
हिमाल पारीको जिल्ला मनाङमा पटक पटक गरी २८ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । संरक्षण क्षेत्रको वनमा डढेलो लाग्दा जैविक विविधतामा ठूलो नोक्सान पुगेको छ । उच्च हिमाली क्षेत्रको ३२ सय मिटर उचाईको वन क्षेत्र सम्म आगो लागेको हो ।

पछिल्लो पटक माघ २९ गते पिसाङ र घ्यारु बिचको जंगलमा लागेको आगो आइतबार दिउँसो देखि नियन्त्रणमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सबैको सहयोगमा आगो नियन्त्रणमा आएको उनले बताए । अहिले मनाङ डढेलो मुक्त भइसकेको पनि मनाङका प्रमख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए । आइतबार साँझ देखि चामेमा पानी परिरहेको र त्यो भन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको पनि लामिछानेले जानकारी दिए ।
वन क्षेत्रमा लागेको डढेलोले कस्तुरी मृग, हिमाली कालो भालु, झारल, घोरल, थार, चितुवा, हिमचुतुवा, नाउरको बासस्थान विनास भएको छ । यसै गरि डढेलोले डाँफे मुनाल, बन बिरालो, लगायतको वन्यजन्तुको बासस्थानलाई असर पु¥याएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ कार्यालय प्रमुख लेखनाथ गौतमले बताए । उच्च हिमाली क्षेत्रका विरुवा हुर्कन धेरै समय लाग्ने भएकोले पनि यति धेरै क्षेत्रफलमा लागेको डढेलोले जैविक विविधतामा ठूलो क्षति पु¥याएको छ ।
डढेलोले वन्यजन्तुलाई अहिले सम्म नोक्सान पु¥याएको पाईएको छैन् । डढेलो लागेको क्षेत्रमा सरसरती हेर्दा वन्यजन्तुलाई क्षति पु¥याएको नपाईको उनले बताए । यसबारे थप अध्ययन भने भइरहेको एक्यापका इलाका संरक्षण कार्यालय मनाङ प्रमुख गौतमले सुनाए । डढेलोबाट सतुवा, निर्मसी, वन लसुन, चिराइतो, जटामसी, लगायतका जडिबुटीलाई पनि नोक्सान पु¥याएको छ ।
यस हिउँदमा हिमाल पारीको जिल्ला मनाङमा पहिलो पटक पुस १३ गते नासो गाउँपालिका ८ ताचैको वन क्षेत्रमा डढेलो लागेको थियो ।
पहिलो पटक लागेको डढेलो नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सबैको सहयोगमा पुस २९ गते नियन्त्रणमा आएको थियो । डढेलो नियन्त्रणमा आइपुग्दा सम्म ताचै बगरछाप क्षेत्रको ७ सय हेक्टर क्षेत्र वनमा डढेलोले बिनास गरिसकेको एक्यापका इलाका संरक्षण कार्यालय मनाङ प्रमुख गौतमले सुनाए । मानव बस्ती भएको वडा नम्बर ६ र ७ तिल्चे नजिक आगो पुगे पनि डढेलो बेलैमा नियन्त्रणमा आएकोले बस्ती सुरक्षित रहे । बस्ती संरक्षण गर्न फाएर लाइन खनीयो । अग्नी नियन्त्रण रेखा बनाउने र फायर इन्काउण्टर लगायतका बिधि अपनाइएको पनि उनले बताए ।
मनाङको ५ र ६ वडाको सिमा दुधखोलाबाट माघ १३ गते डढेलो लाग्न सुरु भएर वडा नम्बर ७ र ८ को वन क्षेत्र र बस्ती नजिक सम्म डढेलो पुगेको थियो । यो डढेलो माघ २२ गते नियन्त्रणमा आएको थियो । यस क्षेत्रमा २१ सय हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पु¥याएको उनले बताए । मनाङ जिल्लाका बिभिन्न क्षेत्रमा तीन पटक लागेको डढेलोले २८ सय हेक्टर वन क्षेत्रमा नोक्सान पु¥याएको गौतमले जानकारी दिए ।
भौगोलिक बिकटता, भिर क्षेत्रको वन र त्यसमा पनि सल्लोको खोटोको वन भएकोले बेलैमा डढेलो नियन्त्रण गर्न निकै कठिन भएको उनले सुनाए । हिउँ पर्नु पर्ने समयमा पनि हिउँ नपर्दा सुक्खा भएकोले पनि डढेलो फैलिने क्रम तिब्र भएको थियो । अहिले भने मनाङका सबै क्षेत्रमा लागेको आगो नियन्त्रणमा आइसकेको पनि एक्याप मनाङका प्रमुख गौतमले जानकारी दिए ।
मनाङको डढेलो इन्टेन्सनल फरेष्ट फाएर !
मनाङमा यस हिउँदमा ठूलो क्षेत्रफलमा लागेको डढेलो इन्टेन्सनल फरेष्ट फाएर भएको बताइएको छ । स्थानीय मध्येका कुनैले राम्रो घाँस पलाउँछ भन्ने लोभ, चोरीसिकारको उद्देश्य र च्याउँ राम्रो आउँछ भन्ने अर्को विश्वासका कारण पटक पटक बिभिन्न स्थानमा डढेलो लागेको बताइएको हो । मनाङको सल्लाको जंगल क्षेत्रमा आगो लगाएपछि गुठीच्याउँ राम्रो फल्छ भन्ने भ्रम स्थानीएमा रहेको बताइएको छ । सल्लोको वनमा आगो लाग्दा डढेलो नियन्त्रण बाहिर गएको थियो ।
यदि कसैले कुनै उद्देश्यले वनमा डढेलो लगाउने गरेका छन भने थप डढेलो लगाउनबाट रोक्न र ठुलो जोखिमबाट बच्न समयमै स्थानीय सचेत भएर वनमा डढेलो लगाउन कार्य रोक्न सहयोग गर्नु पर्ने एक्यापका कर्मचारी बताउँछन् । यस्तो अवस्थमा स्थानीयले सहयोग नगर्दा सम्म समस्या निरन्तर दोहोरिरहन्छ ।
डढेलो कस्ले लगाएको भन्ने क्लु नै थाहा नहुँदा डढेलो लगाउने प्रबृति झन बढ्ने प्रति स्थानीय प्रशासन पनि चिन्तित छ । डढेलो निभाउन सुरक्षा कर्मी भन्दा धेरै खटेर स्थानीय लागे । सबैमा डढेलो लागेको बारेमा चिन्ता छ । तर डढेलो कस्ले लगायो भन्ने सुराकी नै नमीलेको मनाङका प्रमखु जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…