गत हप्ता घरायसी काम विशेषले काठमाडौं जानु पर्यो। बिहानै पोखरादेखि काठमाडाैँको माइक्रो बस चढेँ। एक बोतल पानी किनेँ, अरू यात्रुहरूले जस्तै। तनहुँ जिल्लाको जामुनेमा बस रोकियो यात्रुहरूले चाउचाउ, कुरकुरे, पानी चकलेट इत्यादि किनेर झोलामा हाले।
म माइक्रो बसको बीच भागको झ्याल नजिक बसिरहेको थिएँ। बस डुम्रे कटेर आँबुखैरेनी जाँदै थियो एकजना अधबैंसे युवाले रित्तिएको पानीको बोतल र चाउचाउको खोल बाटोमा मिल्काए, मैले नदेखे जस्तो गरेँ। चुपचाप बसेँ। मेरा लागि यो नयाँ विषय थिएन र हामी नेपाली यस्तैमा बानी परेका छाैँ। कुनै अचम्म लाग्ने कुरा पनि भएन।
मलेखुमा खाना खाएपछि एक जना युवाले चिसो क्यान जुस किनेर झोलामा हाले। लगभग पन्ध्र मिनेटपछि उनले समेत क्यान फुत्त फाले। नौबिसेबाट उकालो लाग्ने बेलामा बस जाममा पर्यो। त्यसै मौकामा मैले झ्यालबाट बाटोमा बाँयापट्टि देखिएका प्लास्टिकका टुक्रा र बोतलहरू गन्न थालेँ।
अनुमानित एक मिटरको दुरीमा साना ठूला गरी ३० वटा भन्दा बढी प्लास्टिकजन्य फोहोरका टुक्राहरू भेटें। यसरी भेटिएका प्लास्टिकमध्ये धेरै जसो गुट्खा, सुर्ती, चाउचाउ, लेज, कुरकुरे थिए भने बोतलमा चिसो पेयपदार्थ कोकाकोला, फेन्टा, स्प्राइट र पानीका बोतल थिए।
त्यस दिन काठमाडौंको कलंकीसम्म पुग्दा बसबाट फोहोर फाल्नेमा जम्मा पाँच जना भेटिए। ति व्यक्तिहरू विश्वविद्यालय पढ्ने उमेरका तन्नेरी युवायुवति र समाजमा विभिन्न पेशा व्यवसायमा स्थापित जस्ता देखिन्थे।
त्यसैगरी पोखरा पनि माइक्रो बसमा नै फर्किएँ। म फर्केको माइक्रो बसको ड्राइभर बसेको पछाडीको सिटमा फोहोरमैला व्यवस्थापन सम्बन्धी स्टिकर पनि थियो। बस कलंकीमा प्यासेन्जर कुर्दै थियो।
बसमा रहेका वयस्क उमेरका पोख्रेली तीन जना दाइदिदीहरूले पोलेको मकै किनेर खान थाले र मकै खाइसकेर खोइला सडकमा फालिदिए। अझ मलेखुमा खाजा खान रोकेपछि पहिले मकै किन्ने दिदीले स्प्राइट किनिन् र त्यो बोतल तनहुँ जिल्लाको दुलेगौडा पुगेपछि नजिकैको नालीमा फालिन्।
यसरी पोखरा फर्कदा प्लास्टिकको फोहोर मिल्काउने चार जना देखे तीन जनाले पानी रित्तिएका बोतल मलेखुमा फोहोर फाल्ने डस्टविनमा फालेको देखेँ। यसरी फोहोर फाल्नेहरू नजानेर, नबुझेर भन्दा पनि आनीबानी र बेमतलबका कारण फोहोर फालेको देखिन्छ।
सडक छोडेर सहरतिर लाग्ने हो भने काठमाडौंका बस्ती, सडक, खोलानालामा जताततै देखिने प्लास्टिकजन्य फोहोरको विषयमा त्यहाँ पाइला टेक्ने बस्ने हामी सबैले देखे भोगेकै छौं।
हाम्रा सहर प्लास्टिकका कारण कुरूप बनेका छन्, प्रदूषित बनेका छन्। सहर मात्र होइन तालतलैया, खोलानाला र पानीका स्रोतहरू समेत प्लास्टिकका कारण प्रदूषणको चपेटामा परेका छन्। सहर बजारका जस्तै पहाड र हिमालका कथा व्यथा पनि उस्तै छन्।
त्यहाँ पनि प्लास्टिकको साम्राज्य छ। २०७५ सालको असोज महिना र यसै वर्षको वैशाख महिनामा अध्ययनको सिलसिलामा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने मनाङ जिल्लाको अत्यन्तै विकट ठाउँमा रहेको विश्वमा नै पदयात्रीहरूका लागि प्रख्यात रहेको पवित्र स्थल नारपाभूमि गाउँपालिकामा अवस्थित काँङला पाससम्म पुगेको थिएँ।
खर्चालू पर्यटकले पदयात्रा गर्ने यस क्षेत्रका पदमार्गमा समेत प्लास्टिक नै प्लास्टिक भेटिए। चाउचाउ र पानीका बोतलको दबदबा पदमार्ग मात्र होइन ५३२० मिटर उचाइको काँङला पासका चुचुरासम्म भेटिए।
त्यसपछि सोचें, सूर्योदय र सूर्यास्तको समयमा हिमालमा सूर्यका किरणको आनन्द र अलौकिक भूदृश्यले प्रफुल्ल मन बनाउन आएका पदयात्रीहरू कति खिन्न बन्लान्, जब अग्ला पहाड र हिमाल छिचोल्ने पदमार्गमा समेत प्लास्टिकका खोल र बोतलमा ठोकिनु पर्छ।
यस्ता प्लास्टिकले पदयात्राबाट लिने आनन्दमा कति ह्रास आयो होला। यसले यहाँका पवित्र हिमालहरूलाई कति कुरूप बनाए होला हामी अनुमान गर्न सक्छौं। यसरी फोहोर गर्नेमा विदेशी पर्यटक होइन नेपाली पदयात्रीहरू बढी जिम्मेवार रहेको भन्ने स्थानीय र विदेशी पर्यटकहरूको भनाइ रहेको पाएँ।
प्लास्टिको तथ्याङ्क
विश्व वन्यजन्तु कोषले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार सन् २०१६ मा विश्वमा झण्डै ४० करोड मेट्रिक टन प्लास्टिकजन्य वस्तुको उत्पादन भएको थियो। जुन ५३ किलोग्राम प्रतिव्यक्ति प्रति वर्ष हुन आउँछ। सन् २०३० सम्ममा यसको उत्पादन ४० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ।
यसरी उत्पादित प्लास्टिकमध्ये ७० प्रतिसत फोहोरको रूपमा नै रहन्छ जसमध्ये ३७ प्रतिशत फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। उत्पादित प्लास्टिकमध्ये जम्मा २० प्रतिशत मात्र प्रशोधनका लागि संकलन गर्ने गरिन्छ।
सोही अध्ययन अनुसार वार्षिक ९० लाख टन प्लास्टिक समुन्द्रसम्म पुग्छ भने २४० प्रजातिका जीवजन्तुले यसरी समुन्द्रमा पुगेको प्लास्टिक खाएका कारण वा अल्झिएका कारण समस्यामा परेको पाइएको छ। यसबाट प्रष्ट हुन्छ की प्लास्टिकले समग्र प्रणालीमा कसरी असर गरिरहेको छ।
सन् २०१३ मा एसियाली विकास बैंकले गरेको एक अध्ययन अनुसार नेपालका ५८ नगरपालिकाले दैनिक १,४३५ टन फोहोर उत्पादन गर्छन् जसमध्ये १२ प्रतिशत प्लास्टिकजन्य फोहोर नै हुन्छ। राजधानी काठमाडौंमा मात्रै दैनिक ४७ लाखदेखि ४८ लाखसम्म प्लास्टिकका झोला प्रयोग हुने विभिन्न अध्ययनहरूले देखाएको छ। यस्ता प्लास्टिकजन्य फोहोर कुहेर पूर्ण रूपमा प्रकृतिमा मिल्न ५०० वर्षसम्म लाग्छ। तसर्थ प्लास्टिकले पार्ने नकरात्मक असर कस्तो छ भनेर हामी सहजै अनुमान गर्न सक्छाैँ।
नेपाल जस्तो सुन्दर देशमा प्लास्टिकजन्य फोहोरको दबदबा छ। पानी भर्न जाउँ कुवा, खोलानाला, ताल तलैया, पोखरी जताततै प्लास्टिक छ। यसले हाम्रो पिउने पानीमा प्रहार गरेको छ, अन्न फलाउने माटोमा प्रहार गरेको छ, जीव जीवात्माको अन्तरसम्बन्ध रहेको प्रणालीमा प्रहार गरेको छ, प्रकृतिले दिएको अनुपम सुन्दरतामा प्रहार गरेको छ, अझ भनाैँ मानव सभ्यतामाथिनै प्रहार गरेको छ। यसले हाम्रो पहिचान बदलिदिएको छ, सुन्दरताबाट हामिलाई कुरूपता तर्फ डोर्याइरहेको छ, हाम्रो चेतनाको स्तरमाथि नै गम्भिर प्रश्न खडा गरिदिएको छ।
मनोजको उदाहरणीय काम
फोहोरमैला व्यवस्थापनमा थुप्रै सकारात्मक अनुभवहरू छन्। बृहत बागमती सरसफाई अभियानमा लाखौं मान्छे सहभागी भइसकेका छन्, लाखौं टन फोहोर संकलन भएको छ। सुन्दर पर्यटकीय नगरी पोखरामा विगत केही वर्षदेखि यो अभियान निरन्तर छ। देखिने उपलव्धि हासिल भएका पनि छन्।
सरकारी र गैह्र सरकारी क्षेत्रबाट थुप्रै प्रयास भएका छन्। सहरी क्षेत्रका स्थानीय सरकारहरूले नियमित फोहोर संकलनको व्यवस्था गरेका छन्। गण्डकी प्रदेशभित्र पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रका स्थानीय समुदयाहरूले निरन्तर रुपमा फोहोरमैला व्यवस्थापनका कार्यहरू गर्दै आएका छन्, तर पनि हामीले साना तिना बानीमा परिवर्तन गर्न नसक्दा प्लास्टिक जति टिपे पनि नसकिने अवस्था बनेको छ।
२०७४ सालको माघ महिनामा पञ्चासे संरक्षित वन र यस वरिपरि रहेका गाउँ एवं होमस्टेहरू घुम्न निस्किएको थिएँ। सुनाखरीको राजधानी भनेर चिनिने त्यस क्षेत्र समेत प्लास्टिकका खोल र बोतलले अछुतो थिएन। यस क्षेत्र घुमेर फर्कने क्रममा पर्वत जिल्लाको चित्रेबाट भदौरे गाउँ आउने बाटोको बीचमा ओडारे भन्ने गाउँ रहेछ। गाउँको गोरेटो बाटोमा ढुङ्गाको पर्खालमा लठ्ठी गाडेर प्लास्टिकको बोरा झुण्ड्याइएको थियो।
सँगै बाक्लो कागजको प्याकको टुक्रामा लेखिएको थियो ‘फोहोर मलाई दिनुहोस्, जताततै नफाल्नुहोस्’ यो नियम २०७४ सालबाटै लागू भएको हो। त्यसमा नाम मनोज वि.क. उल्लेख थियो। त्यसपछि म त्यसै स्थानमा रोकिएँ एक छिनमा अर्का बालक भेटिए मैले उनलाई सोधें ‘यो काम कसले गरेको हो?’ उनले सहजै जवाफ दिए– मनोजले।
त्यस पश्चात मैले मनोजलाई बोलाउन लगाएँ। ति बालकले मनोजलाई लिएर आए। मनोज त्यसै गाउँको सरकारी प्राथमिक विद्यालयमा अध्ययन गर्ने रहेछन्। एकछिन मनोजसँग भलाकुसारी गरेँ, उनले गाउँ चाउचाउ, बिस्कुट, चकलेट, सुर्ती लगायतका प्लास्टिकका खोलले प्रदूषित बनाएकोले प्लास्टिकले गाउँ फोहोर नहोस् भनेर नै आफूले फोहोर संकलनका लागि त्यो बोरा त्यहाँ राखेको बताए। आफ्नै घरका सामान जोरेर डस्टबिन बनाएको बताए।
मनोज निकै सिर्जनशील लाग्यो गाउँमै भएको चामलको बोरा, डण्डी, प्लास्टिकजन्य टुक्रा प्रयोग गरेर नै डस्टबिन बनाएका रहेछन्। मैले मसँगै रहेको सानो डायरी र कलम उनको हातमा थमाए। उनको अभियानमा एक्यबद्धता जनाएँ।
अब के गर्ने ?
यति हुँदाहुँदै पनि प्लास्टिक मानव जीवनको अभिन्न अंग बनेको छ, यसले हाम्रो जीवनलाई धेरै सहज बनाइदिएको छ। परम्परागत रूपमा प्रयोग गरिने, सिसा, काठ, धातु र छालाका सामान भन्दा प्लास्टिकका सामान हलुका, आकारमा परिवर्तनशील, आद्रताले सजिलै नबिगार्ने र मूल्यका हिसाबले निकै किफायती भएका कारण यसको उत्पादन र प्रयोग दिनानुदिन बढ्दो छ।
हामीले पिउने पानी, दूध, तरकारी बोक्ने झोला, अन्नपात प्याक गर्ने बोरा, चकलेट, तयारी खानेकुरादेखि निर्माणका सामाग्रीसम्म प्लास्टिकबाट बनेका हुन्छन् तर हामी यसको व्यवस्थापन गर्न नजान्दा र वातावरण प्रति दायित्व बोध नगर्दा समग्र जीव र हाम्रो सभ्यतालाई नै चुनौति दिइरहेको छ।
तसर्थ हामीले यसको असरलाई न्यूनीकरण गर्न सकेसम्म प्लास्टिक लिन इन्कार गर्ने प्रयोगलाई घटाउने, पुनः प्रयोग गर्ने र प्रशोधन गर्नु पर्दछ। कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यवस्थापनमा सहयोगी बन्न सकिन्छ। प्लास्टिकलाई डस्टबिनमा फाल्ने, नगरपालिकाहरूले संकलन गर्न आउँदा प्लास्टिक पठाउने र फोहोरमैला व्यवस्थापनमा सम्बन्धित निकायहरूलाई सहयोग गर्नु पर्दछ।
कतिपय सार्वजनिक यातायातमा यस्ता फोहोर संकलन गर्न डस्टबिनको समेत व्यवस्था गरेको देखिएको छ। यसलाई सम्पूर्ण सवारी साधनहरूमा राख्न लगाउने, र ठाउँठाउँमा यस्ता फोहोर संकलन गर्ने व्यवस्था मिलाउनु पर्दछ। सामान किन्न जाँदा झोला लिएर जाने र प्लास्टिकका झोलाको प्रयोगमा कमी ल्याउने र सामान किन्ने स्थानमा प्लास्टिकका झोला मागेमा अतिरिक्त शुल्क लगाउन सकेमा प्लास्टिकका झोलाको प्रयोगमा कमी ल्याउन सकिन्छ।
यस्ता फोहोरमैला व्यवस्थापनमा सरकारी, गैह्रसरकारी क्षेत्र, नागरिक समाजबाट समेत प्रशस्त प्रयासहरू भएका छन् तर जबसम्म जथाभावी फोहोर फाल्ने बानीमा परिवर्तन ल्याउन सकिँदैन फोहोर उठाएर मात्र प्लास्टिक मुक्त ठाउँ बनाउन सकिँदैन। प्रत्येक नागरिकले प्लास्टिकजन्य फोहोरलाई जथाभावी नफाल्ने अठोट गर्न सक्यौँ, आफ्नो आनीबानी बदल्न सक्यौँ भने मात्रै पनि वातावरण संरक्षणमा योगदान गर्न सक्छौँ। त्यसैले आजैबाट अठोट गराैँ, नागरिकको रूपमा आफूले निभाउनु पर्ने कर्तव्य पालना गरौँ ,फोहोरमैला व्यवस्थापनमा सहयोग गराैँ।
(लेखक राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत हुन् ।)
(यो ब्लग सेतोपाटी बाट साभार गरिएको हो)