खियालो बिरालोको अनुसन्धान र संरक्षणमा चुनौती


     रोजिना घिमिरे     
     वैशाख २८ गते २०७८ मा प्रकाशित


२८ मार्च, सन् २०१२ बर्दिया राष्ट्रिय निकुञ्ज l क्लिफार्ड नाम गरेका पर्यटक स्थानीय प्रकृति पथप्रदर्शक  रामजन चौधरीसँग जिप सफारीमा निस्किएका थिए । जिपमै पनि लामो यात्रा गरे पछि थाकिने, उनी पनि थाकेl जङ्गलको बिचमा एक छिन जिप रोकियो l उनले झाडीतिर खस्र्याक गरेको सुने l क्यामेरा तेर्साए, क्लिक क्लिक l बिरालो जस्तो देखिने त्यो तस्बिर ‘खियालो बिरालो’को  रहेछl नेपालमा पाइने वन बिरालाहरूको सङ्ख्या यो सँगै १२ पुगेको थियो l उनीहरू निकै खुसी भएका थिए l

 प्राय रुखहरूमा  बस्न रुचाउने यो बिरालो सानै भए पनि धेरै आक्रामक र चनाखो स्वभावको हुन्छ।  यसलाई बिरालोहरूको ‘हमिङ्गबर्ड’ भनेर पनि चिनिन्छ ।

नेपालमा पाइने यो बिरालो अर्थात् ‘रस्टी स्पटेड क्याट’ सबैभन्दा सानो प्रजातिको बिरालो हो ।  आकारको हिसाबले यो बिरालो घरपालुवा बिरालोभन्दा आधा सानो हुन्छ । अरू बिरालो प्रजाति जस्तै यो बिरालो उसको शरीरमा रहेको विभिन्न ढाँचाले छुट्याउन सकिन्छ । यसको टाउकोमा गाडा रेखाहरू हुन्छन् जुन यसको निधार र गालाको भागसम्म पुगेको हुन्छ भने यसका कानहरू गोलाकार र साना हुन्छन् । यो बिरालोको औसत तौल करिब ०.९-१.८ किलोसम्म हुने गर्दछ । टाउकोदेखि पुच्छरसम्मको औसत लम्बाई ३५-५० सेन्टिमिटर हुन्छ ।

नेपालमा सन् २०१२ मा मात्रै अभिलेख भएको यो  बिरालोबारे प्रमाणहरू जुट्दै गए l  सन् २०१६ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि यसको तस्बिर खिचियो । बाघको अध्ययन गर्न राखिएका स्वचालित क्यामराले शुक्लाफाँटामै खियालो बिरालोका करिब २२ वटा तस्बिर खिचेको बाबुराम लामिछाने सहित ७ जनाद्वारा प्रकाशित वैज्ञानिक लेखमा उल्लेख छ l क्यामेरा ट्र्यापमा परेको यो सम्भवतः पहिलो तस्बिर हो l

सोही क्षेत्रमा २०१७ मा भुवन सिंह बिस्टले पनि यो बिरालोको बारेमा अध्ययन गर्नु भएको थियो l

यो बिरालो विश्वमा करिब १० हजार अनुमानित सङ्ख्यामा रहेको छ । नेपाल बाहेक भारत र श्रीलङ्कामा पनि पाइन्छl आइयूसियनको रातो सूचीमा यो बिरालोलाई सङ्कटको नजिक भनेर सूचीकृत गरिएको छ । नेपालमा यस बिरालोको तथ्याङ्क अभाव रहेको छ । 

सन् २०१७ मा भुवनसिहं विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राखेको  क्यामरा ट्रयापमा कैद भएको खियालो बिरालो

खियालो बिरालो सुख्खा जङ्गल, घाँसे मैदान, खुल्ला जङ्गल, कृषि क्षेत्र, चट्टाने ढलान तथा छाडिएका घरहरूमा विचरण गर्दछ ।  प्राय रुखहरूमा  बस्न रुचाउने यो बिरालो सानै भए पनि धेरै आक्रामक र चनाखो स्वभावको हुन्छ ।  यसलाई बिरालोहरूको ‘हमिङ्गबर्ड’ भनेर पनि चिनिन्छ ।

मुसाहरू लगायत साना चरा तथा स्तनधारीहरू, कीरा-फट्याङ्ग्रा, छेपारो, भ्यागुता र चमेरा यो बिरालोको आहारा प्रजाति हुन् ।  प्राय रातिमा विचरण गर्ने र दिनमा घना जङ्गलमा आराम गर्ने स्वभावको यो बिरालो खाद्य चक्रको अभिन्न अङ्ग हो ।

जमिनमा सिकार गर्न रुचाउने भएता पनि रुख चढ्ने अनौठो खुबीले यसलाई सिकारी जीवहरूबाट सुरक्षित राख्दछ । मुसाहरू मारेर किसानलाई मद्दत गर्ने यो प्रजातिले घरपालुवा कुखुराहरू पनि सिकार गरेको अभिलेख भएको छ ।

मानवलाई क्षति नगर्ने यो बिरालोले आफ्नो अस्तित्व जोगाउन धेरै चुनौतीको सामना गर्नु परेको छ । बढ्दो मानवीय क्रियाकलापले यसको वासस्थान विखण्डित, रुपान्तिरित र हराउँदै गइरहेको छ । यस बाहेक सडक दुर्घटनामा मारिएर यसको संरक्षणमा थप चुनौती थपिएको छ । यो बिरालोलाई कतै-कतै चितुवाको बच्चा सोचेर मार्ने गरेको पनि पाइन्छ ।

वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक  करनबहादुर शाह भन्छन् ‘यो प्रजातिको अध्ययनमा जोड दिनु पर्ने र संरक्षणको लागि सामुहिक प्रयास आवश्यक रहेको बताउँदै हाम्रो प्रयास कम भएर नै यो प्रजाति २०१२ पछिमात्र भेटिएको हो’ l

नयाँ प्रजातिको यस बिरालोले अझै पनि संरक्षणकर्मीको ध्यान तान्न सकेको छैन l  यसै त आक्कलझुक्कल देखिने यो बिरालोको सङ्ख्या कति होला भनेर आँकलन समेत गर्न नसकिने अवस्था छ ।  सङ्ख्या, आनीबानी र यसको वासस्थानबारे यथेष्ट जानकारी नहुँदा यस बिरालोके संरक्षण कार्य  चुनौतीपूर्ण छ ।

यही अवस्था रही रह्यो भने अँध्यारोमा निस्कने यो बिरालोको भविष्य नै अँध्यारो नहोला भन्न सकिन्न l त्यसैले सबै सरोकारवालाहरू तात्नु पर्ने बेला भएको छ l

(रोजिना घिमिरे वातावरण विज्ञानमा  स्नातकोत्तर विद्यार्थी हुन् । उनी विशेष गरी वन्यजन्तु संरक्षणका विषयमा रुचि राख्छिन्)