चौतारो प्रेम र डोजर


     सन्देश अधिकारी    
     वैशाख २६ गते २०७८ मा प्रकाशित


कुनै समय यो चौतारो
मन्दिर थियो, मैदान थियो
प्रतीक्षालाय थियो, प्रेक्षालय थियो।
यहाँ हरेक बिहान
पूजा अर्चना गर्नेका भीड हुन्थे,
हरेक दिन बाल्यकालको स्मृतिमा
बुढेसकालका गफहरु चलिरहन्थे,
हरेक साँझ केटाकेटीहरु
लुकामारी खेलिरहन्थे,
हरेक रात चराहरु
आश्रय लिइरहन्थे।

बटुवाहरु यहि बाटो हिँड्थे,
भरियाहरु यहिँ भारी बिसाउँथे,
परदेशिएका प्रेमीहरु यसैलाई
देउराली सम्झेर
फर्की आउने वाचा गर्थे।
तर आज समय उस्तै रहेन।
श्रद्दालु भक्तजनहरु एक लाइक गरेर
फेसबुकमै भगवानको दर्शन गर्न थालेका छन्
केटाकेटीहरु बिस्तारा मै सुतेर
बम र बारुदका खेलहरु खेल्न
थालेका छन्,
आज बटुवाले पनि बाटो बिर्सिसके,
ती अमर प्रेमिका वाचा पनि
धेरै बाँच्न सकेनन्।
त्यसैले होला सायद
आजभोलि कताकता सुन्दैछु
यहाँ अब छिट्टै नगरपालिकाले
डोजर लगाउँदै छ रे।

(सन्देश बौद्धिक सार्वजनिक पुस्तकालयका उपाध्यक्ष हुन् l उनी प्रकृतिको भ्रमण गर्न रुचि राख्छन्)