
मामाघरको त्यो सम्झना
‘यो रुख कति बेला ढल्ने हो, घर गोठ र मान्छे कतिखेर च्याप्ने हो भरै भएन l हावाहुरी आएको बेलामा त सुत्नै नसकिने भो । लौ न भान्जा, वन कार्यालयमा भनेर काट्ने व्यवस्था मिलाउन पर्यो।‘ करिब २५ वर्ष अघि मामाले आफ्नो घर नजिकैको ठूलो रुख देखाउँदै भन्नु भएको अहिलेजस्तै लाग्छ l तर मैले गर्न सक्ने केही पनि थिएन l
त्यो रुख साँच्चै धोद्रो थियो कि थिएन ? बूढो थियो कि थिएन ? हावाको चापलाई थेग्न सक्थ्यो कि सक्थेन ? नकाटे पनि हुन्थ्यो कि ? बाहिरबाट हेरेर रुखको अवस्था थाहा पाउने प्रविधि बन्यो कि बनेन होला ? यी प्रश्नहरूले वर्षौँ सम्म मलाई पछ्याइरहयो l
निकै समयपछि मामाको घर जाँदा त्यो रुख थिएन l वन कार्यालयमार्फत् काटिएको रहेछ l पछि मामालाई सोध्दा सो रुख सोचे जस्तो धोद्रो नभएको बताउनुभएको थियो l
यसरी नजिक भएँ त्यो प्रविधिसँग
विसं २०६४ ताका जर्मनीको ड्रेसडेन विश्वविद्यालयमा वन व्यवस्थापन विषयमा अध्ययन गर्ने मौका मिल्यो l सहरी क्षेत्रमा रहेका रुखहरूको नियमित रूपमा गरिनुपर्ने निगरानी, त्यसको महत्त्व र त्यसबाट हुन सक्ने दुर्घटना (ढल्दा, हाँगाहरू भाँचिदा वा भुइँमा झर्दा) कसरी कम गराउन सकिन्छ भन्ने सैद्धान्तिक ज्ञान सिक्ने अवसर मिल्यो।
मनमा लागिरह्यो, सहरी क्षेत्रका रुखहरूको मात्र होइनन्, प्राकृतिक वनमा रहेका रुखहरूको वर्तमान अवस्था र निरन्तर निगरानी गर्न पनि त जरुरी छ l त्यसबाट प्राप्त जानकारीहरूले वन व्यवस्थापनसँग सम्बन्धित योजना बनाउँदा वा कार्यान्वयन गर्दा तथ्यमा आधारित निर्णयहरू गर्न ठूलो टेवा पुग्न जान्छ।
मौका जुर्यो २०७५ सालमा, जब सोनिक टोमोग्राफीको बारेमा जान्ने मौका मिल्यो। पिकुस सोनिक टोमोग्राफीको प्रयोग २०५५ सालतिरबाट सुरु भएको हो। यसले जीवित खडा रुखको विभिन्न उचाइका क्रससेक्सनहरुको भित्री संरचना वा अवस्था सर्लक्क देखाइदिन्छ त्यो पनि रङ्गिन आकर्षक तस्बिर सहित l हाम्रो छातीको एक्स-रे निकाले जस्तो । न रुख काट्ने झन्झट, न त ताछ्नु नै पर्ने । आधि घण्टामै रिपोर्ट पनि ।
यसलाई नेपालमा प्रयोग गर्न पाए हुन्थ्यो भन्ने लागि रह्यो l मैले काम गरिरहेको विद्यालयबाट मौका मिल्यो पनि l एउटा पिकुस सोनिक टोमोग्राफ र २ जना जर्मन विद्यार्थी सहित लागियो नेपाल । नेपाल जाने भने पछि त्यसै खुसी लाग्छ l नेपालका वनविज्ञहरुसँग भेटघाट हुने, मनमा लागेको विषयमा अनुसन्धानको सुरुवात पनि गर्न पाइने, ‘विन विन’ भन्छन् क्या रे !
मानिसलाई डाक्टरले स्टेथिस्कोपले हेरे जस्तो रुखलाई पनि हेर्न मिल्ने यो प्रविधि पहिला भएको भए थुप्रै रुखको अकाल मृत्युलाई रोक्न सकिने रहेछ
कसरी काम गर्छ पिकुस सोनिक टोमोग्राफ ले ?
सुरुमा रुखको विभिन्न उचाइमा (उदाहरणको लागि, भुईँ बाट ६० से. मि. अथवा १३० से. मि. माथि) रुखको मोटाइ (गोलाई) अनुसार १२ अथवा २४ वटा स्टिलका काँटीहरू रुखको परिधिमा समदुरीमा गाडिन्छन् l काँटीहरूले रुखको बोक्रा छेड्छ तर भित्री काठलाई छुन्छ मात्र l काँटीहरूले ध्वनि तरङ्ग मापन बिन्दुको रूपमा काम गर्छन्। ती काँटीहरूमा ‘बन्दुकका गोली आकारका’ चुम्बकीय ध्वनि सेन्सरहरू टाँसिन्छन्।
सोही रुखको परीधिमा एउटा डोरी वा फिता बाँधिन्छ र त्यसमा सानो कम्प्युटर झुन्ड्याइन्छ। सबै चुम्बकीय ध्वनि सेन्सरहरू केबलको सहायताबाट एक आपसमा र कम्प्युटरसँग जोडिएका हुन्छन । अब यसपछि हरेक काँटीबाट सेन्सर झिक्दै, एउटा सानो विद्युतीय घनले बिस्तारै ५ पटक ‘ट्याक ट्याक’ हानिन्छ (ट्यापिङ गर्ने)। सोही प्रक्रिया सबैमा दोहोर्याउने गरिन्छ l

काँटीहरूमा टाँसिएका चुम्बकीय ध्वनि सेन्सरहरू, जो एक आपसमा र हाते कम्प्युटरमा केबलको सहायताले जोडिएका छन् । तस्बिर : प्रेमराज न्यौपाने
जब हामीले नम्बर १ काँटीमा (बिन्दुमा) ट्यापिङ गर्छौ, त्यसबाट निस्केको ध्वनि तरङ्ग अन्य बिन्दुहरूमा (२- १२) रहेका सेन्सरहरूले प्राप्त गर्छन्। काठको घनत्व बढी छ भने ध्वनि तरङ्गको गति तीव्र हुन्छ, तर काठको घनत्व कम छ भने गति पनि कम हुन्छ ।
त्यसैले धोध पसेर प्वाल परिसकेको ठाउँ, मक्किएको अथवा मक्किन सुरु गरेको एवं स्वस्थ काठमा ध्वनि तरङ्गको गति फरक फरक हुने भो।
जब हामी सबै बिन्दुहरूमा ट्यापिङ गर्ने काम सक्छौ, उदाहरणको लागि १२ वटा बिन्दुहरू छन् भने १२ गुणा १२ जम्मा १४४ वटा विभिन्न धर्साहरू- भिन्न भिन्न गति भएका ध्वनि तरङ्गहरू- हुने भए।
यिनीहरूकै आधारमा रुखमा झुन्ड्याइएको कम्प्युटरमा रुखको त्यो भित्री भागको चित्र (मानौँ, एक्स-रे) तयार हुन्छ र तत्काल नै कम्प्युटरको मनिटरमा देख्न सकिन्छ। तर उक्त चित्र कम रिजोलुसनको (धुमिल) हुन्छ। तसर्थ केबल अथवा ब्लु-टूथको सहायताबाट उक्त डाटालाई ल्यापटपमा पठाइ, ल्यापटपमा (जडित) रहेको सम्बन्धित सफ्टवोएरको मद्दतले उच्च रिजोलुसनको दुई आयामी चित्र तयार गरिन्छ ।

पिकुस सोनिक टोमोग्राफको प्रयोग गरी तयार भएको सालको खडा जीवित रुखको ६० से मि उचाइको क्रस सेक्सनको दुई आयामी चित्र । निलो रङले धोध पसेर प्वाल परिसकेको भाग, पर्पलले मक्किएको भाग,हरियोले मक्किन सुरु गरेको भाग र चकलेट रङले स्वस्थ काठले ओगटेको भाग इँगीत गर्छन्। यो टोमोग्राम मायादेवी साझेदारी वन, पिपराको सालको रुखको(ज्येष्ठ २०७५) हो । (चित्र : प्रेम राज न्यौपाने)
उपादेयता र सीमितता
पिकुस सोनिक टोमोग्राफको प्रयोग गरी करिब ३० मिनटको समयमा बढीमा २ जनाको सहभागितामा सजिलै जीवित खडा रुखको भित्री संरचनाबारे जानकारी पाइन्छ l त्यसैले यो प्रविधि वन व्यवस्थापनका लागि निकै नै उपयोगी साबित हुन सक्छ । रुख र काठको अवस्था बारे जानकारी प्राप्त गरी वन व्यवस्थापनका विभिन्न आयामहरु जस्तै काठको परिमाण अनुमान र गुणस्तरको पहिचान र रुख कटानका लागि रुख छनौट (कुन रुख पाल्ने र कुन रुख काट्ने) को निर्णय प्रक्रियामा महत्त्वपूर्ण जानकारी बटुल्न सकिन्छ।
यसले वन व्यवस्थापनका लागि चाहिने जानकारी जस्तै वार्षिक कटान परिमाण र अवधि निर्धारण आदिका लागि पनि यसले सहयोग पुग्छ। नेपाल रेड+ (वन कार्बन व्यापार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र) को सहभागी राष्ट्र भएकोले यस पद्धतिबाट रुखमा सञ्चित कार्बन र धोदका कारण भविष्यमा कार्बन संचितिमा पर्ने असरको भरपर्दो अनुमान गर्न मद्दत पुग्छ।
सुरुमा भनिए झैँ सहरी क्षेत्र र पार्कहरूमा रुखहरूको निगरानीको लागि त यो पद्धति धेरै पहिले देखिनै प्रयोगमा रहेको छ।
केही धोध नभएका रुखहरूमा धोध देखाउने, भएकामा नदेखाउने जस्ता समस्याहरूले यसको प्रयोगमा कहिलेकाहीँ बाधा गर्न सक्छl तर टोमोग्राफको उचित जडान र प्रयोग गर्ने मौसम, रुख र धोध सम्बन्धी विषयगत जानकारी र यो प्रविधिको अनुभवबाट कार्यस्थलमानै धेरै जसो त्रुटिहरू हुन नदिन वा समाधान गर्न सकिन्छ l
यस पद्धतिले रुखको भित्री संरचनालाई उजागर मात्र गरिदिने हो। धोध सम्बन्धी अन्य आयामहरू, जस्तै किन लाग्छ? कारण र कारकहरू के के होलान्? कसरी फैलन्छ? एक रुखबाट अर्कोमा सर्छ सर्दैन? न्यूनीकरणका उपायहरू के होलान्? यसले केही जानकारी भने दिँदैन।
अन्तमा,
यो प्रविधि पहिला नै आएको भए त्यो मामाको घरमा रहेको रुख अझै बाँच्ने रहेछl २ वर्ष अघि मामाको घर जाँदा त्यो रुख काटिएको ठाउँमा निकैबेर टोलाएको थिएँ l मानिसलाई डाक्टरले स्टेथिस्कोपले हेरे जस्तो रुखलाई पनि हेर्न मिल्ने यो प्रविधि पहिला भएको भए थुप्रै रुखको अकाल मृत्युलाई रोक्न सकिने रहेछ l प्रविधि र विकास सधैँ प्रकृतिको विनाशको लागि मात्र कहाँ बनेका छन् र ?
(डा. प्रेमराज न्यौपाने जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धान गर्दै आउनुभएको छ। उहाँ वन व्यवस्थापन, जलवायु परिवर्तन र जैविक विविधतामा रुचि राख्नुहुन्छ ।)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…