
काठमाण्डौं l नेपाल भर पछिल्लो समयमा गाई, बाछा हेला भएका छन् । किसानले गाईले दूध दिइन्जेल पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रचलन बढेको छ । यसै गरी गाईले बाछी पाए राख्ने, बाछो पाए दूध खाँदा खाँदैको अवस्थामा सडकमा छाड्दिने चलन बढेको छ । यसैले सहरका सडकमा साना बाछा पनि अलपत्र अवस्थामा भेटिन्छन् ।
पछिल्लो समयमा सहरका खेतबारी कङ्क्रिट जङ्गलमा परिणत भएका छन् । खेतबारी भएका किसानले पनि गोरुको ठाउँमा ट्याक्टरको प्रयोग गर्न थालेपछि लोकल गाईका बाछा हेला हुँदै गएका छन् । गाउँमा पनि ट्याक्टर पसेपछि गाईका बाछा हेला भएका छन् । जर्सी गाईका बाछा त पहिले देखिनै सडकमा छाडिन्थ्यो । धेरै दूध दिने जर्सी गाई नेपालमा भित्रिएपछि थोरै तर पोसिलो दूध दिने लोकल गाई हेला हुँदै आएका हुन् । अहिले भने किसानले लोकल गाई पाल्न नै छाड्दै गएका छन् । यसैले लोकल गाई लोप हुने अवस्थामा पुग्दै छन्।

यसै बिच गाई बाछा संरक्षण अभियान काठमाण्डौंले दुई वर्षमा सडक पेटीमा बेवारिसे अवस्थामा रहेका ३५० गाई बाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ। सडकमा छाडिएको गाई बाछा खान नपाएर दुब्लाएको अवस्थामा उद्धार गरी खाना, छाना र उपचार गरिएको अभियानका अध्यक्ष उत्तम पुडासैनीले बताएका छन्।
सडकमा दुर्घटनामा परि घाइते भएका, सानो उमेरमै बाटोमा छाडिएका, रेबिज रोग लागेका र हेलामा परेका गाई बाछा संरक्षणका लागि २०७६ जेठ १ गते देखि यो अभियान सुरु गरिएको अध्यक्ष पुडासैनीले सुनाए। वाग्मती सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरे पछि यो संरक्षण अभियान सुरु गरिएको उनले बताए।
देश भरका स्थानीय सरकारले गाउँपालिका नगरपालिकामा गाई बाछा संरक्षण अभियान सञ्चालन गर्नुपर्ने उनले सुनाए। कृषि क्षेत्रमा लगानी गर्दा बाछा व्यवस्थापनको जिम्मेवारी सरकारले बहन गर्नुपर्ने पनि उनले बताए।
गाई बाछामाथि हुने क्रूरतालाई कानुनी रूपमा दण्डित गरिनु पर्ने, एउटा स्थानीय एकाइबाट अर्कोमा गाई बाछा ओसारपसारमा स्थानीय तहको अनुमति अनिवार्य लिनु पर्ने व्यवस्था गर्नुपर्ने संरक्षण क्षेत्रमा काम गरेका अभियानका अभियन्ताले माग गरेका छन्।