काठमाडौंमा चामलमा भेटियो ११ थरिका विषादीका अवशेष


     नेचर न्युज    
     वैशाख ५ गते २०८३ मा प्रकाशित


काठमाडौं :  काठमाडौं उपत्यकामा चामलमा ११ थरिका विषादीका अवशेष भेटिएको पाइएको छ । हालै प्रकाशित एक अनुसन्धानले राजधानी काठमाडौंमा विक्रीकालागि राखिएका कम्तिमा ११ थरिका चामलमा विभिन्न विषादीका अवशेष भेटिएको पाइएको हो ।

नेपालका डा. गोविन्द भण्डारी र उत्कल सापकोटा, दुई भारतीय तथा एक जापानी बैज्ञानिक हिरोतत्सु मुरानो संलग्न उक्त अनुसन्धान स्प्रीन्जर नेचर पोर्टफोलियो अन्तर्गतको वातावरण, विकास र दिगोपन (Environment, Development, and Sustainability) नामक जर्लनमा प्रकाशित छ। अनुसन्धानकालागि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट सङ्कलित चामलको नमुना भारतको काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्ट्रीयल रिसर्च-इन्डियन ईन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्चमा करिब ३ महिना लगाएर परिक्षण गरिएको थियो।

विषादीको अवशेष अत्याधुनिक प्रयोगशालाबाट गरिएको थियो । जुन सुबिधा नेपालमा आज सम्म उपलब्ध हुन नसकेको एक अधिकारीले बताए । प्रारम्भमा उक्त अनुसन्धानकालागि नेपाल र भारतमा धानमा प्रयोग भइरहेको कम्तिमा ५१ थरि विषादीको अवशेष परिक्षणकालागि विधि विकास गरिएको थियो । उक्त विधि मार्फत कम्तिमा ११ थरि विषादी प्रमाणित भएको बताइएको छ ।

उपत्यकाका तीन जिल्ला मध्य काठमाडौं जिल्लाको नमुनामा अत्याधिक मात्रामा विषादी भेटिएको अनुसन्धानमा देखिएको बताइएको छ । विषादीको मात्रा प्रति केजी चामलमा ५.०९ माइक्रो ग्राम देखि ३१२ माइक्रो ग्राम सम्म भेटिएको छ । यसरी भेटिएका ११ थरि विषादीहरूमा एजक्सिट्रोविन, क्लोरपाइरिफस, क्लोथियानिडिन, प्रोपिकोनाजोल, टेबुकोनाजोल, थाइमिथक्जाम र ट्राइसाइक्लाजोल रहेको अध्ययनमा देखिएको छ । यी मध्ये टेबुकोनाजोल, थाइमिथक्जाम र ट्राइसाइक्लाजोलको मात्रा युरेपेली युनियनले सर्टिफाइगरेको अवशेष सीमा भन्दा बढी रहेको पाइएको छ । जुन स्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ ।

अनुसन्धानकर्ता मध्यका एक उत्कल सापकोटाका अनुसार गैर वास्मती  चामल भन्दा, वास्मती चामलमा दोब्बरसम्म बढी विषादी भेटिएको छ । विषादीका अवशेष भेटिएका चामलको दीर्घकालीन प्रयोगले यी विषादीहरू मानव शरीरमा जम्मा भएर रहिरहने र क्यान्सर जस्ता घातक रोगहरूको खतरा रहने छ । अनुसन्धानले विषादी प्रयोगकर्ताको सुरक्षाको समेत जोखिम मूल्याङ्कन गरेको थियो ।   रुपन्देही जिल्लाका १२० धान किसान,  ५० विषादी बिक्रेता तथा चामल मिल र होलसेलरहरुमा सर्वेक्षण गरिएको थियो। विशेषगरी विषादी प्रयोगकर्ता किसानहरूको सुरक्षा सम्बन्धी निर्णय सामाजिक दवावले निर्धारण गर्ने पाइएको थियो।

अधिकांश किसानहरूले अझै पनि न्यून स्तरको सुरक्षा अपनाउने, विषादी प्रयोग गर्ने बेला व्यक्तिगत सुरक्षा उपकरण नलगाउने, सिफारिस भन्दा बढी मात्रामा फुक्काफाल विषादी प्रयोग गर्ने र बाँकी विषादी खेतमै फाल्ने जस्ता व्यवहार दोहोराइरहेको अनुसन्धानमा पाइएको छ ।  यस्तो व्यवहारले विषादी प्रयोगकर्ता, चामल उपभोक्ता, तथा वातावरण सबैमा गहिरो असर पर्ने बताइएको छ । धान नेपालको मुख्य खाद्यवाली हो। त्यसैले यस अध्ययनको वास्तविकता नीति निर्माता, अनुसन्धानकर्ता, किसान, व्यापारी र उपभोक्ता सबैका लागि चेतावनी र अवसर दुवै रहेको रूपमा लिएर सुधार गर्नु पर्ने छ । नेपालमा सरकारी तवरबाट केही तरकारीहरुमा र्‍यापिड वायोएस्स्से (आरबिपीआर) द्वारा विषादी  भए नभएको मात्र छुट्ट्याउने गरिन्छ । जसको प्रमाणिकता र सत्यता एकदमै न्यून हुन्छ।

नेपाली समाजको धानको उच्च खपतलाई ध्यानमा राखी सरकारी तवरबाटै यसको जोखिम विश्लेषण सुविधा तथा अनुसन्धान प्रयोगशाला स्थापना गरी नियमित रूपमा अनुगमन गर्न सके उपभोक्ताले चामल मार्फत बिष सेवन गर्नु पर्ने वाध्यत्मक अवस्था बाट मुक्ति पाउने बताइएको छ।