मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोना विरुद्धको खोप


     नेचर न्युज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५०८ जनालाई तीन प्रकारको कोरोना विरुद्धको खोप लगाइएको हो ।

कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समुहका शतप्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको जानकारी दिए । “छ हजार ७१५ जनालाई जोन्सन एण्ड जोन्सन र दुई हजार ४७२ जनालाई कोभिसिल्ड विरुद्धको दुई चरणको खोप लगाइएको छ”, उनले बताए । “भेरोसिलको पहिलो र दोस्रो डोजको खोप लगाउनेको सङ्ख्या ३३२ जना छ ।” मुस्ताङका नागरिकका साथै रोजगार, पेशा ब्यवसाय र कामदारका रुपमा आएकाले पनि खोप सुबिधा पाएका छन् ।

अन्य जिल्ला घर भए पनि हाल मुस्ताङमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक, सरसफाईकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार, सङ्घसंस्थाका कर्मचारी, शिक्षकले खोप लगाएका छन् । विसं २०६८ को जनगणना अनुसार कुल १३ हजार जनसङ्ख्या रहेको मुस्ताङमा १८ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नौ हजार ३६० जना थियो । मुस्ताङमा २०७७ माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको थियो । कोरोना विरुद्धको कोभिशिल्ड खोप अभियान शुरु गर्दाको अवस्था सामान्य थियो ।

कोभिसिल्डको दोस्रो चरण, भेरोसिल र जोन्सन एण्ड जोन्सनको खोप अभियान सफल पार्न मुस्ताङका स्वास्थ्यकर्मीले निकै सङ्घर्ष गरेका छन् । बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने, सडक पुल बगाउने, बिद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा खोप अभियान सञ्चालन गर्न कठिनाई भएको थियो । मार्फा खोलामा असार पहिलो हप्ता बाढी आउँदा जोखिम मोलेर दुःखका साथ खोप ढुवानी गर्दै गरेका स्वास्थ्यकर्मीको तस्बिरले अन्तरराष्ट्रियस्तरमा चर्चा पाएको थियो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ठाउँ/ठाउँमा भरियालाई बोकाएर खोप ढुवानी गरिएको थियो भने खोलामा ट्याक्टरमार्फत खोप तारिएको थियो । खोप अभियान पूरा भएसँगै मुस्ताङका कतिपय शैक्षिक संस्थामा भौतिकरूपमै पठनपाठन सञ्चालन भएको छ । रासस