चराको स्वर्ग बर्जु ताल


     सुम्निमा तुम्बा    
     जेठ ८ गते २०७८ मा प्रकाशित


चराहरू शान्त वातावरणमा बस्न रुचाउँछन् । ताल, पोखरी, नदी, खोला, वन क्षेत्र चराका लागि स्वर्ग नै मानिन्छ । पछिल्लो समयमा देशभरका प्राकृतिक सम्पदा मानव अतिक्रमणमा परेका छन् । यसैले चराका  वासस्थान पनि  मासिँदै गएका छन् । राजधानी काठमाण्डौको बागमती नदी प्रदुषणका कारण त्यहाँ पाइने रैथाने चरा हराउँदै गएको चरा विज्ञहरू  बताउँछन् । पछिल्लो  समयमा पोखराको फेवाताल पनि मानव अतिक्रमणले त्यहाँका रैथाने चरा पनि हराउँदै गएका छन् ।

सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको चिम्डी (बर्जु) ताल चराका लागि स्वर्ग जस्तै छ । यहाँ पछिल्लो समयमा चराका लागि हटस्पटको रूपमा विकास हुँदै गएको छ । यो ताल करिब १ सय ५० बिगाहा क्षेत्रफलमा फैलिएको छ । विराटनगरको वरगाछी चोकबाट पश्चिमतर्फ आधा घन्टाको (करिब १५ किलोमिटर ) मोटर बाटो गुडेपछि त्यहाँ पुगिन्छ।

पछिल्लो समयमा गाउँपालिकाले यस ताललाई व्यवस्थापन गर्दै आएको छ । तालको बाहिरी क्षेत्रमा बस्ती छ । ताल क्षेत्र बस्ती भन्दा भित्र फराकिलो क्षेत्रफलमा भएकोले शान्त चराका लागि उपयुक्त छ । यसैले यहाँको शान्त वातावरणमा चरा अवलोकन गर्न पर्यटक पछिल्लो समयमा लोभिन थालेका छन् । दैनिक दौडधूप र तनावबाट मुक्त पाउन यहाँ पर्यटक पुग्ने गर्दछन् ।

यस तालमा पाइने चराको गणना सन् २००७ मा आर पुराना र टिमले गरेका थियो । त्यति बेला १ सय ९ प्रजातिका चराहरू पाइएको उनीहरूको तथ्यांक छ ।  पछिल्लो अध्ययनमा यहाँ १ सय ८८ प्रजातिका चरा पाइने बताइएको छ । यहाँका चराको थप विस्तृत अध्ययन हुनसके अझै धेरै प्रजातिका चरा पाइने अस्मित सुब्बाले सुनाए ।

यहाँ हिउँदमा साइबेरियादेखि जाडो छल्न आउने चराले त्यति बेला निकै रमाइलो हुन्छ । यहाँ खोया हाँस लगायत डुबुल्की चरा, चखेवा, हुटिट्याउँ, हरियो टाउके हाँस, मालक हाँस सहित  विभिन्न प्रजातिका चरा हिउँदमा जाडो छल्न आइपुग्छन् । चरा प्रेमीहरू यिनै चरा र तालको सुन्दरतामा रमाउने गर्दछन् ।

तर दुर्भाग्य भनौँ या बेवास्ता यस्तो सुन्दर स्थलको उचित स्तरोन्नतिको  निम्ति राज्यले ठोस कदम चालेको पाइएन । यहाँका कुण्डहरू इलकोर्निया र पिस्टिया जस्ता जलकुम्भीहरूले ढाकिएका छन् जसलाई तत्काल सफा गर्न आवश्यक देखिन्छ । अर्कोतर्फ दिनहुँ पिकनिक खान र घुम्न आउने मानिसहरूको कोलाहलले यहाँका चराचुरुंगीहरूलाई नकारात्मक असर गरेको देखियो । जुन निरन्तर रहने हो भने यो ठाउँको कुण्डहरूबाट चराहरू बिरानो हुन धेरै टाढा देखिँदैन । यहाँका स्थानीयलाई चराहरूको महत्व बुझाई यस क्षेत्रको प्रवद्र्धनमा हातेमालो गरेर लानुपर्न देखिन्छ ।

स्थानीय सरोज कुमार चौधरीले भने यस क्षेत्रलाई चरा अवलोकन र अनुसन्धानको एउटा बेजोड हब बनाउन सकिन्छ ।

(सुम्निमा तुम्बा बिज्ञान बिषयमा स्नातक गर्दै छिन् l  उनी वन्यजन्तुको अनुसन्धान र संरक्षणमा रुची राख्छिन्)