नियाल्दा पहिला गुँड भएको पातको  टाँका फुस्केर सिधा माथि सोझिएको देखियो । म छाँगाबाट खसेझैं भएँ । के बज्रपात भयो भनेर। हतार–हतार गरेर म त्यस ठाउँमा गएर हेर्दा गुँडसहित बचेराहरू भूईँमा खसेका थिए ।  ती बचेरालाई के गर्ने होला  ? म अन्योलमा थिएँ l   घरभित्र लाने वा कुनै उपाय लगाएर उनीहरूको झरेको गुँड पुनर्स्थापना गर्नुको बिकल्प थिएन। उनीहरूको खतरामा परेको जीवन बचाउन मैले दोश्रो उपाय रोजेँ।

बचेरासहितको गुँडलाई जतनका साथ हातमा लिएर त्यसलाई पहिल्यैको पातमा अरू सुकेको नरम पातको सहायताले  प्रतिस्थापन (टाँस्ने काम ) गरे । मनमा शान्ती मिलेन, अझै  त्यसलाई हावा हुरीले हल्लाउँदा पनि नखस्ने गरी  मसिनो डोरिले बाँधेँ । माथिबाट पातले छोपेर गुँडमा सामान्य रूपमा पानी नपस्ने पनि बनाई दिएँ। माउहरू मेरो नजिकै आएर कराई रहेका थिए l लौन के–के आपत आईलाग्यो  झैं गरी बिलौना गर्दै गर्दा मेरो  मन पनि अमिलियो, भित्र गाँठो पर्यो ।

केही समयपछि माउहरूले फेरि मैले  राखीदिएको ठाउँमा आएर बचेराको खोजी गरे । बचेरा देखेपछि उनीहरू पनि जाँच पटताल गरेजस्तो लाग्यो, त्यो सबै मैले झ्यालबाट नियाली रहेको थिएँ। म हर्षित  पनि थिएँ मनमा सन्तुष्टि र आनन्द पनि भयो  किनकि बचेराहरू पहिलेकै ठाउँमा हुँदा अकालमा अप्राकृतिक रूपमा मर्नबाट  बचेका थिए । माउहरूले पनि आफ्ना प्राण भन्दा प्यारा सन्तान देखेर खुशी देखिन्थे l भत्केको गुँडमा देख्दा भने अनौठो मानी–मानी स्वीकार्नु बाहेक उनीहरूसँग अरु उपाय पनि त थिएन ।

माउहरू बच्चाको स्याहार सुसारकालागि  सामान्य लयमा फर्किए । त्यसले मेरो मेहनत खेर नगएको र बचेरा र माउको समान्य दिनचर्या फिरेकोमा मेरो सानो  सहयोग प्रति सन्तुष्टि मिलेको थियो ।

घर परिवारबाट पनि झ्यालबाटै नियमित रेखदेख हुनथाल्यो । उनीहरूको चरा र प्रकृतिप्रतिको सकारात्मक सोचको विकास र प्रभावले मलाई अति खुशी र आनन्दित बनायो । तर त्यो खुशी धेरै दिन टिक्न सकेन । मेरी घरकी अर्धांगिनीले ल हेर्नुस त गुँडमा त  चराको बच्चा त छैन त  भनेर झस्याङ्ग पारिन् l   मैले गुँडमा राम्रोसँग हेरेँ र बच्चा देखें l  उनलाई राम्ररी हेर्न भनेँ l

भोलिपल्ट बिहान गुँडमा हेर्दा गुँड रित्तो देखियो । वरिपरि खोजियो फिस्टाका बचेरा  कतै भेटिएनन् । मेरी उनी भक्कानिदै मुसालाई गाली गर्न लागिन् । छोरीले पनि मैले भनेको नमानेर  त त्यस्तो भयो नि भन्न थालिन्। उनको सुझाव बचेरालाई घरभित्र ल्याउनु थियो ।

तर भोलिपल्ट बिहान गुँडमा हेर्दा गुँड रित्तो देखियो । वरिपरि खोजियो फिस्टाका बचेरा  कतै भेटिएनन् । मेरी उनी भक्कानिदै मुसालाई गाली गर्न लागिन् । छोरीले पनि मैले भनेको नमानेर  त त्यस्तो भयो नि भन्न थालिन्। उनको सुझाव बचेरालाई घरभित्र ल्याउनु थियो ।

ती बचेराहरूलाई केटाकेटीहरुले लगे न कुकूर बिरालोले खायो या बाज, लाटोकोसेरो, काग र भद्राई लगायतका कुनै शिकारी जातका पंक्षी वा  कुन चिजले झम्टिएर चुँडी लगे केही पत्तो भएन । यदि त्यसो हुँदो हो त झम्टिँदा गुँड भत्किनु पर्ने वा प्वाँख या भुत्लाहरू झरेको हुनु पर्ने तर त्यस्तो कुरा  केही भएको थिएन।

हुर्किएर एकदुई दिनमा गुँड छोडेर उड्ने बेलामा  यस्तो अप्रिय र असोचनीय घटना ती निसहाय बबुरा फिस्टाहरूको जिन्दगीमा घटित भयो । समय अगावै उडेर अर्को ठाउँमा गएको भए त गज्जब हुन्थ्यो नि l त्यो सम्भावना अलि कम थियो l हाम्रो परिवारलाई यो घटनाले निकै दुखित बनायो l   

यदि कसैले करेसा, खेतबारी वा बगैँचामा भएका बोट बिरुवाका ठूला पातहरू  एकसाथ तानेर प्रत्येक पातको किनारहरूमा प्वाल पारिएका माकुराको जालाले  जेलिएको  देख्नु भयो भने त्यहाँ दमाई चराको या यस्तै प्रजातिका पंक्षीहरूको गुँड हुन सक्छ र त्यहा बचेराहरू पनि हुर्किरहेका पनि हुन सक्छन । त्यस्तो अवस्थामा उनीहरूलाई माया गरी उनीहरूको जीवन सुरक्षित रूपमा फक्रिने अबसर दिऊँ  र उनीहरूको संरक्षणमा आफ्नो तर्फबाट सानो सहयोग गरौं।

यो कस्तो चरा हो ?

पात सिउने फिस्टो,लामो पुच्छर भएको  एक खैरो हरियो रंगको सियो जस्तै चुच्चो भएको चरा हो। यसको गुँड बनाउने कलाको कारणले यसलाई दमाई चरा समेत भनिन्छ l

यो नेपाललगायत एशिया महादेशका विभिन्न उष्ण प्रदेशीय ठाउँहरूमा पाईन्छ । प्राय खेतबारी वरिपरिका वनपाखा तथा ग्रामीण तथा सहरका बगैँचाहरूमा टिक टिक टिक  टिक र चीउप् चीउप् चीउप पी गरी गीत गाउँदै विचरण गर्दछ।

करिब–करिब एक महिनाभित्र गुँड बनाउने , २ देखि ५ वटा फुल पारेर  बच्चा कोरल्ने र किरा फट्याङ्ग्रा खुवाउने,  हुर्काउने जस्ता सबै काम सम्पन्न गर्छ । यो अबधि यिनीहरूको लागि शिकारी चराहरू, न्याउरी मुसा, सर्प र मानिसहरू  आदिबाट अत्यन्तै जोखिमयुक्त चुनौतिहरू आईपर्ने गर्दछ ।

साउन भदौ महिनामा यसले करेसा, खेतबारी वा बगैचामा भएका बोट बिरुवाका ठूला पातहरू  एकसाथ तानेर प्रत्येक पातको किनारहरूमा प्वाल पारी माकुराको जालो, बिरुवाहरूको तन्तु वा रेसाहरूको सहायताले  पाँच छ वटा टाँका बनाई पाताहरू सिलाउँछ । त्यसपछि  बिउबिजनका रेसा, भूवा तथा रेसमहरूबाट न्यानो र आरामदायी गुँड बनाउँछ । सुन्दर तरिकाले पात सिएर गुँड बनाउने भएकोले  गाउँ घरमा यसलाई दमाई चरा भन्दछन भने कसैकसैले पात सउिने फिस्टो पनि भन्ने गर्दछन् ।

करिब–करिब एक महिनाभित्र गुँड बनाउने , २ देखि ५ वटा फुल पारेर  बच्चा कोरल्ने र किरा फट्याङ्ग्रा खुवाउने,  हुर्काउने जस्ता सबै काम सम्पन्न गर्छ । यो अबधि यिनीहरूको लागि शिकारी चराहरू, न्याउरी मुसा, सर्प र मानिसहरू  आदिबाट अत्यन्तै जोखिमयुक्त चुनौतिहरू आईपर्ने गर्दछ ।

(जय भण्डारी  थर्डपोल ट्रेकसँग आबद्ध छन् l नेपाल पन्छी संरक्षण संघमा संरक्षक सदस्य रहेका  उनी साहसिक पर्यटन, प्रकृति र चरामा रुची राख्छन्l)