भालुको आक्रमणबाट बाँचेकाहरु संरक्षणमै क्रियाशील


     ऋषि बराल     
     वैशाख ६ गते २०७८ मा प्रकाशित


कास्की : माछापुच्छ्रे गाउँपालिकाका टेकबहादुर लामिछाने  जंगलमा एक्लै घाँस काट्न जाँदा आक्रमणमा परे। वनको बीचमा एक्कासि गरिएको आक्रमणले उनको घाँटीमा मुटु आएजस्तो भयो । घाँस काट्दै गर्दा  झाडीबाट निस्किएको भालुले टोकेपछि बल्ल भालु भन्ने भेउ पाए । अब के गर्ने भन्ने निर्णय गर्न नपाउँदै ५० मिटर गहिरो खोल्सामा खसे  । उनीसँगै भालु पनि खोल्सामै पुग्यो।

फेरि  भालुले देब्रे हातको औलामा टोक्यो । टेकबहादुरले अर्को हातले ढुंगा समात्न पुगेछन् र त्यही भालुको नाकमा हान्न भ्याए । भालु नाकमा लागेपछि करायो र त्यहाँबाट भाग्यो ।

टेकबहादुर जसोतसो काम्दै घरसम्म पुगे । कसरी पुगे भन्ने बारेमा अझै हेक्का छैन  । मृत्युलाई जितेको त्यो दिनमा घर आउने बेलासम्म पछाडिबाट आएर फेरि आक्रमण गर्छ भन्ने लागिरह्यो ।  घर पुगेपछि बेस्कन रोए। धेरै बेरसम्म कामिरहे ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा उनी मात्र भालुको आक्रमणमा परेका होइनन् । विनोद पुन मगर पनि घाइते बने  । उनी निउरो  खोज्न भाइसँग वन छिरेका थिए । एक्कासी भालु आयो र अनुहारमा झम्टियो, नाक र आँखाछेउ नंग्राले कोपर्यो । हातमा टोक्यो र हातबाट रगत पनि बग्यो । दाइलाई भालुले मार्ने भयो भनेर भाइले भालुलाई हिर्काए  र भालु त्यहाँबाट भाग्यो । विनोद नजिकैको स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर फर्के भने  टेक बहादुरलाई उपचारका लागि छोरीहरूले फिस्टेल हस्पिटलसम्म ल्याउनु पर्‍यो । 

चेक पाइसकेपछि विनोद पुन मगर (दायाँ) र टेक बहादुर लामिछाने क्षेत्री (बाया)

घाइतेको खर्च एक्यापले बेहोर्‍यो

टेकबहादुर लामिछानेको उपचारमा करिब सत्तरी हजार र विनोद पुन मगरको उपचारमा सत्ताइस हजार खर्च भएको थियो । गाउँघरमा सामान्य किसानीमा आश्रित उनीहरूलाई त्यो रकम निकै थियो । वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्दा उनीहरू पनि लागेका थिए तर तिनै वन्यजन्तुले दुख दिँदा दुखित पनि बने ।

दुवै जनालाई वन्यजन्तुले आक्रमण गर्‍यो भने राहत पाइन्छ भन्ने थाहा थिएन । तर दुवैले ६ महिनापछि राहत स्वरूप सबै रकम पाउँदा निक्कै खुसी देखिन्थे ।  वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) बमोजिम दुवैलाई राहत स्वरूप अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय पोखराबाट उपलब्ध गराइएको जानकारी संरक्षण अधिकृत अशोक सुवेदीले दिनुभयो ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९, का  वडा अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले राहत पाइने बताएपछि आयोजनाको इलाका संरक्षण कार्यालय, ल्वाङमा कागजात पेस गरिएको थियो ।

वडा अध्यक्ष क्षेत्रीले स्वयं आफैले  यी दुवै घाइतेहरूलाई राहत रकम लिन आयोजनाको प्रधान कार्यालय पोखरा लिएर आउनुभएको थियो । राहत रकम बुझे पछि दुवैले हर्षित मुद्रामा धन्यवाद  दिए । उनीहरूले भने हामी यिनको संरक्षणमा लाग्छौं । यिनीहरूसँग रिसिबी राख्दैनौं । हामीहरू यिनको घरमा गएकोले अलिकति रिसाएका मात्र हुन् ।

हिमाली कालो भालु

यसरी बच्न सकिन्छ भालुको आक्रमणबाट 

भालु प्राय मानिसबाट टाढै बस्न रुचाउँछ ।  तर अकस्मात् भेट हुँदा वा  भेट हुँदा भाग्ने ठाउँ नभएमा वा  साथमा बच्चा भएको बेला वा सहवासको बेलामा यिनीहरू निक्कै आक्रामक हुने गर्छन् । त्यसले यस्तो बेलामा आक्रमण गर्न सक्छ । तलका उपायहरूले मानिस र यिनका बीचको द्वन्द्व कम गर्न सकिन्छ

  • जंगलमा हुँदा सधैँ समूहमा रहौँ र आवाज निकालेर आफू भएको जानकारी दिने, त्यसो गर्दा प्राय भालु टाढैबाट आफ्नो बाटो लाग्छ ।
  • जंगलमा सतर्क रही भालुको पाइला, दिशा, खनेको खाल्डो आदि चिन्हहरूमा  विशेष ध्यान दिऔँ जसले भालु वरपर भएको वा नभएको जानकारी दिन सक्छ ।
  • भालुले आक्रमण गर्दा ओरालो ठाउँ छ भने ओरालोतिर दौडने । भालुको शारीरिक बनावटको कारण ओरालोतिर झर्दा उसलाई अप्ठ्यारो हुन्छ ।
  • भालुले आक्रमण गर्न आयो भने लौरी भुईँमा बजार्ने वा भालुले  हात उठाएर आउँदा हात वा नाकमा हिर्काउने । यसको नाक अति संवेदनशील हुने भएकोले नाकमा हिर्काउँदा भालु तुरुन्तै भाग्छ ।
  • भालु आक्रमण गर्न आयो भने कापे लौरोले भालुको घाँटीमा च्यापेर धकेल्ने ।
  • भालुले आक्रमण गर्न आउने अवस्थामा भाग्यो भने झन् लखेट्छ । त्यसैले ऊसँग प्रतिकार गर्ने ।
  • यदि तपाईँले भालु देख्नुभयो तर भालुले देखेको छैन भने भालुले थाहा नपाउने गरि पछि हटी उसलाई आफ्नो बाटो जान दिऔँ ।
  • भालुको आक्रमण गर्न आए नभागौँ बरु वरिपरि पातलो रुख भए त्यसमा चढौँ, छैन भने दुवै हातले आफ्नो टाउको र घाँटीको भाग छोपी घोप्टो परेर जमिनमा सुतौँ । पातलो रुखमा भालुलाई चढ्न गाह्रो हुन्छ ।

भालु जोगाएर के हुन्छ ?

  • किरा तथा धमिराहरूको संख्या नियन्त्रण गर्दछ
  • रुख बिरुवाको बिउ एक ठाउँ बाट अर्को ठाउँमा (फलफूल खाएर)   पुर्‍याउन मद्दत  गर्दछ ।
  • सुकेका तथा ढलेका रुखहरूलाई टुक्र्याएर वनलाई स्वस्थ बनाउँछन् 
  • वन्यजन्तुमा आधारित पर्यटनमा  आकर्षण थप्छ ।
  • आहारा प्रजातिको संख्या नियन्त्रण गर्दछ