धिक्कार छ तिमीहरूलाई !

- संरक्षण कविता


     प्रशान्त घिमिरे    
     वैशाख २२ गते २०७८ मा प्रकाशित


कालो छाते टोपी
आँखामा चस्मा
हातमा कलम बोकेर
कुनै दिन हाम्रा सन्तान डार्विन बन्न निस्कने छन्
किन भने उनीहरू बसिरहेको पृथ्वी
हामी बसे जस्तो हुने छैन
उनीहरूले लगाउनु पर्नेछ अक्सिजन मास्क

पिठ्युँमा बोक्नु पर्ने छ सिलिन्डर
त्यस दिन उनीहरू सँग हुने छन् अनेक प्रश्नहरू
जस्तो कि,
पहाडको छाती फोडेर मेरा बा कता जान निस्केका थिए ?
जङ्गलमा लगाएर आगो कसलाई बेचेका थिए खरानी ?
उनीहरूले पक्कै सोध्ने छन्
हाम्रा पुर्खाले बनका साल काटेर
किन स्याहार गरेका थिए गमलाको गुलाफ ?
त्यो बेला उनीहरूले पक्कै भेटाउने छन्
आलमारीमा राखिएको सर्पको छालाले बनेको बेल्ट
भित्तामा टाँगिएको बाघको छाला
अनि पक्कै अनुसन्धान गर्ने छन्
गैँडा मारेर त्यसको खागले कुन भगवान् रिझाएका थिए हाम्रा पुर्खाले ?
कस्तुरी मारेर के के सुगन्धित बनाएका थिए?
गरुड मारेर कुन कुन रोग निको बनाए ?
डाँफे मारेर कति छाक टारेका थिए ?
मयुरका प्वाँख उखेलेर कुन भगवानलाई चढाए ?
गुँडबाट अन्डा चोरेर पाखुरा कति बलिया बनाए ?
उडेका चरा मारेर कति बहादुर भए ?
रक्त चन्दन बेचेर कति धनी भए ?
समुन्द्र भरी प्लास्टिक भरेर के गर्न खोजेका थिए ?
अनुसन्धान गर्दै जाँदा
उनीहरूले पछ्याउने छन्
हाम्रो घरबाट निस्केको फोहोरको नाली

पुग्ने छन् नदी सम्म
भेट्ने छन्
हामीले पशु उपचारमा प्रयोग गरेको डाइक्लोफेनेक
खेत बालीमा छरेको रासायनिक मलको डब्बा
कोल्ड ड्रिङ्कको बोतल भित्र हाम्रा ओठका प्रिन्ट बसेका
प्लास्टिकका स्ट्र ,
उनीहरूले भेट्ने छन् हाम्रा सहरको पुरानो नक्सा
जुन हरियो देखिनेछ ,
उनीहरूले भेटाउने छन् चाहिने भन्दा बढी उत्खनन गरिएको कोइलाको दस्ताबेज,
हाम्रै सिरानी मुनि भेटिनेछ एटम बम बनाउने सूत्र,
यो सब सबुत भेटिदा
उनीहरूलाई जवाफ दिन
हामी नभेटिन सक्छौ
तर हाम्रा सन्तानहरूले
हाम्रा फोसिल उत्खनन गर्ने छन्

तिनै फोसिल बनेका हाम्रा अनुहारमा
पिच्च थुक्दै भन्ने छन्
“धिक्कार छ तिमिहरूलाई”

(प्रशान्त घिमिरे वन्यजन्तु अनुसन्धानकर्मी र संरक्षणकर्मी हुन् l उनी विशेष गरी लोभीपापी गरुडमा रुचि राख्छन् )