अन्नपूर्ण संरक्षण क्षेत्रबाट ६० टन बढी फोहोर संकलन, पुनः प्रयोग हुने गरी व्यवस्थापन


     नेचर न्युज    
     श्रावण २६ गते २०८३ मा प्रकाशित


पदयात्रा पर्यटनकालागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रबाट ६० टन बढी फोहोर संकलन गरिएको छ । संकलित फोहोर पुन: प्रयोगकालागि पोखरास्थित ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिमा पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सब इन्जिनियर रामजी आचार्यले बताए । 

अन्नपूर्ण संरक्षण क्षेत्रमा यस अघि आर्थिक वर्ष २०८१÷०८२ मा ३१.६ टन संकलन गरिएको थियो । आर्थिक वर्ष २०८२÷०८३ मा ६२.८ टन फोहोर बर्गिकरण गरी संकलन गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रको ल्वांङ, घान्द्रुक, जोमसोम, मनाङ, मनाङ लगायतका क्षेत्रबाट फोहोर संकलन गरिएको हो । आयोजनाको प्राविधिक सहयोगमा सम्बन्धित गाउँपालिका, संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा सरोकारवालाहरुसंग समन्वय र पर्यटन व्यवस्थापन समिति, वन व्यवस्थापन समिति ,स्थानीय आमा समूह लगायत विभिन्न समूहले फोहोर संकलन गरेका थिए ।  यसरी संकलन गरिएका फोहोर ५५ वटा गाडीमा पोखरा ल्याएर ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिलाई पुन प्रयोगकालागि उपलब्ध गराइएको आयोजनाका अधिकारीले बताएका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्रबाट संकलन गरिएको फोहोर । तस्विर : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ।

संरक्षण क्षेत्रबाट पोखरा ल्याइएका फोहोरहरूमा ४५.१ टन सिसाजन्य, ५.२६ टन धातुजन्य र ११.७२ टन प्लास्टिकजन्य फोहोर रहेको अन्नपूर्ण संरक्षण आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्रमा यसरी संकलन गरिएका फोहोरहरू सुरक्षित राख्नकालागि विभिन्न स्थानमा फोहोरमैला संकलन केन्द्रहरू पनि निर्माण गरिएको छ । यस वर्ष १२ स्थानमा फोहोर संकलन केन्द्र स्थापना गरिएको पनि बताइएको छ । फोहोरमैला मुक्त अन्नपूर्ण क्षेत्र अभियान अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मुख्य पर्यटकीय क्षेत्र तथा पदयात्रा मार्गको फोहोरमैला व्यवस्थापन सुरुवात गरेको जनाएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्रबाट संकलन गरिएको फोहोर । तस्विर : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ।

आयोजनाले सम्बन्धित गाउँपालिका, संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा सरोकारवालाहरुसंग समन्वय र पर्यटन व्यवस्थापन समिति, वन व्यवस्थापन समिति, आमा समूह, पर्यटन व्यवसायी र स्थानीय समुदायलाई परिचालन गरेर स्रोतमै फोहोमैला बर्गिकरण समेत गरिएको आचार्यले बताए । यसरी स्रोतमै सिसाजन्य, प्लास्टिकजन्य तथा धातुजन्य फोहोरलाई छुट्टाएर अलग्गै प्याक गरी गाडीबाट ढुवानी गरिएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले यस अभियानमा सहयोग गर्दै आएको छ । गाउँपालिकाहरूले संकलन, समुदाय परिचालन लगायत कार्यमा सहयोग गर्दै आएको जनाइएको छ । आयोजनाले बर्गिकरण गरिएको फोहोर व्यवस्थापन गर्न पोखरास्थित ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालि संग सम्झौता गरेको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्रबाट संकलन गरिएको फोहोर । तस्विर : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ।