यो गिद्धले कहिल्यै पनि भनेको मान्ने भएन !


     बिकाश घिमिरे    
     जेठ १ गते २०७८ मा प्रकाशित


‘यो गिद्धले कहिल्यै पनि भनेको मान्ने भएन l’

उपरोक्त वाक्यमा प्रयोग भएको ‘गिद्ध’ शब्दले प्रकृतिका कुचीकार र  मांसाहारी चरालाई होइन, सधैँ मलाई इङ्गित गर्दथ्यो । त्यो मेरो हजुरबुवा (म उहाँलाई बा भन्छु) को थेगो हो l त्यो ‘गिद्धे’ शब्दको  हप्काइ खाएरै मेरो बाल्यकाल रामपुर, पाल्पामा बित्यो।

कुरा के भने, म सानैदेखि अलि चञ्चल  र चकचके स्वभावको थिएँ । घरबाट भागेर बल खेल्ने , काली गण्डकीमा पौडिने, जङ्गलतिर गई अमारो, अमला, आँप खाने, घरकै बगैँचाको लिची, अम्बा, भूइँकटहर आदि चोरी साथीहरूसँग बाँडेर खान्थें l

यति मात्रै हो र,  बा को कोटको खल्तीमा भएको १, २ र ५ का नोटहरू नचलाई ५ पैसा, सुका, मोहोरका सिक्काहरू गोजी मारेर जम्मा गर्न पनि त्यत्तिकै सिपालु थिएँ l सय पैसा अर्थात् एक रुपैयाँ बनाई सकेपछि सहल्कोटे बुबाको पसलमा सुन्तली मिठाई किनेर खाने दैनिकी नै थियो l यो सबै कारणहरूले मलाई बदमासको सूचीमा अग्रपङ्क्तिमा सूचीकृत गरिएको थियो l  बालाई केही कुरामा चित्त बुझेन भने उही गिद्धे वाणीको सिकार भइहाल्थेँ म ।

यसरी पटक-पटक मलाई गिद्ध भन्दा मनमा कता-कता नराम्रो लाग्थ्यो l हेर्दा त्यति  सुन्दर नदेखिने पन्छीसँग किन तुलना गरेका होलान् यी बुढाले भन्दै भुत्भुताउथेँ।

मेरो बाल्यकाल बितेको पाल्पाको रामपुर उपत्यका

दिउँसो औधी  रिस उठे पनि राति भने लुपुक्क बाको सिरक भित्र छिरिहाल्थेँ l  दिउँसो रिसाएका बा पनि नातिलाई कख्याएर सुत्न पाउँदा  खुसी नै हुन्थे । निदाउनुअघि सोच्थें र कल्पना गर्थें, बाले कहिलेकाहीँ त मलाई ‘डाँफे’ भनेर बोलाइदिए कस्तो हुँदो हो । मैले जति नै राम्रो र बालाई रिझाउने काम गरे तापनि उहाँले  मलाई कहिल्यै डाँफे भनेर बोलाउनु भएन । म गिद्धे नै थिएँ । र, बाल्यकाल भरी सधैँ गिद्धे नै रहेँ । सानो मानसपटलमा गिद्ध भन्ने शब्द यसरी नकारात्मक हिसाबले परिचित भयो कि मलाई गिद्ध आकाशमा उडेको देख्यो कि ढुङ्गा हानूँ हानूँ हुन्थ्यो l कहिलेकाहीँ हानेँ पनि l चकचके  स्वभाव थियो । केही नलाग्ने  l

आफूलाई गिद्धको उपमा दिँदा कसलाई पो राम्रो लाग्छ होला र ? न त मलाई गिद्धका गुणहरू नै थाहा थियाे। सिनो खाई वातावरण सफा राख्छन् । फोहोर मैलाबाट फैलिने रोगहरू जस्तै आउँ, हैजा, झाडापखाला, प्लेग, रेबिज आदि सङ्क्रमण हुनबाट मानिस तथा अन्य पशुपन्छी जोगाउँछन् । जैविक अथवा पर्यावरणीय चक्र सन्तुलित राख्न मद्दत पुर्‍याउँछन् भन्ने सानैमा थाहा पाएको भए सायद मलाई त्यति दुःख लाग्दैनथ्यो होला । म केटाकेटी नै थिएँ,  गिद्ध र डाँफे बिचको सोचमै रुमलिई रहन्थेँ । जे सुकै होस्, सानोमा मलाई त्यो गिद्ध कहिले मन परेन l

म केटाकेटी नै थिएँ, गिद्ध र डाँफे बीचको सोचमै रुमलिइरहन्थेँ । जेसुकैहोस्, सानोमा मलाई त्यो गिद्ध कहिले मन परेन l

अलिक ठूलो भएँ, तर गिद्धबारे मेरा धारणा भने सानै थिए । नढाँटीकन भन्नुपर्दा ज्वरोमा परेको जस्तो थियो त्यो  ‘गिद्ध’ भन्ने शब्द मलाई। घिनमात्र होइन बिस्तारै डर समेत लाग्न थालेको थियो मलाई l जब पीताम्बर ठूलोबुबाको घरमा गिद्ध बसेको भएर अनिष्ट हुने भयो, पण्डित बोलाएर स्वस्ति शान्ति गर्नुपर्छ भन्दै कम्तेल्नी ठूलीआमा आत्तिँदै गरेको देखेर म झन् डराएँ l मलाई त्यो बेला लाग्यो, यी गिद्धहरू साँच्चिकै घिन लाग्ने र फोहोरी चरा हुन् l यिनीहरू भूत प्रेत नै हुन् कि क्या हो l  यिनीहरूलाई माया गर्नुपर्ने कुनै पनि कारण  छैन।

गिद्धको छाप कलिला दिमागमा त्यति सकारात्मक नभए तापनि बिस्तारै जब म बढ्दै गएँ । तब मलाई तिनीहरू र अन्य चराहरूमा खासै फरक लाग्न छोड्यो l आकारको बाहेक अरू के नै फरक छ र । तिनीहरू पनि अरू चराजस्तै उड्छन्, आहार खोज्छन्, गुँड बनाउँछन्, प्रजनन गर्छन् र  बच्चा हुर्काउँछन्।

म सानैदेखि गाईवस्तुको लागि घाँसपराल गर्ने, गोबर फाल्ने, भैँसी दुहुने, माहरा (गोठालो) जाने गरेर हुर्किएको मान्छे हूँ । शनिवार वा कुनै बिदाका दिन आयो कि मेरो काम १५ देखि १७ बाख्राहरू, एक हल गोरु, ५ देखि ७ गाईहरू लिई माहरा जाने हुन्थ्यो । त्यसरी मेरो सङ्गत गाउँका बुढापाकाहरूसँग हुने गर्थ्यो।

मलाई सानैदेखि भनिएको गिद्धहरु यस्तै हुन्छन् ।

जबदेखि प्रश्न सोध्न सक्ने भएँ, माहरा जाँदा सिनो खान आउने गिद्धहरूको बारेमा अनेकन् प्रश्नहरू गर्थेँ। कहिले रिजाल बुबा, कहिले माझधरे बुबा, कहिले सेनी दिदी, कहिले मयाँ दिदी, कहिले सहल्कोटे बुबा, कहिले कुमाल माहिलो बुबा, त कहिले उहाँकी धर्मपत्नी माइली आमा सबैसँग केही न केही सोधेकै हुन्थेँ। जवाफमा, गिद्धहरू पनि भिन्न-भिन्न प्रकारका हुन्छन्, कोही सिनो खान्छन् । कोहीले गाईबस्तुको गोबर, कोही पहाडका टोडकाहरुमा  बस्छन् । कोही सिमल र अन्य ठूला रुखमा, हिमालमा भिन्नै प्रजाति भेटिन्छन् भने तराईमा भिन्नै ।  गिद्धहरूले आठ कोष टाढासम्म देख्न सक्छन् जस्ता जानकारी पाउँथेँ।

अम्दाहको चौरमा फुटबल खेल्दै गर्दा नजिकैको सिमलको रुखमा कराउँदै गरेका गिद्ध देखाएर ‘हेर त, गिद्धहरू के गर्दै छन्’ भन्दै साथीहरूको ध्यान गिद्धतिर धकेलेर आफूले गोल गरेको अविस्मरणीय क्षण होस् या एक दुई दिन अगाडि फालेको सिनो गिद्धहरू आई क्षणभर मै सखाप पारेको दृश्य होस्, मलाई हिजोजस्तै लाग्छ । अहिले न त्यसरी सिमलका रुखहरू छन्, न गिद्धहरू नै।

स्कुल पढ्दा ‘नेपाल पन्छी संरक्षण सङ्घ’ बाट काँधमा क्यामेरा, पिठ्युँमा झोला अनि हातमा राता र पहेँला रङ्गका पर्चा लिएका दुईजना दाइहरू हाम्रो कक्षामा आइ  गिद्धका गुणगान गाउँदै सबै जनालाई पर्चा थमाई जानुभएको थियो । पछि पो थाहा भयो पाल्पाको रामपुरमा ठूलो सङ्ख्यामा वयस्क डंगर गिद्ध र कुल छ प्रजातिका गिद्धहरूको वासस्थान रहेछ । सोही कारणले होला यो  नेपालकै एक ‘महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र’ अन्तर्गत पर्दछ।

यसैबीच एसएलसी सकाएर तीन महिने बिदामा म पहिलो पटक काठमाडौँ गएको थिएँ । छोराले कम्प्युटर सिकोस् भनेर मलाई पठाइएको थियो । ‘बेसिक कम्प्युटर कोर्स’ सकिने बेला इन्टरनेट चलाउन सिक्दै पहिलो पटक इमेल आइडी बनाइयो l  पासवर्डमा कोही साथीले आफ्नो प्रेमिकाको नाम राखे त कसैले आफूलाई मनपर्ने केटी साथीको नाम समेत राख्न भ्याए l ममा कुनै दुईमत नै थिएन l  मैले चाहिँ अङ्ग्रेजी नाम गुगल गरी गिद्धको नाम आफ्नो पासवर्ड बनाएको थिएँ।

एसएलसी उत्तीर्णपछि के विषय पढ्ने थाहा थिएन l  कक्षाको दोस्रो विद्यार्थी म, सरहरूले विज्ञान पढ् भन्नुभएको थियो l  त्यत्तिकै भरमा तानसेनको श्रीनगर इन्टीग्रेटेड कलेजमा पढाइ सुरु गर्न भनेर लागेको थिएँ तर कहानीले त्यो बेला अर्कै मोड लियो जब मेरी दिदीले पोखरा घुम्न जाँदा त्यहाँको वन विज्ञान अध्ययन संस्थानको लागि मलाई नसोधीकन आवेदन फारम भरिदिनुभएको रहेछ l मलाई त केही पनि थाहा नै थिएन l ‘१७ गते प्रवेश परीक्षा छ, खुरुक्क गएर परीक्षा दिएस्’ भनेर दिदीले उर्दी दिनुभयो । रिसाइ-रिसाइ परीक्षा दिई फर्किएँ, प्रतिस्पर्धामा मेरो नाम निस्कियो l  विज्ञानको सट्टा वन विज्ञानको विद्यार्थी भएँ म । त्यहीँबाट मेरो अध्ययन र संरक्षण शिक्षाको सुरुवात भयो।

वन विज्ञान अध्ययन संस्थान, पोखरा हुँदै भारतको वन अनुसन्धान संस्थानबाट मैले मेरो स्नातकोत्तर पूरा गरेँl  मेरो स्नातक र स्नातकोत्तरको अनुसन्धान पनि पाल्पाको रामपुरमा पाइने गिद्धसम्बन्धी नै थियो।

मेरा बा त मेरो साथी जस्तै हुनुभएको छ l जागिर खाने भएपछि बासँग भेट पनि कम हुन्छ l तर जब भेट हुन्छ, पछिल्ला कुरा बालाई सुनाउँदा बा पनि खुसी  देखिनु हुन्छl  टाउकोमा हात राख्दै भन्नुहुन्छ, ‘मैले तेरो नाम त जानेर नै राखिदिएको रहेछु नि’ बा झन् हौसिएर भन्नु हुन्छ ‘तँलाई गिद्धे’ । हामी दुवै जना हाँस्छौ l

बा ले ‘गिद्ध’ भनेर हप्काउँदा रिसाएको म पढाइ र कामको यात्रामा जानी-नजानी आफै गिद्धे भइसकेको रहेछु। अहिले गिद्ध सहित लाटोकोसेरो, ध्वाँसे चितुवा, वन कुकुर, हरित विद्यालय भन्दै देशका विभिन्न ठाउँहरू पुग्ने गर्छु l  मोटरसाइकलमा हुइँकिँदा कुनै चरा देखिहालियो भने पनि रोकिई हेर्ने गर्छु l सकेसम्म फोटो पनि खिच्छु l  पशुपन्छीका कुरा ध्यान दिएर पढ्ने, सुन्ने गर्छु l अहिले पनि भेटेका साथीभाइलाई गिद्धका कुरा सुनाइहाल्छु । साथीहरूले गिद्धे, उल्लु, ध्वाँसे, चरी, चमेरो, जङ्गली आदि नामकरण गरिदिएका छन् । सुनेर खुसी लाग्छ।

आजभोलि मलाई बासँग पटक्कै डर लाग्दैन l मेरा बा त मेरो साथी जस्तै हुनु भएको छ l जागिर खाने भएपछि बासँग भेट पनि कम हुन्छ l तर जब भेट हुन्छ, पछिल्ला कुरा बालाई सुनाउँदा बा पनि खुसी  देखिनु हुन्छl  टाउकोमा हात राख्दै भन्नुहुन्छ, ‘मैले तेरो नाम त जानेर नै राखिदिएको रहेछु नि’ बा झन् हौसिएर भन्नु हुन्छ ‘तँलाई गिद्धे’ । हामी दुवै जना हाँस्छौ l  आजभोलि  भने मलाई पटक्कै दुख लाग्दैन l  मलाई पनि बाले गिद्धको साटो डाँफे भनेर नबोलाएकै जाति लाग्छ।  

(विकाश घिमिरे वन विषयमा स्नातकाेत्तर हुन् l उनी वन्यजन्तु अनुसन्धान/संरक्षण, हरित बिधालय, खेलकुदमा रुची राख्छन् l)