७० वर्ष अघिको त्यो अग्निकाण्ड

- उहिलेको पोखरा


     सुनील उलक    
     वैशाख २४ गते २०७८ मा प्रकाशित


नयाँ वर्ष २०७८ धूमधामले मनाइ रहँदा ७० वर्ष अगाडिको नयाँ वर्षको सम्झना गर्न मन लाग्यो । अधिकांश नेवारहरू जो भक्तपुरबाट पोखरा आएका थिए ती घरहरूमा बिस्केट जात्राको खुसीयालीको तयारीमा रोटी पोल्ने र घर सफा गर्ने कार्य हुँदै थियो।

विन्ध्यवासिनी मन्दिरमा चैत र असोजमा नियमित पूजा गर्ने गरिन्थ्यो । २००६ को चैतमा पनि पण्डितहरूले नियमित पूजा गर्ने तैयारी गर्दै थिए । चैत २९ गते वैशाख कृष्ण नवमी तिथि मंगलबारको साइतमा एकातर्फ विन्ध्यवासिनी देवीको पूजा अर्कोतर्फ महादेवको हवनसहित रुद्री पूजाको शुभारम्भ भयो । पूजा समाप्तिपछि भोजनको तयारी गरिरहँदा हावा चल्न थाल्यो । हावाले बजारमा बितण्ड मच्चाउन थाल्यो । घरका छाना उडाउने र रुखका हाँगाहरू भाँचिन थाल्यो।

यता विन्ध्यवासिनीको हवन नजिकैको आँपको हाँगा पनि भाँच्चिएर हवनमा नै पर्‍यो । जसले गर्दा हवनको आगोले विकराल रूप लिन पुग्यो । जलिरहेको हाँगाबाट आगो फैलिएर नजिकैको औषधालयको छानो सल्कियो। त्यसपछि आगो फैलन समय नै लागेन।

क्षणभरमा पोखराका ४ सय घर जले भने समरबहादुर बजिमयका श्रीमती, २ छोरा, २ छोरी, बेखामान सायमीको आमा, गोरखापत्र बाजेका आमा, रंगनाथ र काइँला गरी ९ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो।

२००६ सालको अग्नीकाण्डको नामबाट चिनिने यस भवितव्यले निकै लामो समयसम्म पोखरामा संकट निम्त्यायो। प्रधानमन्त्री मोहनशम्शेरमा बिन्ती पत्र जाहेर भए पछि तत्कालै छानबिन गर्न सरदार फत्तेबहादुर पाण्डे र क्याप्टेन दिब्यशम्शेर थापा पोखरा आइपुगेका थिए । छानबिन टोलीको अध्ययनपछि केन्द्रबाट तत्कालै रु ३ लाख क्षतिपूर्तिका लागि पठाइयो।

घरको तला र प्रकार हेरेर ३ सय देखि १ हजार ८ सय रुपैयाँसम्म बाँडियो । त्यसपछि पोखराको कतिपय घरहरूको स्वरूप नै बदलियो । पोखरामा कर्कट पाताको छानो छाउन थालियो । कतिपयले घर मर्मत गर्न सकेनन् । मुआब्जा टाठा बाठाले उम्काए भने कतिपयले पाएनन्।

हाम्रो परिवार आगलागीको एक हप्ता अगाडि मात्र भक्तपुरबाट पोखरा आइपुगेको थियो । बुबा आमा र दुई दिदीहरूका लगाएका कपडा बाहेक सबै लत्ताकपडा र भएका जिन्सी सबै जलेर नष्ट भयो । हाम्रो कुनै घर जलेको थिएन । जिन्सी जलेकाको क्षतिपूर्तिको व्यवस्था थिएन त्यसैले हाम्रो परिवारले कुनै दाबी नै गरेन।

आगलागीको त्रास पछि पनि भयो । २०१७-१८ सालतिर मोहरिया टोलमा श्याम साहुको घरदेखि दक्षिण तर्फको ६-७ घर जले । २०-२१ सालतिर भैरव टोलका सकसबहादुरले आफ्नो जिप र ट्रकको लागि भनेर ल्याएको तेल राखेको ड्रममा आगो लाग्दा भैरव टोलमा ठूलो त्रास फैलिएको थियो । त्यहाँ रहेका ४-५ वटा ड्रममा आगो सल्केको भए पोखरामा अर्को ठूलो दुर्घटना हुन सक्थ्यो तर सुझबुझले गर्दा आगो नियन्त्रण गर्न सफल भएको हुँदा कुनै दुर्घटना हुन पाएन। यसरी हरेक दुर्घटनाले सचेतनाको पनि शिक्षा दिन थाल्यो ।

(सुनील उलक फोटो संकलक एवं संस्कृति संरक्षणकर्मी हुन्)