संरक्षण कार्यक्रमले गिद्धको सङ्ख्या स्थिर


     नेचर न्युज    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित


पोखरा  : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको गिद्ध विशेषज्ञहरुले बताएका छन् । हालै पोखरामा सम्पन्न गिद्ध संरक्षण कार्यशालामा सहभागी विभिन्न देशका गिद्ध विशेषज्ञहरुले गिद्धकालागि निकै हानिकारक मानिएको पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक लगायतका औषधिको प्रतिबन्ध, गिद्धलाई शुद्धआहारा उपलब्ध गराउन संचालनमा आएका जटायु रेस्टुरेन्ट र विभिन्न संरक्षण कार्यक्रमका कारण पछिल्लो समयमा गिद्धको सङ्ख्या रहेको बताइएको हो ।  

पोखरामा बिहीबार भएको गिद्ध संरक्षण कार्यशालामा स्वदेशी तथा विदेशी गिद्ध विशेषज्ञहरूले आआफ्नो क्षेत्रमा गरेका संरक्षण प्रयासका बारेमा  कार्यपत्र प्रस्तुत गरेका थिए । गिद्ध संरक्षण, अनुसन्धान र आगामी गिद्ध संरक्षण योजना लगायतका विषयमा गिद्ध विशेषज्ञ, अनुसन्धान कर्मी र विद्यार्थीहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल, स्पेन, बुल्गेरिया, बेलायतका गिद्ध विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल सहित २९ कार्यपत्र प्रस्तुत भएका थिए ।

कार्यशालामा विश्वका अन्य देशमा गिद्धको अवस्था र नेपालमा भएका संरक्षण गिद्ध संरक्षणको अनुभव पनि साटासाट गरिएको थियो । नेपालमा हुँदै आएको गिद्ध संरक्षणको प्रयाशलाई अन्तर्राष्ट्रिय गिद्ध विशेषज्ञहरूले प्रशंसा गरेका थिए । भारत, नेपाल, पाकिस्तान लगायत दक्षिण एसियाली देशमा सन् ९० को दर्शकमा गिद्धको संख्यामा धेरै कमी आएको थियो । यसै कारण सङ्कटमा परेको समयमा सन् २००६ मा कावासोतीको पिठौलीमा गिद्धलाई सुरक्षित आहारा उपलब्ध गराउन समुदाय सँग मिलेर सञ्चालन गरिएको जटायु रेस्टुरेन्ट गिद्ध संरक्षणकालागि विश्वमै उदाहरण बन्दै आएको छ । यस जटायु रेस्टुरेन्ट स्थापनाकाल देखिको संयोजक डिबी चौधरीले जटायु रेस्टुरेन्टको स्थापना देखि अहिले सम्म भएका संरक्षणका प्रयासका बारेमा प्रस्तुति दिएका थिए । 

सन् १९९० को दर्शकमा दक्षिण एसियामा गिद्ध ठूलो सङ्ख्यामा कमी आएको थियो । पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेकको कारण यो अवस्था आएको वैज्ञानिकहरूले पत्तालगाएका थिए । घरपालुवा पशुको सुन्निएको र दुखेको निको पार्न डाइक्लोफेनेक औषधि प्रयोग भएका चौपाया मरेपछि गिद्धले आहाराको रुपमा खाँदा गिद्धको मिर्गौला बिग्रेर मर्ने गरेको पत्ता लगाएपछि यो औषधि प्रतिबन्ध छ । सन् १९९० को दशकमा दक्षिण एसियामा करोडौँ र नेपालमा लाखौँको सङ्ख्यामा पाइने गिद्ध ९५ प्रतिशत घटेर केही हजारमा सीमित भएको विभिन्न अध्ययनले देखाएको छ । सन् १९९२ देखि २००७ सम्म डंगर प्रजातिको गिद्ध भारतमा ९९.७ प्रतिशत र सानो खैरो गिद्ध ९८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको थियो ।

प्रकृतिको कुचिकार गिद्ध लोप हुने अवस्थामा पुगेपछि गिद्ध मर्नुको मुख्य कारण मानिएको डाइक्लोफेनेक औषधि प्रतिबन्ध, सुरक्षित आहाराकारलागि गिद्धकालागि रेस्टुरेन्ट सञ्चालन, समुदायमा गिद्ध सचेतना लगायतका कार्यक्रमले पछिल्लो समयमा गिद्धको सङ्ख्या स्टेबल रहेको कार्यपत्र प्रस्तुत गर्ने गिद्ध विशेषज्ञले बताएका छन् । 

मांसाहारी चरा भएर पनि मारेर नखाने मरेका जनावरलाई खाएर वातावरण गर्ने गिद्धको सङ्ख्या कमी हुँदा यस्ता सिनो पानी भएको खोला, ताल, खुला ठाउँमा सड्छ । यसरी सडेको सिनोमा कुकुर, स्याल , मुसा र झिँगाको सङ्ख्यामा वृद्धि हुन्छ । यसैको कारण मानिसमा रेबिज, प्लेग, हैजा, आउँ झाडापखाला जस्ता घातक सरुवा रोगहरू फैलन सेतो गिद्धमा विद्यावारिधि गर्दै गरेको कृष्ण भुसाल बताउँछन् । यसै गरी पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको सङ्क्रमणले महामारी रूप लिन सक्ने पशु चिकित्सक बताउँछन् । यसैले मानिस, पशु चौपाया र वातावरणकालागि महत्त्वपूर्ण गिद्ध संरक्षणका प्रयास अन्तर्राष्ट्रिय स्तरमा के कसरी भएका छन् आदान प्रदान गर्न गिद्ध संरक्षण गोष्ठीको आयोजना गरिएको आयोजक मध्येको एक नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण अधिकृत अंकित विलाश जोशीले बताए ।  
कार्यक्रममा गण्डकी प्रदेशमा सन् २०७५ देखि २०८२ सम्म विभिन्न अवस्थामा १५६ वटा गिद्धको उद्धार गरिएकोमा ६० वटा प्रकृतिमा छाडिएको र १०० वटा गिद्ध मरेका गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पूर्णेश्वर सुवेदीले जानकारी दिएका थिए । गण्डकी प्रदेश सरकारले गिद्ध लगायत वन्यजन्तु संरक्षणकालागि उद्धार केन्द्र सञ्चालन, वन्यजन्तु उद्धारकालागि एम्बुलेन्स सञ्चालन गरिएको बताए । वन्यजन्तुको उद्धार पछि उपचारकालागि दक्ष जनशक्तिको अभाव भने रहेको उनले बताए । स्रोत साधनले भ्याए सम्म वन्यजन्तु संरक्षणको प्रयास भएको पनि उनले सुनाए । नेपाल सरकारले गिद्ध संरक्षणकालागि एक्सन प्लान नै बनाएर अघि बढेको पनि उनले बताए ।

गिद्ध संरक्षणकालागि स्वदेशी र विदेशी विशेषज्ञ बिच अनुभव आदान प्रदानले गिद्ध संरक्षणमा थप महत्त्वपूर्ण योगदान पुग्ने अर्को आयोजक संस्था पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । नेपाल पन्छी संरक्षण सङ्घ, हिमाली अनुसन्धान केन्द्र र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा भएको कार्यशालाले गिद्ध संरक्षणका क्षेत्रमा थप योजना बनाएर अघि बढ्न थप सफलता मिल्ने सानो खैरो गिद्धमा विद्यावारिधि गर्दै गरेको हेमन्त ढकालले बताए ।