
‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन ।… सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’। यो नेपालको प्रचलित संविधानको धारा २४ मा उल्लेख गरिएको छुवाछुत तथा भेदभाव विरुद्धको कानुन हो ।
जातीय विभेद, छुवाछुत , लैङ्गिक असमानतालगायत विभिन्न सामाजिक कुरीतिसँग अल्झिएको राज्य यस्ता खाले कुसंस्कारलाई विभिन्न कानुनद्वारा जरैबाट उखेल्ने प्रयास गरे पनि नेपाली समाजको संरचनाभित्र यसले अझ बलियो स्थान बनाउँदै गएको कुरा बारम्बार दोहोरिइरहने विभिन्न घटना/परिघटनाले छर्लङ्ग पार्छ।
अध्यक्ष चल्दा पुर्दा मान्छे, गाउँमा राम्रै खालको शक्ति होल्ड गरेर बसेका । म पनि के कम जातले सानो मानिएको भए पनि रेन्जर पढेर जागिर खाको मान्छे। मलाई घरभित्रको एउटा कोठामा बस्न दिएर उदारता देखाउँदै सामाजिक दायित्व त पूरा गरे ती अध्यक्षले तर उनको मानसिकतामा शल्यक्रियाको जरुरी छ भन्ने कुरा अर्का दलितलाई घरबाहिर राखेर देखाई दिए। त्योभन्दा पनि ठूलो शल्यक्रिया त ती दलितलाई तुरुन्तै चाहिएको कुरा मलाई बाहिर भोजन गराएर देखाई दिए।
केही समयअगाडि रूपा सुनारले डेरा नपाउँदा घटेको घटना र यसबारे सामाजिक सञ्जालमा व्यक्त भएका कृयाप्रतिकृया एउटा उदाहरण हो। छुवाछुत तथा भेदभाव विरुद्ध कानुन नबनेका हैनन् तर पनि समस्या जिउँका तिउँ छन् । यससङ्ग सम्बद्ध जानकार , विश्लेषक , अनुसन्धानकर्ता तथा पीडितहरूको धारणा र अनुभव केलाउँदा मिश्रित प्रतिक्रिया आउने गर्छन् । आवश्यकताअनुसारको ऐन कानुनको अभाव, भइरहेको कानुनको फितलो कार्यान्वयन, समावेशिताको मुद्दा कमजोर तथा मानसिकतामा परिवर्तन आउन नसक्नु जस्ता मुख्य समस्या देखाउनु हुन्छ वहाँहरू । अझ हुँदा–हुँदा अब त हिन्दू धर्मले नै विभेदको सुरुवात र प्रोत्साहन गरेको छ भन्ने पङ्क्तिको उपस्थिति पनि बाक्लै देखिन थालेको छ।
के हिन्दू धर्म विभेदकारी नै हो त ? राज्यका विभिन्न अङ्गहरूमा समावेशीताको प्रावधान र कार्यान्वयनलगायत विभेद विरुद्धको कानुनले किन अपेक्षाअनुसार काम नगरेको होला ? यी दुईवटा संवेदनशील प्रश्नहरूलाई मानिसको मानसिकता परिवर्तनसँग जोडी आफ्ना व्यक्तिगत विचारहरू राख्न खोजेको छु ।

हिन्दू धर्मले के भन्छ ?
हिन्दू धर्मको पवित्र ग्रन्थ श्रीमद भागवत गीतामा धृतराष्ट र अर्जुनलगायतका प्रश्न र भगवान श्रीकृष्णका ७ सय श्लोक तथा उपदेशमा छुवाछुत मात्र होइन कुनै पनि प्रकारको विभेदको कुरा आउँदैन । भगवान् श्रीकृष्ण कसैको पक्षमा हुनुहुन्न । सम्प्रदाय, जातजाति, धर्म, उप-धर्म तथा कुनै प्रकारको टीका, माला आदिको पक्षमा हुनुहुन्न । गीताको पहिलो श्लोकमा दृष्टिविहीन धृतराष्टको प्रश्नमा समावेश दुईवटा शब्द “धर्म क्षेत्र” र “कुरुक्षेत्र” को गहन मनन गर्न सके सम्पूर्ण गीता नै त्यहीँ पाइने धर्मग्रन्थविदहरू बताउँछन् ।
के हो धर्म क्षेत्र र कुरुक्षेत्र ?
धर्म क्षेत्र वा धर्मको क्षेत्र मानिसको शान्त हृदयको केन्द्र हो। जहाँ मौलिक रूपमा धर्म जन्मन्छ । आनन्द, शान्ति, करुणा, प्रेम, सद्भाव जन्मिन्छ यहाँ । मानिसभित्रको अर्को क्षेत्र कुरुक्षेत्र वा कर्मको क्षेत्र हो । जहाँ विचार , इच्छा , आकांक्षा , वासना र भावनाहरू बन्छन् । यहाँ ईर्ष्या र क्रोध जन्मन्छ । धर्म क्षेत्रमा उच, नीच, क्रोध, डाहा, ईर्ष्या केही पनि जन्मँदैन । तपाई हामी धर्म क्षेत्रमा प्रवेश गरेका छौँ भने भगवान श्रीकृष्णले ५ हजार २ सय वर्षअगाडि वृन्दावनमा मात्र बाँसुरी बजाउनु भएको होइन । अहिले पनि तपाईँको धर्म क्षेत्रमा बाँसुरी बजाई राख्नु भएको कुरा प्रस्ट्याउनु हुन्छ धर्मविदहरू । यस्तो अवस्थामा हिन्दू धर्मलाई कसरी गलत भन्न सक्नुहुन्छ ? तर विडम्बना कुरुक्षेत्र बाहेक मनुष्यको ध्यान अन्त कतै नजाने भैसकेको छ । कुरुक्षेत्रले धर्म क्षेत्रलाई लुकाएको छ। धर्म क्षेत्रलाई बढाउँदै लगेमा मात्र धर्म कमाउन सकिन्छ र जीवनको अन्तिम लक्ष मोक्ष प्राप्त हुन्छ । तर तपाईँ हामीले गरेका हरेक विभेदकारी क्रियाकलापले धर्म क्षेत्रलाई अझ साँघुरो बनाउँदै लगेको छ। यो पवित्र ग्रन्थ गीताको मूल भावना विपरीत काम गरेर धर्म कमाउँछु भन्नु जत्तिको मूर्खता केही हुन सक्दैन । कतिपय हिन्दूवादी , पण्डित, पुजारी, आचार्य तथा गुरुहरू धर्म क्षेत्रमा छु भन्ने नौटङ्की देखाएर कर्मक्षेत्र भित्र पर्ने विभेदकारी व्यवहार गरेर धर्मको रक्षा गरिरहेको छु भन्ने भ्रममा पर्नु र हिन्दू धर्मकै कारणले विभेद भएको छ भन्दै चर्को आवाज निकाल्दै वैकल्पिक धर्मको खोजीमा भौँतारिनेहरूको मानसिकतामा ठूलै शल्यक्रियाको खाँचो भएको देखाउँछ ।
हिन्दू धर्मग्रन्थ वेदमा चार वर्णको उल्लेख गरिएको छ। यो चार वर्णको व्यवस्था विशुद्ध समाज सञ्चालनको लागि कामको जिम्मेवारी बाँडफाँड बाहेक अरू केही हैन भन्ने कुरा जो कोही वेद पढ्नेले सहजै बुझ्न सकिन्छ। ब्राह्मणले ज्ञानगुनका कुरा गर्ने, क्षेत्रीले समाजको रक्षा गर्ने, वैश्यले आर्थिक कारोबार गरेर समाजलाई सहयोग गर्ने, शूद्रले विभिन्न सेवाका कार्यहरू गरेर समाजलाई सहयोग गर्ने बाहेक छुवाछुत वा उचो निचोको कुरा वेदमा कतै छैन।
हिन्दू धर्मग्रन्थ वेदमा चार वर्णको उल्लेख गरिएको छ। यो चार वर्णको व्यवस्था विशुद्ध समाज सञ्चालनको लागि कामको जिम्मेवारी बाँडफाँड बाहेक अरू केही हैन भन्ने कुरा जो कोही वेद पढ्नेले सहजै बुझ्न सकिन्छ। ब्राह्मणले ज्ञानगुनका कुरा गर्ने, क्षेत्रीले समाजको रक्षा गर्ने, वैश्यले आर्थिक कारोबार गरेर समाजलाई सहयोग गर्ने, शूद्रले विभिन्न सेवाका कार्यहरू गरेर समाजलाई सहयोग गर्ने बाहेक छुवाछुत वा उचो निचोको कुरा वेदमा कतै छैन।
भगवान् श्रीकृष्णले गीताको अध्याय चार को १३औँ श्लोकमा समेत सृष्टिलाई अगाडि बढाउन सजिलोको
लागि चार वर्णको अवधारणा ल्याएको कुरा उल्लेख छ । आत्मा सबैको एउटै हो । मान्छे मात्र हैन पृथ्वी को सम्पूर्ण जीव आफ्नै नातेदार मानेका छन् भगवान् श्रीकृष्णले । जसमा कुनै भेदभावको कल्पना पनि गरेको छैन । यो सब गलत व्याख्या गरेर शासक वर्गले छुवाछुतजस्तो जघन्य संस्कारसहित विभेदकारी संस्कृतिको विकास गरेको विभिन्न तथ्यले देखाउँछ।
कामको जिम्मेवारीको आधारमा जात बनेका धेरै उदाहरणहरू छन् कतिपय सम्पन्न मुलुकहरूमा । तर त्यहाँ छुवाछुत शून्य छ । कुनै बेला कुनै व्यक्ति तथा वर्गको बिच असन्तोष रिस राग तथा वितृष्णा समाधान गर्न छुवाछुतजन्य आपराधिक र अमानवीय प्रथाको कुनै खास व्यक्तिबाट सुरु भएको देखिन्छ । मनुस्मृति यसैको एउटा उपज हो। मनु भनिने एक व्यक्ति जसले भगवान् श्रीकृष्णको चार वर्णको वैज्ञानिक वर्गीकरणलाई गलत व्याख्या गरेर छुवाछुतको थालनी गरे। त्यसैले होला हिन्दू धर्ममा छुवाछुतलाई मनुस्मृतिसँग जोडिन्छ। यो धर्मग्रन्थ पटक्कै होइन। हिन्दू धर्मको मूल मर्म र सन्देश विपरीत भाइरस रूपी नियम हो।
मधुसूदन राव भल्लभनेनीले २०१५ मा प्रकाशित जातीय विभेदको ऐतिहासिक पृष्ठभूमि र मानिसको मनोविज्ञानसम्बन्धी लेखमा मनुस्मृतिको बारेमा लेखेका छन् । जसमा उनले उल्लेख गरेका छन् कि ( लगभग 200 B.C.-200 A.D.) तिर चार वर्णको वर्गबिच प्रतिस्पर्धा हुन थालेपछि मनु नाम गरेका हिन्दू ऋषिमुनिले शूद्रलाई अति तल्लो वर्गमा राखेर वेद पढ्नबाट वञ्चित गरेको कुरा उल्लेख गरेका छन्। त्यति मात्र होइन शूद्रले सुन्ने गरी समेत ब्रम्हणलाई वेद नपढ्नु भनेका छन् । यसबाट के प्रस्ट बुझिन्छ भने हिन्दू धर्मको ग्रन्थ वेदमा विभेद पटक्कै छैन । यस्तो कुरा शूद्रले थाहा पाए भने झन् भयावह अवस्था हुन सक्छ भनेर पढ्न पाउने अधिकार मात्र होइन सुन्ने अधिकारसमेत खोसिएको हुन सक्छ । यो कुरा बुझ्न एकदम ढिला भैसकेको छ । मनुस्मृति धर्मग्रन्थ होइन । गीता र वेद मुख्य धर्मग्रन्थ हुन् जसमा भगवानको वाणी र उपदेशहरू व्याख्या गरिएका छन्।
जातीय विभेद र छुवाछुतको संस्कृतिले नेपाली समाजमा जरो गाडेको छ । यसलाई हाम्रा पुर्खा वा अग्रजहरूले मलजल गरेर अमानवीय कुसंस्कारलाई झन् बढाई दिए । तपाईँ हामी सबैले यस्तो संस्कृतिको विकास गरी दियौँ कि तपाई हाम्रा पुर्खा, राजा, महाराजा र शासकले १९१० मा छुवाछुत स्थापित गर्न मुलुकी ऐन नै बनाए। हुँदा-हुँदा छुवाछुत पटक्कै नभएका अन्य धार्मिक सम्प्रदायमा पनि कानुन नै बनाएर हाम्रा पुर्खाले छुवाछुत स्थापित गरिदिए।
अहिले छुवाछुत विरुद्धको कानुन आइसकेको भए पनि हिन्दूमा छुवाछुतको समस्या जिउँको तिउँ नै छ तर हिन्दूबाहेकका सम्प्रदायमा पनि विद्यमान हुनु विडम्बना हो । त्यसैले यो धार्मिक समस्या होइन सांस्कृतिक समस्या हो । हिन्दू सम्प्रदायबाट सरेको संस्कृति । किन कि हिन्दू सम्प्रदायभित्रको दलित अन्य सम्प्रदायमा पनि दलित हो अझै पनि ।
विक्रम सम्बत २०२० मा लागु भएको छुवाछुत उन्मूलन मुलुकी ऐन ६ दशक पार गर्न लाग्दा पनि समस्या उस्तै छ। साँच्चै विडम्बना हो यो । डर, त्रास, धम्की, ऐन, कानुन केहीले काम नगर्ने कस्तो संस्कार बसेछ यो। छुवाछुत उन्मूलनलाई समेटेको २०४७ सालको संविधान, छुवाछुतलाई प्रमुख एजेन्डाभित्र राखेर भएको माओवादीको जनआन्दोलन, आन्दोलनबाट आर्जित उपलब्धि सहितको नेपालको अहिलेको संविधानले राज्यका विभिन्न अङ्गमा समावेशीताको अवधारणा लागु गर्ने, छुवाछुतसम्बन्धी केही ऐन कानुन परिमार्जन गर्ने, अन्तरजातीय विवाह गरेका जोडीलाई केही धनराशी दिनेबाहेक सामाजिक विभेद घटाउने दिशामा माखो पनि मारेको छैन । नत्र अन्तरजातीय विवाह गरेका जोडीलाई उनीहरूका घरपरिवारले स्वीकार्न नसकेर कुटपिट गरी ज्यानसमेत लिएका तथा घरपरिवार त्यागेर टाढा लुकेर बस्नु परेका घटनाहरूमा खोइ कमी आएको ? अझ बढेको पो छ समाजमा ।
केही पढेलेखेका र मानसिक रूपमा नै परिवर्तन भई समाजमा स्थापित भएका परिवारले अन्तरजातीय विवाहलाई सहर्ष स्वीकारे पनि त्यस्ता परिवारलाई तिरस्कार गर्ने, सामाजिक भोजभतेर तथा विभिन्न सामाजिक कार्यमा नबोलाउने जस्ता घृणित कामले छँदा खाँदाको परिवारलाई पनि थप बहिष्करणतिर धकेलेका घटनाहरू तपाई हामी सामु कति छन् कति । हामी सबै जिम्मेवार छौँ; यसमा र दायित्व पनि तपाई हामी सबैले लिनु पर्छ।
ऐन, कानुन, नियम, शिक्षा, जनचेतना र शक्तिजस्ता हतियारले सामाजिक विभेद कम गर्न कुनै एउटा विन्दुसम्म महत्त्वपूर्ण योगदान गरे पनि व्यवहार र मानसिकता परिवर्तन गर्न नसकेको देखिन्छ ।

मेरो जीवनको एउटा भोगाई
केही वर्षपहिले जागिरको सिलसिलामा सामुदायिक वनको कार्य योजना निर्माणमा सहयोग गर्न पहाडको एउटा गाउँमा पुगियो । वनको सीमाङ्कनलगायत फिल्डको काम नसक्दासम्म वनको अध्यक्ष (जो गाविसको पनि अध्यक्ष हुनुहुन्थ्यो) को घरमा बस्ने निधो भयो। सुरुमा जातको कारणले इन्कार गर्लान् कि झैँ लागेको थियो तर भान्सा कोठामा प्रवेश नपाए पनि घरभित्रको एउटा कोठामा बस्ने अनुमति पाइयो ।
अति मिलनसार व्यवहार थियो वहाँको मसँग । छुवाछुत विरुद्ध बिस्तारै वहाँको व्यवहारमा परिवर्तन आउन थालेको होला भन्ने अनुमान गर्न गार्हो थिएन । जाडोको बेला घरभित्र बस्न दिएकोमा नै म खुसी थिएँ वहाँसँग। तर खुसीमा ह्रास आउन धेरै समय लगेन । भोलिपल्ट एकजना त्यही गाउँका दलित मसँग केही कुरा गर्न आउनु भएको थियो तर म बसेको कोठामा पस्न पाउनु भएन वहाँले। म आफै बाहिर आएर कुराकानी सक्यौँ। चिनजानको क्रममा वहाँ माध्यमिक विद्यालयको शिक्षक भएको कुरा बताउनु भयो।
वनको सीमाङ्कन गर्दा सहयोग गर्न निकै दिन खट्नु भयो वहाँ । एक दिन अलि अबेरसम्म काम गर्न पर्ने भएकाले नजिकैको एउटा घरमा हामी सबैलाई खाजाको व्यवस्था गर्नु भएको रहेछ गाउँवासीले । त्यस घरका घरधनीले मेरो हातैमा समाएर घरभित्र अगेनाको छेवैमा बस्न आग्रह गरे । सबैजना अगेनाको वरिपरि बसेर गफिँदै खाजा खायौँ । तर ती दलित मित्र-भित्र देखिन मैले । अलिपछि थाहा पाएँ उनीलाई चाहिँ घरबाहिर नै राखेर खाजा दिइएछ। मनमनै सोचेँ म पनि दलित, सायद म वन नाप्ने रेन्जरसाव भएर होला। केही दिनपछि ती दलित मित्रले उनको घरमा खाना खाने आग्रह गर्नु भयो मलाई । सहर्ष स्वीकारेँ। तर त्यो स्वीकार ठूलो पश्चात्तापमा परिणत भयो, किनकि भोजन बाहिर बसेर गर्नु पर्ने भयो,म ती दलितको पनि दलित भएकोले।
यो मेरो भोगाइले विभेदका विभिन्न पक्षको प्रतिनिधित्व गर्छ। अध्यक्ष चल्दा पुर्दा मान्छे, गाउँमा राम्रै खालको शक्ति होल्ड गरेर बसेका। म पनि के कम जातले सानो मानिएको भए पनि रेन्जर पढेर जागिर खाको मान्छे। मलाई घरभित्रको एउटा कोठामा बस्न दिएर उदारता देखाउँदै सामाजिक दायित्व त पूरा गरे ती अध्यक्षले तर उनको मानसिकतामा शल्यक्रियाको जरुरी छ भन्ने कुरा अर्का दलितलाई घरबाहिर राखेर देखाई दिए। त्योभन्दा पनि ठूलो शल्यक्रिया त ती दलितलाई तुरुन्तै चाहिएको कुरा मलाई बाहिर भोजन गराएर देखाई दिए।
हैन उनलाई केही दिन अगाडि गाउँका अलि ठूला जात मानिएका व्यक्तिको घरभित्र म भित्र र उनी चाहिँ घरबाहिर बसेर खाजा खाको हेक्का किन नआएको होला ? माध्यमिक विद्यालयका शिक्षक पढी लेखी जानी बुझेकै मान्छे मान्ने होला वहाँलाई । तर कस्तो मानसिकता । साँच्चै गार्हो छ मानसिकता परिवर्तन गर्न । भन्न सजिलो, गर्न धेरै गाह्रो । शिक्षाले, जनचेतनाले, कानुन तथा शक्ति सन्तुलनले काम गर्न नसक्ने । सबैले आवश्यकता महसुस गरेको विषय हो मानसिकता परिवर्तन । तर कसरी ? यो सजिलै व्याख्या गर्न सक्ने विषय हैन। त्यसैले सबैभन्दा पहिला मानसिकताको विकास कसरी हुन्छ त्यो बुझ्न जरुरी छ। मानसिकता विकासका प्रक्रियामा भएका त्रुटिहरू पत्ता लगाइ सुधार गर्न सके मात्र मानसिक परिवर्तन हुन सक्छ।

कसरी हुन्छ जातीय विभेदको मानसिकता विकास ?
विभिन्न परिस्थितिको अनुभूतिका आधारमा मानिसले धारणा बनाउँछ, जुन दिमागमा गहिरो छाप बनेर बस्दछ। साधारण शब्दमा यो नै मानसिकता हो । मानसिकता विकासको प्रक्रिया सजिलो छैन । यसको विकास मान्छे कस्तो परिस्थिति र वातावरणमा हुर्कन्छसँग मात्र सम्बन्धित छैन। मान्छेको उमेरअनुसार मानसिक गतिविधि र उमेरअनुसार नै उसले पाउने सूचना तथा शिक्षामा भर पर्छ।
पाँच दशक भन्दा लामो समय बच्चाको मानसिक विकासको अध्ययनमा बिताएका मनोवैज्ञानिक जीन पायगेटले “अनुभूति विकासको सिद्धान्त” ( Piaget’s theory of cognitive development) नै प्रतिपादन गरे । उनले सिद्धान्तमा भनेका छन् बच्चाले आफ्नो वरिपरिको वातावरण र क्रियाकलापबाट बुझेको कुरा र तत्काल गरेको अनुभवको बिचमा भिन्नता र सामन्जस्यता केलाउँछ । त्यसमा आफ्नो विचारको समायोजन गर्दै के ठीक के बेठिक छुट्टाई आफ्नो धारणा यकिन गर्छ।
यसका लागि उसले एउटा मानसिक फ्रेमवर्कको विकास गर्दछ जसलाई स्किमाटा (Schemata) भनिन्छ। स्किमाटा यस्तो मानसिक फ्रेम वर्क (Mental framework) हो जसले बिचार, व्यवहार र सूचनाको वर्गीकरण गरी व्याख्या गर्दछ। स्किमाटा फ्रेमवर्कको विकास समयसँग संवेदनशील (Time sensitive) हुन्छ। बालबालिकाको वयस्क अवस्था सुरु हुनु भन्दा अघि नै प्राप्त सूचना, शिक्षा, अनुभव, तथा परिस्थितिको विश्लेषण र निचोडबाट यो पूर्ण रूपमा विकास भइसक्छ । यो पूर्ण रूपमा विकास भइसकेपछि सजिलै परिवर्तन नहुने प्रकृतिको हुन्छ । त्यसैले यस वेला विकास भएको मानसिकता जिन्दगीभर मानसिक छाप बनेर बस्छ। वयस्क वा प्रौढ अवस्थामा आएका नयाँ विचार र ज्ञान यो फ्रेमवर्कभित्र समायोजन गर्न नसक्दा मानिसले आत्मासाथ गर्दैन।
बच्चाले ६ देखि १२ वर्षसम्म ठोस अनुभूतिको विकास गर्छ । देखिएका वस्तु र घटनाबाट बच्चाले जस्ताको तस्तै सिक्छ । र१२ देखि १८ वर्षसम्म जटिल किसिमका सोच तथा तार्किक क्रियाकलापबाट मानसिकताको विकास हुन्छ । त्यसैले यो बेला बच्चाले धेरै प्रश्न सोध्ने र जिज्ञासा राख्ने गर्छन्। १८ वर्षसम्म भएको मानसिकता विकासमा मानिसले जे सिक्छ त्यसैमा आधारित भएर पछिल्ला वर्षहरूमा अन्य आचरणको विकास हुने मनोवैज्ञानिकहरू बताउँछन् । जासोन र उनको समूह थप्छन्, १८ बर्सपछि उमेर बढेसँगै सुधारात्मक बुझाइमा कमी आउँछ ।
बच्चाले ६ देखि १२ वर्षसम्म ठोस अनुभूतिको विकास गर्छ । देखिएका वस्तु र घटनाबाट बच्चाले जस्ताको तस्तै सिक्छ । र१२ देखि १८ वर्षसम्म जटिल किसिमका सोच तथा तार्किक क्रियाकलापबाट मानसिकताको विकास हुन्छ । त्यसैले यो बेला बच्चाले धेरै प्रश्न सोध्ने र जिज्ञासा राख्ने गर्छन्। १८ वर्षसम्म भएको मानसिकता विकासमा मानिसले जे सिक्छ त्यसैमा आधारित भएर पछिल्ला वर्षहरूमा अन्य आचरणको विकास हुने मनोवैज्ञानिकहरू बताउँछन् । जासोन र उनको समूह थप्छन्, १८ बर्सपछि उमेर बढेसँगै सुधारात्मक बुझाइमा कमी आउँछ ।
बाल्यकाल र किशोर अवस्थामा विकास भएको स्किमाटाको संरचनाभित्र सृजित मनोविज्ञानले सुधारात्मक परिवर्तनमा धेरै ठूलो प्रभाव नपार्ने निष्कर्ष छ । हो, तपाईँ हामी जो वयस्क र प्रौढ अवस्थाको उपयोग गरिरहेका छौँ हामी यही स्किमाटाको फेमवर्कभित्र हुर्किएर आएका छौँ। यो सिद्धान्तभित्र छुवाछुत तथा सामाजिक विभेदलाई हेर्दा हामीले हाम्रो १२ देखि १८ वर्षमा हुने मानसिक विकासको सबैभन्दा महत्त्वपूर्ण समायवधिमा छुवाछुत गर्न पर्छ, नत्र पाप लाग्छ, देउता रिसाउँछन्, स्वर्ग जान सकिँदैन, ईश्वरले सराप्छन् जस्ता भ्रमका सुचाङ्कहरूले भरिएको माहौलमा स्किमाटा फेमवर्कको विकास गर्यौँ । यही फेमवर्क बोकेर जति कुरा चटाए पनि मानिसक परिवर्तन हुँदैन।
जबसम मान्छेले कुनै समस्या आफैले भोग्दैन यो मानसिक फेमवर्क परिष्कृत गर्दैन । राम्रो शिक्षाको प्रभाव परेका र परिस्थितिलाई फरक ढङ्गले विश्लेषण गर्ने क्षमता राख्नेहरूले यो मानिसक फेमवर्क परिष्कृत गर्न सक्छन् जसले गर्दा समस्यालाई बुझ्ने सामर्थ्य राख्छन् । अहिले एका-दुई कथित उच्च जातिका मान्छेले छुवाछुत अन्त्यको विषयमा ज्यान फालेर लाग्नु यो मानिसक फेमवर्कमा सुधार गर्न सकेको परिणाम हो।
यसबाट के स्पष्ट छ भने छुवाछुत विरुद्ध मानसिकता परिवर्तन हुने सम्भावना वयस्क तथा हाम्रा अग्रजहरूमा अति कम छ । हाम्रा अग्रज जसले राम्रो शिक्षादीक्षा पाउने अवसर पाउनु भएन वहाँहरूको मानसिकतामा परिवर्तन नआउनुलाई सामान्य रूपमा लिन सकिएला तर कतिपय पढेलेखेका, सामाजिक विभेदमा विभिन्न आयोजना परियोजना चलाएका, अझ विश्वविद्यालयहरूमा अध्ययन अध्यापन गरिरहेका गराइरहेका व्यक्तिहरूमा पनि मानसिकता परिवर्तन भएको नदेखिनु वहाँहरूको बाल्यकाल र किशोर अवस्थामा विकास भएको छुवाछुतसम्बन्धी अवधारणाको धङधङी हो ।
एउटा दलित केटो/केटी राम्रो विश्वविद्यालयमा आफ्नो क्षमताले प्रतिस्पर्धा गरी पढ्दा पनि क्षमता भन्दा जातको कुरा बढी गर्ने, सामाजिक न्यूनीकरणको परियोजनामा काम गर्ने अनि ‘दमाई कामीको पछि लाग्नु पर्ने कस्तो जागिर खाइएछ यार’, ‘दलित जस्तो पनि देखिन्नौ’ जस्ता अभिव्यक्तिहरू मानसिकता विकासको क्रममा बसेको एउटा कहिल्यै निको नहुने रोगको प्रस्फुटन हो। हाम्रा बाआमाले केही कुरामा लिँडेढिपी गर्यो भने ‘नानीदेखिको बानी कहाँ हटेको छ र’ भन्नु हुन्छ । यो भनाइ वैज्ञानिक र सार्थक छ।
राजनीतिज्ञ, प्रशासक, मानवअधिकारवादी, कर्मचारी, विकास प्रेमीलगायत सम्पूर्ण जातजाति र धर्ममा आस्था राख्ने महानुभावहरू तपाई हामी सबैलाई थाहा छ कतिपय रोगहरू यस्ता हुन्छन जानेर नजानेर लाग्छन्। जति औषधी मुलो गरे पनि निको हुँदैनन्। कहिले काहीँ अचानक कसैलाई निको पनि भइहाल्छ। तर निको नहुनेहरूले जिन्दगी भर औषधी मुलो गरिरहनु पर्छ। यसरी दीर्घकालिन रोग लाग्नु तपाईँको मात्र गल्ती होइन, कुनै परिस्थितिका कारण त्यस्तो हुन जान्छ। तर यही रोग तपाईँको बालबच्चालाई सारी दिनु भयो भने त्यो भन्दा ठूलो गल्ती केही हुँदैन तपाईँको। हो सामाजिक विभेद तथा जातीय छुवाछुत त्यस्तै रोग हो। तपाईँलाई लागि सकेको छ जुन रोग लाग्नुमा तपाईँको गल्ती नहोला किन कि त्यस्तै रोग भएको सामाजिक संरचनामा तपाईँको मानसिकताको विकास भयो र हुर्कनु भयो। औषधीमूलो गर्न कोसिस गरिरहनु भएको होला तर निको भएको छैन । निको हुने छाँटकाँट पनि छैन होला। तर यो रोग तपाईँको सन्ततिमा सर्नबाट रोक्न अवश्य सक्नु हुन्छ। त्यसैमा तपाई धर्म पनि कमाउनु हुन्छ र सामाजिक परिवर्तनमा ठूलो योगदान पनि पुर्याउनु हुन्छ। यसका लागि धेरै उपचार हुन सक्छन् तर त्यसमध्ये दुईवटा रणनीतिक उपचार बारे चर्चा गरौँ।
पहिलो, जति पनि जातीय विभेदका घटनाहरू हुन्छन् सबैलाई हिन्दू धर्मसँग जोडेर हेरिन्छ। धर्मका संरक्षकहरूले नै गलत व्याख्या गरेका छन्। त्यसैले हिन्दू धर्मको ग्रन्थ वेद र गीताका मुख्य भाग १२ देखि १८ बर्षभित्रका बच्चाले अध्ययन गर्ने पाठ्यक्रममा अनिवार्य विषयका रूपमा राख्नु पर्छ। जसबाट हिन्दू धर्म विभेदरहित छ। भगवानले सबै मानिसका जाति प्रजातिलाई एउटै मान्छन् भन्ने कुरा बालबालिकाको मानसपटलमा स्किमाटा फ्रेमवर्क बन्ने क्रममा कहिल्यै नमेटिने गरी छाप बनोस्। घरमा आएर आफ्ना बाआमालाई प्रश्न सोधुन्,
बा! हजुर किन मेरो दमाई साथीको घरमा चाहीँ पण्डित्याइँ गर्नु हुन्न ?
आमा! हजुरलाई बाबाको जस्तो पण्डित्याइँ गर्न केले रोक्यो? आदि/इत्यादि।
यसको मतलब यो होइन कि अरू धर्म चाहिँ पढाउनु नपर्ने। कुनै पनि धर्मका आडमा गलत संस्कृतिको विकास भएको छ भने त्यो बच्चाहरूको मानसपटलमा विकास हुनबाट रोक्नु पर्छ।
अझ हाम्रा सम्पूर्ण आदरणीय धर्मगुरु, पण्डित, पुजारी, पुरेत जसले धार्मिक तथा विभिन्न सांस्कृतिक कर्मकाण्डमा जजमानीको काम गर्नु हुन्छ वहाँहरूले धर्मग्रन्थहरूको राम्रोसँग गहन अध्ययन गरी साङ्गठनिक रूपमा नै एक भई दलितकोमा पनि सांस्कृतिक कर्मकाण्ड गर्ने साहसिक आँट गर्नु भयो भने विभेद हट्न धेरै समय कुर्नै पर्दैन ।
दोस्रो, आफूले बनाएका र आफ्ना लागि बनेका ऐन कानुन सबैले जान्नु बुझ्नु पर्छ। तर विडम्बना १९१० को मुलुकी ऐन सबैको पहुँचमा छैन। यो कानुन र यो कानुन बनाउने शासकहरू नै जातीय विभेदका मुख्य कारक हुन्। यस्तो अमानवीय कानुनको संरक्षण र पालन-पोषण गर्न बनेको संस्कृति धर्मको नाममा कुलाङ्गार अलच्छिन हो भन्न तपाईँ हाम्रो अहिलेसम्मको बुद्धिले भेउ पाएन। यस विषयमा केही सीमित विद्यार्थीले मात्र पढ्न पाउने गरी स्नातक र स्नातकोत्तरको पाठ्यक्रममा समावेश गरेको भए पनि बाल्यकाल र किशोरावस्थामा विकास भइसकेको छुवाछुतको स्किमाटा फ्रेमवर्कभित्र बसी परिवर्तन आउला भन्नु डोकोमा पानी थापेर खेतको सिँचाइ गर्छु भने जस्तै हो। एक त डोकोमा पानी अडिँदैन। अलि-अलि कतै कुना काप्चामा केही थोपा अडिएछ भने त्यसले खेतको सिँचाइ गर्न सकिएला त ? त्यसैले आहुतिले आफ्नो किताबमा लेख्ने र विभिन्न सार्वजनिक भेलामा बारम्बार राखे जस्तै यो कानुन पनि वेद र गीतासँगै बालबालिकालाई पढाउनु पर्छ। यसबाट बालबालिकाले गुरुबा र गुरुआमालाई सोधुन् कि हजुरहरूले त यस्तो विभेद गर्न भएको छैन नि! कि छ ? घरमा गएर आमा बुबा वा हजुरबा हजुरआमालाई प्रश्न गरून् कि हाम्रा पुर्खाहरू कति धेरै अमानवीय हुनुहुँदोरहेछ। तपाईँहरू पनि त्यस्तै हो त ?
अन्त्यमा,
जब-जब छुवाछुतका घटना घट्छन् धर्म र आरक्षण जस्ता विषयले तर्क वितर्कका लागि ठाउँ लिई हाल्छन्। सर्वसाधारणले मात्र कहाँ हो र डा. रमेश सुनामले औँल्याए जस्तै आरक्षणबाटै अवसर प्राप्त गरेकाहरूले पनि आरक्षणको चर्को विरोध गरेको देख्दा उदेक लागेर आउँछ। म त अझ के थप्छु भने आरक्षण हामीले मात्र प्रयोगमा ल्याएका छैनौँ । यो अन्तर्राष्ट्रियस्तरमा लागु गरिएको व्यवस्था हो। यसबाट तपाईँ हामी सबै प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभान्वित छौँ।
नेपाललगायत विभिन्न देशहरूले विकासोन्मुख तथा कम विकसित देशका लागि छुटाइएका सुविधाहरू उपयोग गर्नु र विश्वका विभिन्न विश्वविद्यालयमा पढ्ने अवसर पाउनु भएका कतिपय हाम्रा महानुभावहरू (जो कतिपय त राजनीतिक तथा प्रशासनिक क्षेत्रमा निर्णायक स्थानमा पनि हुनुहुन्छ) विभिन्न नामले चिनिने कम विकसित देशका लागि छुटाइएका कोटामा अध्ययन गर्ने अवसर पाउनु अन्तर्राष्ट्रिय आरक्षणको उदाहरण हुन् ।
यद्यपि महत्त्वपूर्ण कुरा चाहिँ के हो भने यस्तो अवसर पछि आर्थिक र सामाजिक सुधारका लागि गरिने योगदान हो। सायद त्यस्ता महानुभावहरूले समाजमा भएका जातीय, लैङ्गिक तथा धार्मिक विभेद विरुद्ध कानुन, दण्ड जरिवानाको व्यवस्था, र चर्को र असभ्य शब्दहरूमा समस्याहरूको उजागर गर्नेबाहेक मानसिकता परिवर्तनसहितको विभेद उन्मूलनको रणनीतिक खाका र योजना बनाउन नसकेर पो हो कि आरक्षणको विरोध भएको । गम्भीर भई सोच्ने अवस्था आएको छ।
(कुमार दर्जी जर्मनीको हेम्बर्ग विश्वविद्यालयमा विद्यावारिधि गर्दैछन् l उनी जलवायु परिवर्तन अनुकूलन र समाज सबन्धमा शोध गर्दैछन् र सामाजिक विभेद विरुद्ध विशेष चासो राख्छन्।)




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…