
रातभर मुसलधारे पानी परिरहेको थियो, म त्यो रात अझै पनि सम्झन्छु। पानी पर्नासाथ मैलोले कट्कटिएको गन्जी खोलेर जस्ताबाट धारो हालेको पानीमा भिज्ने मेरो बानी थियो।माटो, हिलो खेलेर, माछा समातेर आएको सुगन्ध त्यो पानीले पखाल्थ्यो।
यस्तो पानीमा नुहायो भने ढाडमा आएको घमौरा भाग्छ ममी भनेर घरको बरन्डा छाडेर चौरतिर दौडन्थें।पानी परे परेपछि रातभर घरपछाडिको घोलमा भ्यागुता ट्वार्र-टवार्र गरेर कराउँथे । त्यतिबेला यो कसरी कराएको होला भन्ने मेरो मनमा जिज्ञाशा हुन्थ्यो l अनि भोलिपल्ट उठेर म त्यही हेर्न पुग्थें । खेतको आलीमा, जहाँ म पनि टुसुक्क बसेर पहेँलो भ्यागुताले निलो मुख फुलाएर बसेको हुन्थ्यो, जुन मेरो लागि निकै अनौठो दृश्य थियो।हामीले त त्यत्रो मुख फुलाउन चुइङ्गमनै खानुपर्छl
मलाई आज आएर लाग्छ कि सर्पले खाने भ्यागुता, चराको फुल आदि उसले नखाइदिएको भए उसको ज्यान जोगिन्थ्यो कि
बिहानको झन्डै ८ बजेको थियो । अझै पनि आकाशबाट सिमसिमे पानी परिरहेको थियो। म त्यस दिन कसैलाई पछ्याइरहेको थिए। उ अगाडि अगाडि थियो। मलाई उ पनि बडो अचम्मलाग्दो मानिस थियो।मैले अझै पनि उसलाई पछ्याइरहेको थिएँ । उ पानीले भरेको चौरमा बेफिक्री हिँडिरहेको थियो। म पनि उसलाई छोड्नेवाला थिइनँ। त्यस चौरको अलिमाथि खेत नै खेत थियो।
हिजो राति कराएकाजस्तै भ्यागुता पनि कराइरहेका थिए। त्यहाँ अहिले चाहिँ मलाई ती भ्यागुतामाथि त्यति चाख थिएन बरु अहिले मलाई उ र उसले बोकेको सामान प्रति बढी चाख थियो। फलामले बनेको एकापट्टि मुख अलि चुच्चो भएको वस्तु बोकेको थियो र बाँसले बनेको धनुष बोकेको थियो। त्यसैमा मेरो चासो थियो।
बल्लतल्ल मैले उसलाई भेट्टाएँ।अनि मैले सोधे ,’ए जयराम तँ कहाँ जान लागेको ?’ उसले उत्तरमा भन्यो,’म त पाओ मार्न जान लागेको’ मैले फेरि भने,’ओइ म पनि जान्छु तँसँग हुन्छ ?’ जयरामले केही उत्तर नदिए पनि म उसको पछि लागेl
हाम्ले “पाहा” भ्यागुतालाई “पाओ” भन्छौं र उसले बोकेको त्यो फलामको चुच्चो मुख भएको वस्तु चाहिँ तीर रहेछ जुन थोत्रो छाताको तारबाट निकालेर बनाएको रहेछ। हामी त्यसपछि खेतमा पुग्यौं। खेतका गराहरू पानीले ढाकेको थियो र खेतको डिलमा भ्यागुताहरू थुप्रेर कराउँदै बसेका थिए। खेतको डिल नजिकबाट वन सुरु हुन्थ्यो l खोल्सा नजिकको त्यो ठाउँ त्यस्ता पाहाको लागि उपयुक्त थियो l
उसको लागि त यो सुनौलो मौका थियो। त्यसकारण उसले ढिला नगरी आफ्नो बाँसको धनुष र तीर तन्कायो अनि भ्यागुता माथि प्रहार गर्यो। भ्यागुताको टाउको छेंडेर त्यो तीर माटोमा दब्यो l र बाँकी तीरको भाग पाहाको टाउकोमाथि नै बस्यो। त्यो पाहा एक छिन छट्पटियो त्यसपछि उसले हत्तपत्त गएर पाहालाई तीरबाट निकाल्यो र बेसकर भुइँमा पछार्यो।
यसरी उसले ६-७ वटा पाहा मार्यो र त्यही तीरमा उन्यो। उसको तीरमा अहिले पाहाको लस्कर लागेको थियो। अपसोच ती सबै पाहाको इहलिला समाप्त भइसकेको थियो। मलाई उसको यस्तो काम देखेर उ अझै खत्रा केटो लाग्न थाल्यो।
त्यसपछि पाहा मारेर उसले एउटा हातमा धनुष र काँधमा त्यो पाहा हालेर हिँड्यो। म उसकै पछाडि -पछाडि त्यो पाहा हेरेर हिँड्न थाले।
हिँड्न क्रममा मैले उसलाई सोधिहालें-‘अब यत्रो भ्यागुता लगेर के गर्ने?
अनि उसले जवाफमा भन्यो -‘अब यो घर लगेर खाने। उसको यो उत्तर सुनेर म एकछिन दंग परें। त्यतिखेर हाम्रो घरमा कुखुराको मासु खान गाह्रो थियो । अझै उसले त झन् भ्यागुताको मासु खाने कुरा गरिरहेको थियो।
अनि फेरि मैले सोधे-‘अनि यो भ्यागुताको मासु मिठो हुन्छ त ?’
उसले भन्यो-‘अँ हुन्छ,यसको मासु दबाई पनि हुन्छ रे।‘
त्यसपछि म अचम्मित हुँदै आफ्नो घर फर्कें र उ पनि आफ्नो घरको बाटो लाग्यो।

एक दिनको कुरा हो गाउँमा एकजनाको सर्पले डसेर मृत्यु भयो भन्ने हल्ला चल्यो। अब त्यो मरेको बच्चा फेरि जिउँदो बनाउन उसलाई माटोले पुर्छ रे अनि केही समय पछि उ जिउँदो हुन्छ रे । अनि कोहीले चाहिँ उसलाई जिउँदो बनाउन फेरि एक पटक सर्पले टोकाउँछ रे अनि सर्पले विष चुसेपछि उ फेरि जिउँदो हुन्छ रे। हो यस्तै-यस्तै हल्लाहरु थियो गाउँभरि….तर अपसोच केही समय पछी नमिठो खबर आयो l त्यो मर्ने केटा कोही अरू नभएर मेरो साथी जयराम रहेछ।
म उसको घर पुगें । उसको घरमा गाउँभरिका मानिसहरू थुप्रेर बसेका थिए। त्यो भिडलाई छिचोल्दै मैले उसलाई हेरें l भ्यागुता मार्ने केटा भुइँमा थियो l उसको त्यो भ्यागुता मर्दा खेरिको रवाफ शान्त भइसकेको थियो l हिजो उसले भ्यागुता मार्थ्यो आज सर्पले उसलाई मारेछl
गाउँमा सर्प सम्बन्धी राम्रो जनचेतना नहुँदा उसले आफ्नो ज्यान कलिलै उमेरमा गुमाउनु परेको थियो। बेलैमा अस्पताल पुर्याएको भए सायद बाच्थ्यो कि !
मलाई आज आएर लाग्छ कि सर्पले खाने भ्यागुता, चराको फुल आदि उसले नखाइदिएको भए उसको ज्यान जोगिन्थ्यो कि ? सर्पहरू त्यहि भ्यागुता,चरा खान तल्लीन हुन्थे र उसलाई टोक्ने फुर्सद हुन्थेन कि ? तर के गर्नु अनावश्यक भोकले पनि धेरै कुरालाई शोकमा बदल्दो रहेछ।
तराईमा यस्तै समस्या, अज्ञानताको विशाल पहाड नै छ। त्यसकारण हामी सबै मिलेर जयराम जस्ता यस्ता हजारौं अबोधको जीवनको रक्षा गरौं। उसको आत्माले शान्ति पाओस्। जय संरक्षण !
(विशालप्रसाद न्यौपाने जीव विज्ञानमा स्नातक गरिरहेका छन् l उनी वन्यजन्तु संरक्षणमा चासो राख्छन्)
(सत्य घटनामा आधारित )




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…