तपाईंको तिर रक्सी पिउँदा सुरुमा ‘चियर्स’ र सक्नुपरे ‘घ्याम्पे’ भन्छन् कि भन्दैनन् कुन्नि


     राजु आचार्य     
     जेठ १ गते २०७८ मा प्रकाशित


आज भन्दा ठिक २२ वर्ष अघि कास्की जिल्लाको पर्क्यु भन्ने सानो गाउँमा जाने मौका मिल्यो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्दा वार्षिक रूपमा सबै कर्मचारी एकै पटक सबै गाउँमा पुग्ने गर्थ्यौँ। तर त्यो गाउँमा हामी पहिलो पटक पुगेका थियौँ l अघिल्लो वर्ष पोसी भन्ने ठाउँबाट गाउँलेले लखेटे पछि १ वर्षसम्म त्यो क्षेत्रमा जान हम्मे हम्मे पर्‍यो। हामीसँग काम गर्ने जेटिए बाको प्रयास पछि त्यो ठाउँमा हाम्रो स्वागत हुँदै थियो।

हिउँदको बेला थियो l बेलुका घिउ लगाएर स्टिलको गिलासमा कोदोको रक्सी दिइयो। भुइँमा राख्दा गिलास मुनि हरियो पात पनि थियो। अलिकति खाने बित्तिकै थप्ने बहिनीहरू आइपुग्थे। नखाँदा उल्टै ख्वाउँला जस्तो गर्थे। यो हाम्रा लागि गरिएको सम्मान थियो। तर त्यो सम्मानले निकै सकस परेको थियो। रक्सीमा हरिताल (विष) मिसाएर दिन्छन् भन्ने वर्षौ अघिको किम्बदन्ती सुनेका थियौँ। मन मनै डर पनि थियो।   

मानिसले कहिलेदेखि रक्सी पिउन थाले होलान्, अझै अनुसन्धानकै विषय छ । तर हजारौँ वर्ष देखि मानिस र रक्सी नजिकै बस्दै आएका छन्

हामी सबैका जेटिए बाले  भने ‘ के हो, यतातिर त घ्याम्पे पनि भन्न नपाइएला जस्तो छ त ?’ हाम्रो समूहका उनी रक्सी विज्ञ नै थिए। उनलाई पनि  गार्हो भए पछि हामी ढल्ने निश्चित थियो। निकै  गाह्रो भएको त्यो रात भोलिपल्ट  थाहा भयो ‘न थप्ने हो भने एकै पटक सकेर उल्टो गरेर गिलास राख्नु पर्ने रहेछ।’

त्यो अनौठो ठाउँमा रक्सी सुरु गर्नु अघि गिलासको छेउमा लागेको घिउ आफ्नै निधारमा दलेर सुरु गर्नुपर्ने थियो। त्यो घटना हाम्रो लागि नौलो थियो।  हामीले प्राय गरी चियर्स गरेर सो कामको थालनी गर्थ्यो। मलाई लाग्छ तपाईंहरू पनि त्यसरी नै सुरु गर्नु हुन्छ ? कि होइन ?

प्राय जसो चियर्स गर्दा ‘लौ साथी हो सुरु गरौँ भन्ने नै हो’।

‘हामीहरूको भावना र आजको यो रमाइलो समयको लागि सबै सँगै छौँ’ भन्ने पनि अर्थ पनि लगाइन्छ।

एक पटक एक जना साथीले भने ‘चियर्स किन गरिन्छ, थाहा छ?’।

रक्सी मात बढ्दै गए पछि यस्तै यस्तै कुराहरू बढी निस्कन थाल्थ्योl उनले भने ‘ कुनै पनि यस्ता पेय पदार्थहरू पिउँदा हाम्रा सबै इन्द्रियहरूले (नाक, जिब्रो, आँखा, छाला) थाहा पाउँछन् तर कानले थाहा नपाउने र त्यसो भयो भने स्वस्थ खराब हुन् सक्ने भएकोले जानकारी गराएको हो’। त्यतिखेर हो जस्तै लाग्यो। 

सबैले ल घ्याम्पे भन्दै सब सकियो l यो घ्याम्पेले पनि मानिसलाई ठाउँको ठाउँ ढलाउँछ।

बोतलमा बाँकी रहेको रक्सी विवाहित साथीहरूले खान मान्दैनथे। अन्तिमको खायो भने छोरी जन्मिन्छ भन्थे। यो तर्कको कारण मैले जीवनभर बुझिन। रातभरिको ह्याँगले बिहान खान्न भन्नेहरू पनि साँझ पर्न थाले पछि आज त धेरै खान्न यार भन्दै सुरु गर्न अभिप्रेरित गरेको कुरा पनि मैले बुझ्न सकिन।

नेदरल्यान्डमा ‘प्रोस्ट’ , फ्रान्समा ‘सान्टि’, इटालीमा ‘किन किन’ भने पनि नेपालमा हामी चियर्स भन्छौँ।यो परम्परा रोमन र ग्रिकसभ्यता देखि सुरु भएको मानिन्छ। हामीले कुनै पनि खाने कुरा भगवानलाई चढाए जस्तै आकाशतिर फर्किएर छेउछाउमा बस्नेको सुस्वास्थ्यको कामना गर्दै सुरु गरिएको पनि भनिन्छ।

चियर्स गर्दा छुवाउने मात्र नभई आवाज नै आउने गरी, गिलासमा भएको रक्सी पोखिएर अरूकोमा मिसियोस् भनेर पनि गरिन्छ।यदि कसैको रक्सीमा बिख मिसिएको रहेछ भने, उ मात्र नमरोस्, त्यो बिख सबैकोमा मिसियोस् भनेर पोखिने गरी चियर्स गरेको विश्वास गरिन्छ।

मानिसले कहिलेदेखि रक्सी पिउन थाले होलान्, अझै अनुसन्धानकै विषय छ । तर हजारौँ वर्ष देखि मानिस र रक्सी नजिकै बस्दै आएका छन्। हामीले गर्ने भनेको रक्सी खाने बेलामा चियर्स र एकै चोटि सक्नको लागि घ्याम्पे नै हो। तपाईंले  कसरी सुरु र अन्त्य गर्नु हुन्छ कुन्नि ?